विकासन्युज

रास्वपालाई कम्युनिष्ट बनाउने प्रयास असफल भएपछि असन्तुष्ट समूह बाहिरिन थालेको प्रवक्ता झाको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीभित्र रास्वपालाई कम्युनिष्ट मोडमा लैजाने प्रयास असफल भएपछि त्यस्तो चाहना राख्ने समूह क्रमशः बाहिरिन थालेको दाबी गरेका छन् । पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी त्यागेपछि यस्तो दावी गरेका हुन् । उनले भने, ‘रास्वपामा विभिन्न व्यक्तिगत स्वार्थका आधारमा प्रवेश गरेका केही व्यक्तिहरूले अहिले आफ्नै वास्तविक स्वरूप देखाउन थालेका हुन् । रास्वपालाई आफ्नो अनुकूलताअनुसार ढाल्ने, पार्टीमा आफ्नो तजविज चलाउने र संगठनलाई वामपन्थी दिशामा बदल्ने प्रयास हुँदै आएको थियो । जुन असफल भएपछि केही मान्छेले रास्वपा छोडेका हुन् ।’ झाका अनुसार रास्वपारूपी घरमा झ्याल–ढोका आफैले डिजाइन गर्ने कल्पना गरेका केही व्यक्तिहरू त्यो गर्न नसकेपछि पार्टीबाट बाहिरिन थालेका हुन् । ‘रास्वपालाई कम्युनिष्ट बनाउने सोच राख्नेहरूले त्यो सम्भव नदेखेपछि पार्टी छोडेका हुन् । अब बुझ्नुस रास्वपा पुरै लोकतान्त्रिक भयो,’ उनले भने ।

विराटनगरमा पनि प्रोटोन ईमासको शोरुम

विराटनगर । जगदम्बा मोटर्स प्रालिअन्तर्गतको नेपालकै अग्रणी इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन ईमासले शुक्रबार विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ । नयाँ शोरुमको सञ्चालनले नेपालभर ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा योगदान पुर्याउने जगदम्बा मोटर्सले विश्वास लिएको छ । शोरुमले विराटनगरका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको छ ।  शोरुममा विस्तृत बिक्री परामर्श, प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पाट्र्स उपलब्धता जस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा नाडा कोशीका अध्यक्ष दिल्लीराम आचार्यसहित स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी लगायतको उपस्थिति थियो ।  उद्घाटन समारोहमा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले विराटनगरमा शोरुम खोल्न पाउँदा खुसी व्यक्त गरे । पूर्वदेखि पश्चिमसम्म आफ्नो उपस्थिति विस्तार गरिरहेको प्रोटोन ईमासले सफा, स्मार्ट र दिगो गतिशीलतालाई नेपाली परिवारहरूले सहजै अपनाउन सकून् भन्ने लक्ष्यसहित आफ्नो यात्रालाई निरन्तर अघि बढाइरहेको हो ।

मनिष झाले धनुषा–३ बाट प्रत्यक्ष उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी आम निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।  झाले सरकारले सामाजिक सञ्जालमार्फत निर्वाचन लड्ने संकेत गरेका हुन् । उनले धनुषाको निर्वाचन क्षेत्र नं ३ मा प्रत्यक्ष तर्फबाट प्रतिस्पर्धा गर्ने जनाएका छन् । यसअघि उनी समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । यसपटक भने उनले प्रत्यक्ष चुनावमार्फत जनादेश लिन तयारी थालेको बुझिएको छ । सरकारले फागुन २१ गतेलाई आम निर्वाचनको मिति तोकेको छ । 

गार्डियन माइक्रो लाइफको नाफा ३३.६६ प्रतिशतले बढ्यो

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले पहिलाो त्रैमासमा कम्पनीले ७० लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको अघिल्लो आवको तुलनामा नाफा ३३.६६ प्रतिशतले बढेको छ ।  तीन महिनाको अवधिमा कम्पनीको महाविपत्ति कोषमा ६३२ लाख ११ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिका कम्पनीको महाविपत्ति कोषमा २५ लाख ८५ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङमा २ करोड २१ लख ९१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा १ करोड ५८ लाख ८६ हजार रुपैयाँ थियो । त्यस्तै अन्य इक्युटीमा २ करोड १ लाख रुपैयाँ रहेको छ ।  समिक्षा अवधिमा कम्पनीले १३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क १४१.९६ प्रतिशतले बढेको छ ।  असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क ११९.४५ प्रतिशतले बढी हो । ७५ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको जीवन बीमा कोषमा ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको अर्निङ पर शेयर ३.७८ रुपैयाँ, नेटवर्थ पर शेयर १०३.४१ रुपैयाँ र पिई रेसियो ५११.९३ गुणा रहेको छ । 

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

गण्डकी । गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेशसभाले बहुमतले पारित गरेको छ।           प्रदेशसभाको आजको बैठकमा विधेयकलाई पारित गरियोस् भन्ने प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गरेको प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।           यसअघि २०८२ कात्तिक २४ गते प्रदेशसभामा प्रस्तुत भएको विधेयक माथि  दफाबार छलफल गरिएको थियो ।  विधेयक माथिको छलफलमा प्रदेशसभा सदस्यहरू गोविन्दबहादुर नेपाली, महेश भट्टराई, सुशीला सिंखडालगायतले भाग लिएका थिए ।       गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयानुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको यस संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यायिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ ।      विधेयक माथि उठेका प्रश्नको जवाफ दिँदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले यस कदमलाई विश्वविद्यालय सुधार यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए ।      गण्डकी विश्वविद्यालयलाई सक्षम, पारदर्शी र प्रतिस्पर्धी शैक्षिक केन्द्र बनाउने दिशामा पारित संशोधनले कानुनी आधार थप सबल बनाएको उल्लेख गर्दै उनले उच्च शिक्षाको गुणस्तर सुधारका लागि यो विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।       विधेयकले विश्वविद्यालयको संरचना र पदाधिकारी योग्यता र नियुक्ति प्रक्रियामा विभिन्न संशोधन गरेको छ ।   

भ्रामक र मिथ्या सूचना नियन्त्रणका लागि सरकारले सुरु गर्यो उच्चस्तरीय गृहकार्य

काठमाडौं । सरकारले भ्रमपूर्ण र मिथ्या सूचना नियमनका लागि ‘गृहकार्य’ थालेको छ । गृह मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल नेपाल र साइबर ब्यूरोसँग संयुक्त छलफल अघि बढाएको हो ।  शुक्रबार मन्त्रालयमा भएको सर्वपक्षीय बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले सूचनाको हक र प्रेस स्वतन्त्रतामा कुनै असर नपर्ने गरी सूचनाको अनधिकृत प्रयोग र रोकथामबारे धारणा राखेका थिए ।   बैठकले त्यस्ता भ्रामक सूचना नियमनका लागि कार्ययोजना तयार गरी अघि बढ्ने निष्कर्ष निकालेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।  बैठकमा सहभागीले सामाजिक सञ्जाल र अन्य ‘डिजिटल’ माध्यमबाट विभिन्न  प्रकारका भ्रामक र हानिकारक सूचना तीव्र रूपमा फैलिने गरेको बताएका थिए । त्यस्ता सूचनाले व्यक्तिगत प्रतिष्ठा, संस्थागत छवि, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्ने देखिएकाले नियमन आवश्यक भएको उनीहरूको भनाइ थियो ।   भ्रामक सूचनाबाट आमनागरिकलाई प्रभावित हुन नदिन ‘डिजिटल साक्षरता’ अभियानसमेत सञ्चालन गर्नुपर्ने सरोकार भएकाहरूको जोड थियो ।    बैठकमा गृहसचिव रामेश्वर दङ्गाल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख भूपेन्द्र भण्डारी, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल टेलिकमका प्रतिनिधिलगायत सहभागी थिए ।  

मतदाता नामावली दर्तामा भीड लागेपछि म्याद थप गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी प्रधानमन्त्री सुशीला कार्कीले दर्ता म्याद थप्न निर्देशन गरेकी छन् । प्रधानमन्त्रीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमार्फत कुरा गर्दै चापको व्यवस्थापनका लागि दर्ता अवधि थप्न निर्देशन दिएकी हुन् । आयुक्त भण्डारीले आयोग यस विषयमा सकारात्मक रहेको बताउँदै पाँच दिनसम्म म्याद थप्न सकिने जानकारी प्रधानमन्त्रीलाई गराएकी हुन् । राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनबाटै मतदाता नाम दर्ता गराउन मिल्ने व्यवस्था लागू भएपछि हिजोदेखि अनलाइन सिस्टममा अत्यधिक चाप परेको छ । प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्या र सेवा सुस्तताको विषयमा पनि चासो व्यक्त गरेकी छन् । सम्बन्धित प्राविधिक टोलीले समस्या समाधानको काम तीव्र रूपमा अघि बढाइरहेको आयुक्त भण्डारीले बताएका छन् ।

सन्तोष परियारले छाडे रास्वपा, जनार्दन शर्मासहित मिलेर नयाँ दल खोल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा पूर्वप्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका छन् ।  उनले कार्यवाहक सभापति डिपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई लिखित राजीनामा बुझाउँदै पार्टी छोडेको जानकारी दिएका हुन् ।  परियारले जनार्दन शर्मा र सुदन किराती लगायत माओवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेताहरूसँग सहकार्य गर्ने तयारी गरेको बुझिएको छ ।  माओवादी केन्द्रको विघटनपछि शर्माले प्रगतिशील अभियान नेपालको घोषणा गरेका थिए ।  नेकपा माओवादी विद्रोही टिम र विवेकशील पार्टीकी रञ्जु दर्शनासहितको नयाँ दल बनाउनेगरी छलफल चलिरहेको प्रगतिशील अभियानका एक नेताले जानकारी दिए । शर्मा र परियारको टिममा मानुषी यमी भट्टराई पनि जोडिनसक्ने ती नेताले जानकारी दिए । हालका दिनमा रास्वपाभित्र पनि असन्तुष्टि बढ्दै गइरहेको छ । यसै क्रममा पूर्वमन्त्री सुमना श्रेष्ठ लगायतका नेताहरू पहिल्यै पार्टीबाट बाहिरिसकेका छन् । गणेश कार्की, निशा डाँगीलगायतका नेताहरू पनि पार्टी छोड्ने तयारीमा रहेको बुझिएको छ ।