
धादिङ । साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गंगाजमुना गाउँपालिका–२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । गंगाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र गाउँपालिकाको टोलीको उपस्थितिमा आज तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको हो । तामाङ भाषामा ‘ह्यारा’ को अर्थ भिरमौरी भन्ने बुझिन्छ ।
गंगाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भीरमौरीको मह उत्पादन हुँदै आएको तेम्बायारा महभिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्दै आएको बताए । ‘साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको तेम्बाह्यारा महभिरमा भीरमौरीको महबाहेक क्यानोनिङकोसमेत सम्भावना छ, गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्छ,’ अधिकृत श्रेष्ठले भने ।
गंगाजमुना–२ का वडाअध्यक्ष बलबहादुर तामाङले तेम्बाह्यारा महभिरमा रहेको भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने बताए । उक्त महभिरमा विगत दुई सय वर्षदेखि भिरमौरीको मह निकालिँदै आएको उनको भनाइ छ ।
हाल ‘री’ गाउँका ६ युवाले २ लाख रुपैयाँ लगानी गरेर डोरी खरिद गरी भिरमौरीको मह निकाल्दै आएका छन् । उत्पादन भएको मह १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्ममा बिक्रीवितरण गरिँदै आएको वडाअध्यक्ष तामाङले बताए । उक्त महभिर गंगाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ ।
गंगाजमुना–३ का वडाअध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताए । आजदेखि सुरु भएको भिरमौरी मह निकाल्न एक हप्ता लाग्नेछ । भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङलगायत लागेका थिए । उक्त महभिरमा कात्तिक र वैशाखमा भिरमौरीको मह उत्पादन गरिँदै आएको छ ।
गंगाजमुनाका पर्यटन विकास संयोजक एवम् वडा नं ६ का वडाध्यक्ष रमेश ढकालले गंगाजमुनामा भएको साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले काम गर्ने बताए। संघीय राजधानी काठमाडौंमासमेत धादिङका अधिकांश व्यक्ति पर्यटन व्यवसाय गर्दै आएका छन् । गंगाजमुनाका बासिन्दाका मात्र ९५ ट्रेकिङ कम्पनी छन् । पर्यटन विकास संंयोजक ढकालले गंगाजमुनाभित्रको पर्यटनको विकासका लागि काठमाडौंमा रहेका सबै व्यवसायीलाई समेटेर अगाडि बढ्ने बताए ।