विकासन्युज

अब श्रमिकको पारिश्रमिक बढ्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने प्रतिवद्धता गरेका छन् । १३५ औँ संयुक्त ट्रेड युनियन महासंघद्वारा बुधबार आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले श्रमिकको पारिश्रमिक बढाउन आफू लागिपर्ने बताएका हुन् । ’मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो, भविष्यमा न्यूनतम पारिश्रमिक वृद्धिका निम्ति निरन्तर पहल गरिने विश्वास दिलाउँछु,’ उनले भने । उनले स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानुनी आधार तयार गरिएको जानकारी दिए । देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा रहेको उल्लेख गर्दै उनले यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने बताए ।

धुम्म काठमाडौं, अस्तव्यस्त जीवनशैली

काठमाडौं । हरेक वर्ष विश्वकै प्रदूषण सहरमध्येमा पर्छ काठमाडौं । गाउँदेखि हरेक स–साना सहरबाट बसाइँसराइ गरेर काठमाडौंमा बस्ने रहर बोकेर आएकाहरू अहिले काठमाडौंको करूपता भोग्न बाध्य छन् । खासै ठूला उद्योग तथा कलकारखानाहरू सञ्चालनमा नभए पनि काठमाडौंमा वर्सेनि प्रदूषण बढिरहेको छ । धेरैले काठमाडौंलाई फोहोर सहरका रूपमा पनि चित्रण गर्न थालेका छन् । हिउँदको समयमा देशमा बढ्दै गएको आगलागी तथा डढेलो र थोत्रा यातायातका साधनहरूबाट निस्कने धुलो धुवाँले धेरैलाई आजित पारेको छ । यसले थप प्रदूषण बढाउन टेवा पुर्याइरहेको छ । गोलो कचौरा आकारको रूपमा रहेको काठमाडौंबाट प्रदूषण हट्न लामो समय लाग्छ । चिसो हावा तल नआउँदा तातो हावा तल्लो तहमा नै रहने भएकाले पनि काठमाडौं सहर थप प्रदूषित बन्दै गएको धारणा वातावरणविदहरू राख्छन् । वायु प्रदूषणको अवस्था मापन गर्ने वल्र्ड एयर क्वालिटी इन्डेक्स–र्याकिङ्ग’का अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको अग्रस्थानमा छ । जसका कारण राम्रोसँग घाम नलाग्ने, धुम्म रहने गर्छ । जसको प्रत्यक्ष असर व्यक्तिको स्वास्थ्यमा पर्ने गरेको छ । चिकित्सकहरूका अनुसार वायु प्रदूषणले आँखा पोल्ने, चिलाउने, नाक चिलाउने, नाक पोल्ने हाँच्छिउँ आउने, खोकी लाग्ने, घाँटी खसखसाउने लगायतका लक्षणहरू देखिन्छन् । प्रदूषित वातावरणमा लामो समयसम्म रहँदा दम तथा मुटु सम्बन्धि रोग लाग्ने, फोक्सोको क्यान्सर तथा पक्षघात समेत हुनसक्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयले यो प्रदूषणबाट बच्नका लागि अनावश्यक काममा बाहिरि ननिस्कन आग्रह पनि गरेको छ । आँखा अस्पतालमा भीड वायु प्रदूषणका कारण आँखाका बिरामीको संख्या बढ्दै गएको छ । आँखाको बिरामी बढ्दा काठमाडौं उपत्यकाका आँखा अस्पतालहरू भरिभराउ छन् । आँखा रोग विशेषज्ञका अनुसार प्रदूषणले आँखाको जाली र नानीमा असर पर्छ । आँखामा धुलो परेजस्तै बिझाउने, चिलाउने र रातो हुने गर्छ । अहिले अस्पताल आउने धेरैमा आँखा चिलाउने, बिझाउने र रातो हुने समस्या देखिएको अस्पतालहरूले बताएका छन् । आँखारोग विशेषज्ञ डा. बेन लिम्बु प्रदूषणले आँखामा असर पर्ने भएकाले बाहिर निस्कदा अनिवार्यरूपमा चस्मा र मास्क लगाउन सल्लाह दिन्छन् । आँखा चिलाउँदा र बिझाउँदा आँखामा पानी नछ्याप्न पनि उनको आग्रह छ । ‘यस्तो बेला धेरैले आँखामा चिसो पानी छ्याप्छन्,’ उनी भन्छन्, ‘त्यस्तो गर्नु हुँदैन, त्यसले थप असर निम्त्याउँछ, प्रदूषणको बेला घर बाहिर निस्कनु हुँदैन, निस्किहाले पनि चस्मा लगाउनुपर्छ ।’ श्वासप्रश्वासको पनि समस्या चिकित्सकहरूका अनुसार प्रदूषणले श्वासप्रश्वासको पनि समस्या हुन्छ । अहिले अधिकांश अस्पतालमा श्वासप्रश्वासको समस्याहरू लिएर बिरामीहरू आउने गरेका छन् । प्रदूषणले दम लाग्ने र स्वास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन्छन् । अहिले यस्ता बिरामीको संख्या अस्पतालमा बढिरहेको बुझिएको छ । टेकु अस्पतालमा अहिले श्वासप्रश्वासका बिरामीको सख्या बढेको छ । वीर अस्पतालमा पनि बिरामीको संख्या बढेको अस्पतालले बताएको छ । अस्पतालका अनुसार वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलामा बढी जोखिम हुन्छ । छातिरोग विशेषज्ञ डा. अशेष ढुंगान प्रदूषित वातारणमा लामो समय रहँदा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने बताउँछन् । ‘वायु प्रदूषण मानव स्वाथ्यका लागि खतरा हो,’ उनी भन्छन्, ‘जब श्वासप्रश्वासको माध्यमबाट फोहोर फोक्सोमा जान्छ त्यसपछि असर देखिन्छ, प्रदूषणको समयमा धेरै ख्याल गर्नुपर्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार वायु प्रदूषणका कारण विश्वमा प्रत्येक वर्ष ७५ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि हरेक वर्ष ३५ हजारले प्रदूषणका कारण ज्यान गुमाउने गरेको सरकारी तथ्यांकले देखाउँछ । हामीले श्वासप्रश्वास गर्दा हाम्रो श्वासबाट आँखाले देख्न नसकिने किटाणुहरू शरिरभित्र प्रवेश गर्छन्, छाला र आँखाका रोगीहरूको सख्या नेपालमा वर्सेनि बढिरहेको छ । हावामा प्रदूषण हुँदा यसको सिधा सम्पर्क व्यक्तिको आँखा र छालामा पर्छ, जसका कारण स्वास्थ्यमा ठूलो असर पर्ने चिकित्सकहरू बताउँछन् । बढ्दो सहरीकरणको प्रभाव वातावरण र मानिसको स्वास्थ्य कुनै न कुनै रूपमा एक अर्कासँग जोडिएका छन् । बढ्दो सहरीकरण तथा जलवायु परिवर्तनका कारण वातारण प्रदूषण बढ्दै गएको छ । नेपाल जस्तो विकासन्मुख देशमा अझ बढी प्रदूषणको प्रभाव देखिएको वातावणविद्हरू बताउँछन् । गरिबी तथा अव्यवस्थित् सहरीकरण लगायत कारणले वातापरण प्रदूषण हुने गरेको छ । वातावरणविद् भुषण तुलाधर वायुमा देखिने प्रदूषण घातक हुने तर्क दिन्छन् । उनी सबैले मिलेर घरघरबाट यसलाई निर्मुल पार्नु पर्ने बताउँछन् । प्रदूषण कम गर्न प्रत्येक घरबाट कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ,’ उनी भन्छन्, ‘हामीले आफ्नै घरबाट सुरुवात गर्ने भने पनि यसमा ठूलो राहात हुन्छ, घरमा छुट्याएको फोहोर बोक्दा पनि छुट्टै लग्ने र डम्पिङ पनि सोहीअनुसार गर्ने हो भने प्रदूषण कम हुन्छ ।’ घरयासी फोहोर, कृषिमा प्रयोग गरिने रासायनिक पदार्थ, कलाकारखानाबाट निस्किने फोहोर, सवारी साधनबाट निस्कने धुलोधुवाँ तथा अन्य बाहिरी फोहोरले वायुप्रदुषण हुने गरेको उनको भनाइ छ । सहरी क्षेत्रमा प्रदूषण बढ्नुको कारण यातायातका साधनबाट निस्कने धुलोधुवाँ र निर्माण भइरहेका सडकले हो । यो मानवीय कारणले सिर्जित हुन्छ । ग्रामिण क्षेत्रबाट सहरमा बसाइँसराइ गर्दा पनि प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।

संस्था सफल हुने मूलखाँबो पूँजी, प्रविधि र श्रम : उद्यमी पाण्डे

काठमाडौं । निजी क्षेत्रका प्रमुख वाणिज्य बैंकमध्ये एक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष प्रबलजंग पाण्डेले पूँजी, प्रविधि तथा श्रम तीन क्षेत्रबीच समन्वय नभए कुनै पनि संस्था सफल नहुने बताएका छन् । युवा व्यवसायी तथा उद्यमी पाण्डेले १३५औं विश्व श्रमिक दिवसका अवसरमा बुधबार पूँजी, प्रविधि तथा श्रम समन्वय नभई संस्था सफल नहुने धारणा राखेका हुन् । सिटिजन्स बैंकका अध्यक्ष, औषधी उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक तथा उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले ती तीन क्षेत्रलाई कुनै संस्थाको मूलखाँबोका रूपमा चित्रण गरेका हुन् । ‘आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, जीवन जिउन कुनै न कुनै श्रम गर्नु नै पर्छ, तसर्थ काम गर्ने हरेक व्यक्ति श्रमिक नै हो, कुनै पनि संस्थाको तीन खम्बा पूँजी, प्रविधि र श्रम हुन्,’ विश्व श्रमिक दिवसकाे शुभकामना दिँदै उनले भनेका छन्, ‘यी तीनको सही मिश्रणबिना कुनै पनि संस्था सफल हुन सक्दैन, हामी सबै श्रमिकले एक आपसमा शुभकामना आदन/प्रदान गरी श्रम दिवस भव्यरूपमा मनाऔं ।’

२९औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता

काठमाडौं । सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा छन् । गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेकेका उनी यस वर्ष २९औँ पटक आरोहणको तयारीमा छन् । सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् । वसन्त यामको सगरमाथा आरोहणका लागि एकसाताअघि काठमाडौँबाट लुक्ला, नाम्चे हुँदै सगरमाथा आधार शिविर पुगेका कामिरिताले भने, ‘यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ । यति, उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाउँ कति सकिन्छ ।’ करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुचुरोतिर लाग्ने तरखरमा रहेको कामिरिताले जानकारी दिए । सेभेन समिट ट्रेक्स प्रालिमार्फत उनी आरोहणका लागि शिखरतर्फ जाने तयारीमा छन् । सेभेन समिट ट्रेक्सका अध्यक्ष अध्यक्ष मिङमा शेर्पाले आफ्नो कम्पनीमार्फत कामिरिता २९औँ आरोहणका लागि आधार शिविर पुगेको बताए । अहिले आधार शिविरमा रहेका कामिरितासहित आरोहीहरु सगरमाथा आरोहण गर्ने उपयुक्त समयको प्रतीक्षामा छन् । सेभेन समिटमार्फत ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन् । खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रुपमा सगरमाथा आरोहण गर्दै आएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले यसवर्ष सफल आरोहण गरेमा आफ्नै कीर्तिमान तोडिनेछ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए । ‘सगरमाथा आरोहणका लागि जाँदैछु, मेरो अरू उद्देश्य छैन’, कामिरिताले भने, ‘हिमाल आरोहणको पेसालाई निरन्तरता मात्र दिएको हुँ, म कीर्तिमानीका लागि सगरमाथा गएको हैन ।’ मौसमले साथ दिएमा यो वर्ष उल्लेख्य सङ्ख्यामा आरोहीले सगरमाथा चुचुरोमा पाइला टेक्ने कामिरिताको विश्वास छ । उनले भने, ‘अघिल्लो आरोहणमा बढी चिसो भएको थियो, त्यसैले आरोहणमा केही असहजता थियो, आशा गरौँ यो पटक मौसमले साथ दिनेछ ।’ सगरमाथा आरोहणमा जाँदा खुम्बु आइसफल निकै जोखिमपूर्ण भएकाले विशेष सतर्कता अपनाउन आरोहीलाई उनको सुझाव छ । सगरमाथा आरोहणमा हुनसक्ने विकृति रोक्न आरोहीको निगरानी र व्यवस्थापनमा सरकारी निकायले विशेष ध्यान दिन जरुरी भएको उनको भनाइ छ । सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो । पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन् । कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चिज दिएको छ । हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ । कामिरिताको आरोहण यात्रा कामिरिताले विसं २०७९ को वसन्त ऋतुमा दुईपटक सगरमाथा आरोहण गरेका थिए । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । त्यसको केही दिनपछि नै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुगेका थिए । कामिरिताले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमान पनि छ । कीर्तिमान जोगाउन चुनौती अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो । पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन् । पर्यटन विभागका अनुसार वैशाख १७ गतेसम्म ३७ आरोही समूहका ७० महिला र ३२० पुरुष गरी कूल ३९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी संकलन भएको छ । अघिल्लो वर्ष ४४ आरोही समूहका चार सय ७८ आरोहीले अनुमति लिएका थिए । जुन सङ्ख्या सगरमाथा आरोहण इतिहासकै सबैभन्दा बढी थियो । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म डोरी टाँग्ने काम सकिएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने अनुमान गरिएको छ । आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का आइसफल डाक्टरहरुले बाटो बनाउने गर्छन् । अघिल्लो वर्ष वैशाख ३० गतेबाट आरोहण सुरु भएको थियो । सात हजार बढी आरोही सगरमाथामा पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर-२०२३’ का अनुसार नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार छ सय २६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । हालसम्म सगरमाथा आरोहण गर्ने महिला ५१९ जना पुगेका छन् । पाँच वर्षको आरोहण सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ६ ५८ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । यसमा २४० आरोही तथा ४१८ सहयोगी छन् । सन् २०२१ मा १८३ आरोही र २७६ सहयोगी गरी कूल ४५९ ले सगरमाथा आरोहण गरेका थिए । सन् २०२० मा कोभिडका कारणले सगरमाथा आरोहण हुन सकेन । सन् २०१९ मा २८० आरोही र ३६४ सहयोगी गरी जम्मा ६४४ आरोहीले आरोहण गरे । यस्तै, सन् २०१८ मा २८२ आरोही तथा २९८ सहयोगी गरी जम्मा ५६० ले सगरमाथा आरोहण गरेका छन् । दुई साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययन अनुमतिपछि स्थानीय उत्साहित

गल्कोट । खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययन अनुमति दिएपछि स्थानीय उत्साहित भएका छन् । एक सय वर्षदेखि बन्द अवस्थामा रहेको भनिएको तामाखानी अध्ययनका लागि सरकारले अनुमति दिएपछि उक्त क्षेत्रका स्थानीय पुनः खानी सञ्चालनमा आउने आशासहित उत्साहित भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । ‘तामाखानी उत्खनन्का लागि पटकपटक आवाज उठाइँदै आएका थियौँ । म नेतृत्वमा आएपछि पनि पटकपटक यो विषयमा कुरा भएको थियो । ढिलै भए पनि अध्ययन अनुमति दिइएको पत्रप्राप्त भएपछि हामी उत्साहित भएका छौँ,’ अध्यक्ष बुढाले भने । खानी तथा भूगर्भ विभागले श्रेया जलान समूहलाई अध्ययनका लागि अनुमति प्रदान गरिएको जानकारी आएको उनले बताए । विभागका जियोलोजिष्ट रवि आचार्यले पनि तमानखोला गाउँपालिकाको ११ वर्ग किलोमिटर क्षेत्रफलमा तामाखानी अध्ययनका लागि आगामी २०८४ असोज १४ गतेसम्म चार वर्षका लागि अध्ययन अनुमति दिइएको बताए । तामाखानीको अध्ययन प्रतिवेदनका आधारमा थप रणनीतिसहित सरकारले आवश्यक काम गर्ने पनि उनले बताए । तामाखानीको अध्ययन गर्नका लागि अनुमति पाएपछि स्वीडेन र अस्ट्रेलियन भूगर्भविद्सहितको टोलीले अध्ययनकार्य अगाडि बढाउने तयारी भइरहेको श्रेया जलानका प्रतिनिधि भूगर्भविद् बलराम कार्कीले बताए । ‘तमानखोलामा रहेको तामाको अवस्था अध्ययनपछि थाहा हुनेछ । त्यसको गुलस्तर, उत्खनन् गर्न सकिने समय, उत्खनन् गर्दा आउने तामाको बजार मूल्यलगायत विषयमा हामीस्ले विज्ञसहित गहन अध्ययन गर्नेछौँ । अध्ययनका आधारमा थप रणनीति बनाउन पहल गरिने छ,’ कार्कीले भने । तमानखोला गाउँपालिका–६ नर्जाखानीसहित तमानखोला क्षेत्रमा एक सय वर्षअघिसम्म तामाखानी उत्खनन् हुनेगरेको स्थानीयको दाबी छ । अहिले पनि तमानखोलाको नर्जाखानी, भित्रिवन र पात्लेगाउँनजिक तामाखानीका सुरुङ र अवशेष बाँकी छन् । रैथाने छन्त्याल जातिले घरेलु प्रविधिबाट तामा निकाल्ने गरेकामा तत्कालीन सरकारले कर उठाउने थालेपछि विसं १९८१ देखि तामा निकाल्न छोडेका जानकारहरूको भनाइ छ । त्यसयता तामाखानीको अध्ययनका गाउँलेहरूले पटक–पटक प्रयास गर्दै आएका थिए । ‘तामाखानी छ भन्ने विषय यहाँको भौगोलिक अवस्थाबाट पनि प्रष्ट हुन्छ, अहिले पनि त्यो सम्भावना कायमै छ तर कति तामा छ, कति वर्षसम्म उत्खनन् गर्न सकिन्छ भन्नेबारेमा अध्ययनको आवश्यकता हो,’ गाउँपालिका अध्यक्ष बुढा भन्छन्, ‘पहिलोपटक अध्ययनका लागि चार वर्षलाई अनुमति दिएको पत्रप्राप्त भएपछि हामी निकै उत्साहित भएका छौँ । ढिलै भए पनि तामाखानीबाटै तमानखोलालाई समृद्धि बनाउने हाम्रो सपना पूरा हुने आशा जागेको छ ।’ नर्जाखानीमा तामा खनेको एक किलोमिटर भन्दा लामा सुरुङ रहेको छन् । तामाखानी उत्खनन गरेर सञ्चालनमा ल्याउनसके स्थानीयस्तरमा रोजगारी सिर्जनाका साथै राज्यले आर्थिक लाभलिन सक्ने स्थानीयको बुझाइ छ ।

अस्ट्रेलियामा महिलाविरूद्धका हिंसात्मक गतिविधि नियन्त्रणका लागि प्रतिबद्ध

अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले महिलाहरूलाई हिंसात्मक सम्बन्ध छोड्न मद्दत गर्नको लागि नयाँ कोषको घोषणा गरेका छन् । लैङ्गिक हिंसालाई सम्बोधन गर्न सङ्घीय, तथा क्षेत्रीय नेताहरूको आपतकालीन बैठकपछि, अल्बनिजले हिंसात्मक सम्बन्ध छोड्न सघाउने कार्यक्रम स्थापना गर्न पाँच बर्षमा नौ करोड २५ लाख अष्ट्रेलियाली डलरको घोषणा गरेका हुन् । लैङ्गिक हिंसा अन्त्य गर्न माग गर्दै हजारौँ अस्ट्रेलियालीहरूले गरेको प्रदर्शनमा अल्बानीजले क्यानबेरामा प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै महिलाविरुद्धको हिंसालाई राष्ट्रिय सङ्कटको रूपमा वर्णन गरे । राष्ट्रिय न्यायका लागि क्रियाशिल समूह ‘डिस्ट्रोय द जोइन्ट’का अनुसार अस्ट्रेलियामा सन् २०२३ को पहिलो चार महिनामा १२ जनाको मृत्यु भएकोमा सन् २०२४ मा यो सङ्ख्या २८ पुगेको छ । यसअघि बुधबार नै एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री अल्बानिजले महिला र बालबालिकाविरुद्धको हिंसाको रातारात समाधान हुन नसक्ने हृदयविदारक वास्तविकता भएको बताएका छन् । उनले यो घोषणाले कम महिलाहरूले हिंसात्मक सम्बन्धमा फसेको महसुस गर्ने हाम्रो प्रयासलाई सहयोग गर्ने उल्लेख गरे । बुधबारको बैठकमा नेताहरूले डिजिटल समस्या नक्कली पोर्नोग्राफीको सिर्जना र वितरणमा प्रतिबन्धसहित अनलाइन समस्या सम्बोधन गर्न नयाँ उपायहरू कार्यान्वयन गर्न सहमत भएका छन् । डिजिटल सामग्री महिला तथा केटीविरुद्धको दुव्र्यवहारको हानिकारक रूप भएकाले पीडितहरूलाई गहिरो हानि पुर्याउने महान्यायाधिवक्ता मार्क ड्रेफसद्वारा जारी अर्को छुट्टै एक विज्ञप्तिमा जनाए । रासस

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

धादिङ । साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गंगाजमुना गाउँपालिका–२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । गंगाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो । तामाङ भाषामा ‘ह्यारा’ को अर्थ भिरमौरी भन्ने बुझिन्छ । गंगाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भीरमौरीको मह उत्पादन हुँदै आएको तेम्बायारा महभिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्दै आएको बताए । ‘साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभिरमा भीरमौरीको महबाहेक क्यानोनिङकोसमेत सम्भावना छ, गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्छ,’ अधिकृत श्रेष्ठले भने । गंगाजमुना–२ का वडाअध्यक्ष बलबहादुर तामाङले तेम्बाह्यारा महभिरमा रहेको भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने बताए । उक्त महभिरमा विगत दुई सय वर्षदेखि भिरमौरीको मह निकालिँदै आएको उनको भनाइ छ । हाल ‘री’ गाउँका ६ युवाले २ लाख रुपैयाँ लगानी गरेर डोरी खरिद गरी भिरमौरीको मह निकाल्दै आएका छन् । उत्पादन भएको मह १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्ममा बिक्रीवितरण गरिँदै आएको वडाअध्यक्ष तामाङले बताए । उक्त महभिर गंगाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ । गंगाजमुना–३ का वडाअध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताए । आजदेखि सुरु भएको भिरमौरी मह निकाल्न एक हप्ता लाग्नेछ । भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङलगायत लागेका थिए । उक्त महभिरमा कात्तिक र वैशाखमा भिरमौरीको मह उत्पादन गरिँदै आएको छ । गंगाजमुनाका पर्यटन विकास संयोजक एवम् वडा नं ६ का वडाध्यक्ष रमेश ढकालले गंगाजमुनामा भएको साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले काम गर्ने बताए। संघीय राजधानी काठमाडौंमासमेत धादिङका अधिकांश व्यक्ति पर्यटन व्यवसाय गर्दै आएका छन् । गंगाजमुनाका बासिन्दाका मात्र ९५ ट्रेकिङ कम्पनी छन् । पर्यटन विकास संंयोजक ढकालले गंगाजमुनाभित्रको पर्यटनको विकासका लागि काठमाडौंमा रहेका सबै व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताए ।

सञ्चार तथा सूचना प्रविधिमा भएका सुधारहरू

नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम साविकमा सूचना तथा सञ्चार मन्त्रालयले गर्दै आएका कार्यहरुमा सूचना प्रविधिको विषय समेत थप गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नामाकरण भएको थियो । मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत आमसञ्चार, सूचना प्रविधि, दूरसञ्चार, हुलाक सेवा, मुद्रण सेवा र चलचित्र गरी छ वटा क्षेत्र तथा मन्त्रालयबाहेक १८ वटा निकाय साङ्गठनिक जिम्मेवारीमा रहेका छन् । सूचना आदानप्रदान गर्नका लागि गरिने सबै खालका परम्परागत तथा आधुनिक तरिका र शैलीहरु सञ्चार तथा सूचना प्रविधिको दायरामा पर्दछन् । नेपाली शब्दकोषमा सूचना प्रविधि खोजेर भेटिँदैन । यसका लागि सूचना र प्रविधि शब्दलाई अलगअलग केलाउनुपर्दछ वा च्याटजिपिटी वा गुगलको सहयोग लिनुपर्दछ । सन् २००४ मा प्रकाशित एडवार्ड कर्निसको पुस्तक फ्युचरिङ्ग द इक्स्प्लोरेसन अफ द फ्युचरमा संसारमा उथलपुथल ल्याउने केही विषयहरुमध्ये प्रविधिको उत्साहजनक प्रगतिलाई नम्बर एकमा राख्दै विभिन्न भविष्यवाणी प्रस्तुत गरिएको छ । उक्त पुस्तकमा प्रक्षेपण गरेभन्दा अगावै कतिपय विषयहरु चरितार्थ हुँदै आएका पनि छन् । सूचना प्रविधिको युग भनेर चिनिने वर्तमान समयमा सूचना प्रविधिको विविध पक्षमा नीति, कानुन, पूर्वाधार तथा कार्यवातावरण तयार गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गर्नु पक्कै पनि चुनौतीपूर्ण पक्ष पनि हो । सूचना तथा सञ्चार प्रविधि  मन्त्रालयले नेपाल सरकारले जारी गरेको सूचना प्रविधि नीति, २०७२ अनुरुप आफ्ना कामकारवाहीहरु अघि बढाउँदै आएको छ । यो बाहेक ब्रोडब्यान्ड नीति र फ्रिक्वेन्सी नीतिसमेत प्रयोगमा रहेकामा गत वर्ष फ्रिक्वेन्सी नीति पुनरावलोकन भई २०८० को नयाँ संस्करण जारी भएको छ । सूचना प्रविधिसँग सम्बन्धित भएर केही वर्षदेखि राष्ट्रिय सूचना तथा सञ्चार दिवस मनाइँदै आएको छ । ‘सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि’ भन्ने मूल सन्देशका साथ मे २ तदनुसार २०८० वैशाख १९ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको थियो । सोही दिवसको नयाँ संस्करणका रुपमा यो वर्ष ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल सन्देशका साथ यही वैशाख २० गते भव्यरुपमा मनाउन लागिएको छ । यी दिवसहरुले विभिन्न क्षेत्रमा रहेका सूचना प्रविधिका लागि योगदान गर्नेहरुको सम्मान गर्ने र सहकार्य गर्ने वातावरण तयार गर्दछ । सूचना प्रविधिको प्रयोगले सार्वजनिक क्षेत्रमा काम गर्ने शैली, ढाँचा, जनशक्तिको प्रारुप, सङ्गठनमा प्रयोग हुने सामग्रीमा हलचल नै ल्याएको छ । एकीकृत सेवातर्फको यात्रा प्रारम्भ भएसकेको छ भने अनलाइन भुक्तानीमा चमत्कारिक रुपमा वृद्धि भएको छ । तथ्याङ्कलाई भण्डारण गरी पुनःप्रयोग गर्ने, पेपर भर्सनलाई डिजिटल भर्सनमा रुपान्तरण गरी अनलाइन सेवा सम्भव बनाउने जस्ता काम सूचना प्रविधिकै कारण सम्भव भएको हो । इन्टरनेट र कम्प्युटरको संयोजनले गर्दा कार्यप्रवाहमा अभूतपूर्व परिवर्तन आएको छ । यो संयोजनलाई ‘साइबर स्पेस’ भनिन्छ र साइबर स्पेश बढ्नु आफैँमा आधुनिक स्रोत माथि पहुँच पनि हो । त्यसो त साइबर अपराध हुन सक्ने घेरा फराकिलो हुँदै गएकाले त्यस्ता अपराधबाट सुरक्षणको लागिसमेत तयारी गर्नुपर्ने, सजगता अपनाउनुपर्ने र राज्यको तर्फबाट समग्र प्रयोगकर्ताको हितको लागि अग्रसर हुनुपर्ने जिम्मेवारी पनि थप भएको छ । सूचना प्रविधि संलग्न हुने कामकारवाहीको नियमन, शिक्षा सचेतना माध्यमबाट प्रविधिको प्रयोगलाई सिर्जनात्मक र सुरक्षित बनाउने, सूचना प्रशोधन र प्रवाह गर्ने, डिजिटल साक्षरतालगायतका विषय पनि मन्त्रालयको जिम्मेवारीमा पर्दछन् । यसबाहेक पनि सामाजिक सञ्जालको व्यापक प्रयोग र सामाजिक अन्तरकृया तथा घटनाक्रम पनि प्रभावित भएको सन्दर्भमा सो को नियमनका लागि निर्देशिका कार्यान्वयनमा आएको र कानुन निर्माणका लागि विधेयक मन्त्रिपरिषद् पेस हुने क्रममा रहेको छ । सेवा प्रवाह गर्नुअघि सेवाग्राहीको विवरण प्राप्त गरी सो विवरणलाई आवश्यक पर्दा अद्यावधिक गर्न मिल्ने गरी सुरक्षित राख्ने, पुनःप्रयोग गर्ने मोडमा राख्ने, गोपनीयता कायम गर्ने र सेवाग्राहीको पहिचान यकिन भएपश्चात मात्र उसलाई सेवा उपलब्ध गराउने प्रयोजनका लागि उसकै अनुमतिमा प्रयोग प्रशोधन वा सम्पादन गर्नुपर्ने हुन्छ । यहाँनेर नै सूचना प्रविधिको सही र सुरक्षित प्रयोग वाञ्छित हुन आउँदछ । यसै सन्दर्भमा सबै सरकारी कार्यालयमा लागू गर्ने गरी सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग प्रारम्भ भएको छ । यो प्रणालीमा थप परिष्कृत गर्न आवश्यक भएतापनि खासगरी कार्यालयमा आवश्यक पर्ने दर्ता चलानी टिप्पणी र पत्राचारलगायत विषय समेटेर यो प्रणाली तयार भएको छ र ४० भन्दा बढी केन्द्रीय कार्यालयहरुमा प्रयोगमा पनि छ । वर्तमान मुख्यसचिव बैकुण्ठ अर्यालको अगुवाइमा यो प्रणालीको विकास र प्रयोगमा विस्तार भएको कुरा छिपेको छैन । विसं २०७६ मा तामझामका साथ सुरुआत भएको र अति नै महत्वपूर्ण विषय डिजिटल नेपाल फ्रेमवर्क हो । भारतमा सन् २०१५ मा शुरुआत भएको डिजिटल इन्डियाले सफलताको चुली चुमिरहँदा हाम्रो अवस्था भने अझै पनि कमजोर छ । खासगरी क्षेत्रगतरुपमा आठवटा विषय क्षेत्र र ८० वटा पहल समेट्ने यो फ्रेमबर्क भनेको सूचना प्रविधि क्षेत्रको केन्द्रीय कार्यढाँचाका रुपमा लिन सकिन्छ । नागरिक एपलाई व्यापक बनाउने विषयका साथै डाटाको सुरक्षा सम्मका विषय पनि यसमै परेका छन् । यसको प्रभावकारी कार्यान्वयनका लागि डिजिटल नेपाल परियोजनाका लागि विश्व बैङ्कले समेत ऋण लगानी गर्ने तयारी भैरहेको छ । केही कामहरु भएका छन् तर धेरै गर्न बाँकी छ । राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी भई सो अनुसार साइबर सुरक्षासम्बन्धी कानुनको मस्यौदा एवम् राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । साइबर हाइजिनका सूचना जारी गर्नाका साथै विभिन्न निकायबाट साइबर सुरक्षा सम्वन्धमा सन्देश प्रवाह र डिजिटल शिक्षामा जोड दिइएको छ । सरकारी सूचना प्रविधि प्रणालीको जोखिम अनुगमनका लागि सेक्युरिटी अपरेसन सेन्टरको सञ्चालन हुँदै आएको छ । मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धमा अवधारणापत्र तयारीलाई अन्तिम चरणमा पुर्याएको छ भने सूचना प्रविधिसँग सम्वन्धित खासगरी सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल नियमन विधेयक, दूरसञ्चार विधेयकको मस्यौदा तयारी सुझाव सङ्कलन गरी कतिपय विधेयक सहमति प्राप्त गर्ने चरणमा रहेका छन् । दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रयासस्वरुप पूर्वाधारको कभरेजका साथमा गुणस्तर वृद्धिमा जोड दिइएको छ । आमसञ्चार कुनै सूचना वा जानकारीको सञ्चार गरिनु प्रवाह गरिनु कम महत्वपूर्ण विषय हैन । यसमा आमसञ्चार माध्यमको भूमिका विगतदेखि नै प्रभावकारी रहँदै आएको छ । यसै क्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै छातामुनि स्वतन्त्र र निष्पक्षरुपमा सञ्चालन गर्ने ध्येयका साथ सार्वजनिक प्रसारण सेवाको अवधारणाअनुसार कानुन निर्माणका लागि विधेयक संसद्मा अन्तिम चरणमा रहेको छ । त्यसैगरी, सञ्चारमाध्यमको गतिशीलतासँगै मिडिया काउन्सिल विधेयक तयार भई सङ्घीय संसद्मा दर्ता हुने क्रममा रहेको छ । विगतदेखि मस्यौदा हुने तर निर्णयको चरणमा विविध कारणवश अलमलमा पर्ने गरेका कतिपय विधेयकउपर विज्ञ सञ्चारकर्मीहरु रहेको कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने कार्य समेत यसबीचमा भएको छ । त्यसैगरी सञ्चारसँग सम्बन्धित विषयमा सङ्घ र प्रदेशबीच सम्भावित सहकार्यका सम्वन्धमा प्रदेशमा सञ्चार हेर्ने मन्त्रालयका मन्त्री तथा उच्च अधिकारीहरुसँग र छलफल हुनुका साथै कतिपय सन्दर्भमा प्रदेशमै पनि स्थलगतरुपमा कार्यक्रमहरु सम्पन्न भएका छन् । विधेयकको तयारी गर्दा वा कार्यक्रमहरु डिजाइन गर्दा सङ्घीयताको मर्मलाई आत्मसात गरिएको  छ । दिवस र अवसरका क्रममा सञ्चार व्यवस्थापनलाई प्रभावकारी बनाउने पहल पनि भएका छन् । २०८० जेठ १५ गते प्रकाशित गणतन्त्रका १५ वर्ष नामक इन्फोग्राफिक पुस्तिका लोकप्रिय देखियो । त्यस्तै अन्य प्रकाशनहरु पनि भए । वेवसाइटलाई एकीकृत भर्सनमा सञ्चालन प्रारम्भ भएको छ । राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरी ओटिटीलाई नियमनको दायरामा ल्याइएको छ । विज्ञापन चक्रका विषयहरु सम्वोधन हुनेगरी विज्ञापन नीतिको मस्यौदा अन्तिम चरणमा छ भने विज्ञापन नियमावली संशोधन भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना हुने प्रेस मिटलाई व्यवस्थित गर्ने कार्य, वेवसाइटमा ‘मिट योर मिनिस्टर’ नामक अन्तरक्रियात्मक ट्यावको प्रयोग, सरकारी सञ्चार संस्थाहरुको सबलीकरणका लागि निरन्तर संवाद र अनुगमन, चलचित्रका विविध क्षेत्रलाई पर्यटनसँग जोड्ने र सङ्घीयताको मर्मअनुसार यो विषयलाई व्यापक बनाउनेगरी कार्यक्रमहरु कार्यान्वयनमा आएका छन् । चलचित्र जाँचसम्बन्धी कार्यलाई कार्यविधिबाट व्यवस्थित गरिएको छ । टेलिभिजन प्रसारणलाई आलाकार्टा प्रणालीमा लैजाने निर्णय भई सो अनुसार तयारीका कामहरु भैरहेका छन् । सबै सार्वजनिक सञ्चार माध्यममा समावेशी सामग्री तथा कार्यक्रम समावेश भएका छन् । पत्रकारितासँग सम्बन्धित गैरनाफामूलक संस्थाहरुको सबलीकरणका लागि प्रवाह हुँदै आएको अनुदानलाई थप व्यवस्थित गर्नका लागि कार्यविधि तयार गरी सार्वजनिक सूचना प्रकाशित समेत भएको छ । सुशासन तथा संस्थागत विकास सुधारका लागि निरन्तरतामा क्रमभंगता पनि आवश्यक पर्दछ । स्वमूल्याङ्कन तथा विज्ञको समीक्षा पनि चाहिन्छ । यही मान्यताअनुसार कतिपय विषयमा कार्यदलमार्फत अध्ययन गरी समस्या समाधानका उपायहरुको खोजी गर्ने र समयक्रममा नीति तथा कार्यक्रमसँग आबद्ध गर्ने मोडलको प्रयोग मन्त्रालयले गरेको छ । अर्को महत्वपूर्ण विषय भनेको नीति तथा कानुनको मस्यौदा तयार गर्दा विज्ञ एवम् सरोकारवालाको सहभागिता र सुझाव ग्रहण गर्ने शैली अवलम्बन गरिएको छ । यो बाहेक मन्त्रालयका महाशाखा तथा अन्तर्गतका निकायवीच नियमित सम्बाद अनुगमन छानबिन र सुधार पहल हुँदै आएका छन् । समयानुकूल सङ्गठन निर्माण एवम् पुनसंरचनाका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सूचना प्रविधि विभाग अन्तर्गत ल्याइएको छभने हुलाक संरचनामा आमूल परिवर्तन हुने गरी हरेक स्थानीय तहमा हुलाक रहनेगरी यसको सेवा पुनःसंरचित गरिने भएको छ । मन्त्रालयमा हरेक आइतबार कार्यालय समय अगावै प्रारम्भ हुने उच्च व्यवस्थापन समूहको बैठकका अलाबा क्षमता विकास कार्यशाला र सम्वाद श्रृङ्खला सिकाइ हस्तान्तरणका सेसनहरु सञ्चालन गर्ने गरिएको छ । अध्ययन र छानविन गरी सुशासन स्थापनालाई प्रवद्र्धनका लागि पनि गरिएका पहल पनि चर्चामा आए । इन्टरनेट सेवा प्रदायकहरुको राजश्व बक्यौता, एनसेलको शेयर बिक्रीको सबाल, डाटा सेन्टरमा देखिएका समस्यालगायत विषय पनि अध्ययन भई सुधार कार्यसँग आवद्ध भएका विषय हुन् । मन्त्रालय मातहतका निकायहरुमा नेपाल सरकारबाट प्रवाह हुनेअनुदानमा देखिएका केही कमीकमजोरीहरु सच्याएर अगाडि बढ्नुपर्ने देखिन्छ । अन्त्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने मन्त्री नेपाल सरकारको प्रवक्ता समेत हुने प्रचलन नै छ । समयमै सही सूचना सम्प्रेषण र नीति समन्वयमा प्रवक्ताको भूमिकाले सरकारको गुणवेत्ता बढाउँछ । यसै सन्दर्भमा विगत एक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देखिने खालका सुधारका पहलहरु गरेको निश्कर्षमा पुग्न सकिन्छ । सुधारको निरन्तरता र गतिशीलताले मात्र परिवर्तनलाई दिगो र संगठनात्मक उपलब्धिलाई प्रभावकारी बनाउँदछ । आगामी आर्थिक वर्षदेखि १६ औँ योजनासमेत प्रारम्भ हुने सन्दर्भमा डिजिटल रुपान्तरणको विषयले प्राथमिकता पाउनुपर्ने र तीव्ररुपमा विस्तार भैरहेको साइबर स्पेसको सुरक्षा र सही प्रयोगतर्फ सबैको सहयोग आवश्यक पर्ने देखिन्छ । रासस (लेखक नेपाल सरकारका सहसचिव हुन्)