विकासन्युज

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका–७ हाडबासका  खिमलाल खत्री गएका थिए । गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो । घरभित्र रहेको सबै अन्नपात जलेर छिनभरमै खरानी भयो । छोराले गाडीको हेबी लाइसेन्स बनाउन भनेको थियो त्यो बुझाउनका लागि एक लाख ऋण गरेर ल्याएको पैसा र घरमा भएको २० हजार पैसा थियो त्यो पनि जल्यो । घरमा भएको अन्नपातदेखि सबै सामग्री खरानी भयो । यस्तो होला भनेर हामीले सोचेका थिएनौँ अहिले खुल्ला आकाशमा बस्नु परेको छ खत्रीले भने । पाँचबोरा तोरी, मसुरो, चार क्विन्टल आलु थियो, सबै खरानी भयो । घरमा भएको अन्नपात लत्ताकपडा, भाँडाकुँडा केही पनि झिक्न नपाएको उनले सुनाए । शरीरका कपडाबाहेक केही बचेको छैन । कुखुराको खोर, गाईगोठ र बस्ने घर सबै जलेर आँखै अगाडि खरानी भयो । त्यही खरानीको थुप्रो हेरेर दिनरात कटाउँदैछौँ उनले भने । सोही ठाउँकी लक्ष्मी भण्डारीको घर, गोठ, बाख्राको खोर र कुखुराको खोर जलेर खरानी भएको छ ।  एक्कासि आगो घरमा आयो चारैतिरबाट घेरा हालेको आगोको रापले घरभित्र बस्न सकेनौँ बाहिर निस्कँदा घरभित्रको सामान सबै जल्यो सुत्ने खाट, दराज, टेबल सबै जलेर खरानी भयो भण्डारीले भनिन्, ‘छवटा बाख्रा र पाँच सय कुखुरा पनि जलेर खरानी भए ।’ आगालागीले सबै जलेपछि केही सामग्री आएको छ, तर पकाउनका लागि भाँडा छैन । उनको लगाउने चप्पल पनि जलेर खाली खुट्टा हिँड्नु भएको थियो । सोही गाउँकी मिनीकुमारी बोहराको पाँचजनाको परिवार पनि खुल्ला आकाशमुनि बसेको छ । घरको अन्नपात, गोठ बाख्राको खोर सबै जल्यो । मान्छे कसरी सुरक्षित हुने भन्ने मात्रै सोच आयो सबै घरबाहिर रुवावासी गर्न थाल्यौँ । घर नजिकमा पानी पनि छैन केही पर बग्ने राप्तीमा तल झर्ने बाटो छैन त्यहाँबाट पानी ल्याउन सम्भव भएन । गाउँले सबैको घर छिनभरमै खरानी भयो । घर छेउमा रहेका रूखबिरुवा पनि जलेका छन् । वडा नं ७ का अध्यक्ष पुस्कर वली घटनास्थलमै थिए। घटनाका बारेमा जानकारी प्राप्त हुने बित्तिकै आफू त्यहाँ पुगेको उनले बताए । स्थानीयवासीको उद्धारका लागि उनी लागिपरेका छन् । प्रहरीसँगको सहकार्यमा क्षतिको विवरण सङ्कलन गर्न लागेका छन् । गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न नसकेको उनले बताए । नजिकै राप्ती नदी छ तर त्यहाँबाट पानी ल्याउन भाँडा नभएका कारण आगो नियन्त्रण हुन नसकेको अध्यक्ष वलीले बताए । आगलागीबाट २३ घर र एक सय १० जना प्रभावित भएका छन् । आगलागीस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू परिचालन भए पनि पर्याप्त पानीको स्रोत नहुँदा र भौगोलिक कठिनाइका कारण आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको उनले बताए । गाउँको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । रूखहरु जलेर धुवाँ उडिरहेको छ । पानी र बत्तीको समस्या गर्मी मौसम सुरु भएपछि जङ्गलमा आगो लाग्यो खानेपानीको पाइप सबै जल्यो । त्यसपछि हाडबासका स्थानीयलाई पानीको समस्या भयो । एक घण्टाको दूरीमा रहेको हाटबास खोलामा बालुवा खोस्रेर बनाइएको जरुवाबाट पानी ल्याएर जीविका चलाएको स्थानीय लक्ष्मी भण्डारीले बताइन् । एक घण्टाको उकाली ओराली गरेर ल्याएको पानीले जीविका चलेको छ भण्डारीले भनिन्, ‘आगलागी भएपछि गाउँमा बिजुलीबत्ती छैन । तीन दिन भयो, बत्ती नभएकाले मोबाइल फोन चार्ज गर्न पनि सकेका छैनौँ । सञ्चारविहीन भएका छौँ ।’ आगलागीपीडितलाई स्वास्थ्य परामर्शमा ध्यान दिन अपिल दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँवासीले आगलागीबाट ठूलो भौतिक क्षति व्यहोर्नु परेको घटनाप्रति नागरिक समाज दाङले दुःख व्यक्त गरेको छ । वैशाख १६ गते नजिकैको सामुदायिक वनबाट बस्तीमा पसेको आगोले हाडबास गाउँका २३ घरगोठ जल्दा दर्जनौँ चौपाया, पक्षी मर्नाका साथै अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर गाउँ नै खरानी भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित गाउँलेको उद्धारपछिको उचित राहत व्यवस्थापनामा ध्यान दिन सबैमा हार्दिक अपिल गरेको छ । नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा र सचिव नारायणप्रसाद श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । पीडादायी घटनाप्रति मानवीय समवेदना आत्मसात् गरेर उदार मनले सहयोग कार्यमा जुट्न स्थानीय सरकार, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, व्यापार सङ्घ, रेडक्रस, उद्योगी, व्यवसायी एवम् सबै मनकारीमा नागरिक समाज दाङले अनुरोध गरेको छ । आगलागीका कारण गाउँवासीको बसाइ व्यवस्थापनसँगै खानपानमा ध्यान दिन तथा खानेपानीको पाइप जलेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि सुरक्षित खानेपानीको सहज रुपमा उपलब्ध गराउन आग्रह गरेको छ । आगलागीका कारण गाउँवासीमा विभिन्न प्रकारका स्वास्थ्य समस्या आउने सम्भावना भएको हुँदा स्वास्थ्य उपचारसँगै स्वास्थ्य परामर्शमा ध्यान दिन पनि समाजले अपिल गरेको छ । विपन्न परिवार बसोबास गर्ने घरको खरको छाना विस्थापन गरी टिन लगाउने अभियान अहिले अलपत्र परेको हुँदा यस प्रकारका विपद्बाट क्षति भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अविलम्ब खरको छानो विस्थापन अभियान कार्यान्वयन गर्न पनि राज्यका तीन तहका सरकारलाई सचेत गराइएको छ । बढ्दो गर्मी अनि हावाहुरीले जताततै आगलागीको जोखिम कायमै रहेको हुँदा जोखिम बस्तीमा सचेतना अभियान व्यापक बनाउन पनि सरोकार सबैमा नागरिक समाज दाङले ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले बताए । साथै, नागरिक समाजले आगलागीको घटनालगत्तै उद्धारमा अहोरात्र खटिएर सुरक्षा दिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय सरकार, जनप्रतिनिधि, अमिलियावासी, स्थानीय, पत्रकारलगायत सबैमा आभार प्रकट गरेको छ । आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षति गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । आगलागीबाट ८७ लाख ७५ हजार बराबरको क्षतिको प्रारम्भिक अनुमान रहेको प्रवक्ता मल्लले जानकारी दिए । पीडितलाई राहतस्वरुप घोराहीमा रहेको मानव कल्याण तथा वातावारण संरक्षण केन्द्र र वडा कार्यालयले खाद्यान्नसहित चाउचाउ र बिस्कुट म्याट र त्रिपाल वितरण गरेको थियो । रासस

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्टले सवा अर्ब बढी लगानी गर्ने, कृषि र एसएमईलाई प्राथमिकता

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडमा १० मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यस सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका छन् । उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ । यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सिर्जना गर्ने रहेको छ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटसँगको यस लगानी सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । नेपालस्थित स्विट्जरल्याण्डको दूतावासले आफ्नो आधिकारीक सामाजिक सञ्जालमार्फत् यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि नेपालको ठूलो बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन ।

चीनले टेस्लामा लगाइएको सबै प्रतिबन्ध हटायो

एलाेन मस्क काठमाडौं । विश्वका तेस्रो धनी व्यक्ति एलोन मस्कका लागि उनको अचानक चीन भ्रमण उपयोगी सावित भएको छ । चीनले आफ्नो देशमा टेस्ला कारहरूमा लगाइएको सबै प्रतिबन्धहरू हटाएको छ । चीनले टेस्लाले डाटा सुरक्षा नियमहरूको पालनाको मुख्य परीक्षणहरू पार गरेको उल्लेख गरेको छ । पछिल्ला केही महिनाहरूमा चीनले डाटा सुरक्षाको कारण टेस्ला कारहरूमा प्रतिबन्धहरू लगाएको थियो । डाटा सेक्युरिटी लिक र अन्य कारणले चीनले टेस्लाका कारलाई देशको सैन्य अखडा र सरकारी भवनहरूमा प्रवेशमा रोक लगाएको थियो । तर, टेस्लाको नतिजा सार्वजनिक भएपछि एलोन मस्कले अचानक चीनको भ्रमण गरे र आफ्नो कारमा लगाइएको प्रतिबन्धबारे चीनका प्रधानमन्त्री ली छ्याङसँग कुरा गरे। अहिले चीनले टेस्लाका कारमा लगाइएको सबै प्रतिबन्ध हटाएको छ । एलोन मस्कका लागि यो ठूलो राहतको खबर हो । टेस्ला ७६ मोडलको सूचीमा पर्यो एलोन मस्कको चीन भ्रमणको लगत्तै अटोमोबाइल उत्पादकहरूको चाइना एसोसिएसन र नेशनल कम्प्युटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टोलीले सोमबार देशको डाटा सुरक्षा परीक्षणमा उत्तीर्ण भएका ७६ मोडलका इन्टेलिजेन्ट जडान भएका सवारी साधनहरूको सूची जारी गरेको छ र टेस्ला कारको नाम समावेश गरिएको छ। उल्लेखनीय छ कि एलोन मस्क गत आइतबार अचानक चीन भ्रमणमा बेइजिङ पुगेका थिए । भारत भ्रमण त्यागेर चीन पुगे मस्क एलोन मस्कले यही महिना अप्रिल २१–२२ मा भारत भ्रमण गर्ने थिए तर अचानक उनले आफ्नो भ्रमण रद्द गरे । उनले आफ्नो ट्विटर हेयान्डल एक्समा पनि यो जानकारी सेयर गरेका थिए । तर, आफ्नो भारत भ्रमण स्थगित भएको एक सातापछि अचानक चीनको भ्रमणमा आएका मस्कले आफ्नो एक्स पोस्टमा एक भिडियो सेयर गर्दै भनेका छन्, ‘म चीनको ठूलो फ्यान हुँ र यहाँ मेरा धेरै फ्यान छन् ।’ उनले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँगको आफ्नो तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् । नोभेम्बरमा भएको थियो परीक्षण सुरु चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार परीक्षण सूचीमा लि अटो, लोटस, होजोन न्यू एनर्जी अटोमोबाइल र एनआईओ पनि थिए । यी बाहेक बीवाईडी र टेस्ला स्थानीय चिनियाँ विद्युतीय सवारीका मोडेलहरू स्वीकृत गर्ने दुई संस्थाहरूद्वारा संयुक्त रूपमा गरिएको सुरक्षा परीक्षणपछि यो सूची जारी गरिएको हो। पीटीआई रिपोर्टका अनुसार, नोभेम्बर २०२३ मा सुरु भएको परीक्षणहरूमा कारहरूले चार अनुपालन आवश्यकताहरू पूरा गरे कि गरेनन् भनेर मूल्यांकन गरिएको थियो । यसमा कार बाहिरबाट अनुहार र अन्य जानकारीको बेनामीकरण, कारमा डेटाको पूर्वनिर्धारित गैर–संकलन, कारमा डेटा प्रशोधन र व्यक्तिगत जानकारी प्रशोधन समावेश छ । एजेन्सी

रातो मच्छिन्द्रनाथको रथ धमाधम निर्माण हुँदै  (तस्बिरहरू)

काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी छन् ।  

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका उनले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थालेका हुन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए । आज नेकपा एमालेको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरिने मुख्यमन्त्री कँडेलले बताए । माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ । नियुक्त हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जानकारी दिए । दुवै दलबाट को–को मन्त्री हुने भन्नेबारे भने खुलाइएको छैन । मन्त्रीहरू नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए ।

३२ करोडमा नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माणाधिन अत्याधुनिक नगरभवनको ८६ प्रतिशत काम सम्पन्न भएको छ । सहरी विकास मन्त्रालयको बजेटमा नगर भवन निर्माण भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेका प्रमुख विजय केशर खनालले बताए । ‘हालसम्म सिटी हलको ८६ प्रतिशत भौतिक प्रगति भएको छ, माग गरिए बमोजिमको बजेट तत्काल आउने हो भने यही असारसम्म काम सम्पन्न हुनेछ’, खनालले भने, ‘निर्माण सामग्री समयमा नपाउनु र बीचमै डिजाइन समेत परिवर्तन गर्नु परेकाले तोकिएको समयमा सिटी हलको निर्माण पूरा हुन नसकेको हो ।’ २९ करोड ४५ लाख ५५ हजार नौ सय ५१ लागत रुपैयाँमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी भवनको डिजाइन परिवर्तन गर्दा बजेट बढेर ३२ करोड रुपैयाँ पुगेको छ । उक्त आयोजना निर्माणका लागि निर्माण कम्पनीले २०७८ साल साउन २५ गते काम सम्पन्न गर्ने गरी २०७५ माघ २५ मा सम्झौता गरेको थियो । बहुउपयोगी भवनमा सात सय ९५ सिट क्षमतासहितका तीनवटा सम्मेलन हल छन् । अत्याधुनिक थिएटरसहितको सभा हलमा पनि छ । सभाहलमा २५ वटा चारपाङ्ग्रे र ६० वटा दुई पाङ्ग्रे सवारी अट्ने क्षमता पनि छ । नगर भवनको डिजाइन परिवर्तन गर्दा थप सात करोड रुपैयाँ बजेट थपिएको छ । माग गरिएको बजेट छिट्टै निकासा भए असार मसान्तसम्म निर्माण सम्पन्न हुने भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाई कार्यालय बाँकेका प्रमुख खनालले बताए । नेपालगञ्ज उपमहानगरपालिकाले पुरानो नगर भवन भत्काएर अत्याधुनिक नगर भवन निर्माण सुरु गरेपनि काम अलपत्र पर्दै आएको छ । निर्माणाधिन नगर भवनको काम समयमै सम्पन्न गर्नतर्फ सरोकारवाला निकायले चासो दिनुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । सहरी विकास मन्त्रालय अन्तर्गतको बजेटमा भवानीयापुरमा निर्माणाधिन नगर भवन समयमै सम्पन्न हुनसके नेपालगञ्जको १४ नं वडा भवानीयापुरमा चहलपहल बढ्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए । रासस

नेपालसँग घाँस किन्दै तिब्बत, घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो

काठमाडौ । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग सम्झौता गरेको हो । प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको छ । नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत चेन सोङको उपस्थितिमा घाँस र दाना निर्यात गर्नेबारे सम्झौता भएको हो । नेपालको दक्षिणी तराईको हावापानी र माटोको अवस्था ओट ग्रासको विकासको लागि उपयुक्त मानिन्छ । ओट घाँसमा कच्चा फाइबरको मात्रा राम्रो हुन्छ । जुन याकजस्ता पशुका लागि महत्वपूर्ण मानिन्छ । तिब्बतमा ओट ग्रासको ठूलो माग छ । आन्तरिक उत्पादनले यो माग पूरा गर्न नसकेपछि सरकारले घाँस आयात गरिरहेको छ । नेपालबाट उच्च गुणस्तरको ओट घाँस र पशु दानाको आपूर्तिलाई प्रभावकारी रूपमा सुधार गर्न तिब्बत सरकारले नेपाली किसानसँग सहकार्य गरेको हो । घाँस लैजाने कम्पनी तिब्बत प्लेटु ब्लु एग्रिकल्चरका निर्देशक झ्याङ्ग जियाङ्गले तिब्बतका दुग्ध फार्महरू र किसानहरुको लागि चीनको अर्को क्षेत्रबाट घाँस ल्याउनुभन्दा तातोपानी र केुरुङ नाका हुँदै नेपालबाट घाँस किनेर लैजान सहज र सस्तो हुने बताए । यसले नेपाली जनताको आय आर्जन बढ्ने र रोजगारीसमेत सिर्जना हुने भएकाले पनि चीनले नेपालमा उत्पादित घाँस आयातलाई प्राथमिकतामा राखेको उनले बताए । २०७८ सालमा चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गर्दा नेपालबाट चीनमा घाँस निर्यात गर्नेसम्बन्धी ‘प्रोटोकल’ मा हस्ताक्षर गरेका थिए । त्यसपछि चितवनको एक नेपाली कम्पनीले हाइलेज (घाँसको विशेष प्रकार) बनाएर तिब्बत पठाइरहेको छ । सम्झौतासँगै नेपाली किसानले ठूलो परिणाममा घाँस खेती गर्न सके निर्यात गर्ने ढोका खुलेको छ ।

बालेनविरुद्ध अदालत पुगे निजी विद्यालय, नाम नफेर्ने अडान

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशन विपरित सर्वोच्चमा मुद्दा दर्ता भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) आबद्ध करिब २० विद्यालय सञ्चालकले कामपाले दिएको निर्देशन पूर्ण रूपमा गलत भएको उल्लेख गर्दै मुद्दा दर्ता गरेका हुन् । विद्यालयलले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५४ को १ र कामपा विद्याललय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० विरुद्धमा मुद्दा दायर गरिएको जनाइएको छ । महानगरले सबै विद्यालयको नाम नेपालीमा हुनुपर्ने भन्दै गत चैत २१ गते सबै विद्यालयलाई नाम परिवर्तन गर्न पत्र पठाएको थियो । काठमाडौं महानगर भित्र रहेका २ सय ३४ विद्यालयको नाम अंग्रेजीमा राखेकाले नेपालीमा राख्न भनेको थियो । महानगरले चैत २७ गतेभित्र कार्यालयमा सम्पर्क गरी मौलिक नामकरण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । महानगरका अनुसार २ सय ३ विद्यालयले भने महागरमा नयाँ नाम राख्न जवाफ पठाएको छ ।