विकासन्युज

कंगारु एजुकेशन १९औं वर्षमा प्रवेश, १५ हजार विद्यार्थीले लिए सेवा

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशन १८ वर्ष पूरा गरी १९ वर्षमा प्रवेश गरेको छ । आफ्नो १८औं वार्षिकोत्सवलाई कंगारुले सामाजिक कार्यमा समर्पित गर्दै मनाएको छ । १८ वर्ष अगाडि अप्रिल ३० मा कम्पनीको स्थापना भएको हो । कँगारुले युएसए, न्युजिल्याण्ड, क्यानडा, युके र अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । पछिल्लो समय प्लस टु पछि प्राय विद्यार्थीको रोजाईमा वैदेशिक अध्ययन प्राथमिकतामा पर्ने गरेको छ । कंगारुले काठमाडौंसहित देशका अन्य मुख्य शहरमा पनि शाखा स्थापना गरी सेवा प्रदान गरिरहेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, विदेशस्थित विभिन्न कलेज तथा युनिभर्सिटी, सरोकारवाला लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् । ‘विद्यार्थी र अभिभावकको विश्वास र मायाकै कारण हामीले १८ वर्षसम्मको यो अवधिमा परामर्श सेवा क्षेत्रमा उत्कृष्ट पहिचानसहित कम्पनीलाई उभ्याउन सफल भएका छौं,’ तिमिल्सिनाले भने, ‘आगामी दिनमा पनि अझै बढी विश्वास जित्नेमा विश्वस्त छौं ।’ विद्यार्थीको चाहना अनुसारको सेवा प्रदान गरिरहेकाले पनि कम्पनी धेरैको रोजाईमा पर्न सफल भएको उनले बताए । कँगारुबाट १५ हजार भन्दा बढी विद्यार्थीले सेवा लिइसकेको बताएका छन् । यसैबीच, कम्पनीले वार्षिकोत्सवको अवसरमा वर्षेनी सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम गर्ने गरेको छ । यो वर्ष वार्षिकोत्सवको अवसरमा कम्पनीले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।

नवनिर्वाचित सांसद नेम्वाङले भने : बुबाले देखाएको मार्गलाई समाएर इमानका साथ काम गर्छु

काठमाडौं । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उहाँले इलामेली जनताको शीर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन् । नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्यांकन हुनेगरी काम गर्ने बताए । त्यस अवसरमा उनले आफूलाई विश्वास गरेर मत दिएको भन्दै आम मतदाताप्रति आभार पनि व्यक्त गरेका थिए । नवनिर्वाचित सांसद नेम्वाङले भने, ‘म एकदमै हर्षित पनि छु । अलिअलि भावुक पनि भएको छ । यो हर्ष र भावुकको एउटा जुन अहिलेको समय छ । म के बाचा गर्न चाहन्छु भने तपाईहरुले संघर्ष गरेर सुरक्षित राखेर ल्याउनुभएको एकएक मत, सुरक्षित राख्नुभएको एक एक मतको मूल्यांकन हुने गरेर, तपाईहरुलाई कुनै पनि संकोच हुन नदिने गरेर म काम गर्नेछु । मैले बुबाले देखाउनु भएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिवद्ध हिसावले इमान्दार र निष्ठापूर्वक काम गर्नेछु । तपाईहरुको शीर कहिल्यै पनि झुक्न दिने छैन ।’ नेम्वाङले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका थिए । संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा एमालेले उनका कनिष्ठ सुपुत्र सुहाङलाई उम्मदवार बनाएको थियो ।

दुर्घटनाका घाइते भन्छन् : गाडी पार्किङ गर्न खोज्दा पल्टियो

धरान । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर आमचोक–१० की सरस्वती राई उपचार गराइरहेकी छन् । सोमबार पारकुवामा भएको दुर्घटनामा उनको खुट्टा र निधारमा चोट लागेको छ । उनी भोजपुरबाट धरान फर्कने क्रममा जीपमा सवार थिइन् । ‘गाडीमा समस्या थियो जस्तो लाग्दैन, पारकुवामा चालकले पार्किङ गर्न खोज्दा खै के भयो गाडी पल्टियो’, शय्याबाटै उनले सुनाइन् । सोमबार बिहान भोजपुरको आमचोक गाउँपालिका बालङ्खाबाट पारकुवा मैयुङटार आउँदै गरेको बोलेरो जिप पारखुवामा पार्किङ गर्न खोज्दा पौने १० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भइसकेको भने १२ जना घाइते भएका थिए । को२ज २६१७ नम्बरको जिप सडकबाट करिब ५० सय मिटर तल खसेको भोजपुर दुङमानास्थित प्रहरी चौकीले जनाएको छ । जिपमा छ महिनाको बच्चासहित जम्मा १४ यात्रु सवार थिए । दुर्घटनामा घाइेत राई जस्तै १२ जनाको सोही अस्पतालमा उपचारका लागि ल्याइएको थियो । जसमध्ये तीन जना डिस्चार्ज भइसक्नुभएको छ भने नौ जनाको उपचार जारी छ । सरस्वति जस्तै घाइते भोजपुरको आमचोक गाउँपालिका–१० की सिर्जना राई पनि छोरा र छोरीसहित उपचाररत छन् । छोरा साइमन राईको खुट्टा भाँच्चिएको छ भने छोरी लिजाको टाउकोमा गहिरो चोट लागेको आकस्मिक कक्षको शय्याबाटै उनले सुनाइन् । दुर्घटनामा परी आमचोक –३ का सुमन राई गम्भीर घाइते भएका छन् । उनी प्रतिष्ठानको आकस्मिक कक्षमै छन् । उनी बोल्न सक्ने अवस्थामा छैनन् । उनका आफन्त दिक्पाल राईले दुर्घटनाको कारण थाहा नभएको बताए । दुर्घटनाको सूचना पाए लगत्तै घटनास्थल पुगेर यात्रुको उद्धारमा लाग्नुभएका भोजपुर आमचोक गाउँपालिकाका उपाध्यक्ष सीता राईले दुर्घटनाले आफूहरुलाई गम्भीर बनाएको बताइन् । ‘हिजोको घटनाले हामी सबैलाई गम्भीर बनाएको छ, पछिल्लो समय पहाडी क्षेत्रमा सवारी दुर्घटनाको घटना बढ्दै जाँदा स्थानीय सरकारको ध्यानाकर्षण भएको छ’, उनले भनिन् । उनले पहाडी भेगको बाटो मर्मत तथा स्तरोन्नतिका लागि ठूलो बजेट आवश्यक भएकाले सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गरेका बताइन् । उनले चार जना घाइतेको अवस्था गम्भीर रहेको र तत्काल आइसीयुको आवश्यकता परेकाले धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघासँग सहयोगको अपिल गरेको बताए । उपप्रमुख वेघाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी घाइतेहरुको अवस्थाबारे जानकारी लिएका थिए । उनीले आफूले सक्दो सहयोग गर्ने वचन समेत दिए । धरानबाट भोजपुर पुग्ने सडकको अवस्था राम्रो नहुँदा यात्रुहरुले समय समयमा दुःख पाउने गरेका छन् । कतिपय स्थानमा मोटरेबल पुलको समेत अभाव छ । भोजपुरबासीका लागि दुधकोशीको झोलुङ्गे पुल तरेर फेरि अर्को गाडीमा चढ्नपर्ने बाध्यात्मक अवस्था छ । भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दाका लागि तराईका जिल्लामा आउजाउ गर्ने छोटो दूरीको यो सडक खण्ड सहज छैन । भोजपुरको आमचोक, हतुवागडीदेखि, सप्तकोशी नदीपारिको भिरको यो बाटो दूधकोशी किनारको मैयुङटार उदयपुरको मैनामैनी सोमबारे कोठहुँदै सुनसरीको धरानसम्म पुग्छ । यसअघि गत चैत्र १ गते भोजपुर मैयुङटार नजिक उदयपुरको वेलका नगरपालिका–७ मैनामैनीमा भोजपुर जाँदै गरेको जिप बाटोबाट करिब चार सय मिटर तल खस्दा चालकसहित दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा घाइतेमध्येका केहीको अहिले पनि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । रासस

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौंमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स-र्याकिङ्ग’ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ । ‘वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,’ प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा वायु प्रदुषणबाट बर्सेनि हुने मृत्युमा पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटेको तथ्यांक छ । नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताउँछन् । गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन मन्त्रालयले अनुरोध गरेको छ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ । रासस

पर्यटन बोर्डमा सीईओ नियुक्तिको अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं । पाटन उच्च अदालतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया रोक्नका लागि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरतो दिने आदेश दिएसँगै पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको हाे । पर्यटन बोर्डका कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रसहितका ११ जना कर्मचारीले वैशाख ९ गते दर्ता गरेको रिट निवेदनमा १० गते उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । उच्च अदालतको यो आदेशसँगै मुद्दाको टुंगो नलागेसम्म पर्यटन बोर्ड सीईओ छनोट उपसमितिले कुनै काम कारबाही गर्न पाउने छैन । उपसमितिले तयार पारेको १६ जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण गर्ने समय सार्वजनिक भएपछि सीईओ नियुक्ति प्रक्रिया रोकिएको हो । पर्यटन बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनय गैरकानुनी भएको, उनीहरू अन्तर्गत रहेको सीईओ छनोटसम्बन्धी उपसमिति अवैधानिक भएको र सीईओ नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०८० समेत नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को विपरीत भएको भन्दै अदालमा रिट दायर भएको थियो । सीईओ छनोट उपसमितिका संयोजकको सरुवा भएको हुँदा नयाँ संयोजक तोक्नुपर्ने भएकाले अदातलको फैसलापछि मात्रै पर्यटन बोर्डको सीईओ छनोटकाे काम अगाडि बढ्ने छ । सीईओ छनोट उपसमितिका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव चक्रबहादुर बूढाको सरुवा भएको छ ।

अर्थमन्त्री र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट, आईडीए बैठकको तयारीबारे छलफल

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ । बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरुले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने जानकारी उपाध्यक्ष मार्टिनले दिए । मन्त्री पुनले स्थलगत अध्ययनको व्यवस्था मिलाइने बताए । आइडीएको २१औं बैठक आगामी असारमा काठमाडौंंमा हुँदैछ । मन्त्री पुनले आईडीए बैठकको राम्रो तयारी भइरहेको जानकारी दिए । बैठक तयारीका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको र ती दुवै समितिले तयारीका काम अघि बढाएको जानकारी मन्त्री पुनले दिए । यस्तै बैठक तयारीबारे काठमाडौंस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय भइरहेको उनको भनाइ थियो । विकास साझेदारहरुको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् । आईडीए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो । सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने जनाएको छ । नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने आईडीए बैठकको प्रमुख एजेण्डा छ । आइडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकामा विश्व बैंक समूहले नेपाल रोजेको हो । विश्व बैंक समूहको यो स्तरको बैठक नेपालमा यसअघि भएको थिएन । हरेक तीन वर्षमा हुने आइडीएको २०औं बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका-११ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका(१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङगला गाउँपालिका-२ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनले भने, ‘सन्ध्या लामा बुढामगरले स्लोभाकिया पठाइदिने भन्दै दुई लाख तथा उदिमबहादुर पुनले अमेरिका पठाइदिने भनेर ७८ लाख रकम लिएका उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।’ उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि बैदेशिक रोजगार विभाग पठाइएको पनि प्रवक्ता रेग्मीले जानकारी र्दिए । रासस

चीनका कारखानाहरूको उत्पादन दोस्रो महिना पनि बढ्यो

बेइजिङ । चीनको कारखाना गतिविधि अप्रिलमामा लगातार दोस्रो महिना बढेको छ । मंगलबारको तथ्यांकले कमजोर घरेलु माग र खराब रियल स्टेट क्षेत्रसामु विशाल अर्थतन्त्रलाई गति दिन संघर्ष गरिरहेका अधिकारीहरूलाई केही राम्रो समाचार प्रदान गरेको छ । राष्ट्रिय तथ्यांक ब्युरो (एनबिएस) ले कारखाना उत्पादनको प्रमुख मापन पर्चेजिङ मेनेजर्स इन्डेक्स (पिएमआई) ५० दशमलव चारमा आएको छ । यो विस्तार र सङ्कुचनलाई अलग गर्ने ५० को स्तरभन्दा थोरैले बढीले हो । मार्चदेखि नै पिएमआई घटेका बेला उक्त तथ्यांकले ब्लुमबर्गका विश्लेषकहरूको ५० दशमलव तीनको पूर्वानुमानलाई पछाडि पारेको र सन् २०२३ को अन्त्यमा सुरु भएको पाँच महिनाको मन्दीपछि वृद्धिको निरन्तरतालाई देखाएको छ । सन् २०२२ को उत्तरार्धमा कठोर कोभिड नियन्त्रण कदमहरूपछि अधिकारीहरूले आर्थिक पुनरुत्थानलाई बढावा दिन संघर्ष गरिरहेका छन् । चीनले आफ्नो ऋणमा डुबेको रियल स्टेट बजारमा संकट सामना गरिरहेको छ । हालैका महिनाहरूमा घरको मूल्यमा गिरावट आएको छ भने खुद्रा बिक्री खराब घरेलु मागबाट प्रभावित भएको छ । यसैबीच विश्वव्यापी मन्दीका कारण विदेशमा मुलुकको उत्पादनको माग कमजोर भइरहेको छ । ‘उत्पादन क्षेत्र लगातार सुधार र वृद्धिको अवस्थामा छ,’ एनबिएसले एक विज्ञप्तिमा उल्लेख गरेको छ । बेइजिङले मार्चको प्रारम्भमा सन् २०२४ मा पाँच प्रतिशत वार्षिक वृद्धि हासिल गर्ने आफ्नो लक्ष्य घोषणा गरेको थियो । उक्त लक्ष्यलाई धेरै अर्थशास्त्रीले महत्त्वाकांक्षी मानेका छन् । अधिकारीहरूले हालैका महिनाहरूमा पूर्वाधार खर्च बढाउन र आर्थिक गतिविधिलाई पुनर्जीवन दिन मिश्रित परिणामहरूका साथ लक्षित उपायहरूको शृङ्खला र सार्वभौम बन्ड जारी गर्ने घोषणा गरेका छन् । सेवा क्षेत्रको गतिविधिको मापन गर्ने चीनको गैर–उत्पादक पिएमआई अप्रिलमा ५१ दशमलव दुईमा आएको छ । यो मार्चको ५३ र पूर्वानुमानभन्दा कम हो । आधिकारिक तथ्यांकअनुसार चीनले गत वर्ष पाँच दशमलव दुई प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको छ । महामारीका वर्षहरूका अतिरिक्त सन् १९९० को दशकपछि सबैभन्दा कम विस्तारको प्रतिनिधित्व गरे पनि यसलाई धेरै अर्थशास्त्रीले अत्यन्त धेरै मानेका छन् । एजेन्सी