
काठमाडौं । निजी क्षेत्रका प्रमुख वाणिज्य बैंकमध्ये एक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष प्रबलजंग पाण्डेले पूँजी, प्रविधि तथा श्रम तीन क्षेत्रबीच समन्वय नभए कुनै पनि संस्था सफल नहुने बताएका छन् ।
युवा व्यवसायी तथा उद्यमी पाण्डेले १३५औं विश्व श्रमिक दिवसका अवसरमा बुधबार पूँजी, प्रविधि तथा श्रम समन्वय नभई संस्था सफल नहुने धारणा राखेका हुन् ।
सिटिजन्स बैंकका अध्यक्ष, औषधी उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक तथा उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले ती तीन क्षेत्रलाई कुनै संस्थाको मूलखाँबोका रूपमा चित्रण गरेका हुन् ।
‘आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, जीवन जिउन कुनै न कुनै श्रम गर्नु नै पर्छ, तसर्थ काम गर्ने हरेक व्यक्ति श्रमिक नै हो, कुनै पनि संस्थाको तीन खम्बा पूँजी, प्रविधि र श्रम हुन्,’ विश्व श्रमिक दिवसकाे शुभकामना दिँदै उनले भनेका छन्, ‘यी तीनको सही मिश्रणबिना कुनै पनि संस्था सफल हुन सक्दैन, हामी सबै श्रमिकले एक आपसमा शुभकामना आदन/प्रदान गरी श्रम दिवस भव्यरूपमा मनाऔं ।’