किर्तिपुरमा साथीको हत्या गर्ने तीन जना पक्राउ
काठमाडौं । किर्तिपुरमा एक युवकको हत्या गर्ने तीन जना पक्राउ परेका छन् । बुधबार २४ वर्षीय बिपिन घिमिरेको हत्या गरेको आरोपमा २४ वर्षीय आशिष महर्जन, २१ वर्षीय रोशन बोहोरा र २३ वर्षीय रविन धामी पक्राउ परेका हुन् । गुल्मी धुर्कोट गाउँपालिका हाल किर्तिपुर नगरपालिका ३ ढाल्पा बस्ने घिमिरेको आज दिउँसो धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । साथी-साथी बीचमा विवाद हुँदा उनको धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
कीर्तिपुरमा साथीको हत्या, आरोपित फरार
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ । बुधबार दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ । प्रहरीले चाँडै पक्राउ गर्ने छ ।' प्रारम्भिक जानकारीअनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठले पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई सो जिम्मेवारी सुम्पिएका हुन् । यसअघि उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । सरकारले पछिल्लो समय राजनीतिक नियुक्तिहरू बदर गर्ने सम्बन्धमा ल्याएको अध्यादेशसँगै तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदमुक्त भएका छन् । शाक्यको बर्खास्तीपछि रिक्त रहेको उक्त सर्वोच्च पदमा मन्त्रालयले श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिएको हो ।
बैंकिङ कसुर मुद्दाका फरार सलिजा कन्दङवा पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका तेह्रथुमको फिदिम नगरपालिका–४ की ५८ वर्षीया सलिजा कन्दङवालाई पक्राउ गरेको छ । दीपक विश्वकर्माको जाहेरीका आधारमा चेक अनादर मुद्दामा फरार कन्दङवालाई काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । निजको चेक अनादर मुद्दामा जम्मा बिगो रकम ४० लाख रुपैयाँ रहेको र निजलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, फिदिम, पाँचथर पठाइएको प्रवक्ता कार्कीले बताए ।
अटो व्यवसायी गोल्छा महासंघको एसोसियट सदस्यमा निर्वाचित
काठमाडौं । अटो व्यवसायी तथा नाइमाका सदस्य हेमन्त गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्यमा निर्वाचित भएका छन् । महासंघको ६०औं वार्षिक साधारणसभाका क्रममा नेतृत्वका लागि भएको निर्वाचनमा उनले एसोसियट सदस्यमा १२०२ मतसहित निर्वाचित भएका हुन् । उनी सांग्रिलामोटर्सका प्रबन्ध निर्देशक समेत हुन् । सांग्रिला मोटर्सले नेपालमा सिट्रोन, लीपमोटर, सी-१०, बी-१०, टी-०३ लगायत मोडेल बिक्री गर्दै आइरहेको छ । उनको हुलास रेमिटेन्स पनि छ ।
उपचारको नाममा भिसाको दुरुपयोग नगर्न अमेरिकन दूतावासको आग्रह
काठमाडौं । अमेरिकाले विदेशी पाहुनालाई सरकारी सेवाको दुरुपयोग नगर्न आग्रह गरेको छ । नेपालस्थित अमेरिकन दूतावासले चिकित्सा सेवाको खर्च बेहोर्न सरकारी सहायता प्रयोग गर्ने विदेशी आगन्तुकहरूले आफ्नो भिसाका सर्तहरूको दुरुपयोग गरिरहेको जनाएको हो । ‘अमेरिकामा सार्वजनिक सुविधाहरूको दुरुपयोग गरेमा वा त्यस्ता सुविधाहरूमा निर्भर भएमा आगामी दिनमा अमेरिका यात्रा गर्न अयोग्य हुन सक्नेछन्,’ दूतावासले उल्लेख गरेको छ ।
कामना सेवाद्वारा जनकल्याण विद्यालयका १३८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय सर्दीमार्फत जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १३८ जना विद्यार्थीहरूलाई विभिन्न प्रकारका शैक्षिक सामग्री प्रदान गरिएको थियो । वितरण गरिएका सामग्रीमा वर्णमाला तथा अंकसम्बन्धी चार्ट, एबीसीडी चार्ट, हप्ताका दिन र महिनासम्बन्धी चार्ट, नर्सरी तहका अध्ययन सामग्री, पेन्सिल कलर, कापी, पेन्सिल तथा बालबालिकाका लागि खेलमुखी शैक्षिक सामग्री समावेश रहेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिन्जलीले बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस्ता कार्यक्रमहरूले सामुदायिक विद्यालयका विद्यार्थीहरूको मनोबल वृद्धि गर्नुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे । यसैगरी, बैंकका क्षेत्र प्रमुख भण्डारीले यस्ता सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
हिमालयन लघुवित्तद्वारा मालती देवीलाई ३ लाख ऋण मिनाहा रकम भुक्तानी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बंकुल, रौतहटले बीमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला, मौलापुर नगरपालिका–७ पिपरिया टोलस्थित केन्द्र नं. ४५ की सदस्य श्रीमती मालती देवीका श्रीमान् धुरन साह कानुको मृत्यु भएपछि संस्थाले बीमा क्षतिपूर्ति उपलब्ध गराएको हो । श्रीमती मालती देवीले संस्थाबाट ३ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनका श्रीमानको निधनपछि संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरिएको छ । साथै कर्जा बीमा अन्तर्गत काजक्रिया खर्च वापत २५ हजार रुपैयाँ समेत थप गरी एकमुष्ट रकम भुक्तानी गरिएको शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले जानकारी दिए । संस्थाले आफ्ना सदस्यहरूको हित र संरक्षणका लागि आपतकालीन अवस्थामा विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । दुःखको समयमा आर्थिक सहयोग प्रदान गरेकोमा केन्द्रका सदस्यहरूले संस्थाप्रति धन्यवाद व्यक्त गरेका छन् । उक्त रकम मौलापुर नगरपालिका–७ का वडा अध्यक्ष रामपुकार साह र संस्थाका निजगढ अनुगमन प्रमुख सन्दीप बिडारीद्वारा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा शाखा प्रबन्धक यादव, कर्मचारी रामाशंकर महरा तथा केन्द्रका सदस्यहरूको उपस्थिति रहेको थियो ।