विकासन्युज

ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल एफएनसीसीआईको सदस्यमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगत संघतर्फ केन्द्रीय कार्यकारिणी सदस्यमा सागर ढकाल विजयी भएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनमा ढकालले ६८ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका हुन् । वस्तुगत समूहबाट उनी दोस्रो उच्च मत प्राप्त गर्ने उम्मेदवारसमेत हुन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष समेत रहेका ढकालले वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार नरेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । निर्वाचित भएसँगै उनले देशको अर्थतन्त्र सुधार र व्यवसायीमैत्री नीति निर्माणमा सक्रिय भूमिका खेल्ने बताए । उनका अनुसार वस्तुगत संघअन्तर्गत रहेका विभिन्न कानुनी तथा व्यवहारिक समस्याहरू समाधानका लागि महासंघमार्फत सरकारसँग समन्वय, बहस र नीतिगत पहल गरिनेछ । ढकालले नेपालको पुँज िबजारलाई सशक्त बनाउनेतर्फ पनि आफू केन्द्रित हुने बताए । उनका अनुसार हाल ७२ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको पुँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा अघि बढाउन आवश्यक छ। ‘नेपालको पुँजी बजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा पुगेको छ । अब यसलाई केवल बजारको सीमाभित्र राख्ने होइन, समग्र अर्थतन्त्रको प्रतिबिम्बका रूपमा विकास गर्नुपर्छ,’ उनले भने । ढकाल पूँजी बजारसँगै जलविद्युत्, होटल तथा पर्यटन, कृषि लगायतका क्षेत्रमा पनि सक्रिय रूपमा आबद्ध छन् ।

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

इनरुवा । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट  १४८ केजीगाँजा बरामद भएको छ । गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।  सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र त्यसमा सवार २१ वर्षीय मोहमद सदामलाई पक्राउ गरिएको हो । 

महासंघको एसोसिएट सदस्यमा राजेश अग्रवाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय सदस्यमा राजेश अग्रवाल विजयी भएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले एसोसिएटतर्फ १ हजार ८२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उद्योगी अग्रवाल भैरहवा-बुटवल क्षेत्रबाट उदाएका राष्ट्रियस्तरका व्यवसायी हुन् । काठमाडौं उपत्यका बाहिरबाट ठूला उद्योग सञ्चालन गर्दै राजधानीमा समेत बलियो उपस्थिति जनाउन सफल उद्यमीका रूपमा उनी परिचित छन् । उनी एसोसिएटतर्फ उपाध्यक्ष पदका उम्मेदवार प्रबलजंग पाण्डेको टिमबाट उम्मेदवार बनेका थिए । नेपालको उद्योग क्षेत्रमा सक्रिय अग्रवालका अर्घाखाँची सिमेन्ट, श्री स्टिल, एशियन कंक्रिटो र मिलानो जुत्ता-चप्पललगायतका उद्योग सञ्चालनमा छन्। साथै, उनले तेज ब्रान्डको तोरीको तेल, नमस्ते ब्रान्डको भटमासको तेल, सनफ्लावर तेल र पाम आयल उत्पादनमा समेत लगानी गरेका छन् । त्यस्तै, मिनरल वाटर उत्पादन तथा औद्योगिक प्याकेजिङ सामग्री निर्माणमा पनि उनी संलग्न छन् । यसअघि उनी महासंघअन्तर्गतको उद्योग समितिको सभापतिको भूमिकामा थिए ।  यो पनि हेर्नुहोस्ः  ‘उद्योगहरू पूर्ण क्षमतामा चल्न सकिरहेका छैनन्’ 

पूर्वविशिष्टको सुविधामा कैंची, विवरण पठाउन ताकेता

काठमाडौं । राज्यकोषबाट दोहोरो र कानुनविपरीत असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई ‘अल्टिमेटम’ सहित निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयले गरेको आन्तरिक अध्ययनका क्रममा केही पूर्वविशिष्टहरूले कानुनले तोकेको भन्दा बढी गाडी प्रयोग गरेको र फरक-फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला परेपछि सरकारले यो कदम चालेको हो । सरकारले गृह मन्त्रालयलाई पत्र लेख्दै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरू, पूर्वप्रधानन्यायाधीशहरू, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूको सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन निर्देशन दिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार राज्यकोषको दुरुपयोग रोक्नु र सुशासन कायम गर्नु यस निर्देशनको मुख्य उद्देश्य हो । ‘कानुनले तोकेभन्दा बाहिर गएर लिइएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउन सरकारले विवरण माग गरेको हो । सरकारी स्रोत-साधनको दुरुपयोग अब स्वीकार्य हुँदैन,’ दाहालले भनिन् । विगत लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत दर्जनौं सुरक्षाकर्मी र महँगा सवारीसाधन प्रयोग गरिरहेको भन्दै जनस्तरमा व्यापक आलोचना हुँदै आएको थियो । गृह मन्त्रालयबाट विवरण प्राप्त हुनासाथ मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गराउने र उक्त प्रक्रियालाई कानुनी रूपमै व्यवस्थित बनाउने सरकारको तयारी छ ।

विद्युत् सेवाको पहुँचले फेरियो  खैराङवासीको जीवनशैली

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीय नागरिकको जीवनशैलीमा परिवर्तन देखिन थालेको छ । लामो समयसम्म वैकल्पिक ऊर्जामा निर्भर रहँदै आएका यहाँका बासिन्दा अहिले विद्युत् सेवाको पहुँचमा पुगेका हुन् । स्थानीय तहको पहल तथा सम्बन्धित निकायको समन्वयमा गाउँबस्तीमा विद्युत् लाइन विस्तार गरिएसँगै अधिकांश घरमा केन्द्रीय प्रसारण लाइन जडान गरिएको वडाध्यक्ष चन्द्रबहादुर विष्टले बताए । धेरै मिहिनेतपछि वडाको सबै टोलबस्तीमा विद्युत् सेवा पुर्याउन सफल भएको उनको भनाइ छ । 'वडाका सबै स्थानमा केन्द्रीय विद्युत् विस्तार गर्न सफल भएका छौँ', उनले भने, 'विद्युत् सेवा विस्तार भएपछि गाउँबस्तीमा सहजता थपिएको छ ।' पहिले दियो, टुकी, सोलारजस्ता वैकल्पिक माध्यममा निर्भर रहनुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीयवासी दीर्गसिं कार्कीले बताइन् । विद्युत् सेवा उपलब्ध भएपछि घरायसी कामकाजदेखि बालबालिकाको अध्ययन–अध्यापनसम्म सहजता भएको उनको भनाइ छ । 'पहिले अँध्यारोमा बस्नुपर्ने अवस्था थियो, अहिले उज्यालो भएपछि धेरै सहज भएको छ', उनले भनिन् ।  विद्युत् पहुँच विस्तारसँगै सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा समेत वृद्धि भएको छ । टेलिभिजन, मोबाइल चार्जिङ, इन्टरनेट प्रयोगजस्ता सेवामा सहजता आएपछि नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आएको कार्कीले बताइन् ।  यस्तै, विद्युत् सेवाले साना तथा घरेलु उद्योग सञ्चालनमा पनि सकारात्मक प्रभाव पारेको छ । कुटानी–पिसानी मिल, सिलाइ–कटाइ, फर्निचर तथा अन्य उद्यम सञ्चालन गर्न सहज भएपछि स्थानीयस्तरमै रोजगारी सृजना हुने सम्भावना बढेको स्थानीयवासी टङ्कबहादुर दर्जीले बताइन् । विद्युत् पहुँचले स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत क्षेत्रमासमेत सहजता थपेको उनको भनाइ छ  । विद्युत् विस्तारले स्वास्थ्य संस्थामा आवश्यक उपकरण सञ्चालन गर्न सहज भएको छ भने विद्यालयहरूमा प्रविधिमैत्री शिक्षण प्रणाली लागू गर्ने आधार तयार भएको छ । केन्द्रीय विद्युत् विस्तारसँगै खैराङ क्षेत्रका नागरिकको जीवनस्तरमा आएको सुधारले ग्रामीण विकासलाई नयाँ गति दिएको स्थानीयको भनाइ छ  । रासस 

४ महिनाअघि सुन पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं । चार महिनाअघि हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार ३० वर्षीय बिकेस राजवाहक र ३४ वर्षीय अरुण भुजले पक्राउ परेका हुन् । गत पुष २१ मा काठमाडौं महानगरपालिका २५ मान्सान गल्लीस्थित रहेको होलसेल पसलमा पेस्तोल देखाई २ तोलाको सुनको सिक्री, नगद ४ लाख, मोबाइल थान २ र सीसीटीभी समेत लुटेका थिए । चाइनिज पेस्तोल १ थान, ऐ.ऐ. म्यागजिन १ थान, गोली १ थान र १ थान नकसहित उनीहरूलाई पक्राउ गरिएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।  उनका अनुसार लुटपाट गर्दा लगाएका लुगा र स्कुटरसमेत पक्राउ गरिएको छ । इन्द्रचोकस्थित एक ज्वेलरीमा हतियार देखाई लुटपाट गर्ने २ जना पनि पक्राउ परेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

महासंघको नयाँ कार्यसमितिमा स्वास्थ्य क्षेत्रका चार सदस्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा स्वास्थ्य क्षेत्रबाट चारजना प्रतिनिधि निर्वाचित भएका छन् ।  एसोसिएटतर्फ ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी,फर्च्यूना हेल्थ केयरका बाबुकाजी कार्की निर्वाचित भएका छन् भने वस्तुगततर्फ रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान)का अध्यक्ष भक्तबहादुर हमाल र नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी निर्वाचित भएका छन् ।  निर्वाचन समितिका अनुसार भण्डारीले १ हजार ४३ मत प्राप्त गर्दै जित हात पारेका हुन् भने कार्कीले १ हजार ६ मत प्राप्त गर्दै जितेका हुन् । अधिकारी र उनका प्रतिस्पर्धीबीच समान मत आएपछि दुवैले आधा–आधा कार्यकाल सम्हाल्ने सहमति गरेका छन् ।    

बालेनको मौन शासनको सन्देश

अनुपम भट्टराई राजनीति र शासनसत्ताको इतिहासमा सामान्यतया प्रखर वक्तृत्वकला र ओजश्वी स्वरलाई शक्तिको प्रतीक मानिँदै आएको छ । तर इतिहासका विभिन्न कालखण्डमा यस्ता शासकहरू पनि उदाएका छन्, जसले शब्दभन्दा बढी मौनतालाई महत्व दिए । उनीहरूले स्वरको गम्भीरताभन्दा शान्तिको गहिराइबाट शासन सञ्चालन गर्दै मौनतालाई नै आफ्नो शक्तिशाली रणनीतिक हतियार बनाएका थिए ।  यस्ता शासकहरूको मुख्य विशेषता कम बोल्नु र गहन चिन्तनपछि मात्र निर्णय लिनु हुन्थ्यो । उनीहरूका लागि शब्द केवल सञ्चारको माध्यम नभई एक रणनीतिक औजारका रूपमा रहन्थ्यो । भीडलाई उत्तेजित पार्ने भाषणबाजीमा अल्झिनुभन्दा उनीहरू पर्दा पछाडि बसेर गम्भीर योजना तर्जुमा गर्न र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्न रुचाउँथे । उनीहरूको यो मौनता कमजोरी नभई उच्च आत्मविश्वास र आत्मसंयमको परिचायक मानिन्थ्यो । विश्व इतिहास र राजनीतिक दर्शनमा ‘मौन शासक’ का रूपमा चिनिने यी व्यक्तित्वहरूले शक्ति प्रदर्शनका लागि आवाजको सहारा लिएनन् । उनीहरूको शान्त स्वभावले विपक्षीहरूमाझ एक प्रकारको भय र कौतुहलता पैदा गर्ने गर्दथ्यो । जब शासक मौन रहन्छ, तब उसका आगामी कदमहरू पूर्वानुमान गर्न कठिन हुन्छ भन्ने सामरिक सिद्धान्तलाई उनीहरूले कुशलतापूर्वक प्रयोग गरेका थिए ।  मौनतामा रमाउने शासकहरूले सस्ता आश्वासनभन्दा ठोस परिणामलाई प्राथमिकता दिए । उनीहरूको बुझाइमा, अत्यधिक वाचालताले मानिसको ऊर्जा क्षय गर्छ र निर्णय प्रक्रियामा विचलन ल्याउन सक्छ । त्यसैले, उनीहरूले आफ्ना विचारहरूलाई सार्वजनिक बहसको विषय बनाउनुको सट्टा कार्यसम्पादनमार्फत नै आफ्नो प्रभाव पुष्टि गर्ने बाटो रोजे। नेतृत्वको वास्तविक सामथ्र्य आवाजको तिब्रतामा होइन, विचारको स्पष्टता र कार्यको दृढतामा लुकेको हुन्छ भन्ने तथ्यलाई उनीहरूले प्रमाणित गरिदिए ।  विश्व इतिहासलाई फर्केर हेर्दा, प्रभावशाली शासकहरूले कम बोलेर वा मौन रहेरै राज्य सञ्चालनमा कठोर र दूरगामी निर्णयहरू कार्यान्वयन गरेका अनेकौँ उदाहरणहरू छन् । विशेष गरी सङ्कटको समयमा वा आमूल परिवर्तनको खाँचो हुँदा ‘व्यावहारिक’ नेताहरूले भाषणबाजीभन्दा प्रशासनिक संयन्त्रको परिचालनमा जोड दिएका छन् ।  रुसका पिटर द ग्रेटदेखि चीनको आधुनिक आर्थिक रूपान्तरणका संवाहक देङ सियाओपिङसम्म आइपुग्दा ‘मौनताको शक्ति’ प्रस्ट देखिन्छ । सियाओपिङले ‘बिरालो कालो होस् वा सेतो, यसले मुसो समात्नुपर्छ’ भन्ने दर्शन अघि सार्दै कम प्रचार र बढी नतिजाको नीति अख्तियार गरेका थिए । चिनियाँ नेता देङ सियाओपिङले अघि सारेको ‘बिरालो कालो होस् वा सेतो, यसले मुसो समात्नुपर्छ’ भन्ने भनाइ विश्व राजनीति र अर्थतन्त्रमा व्यावहारिक दर्शनको एक उत्कृष्ट नमूना मानिन्छ । यसको मूल मर्म विचारधारा वा प्रक्रियाभन्दा परिणाम र उपलब्धि प्रधान हुनुपर्छ भन्ने हो । वर्तमान नेपालको राजनीतिक र प्रशासनिक परिवेशमा यो दृष्टान्त झनै सान्दर्भिक देखिएको छ । नेपाली राजनीति लामो समयदेखि विभिन्न राजनीतिक वाद र विचारधारामा अल्झिएको देखिन्छ । लोकतन्त्र, समाजवाद वा अन्य कुनैपनि राजनीतिक व्यवस्था केवल साधन हुन्, साध्य होइनन् । जनताको मुख्य चाहना सुशासन, आर्थिक विकास र दैनिक जीवनमा आउने सकारात्मक परिवर्तन हो ।  यो दृष्टान्तको सन्दर्भमा, सरकार कुन दल वा कुन विचारधाराको नेतृत्वमा छ भन्नेकुरा गौण रहन्छ; महत्वपूर्ण कुरा त्यस सरकारले मुलुकको आर्थिक संकुचन हटाउन, भ्रष्टाचार नियन्त्रण गर्न र नागरिकलाई आधारभुत सुविधा पुर्याउन कस्तो भुमिका निर्वाह गर्छ भन्ने हो । राजनीतिक स्थिरता र समृद्धिको लक्ष्य प्राप्तिका लागि दलहरूले वैचारिक कट्टरताभन्दा माथि उठेर व्यवहारिक नीति अपनाउनु आजको आवश्यकता हो ।  नेपालको सार्वजनिक प्रशासनमा प्रक्रियामुखी पद्धति हावी हुनु एक मुख्य चुनौतीका रूपमा रहेको छ । कर्मचारीको नियुक्ति, सरुवा वा बढुवामा कुन पक्षको झुकाव छ वा कुन प्रक्रियाबाट आयो भन्ने भन्दा पनि उसले दिने सेवा प्रवाह कति प्रभावकारी छ भन्नेकुराले प्राथमिकता पाउनुपर्छ ।  प्रशासनिक निकायले फाइल घुमाउने र प्रक्रियामा अल्झिने परम्परालाई त्यागेर नतिजा निकाल्ने कार्यशैली अपनाउनु पर्ने देखिन्छ । यदि प्रशासनिक संयन्त्रले जनताका समस्या समाधान गर्न र विकास निर्माणका कार्यलाई तिब्रता दिन सक्दैन भने त्यसको संरचनागत स्वरूप जतिसुकै आकर्षक भएपनि त्यसको सार्थकता रहँदैन ।   नेपालको सन्दर्भमा ‘मुसो समात्नु’ भनेको गरिबी निवारण, पूर्वाधार विकास, सुशासन र नागरिक सन्तुष्टि प्राप्त गर्नु हो । राजनीतिक दल र कर्मचारीतन्त्रले कुन रङको बिरालो (विचारधारा वा पद्धति) प्रयोग गर्ने भन्ने बहस गर्नुभन्दा पनि कसरी छिटो र प्रभावकारी रूपमा जनअपेक्षा पूरा गर्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ । जबसम्म राज्यका संयन्त्रहरू परिणाममुखी हुँदैनन्, तबसम्म देशले समृद्धिको मार्ग समात्न कठिन देखिन्छ । तसर्थ, नेपालको समग्र विकासका लागि व्यवहारिक र नतिजामुखी दृष्टिकोण नै वर्तमान समयको अपरिहार्य माग हो । त्यस्तै, सिङ्गापुरको आधुनिक विकासका निर्माता ली कुआन युले पनि आफ्नो प्रारम्भिक शासनकालमा लोकतान्त्रिक वाचालताभन्दा अनुशासित कार्यसम्पादनलाई प्राथमिकता दिएका थिए । उनीहरूको शासन शैलीमा शब्दहरूको आडम्बरभन्दा कानुनको कार्यान्वयन र भौतिक प्रगति सर्वोपरि हुन्थ्यो ।  नेपालको इतिहासमा पनि पृथ्वीनारायण शाहको एकीकरण अभियान ताका होस् वा जङ्गबहादुर राणाको उदयका बेला, रणनीतिक मौनता र आकस्मिक कार्यसम्पादनलाई सत्ता सञ्चालनको मुख्य कडी मानिन्थ्यो । तर पछिल्लो समय बहुदलीय प्रजातन्त्र र गणतन्त्रको आगमनसँगै राजनीतिमा चर्को भाषण र शब्दजालको संस्कृति हाबी भयो । नेपाली जनतामा परम्परागत राजनीतिप्रति बढ्दो निराशा र वितृष्णाका बीच एउटा नयाँ धारको उदय भएको छ, जसले स्थापित वाचालतालाई चुनौती दिइरहेको छ । यसै धारको पछिल्लो र सशक्त उदाहरणका रूपमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को कार्यशैलीलाई विश्लेषण गर्न थालिएको छ । साहले सार्वजनिक पद सम्हालेदेखि नै परम्परागत पत्रकार सम्मेलन, सञ्चारमाध्यमसँगको अनावश्यक संवाद र लामा भाषणहरूलाई त्यागेका छन् । उनको यो शैलीलाई धेरैले ‘मौन शासन’ को आधुनिक अभ्यासका रूपमा लिएका छन् । साहको कार्यशैली परम्परागत राजनीतिक व्याकरणभन्दा भिन्न छ । उनी सार्वजनिक मञ्चहरूमा कम बोल्छन्, तर आफ्ना निर्णय र कार्यप्रगति सामाजिक सञ्जालमार्फत सिधै जनतासम्म पुर्याउँछन् । उनको शासन पद्धतिमा कार्यक्षेत्र (फिल्ड) मा हुने सक्रियता र प्रशासनिक कडाइ मुख्य देखिन्छ ।  राजनीतिक विश्लेषकहरूकाअनुसार यो शैलीले एक प्रकारको ‘प्राविधिक नेतृत्व’ को झल्को दिन्छ, जहाँ भावनाभन्दा तथ्याङ्क र नतिजालाई सर्वोपरि मानिन्छ । परम्परागत दलका नेताहरूले सपना बाँड्ने र भाषण गर्ने शैली अपनाइरहँदा, ‘मौन तर आक्रामक’ कार्यशैलीले नयाँ पुस्ताको ध्यान खिचेको छ ।  इतिहास साक्षी छ कि धेरै बोल्ने शासकहरू सधैँ सफल हुँदैनन् । कतिपय अवस्थामा शासकको मौनताले उसको कार्यसम्पादन प्रतिको दृढता र गम्भीरतालाई झल्काउँछ । विश्व इतिहासका सफल प्रयोगहरू र नेपालमा हाल देखिएको यो नवीनतम शैलीले लोकतन्त्रमा नेतृत्वको नयाँ मानक स्थापित गर्न खोजेको देखिन्छ । जनताले अब भाषणको मिठासभन्दा पनि कार्यको ठोस नतिजा खोजिरहेको वर्तमान अवस्थामा ‘मौन शासन’ को महत्व र सान्दर्भिकता झन् बढेर गएको छ । यस परिप्रेक्ष्यमा साहले अवलम्वन गरेको जस्तो नतिजामुखी र व्यावहारिक दृष्टिकोण नै नेपालको समग्र विकासका लागि अपरिहार्य मार्ग देखिन्छ । नेतृत्वको वास्तविक सामर्थ्य आवाजको तीब्रतामा होइन, विचारको स्पष्टता र कार्यको दृढतामा निहित हुन्छ भन्ने तथ्यलाई वर्तमान राजनीतिक परिवर्तनले पुष्टि गर्दै लगेको छ ।