सञ्चालनमा आयो सेल्सवेरी टावर, ३६० डीग्रीमा उपत्यका हेर्न मिल्ने, बाह्रौ तल्लामा स्वीमिङ्ग पुल
काठमाडौं । सेल्सवेरीले काठमाडौंको महाराजगञ्जमा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक सेल्सवेरी टावर सञ्चालनमा ल्याएको छ । सेलवेज क्यास एण्ड क्यारी प्रालिले बैशाख २१ गतेदेखि ग्राहकहरूलाई अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्ने गरी अत्याधुनिक भवन सञ्चालनमा ल्याएको हो । उक्त अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिङ्ग पुल तथा विविध स्वदेशी, विदेशी खानाका सेवा सहित विश्वस्तरीय रेष्टुरेण्ट, स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरीय सामानहरू उचित मुल्यमा उपलब्ध हुने सेल्सवेरीका प्रबन्ध निर्देशक सुशील प्रधानाङ्गले बताए । अत्याधुनिक भवनमा ४ तल्ला बेसमेन्ट पार्किङ्ग रहेको छ भने भुई तल्लादेखि छैठौं तल्लासम्म डिपार्टमेण्टल स्टोर संचालन रहेको छ । सात र आठ तल्लामा विभिन्न कर्पोरेट अफिसहरु रहने छन् । नवौं, दसौं तथा एघारौ तल्लामा जिम, फिटनेस सेन्टर स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार संचालन हुने प्रधानाङ्गले बताए । बाह्रौ तल्लामा स्वीमिङ्ग पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर संचालन हुनेछ । उक्त भवनको तेह्रौं तल्लामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डीग्रीमा दृस्यावलोकन गर्न सकिने सेल्सवेरीका प्रबन्ध निर्देशक सुशील प्रधानाङ्गको भनाइ छ । उक्त अत्याधुनिक भवनमा सेल्सवेरी ब्राण्ड मार्फत चेन डिपार्टमेण्टल स्टोरको रुपमा संचालनमा आउँदा स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि समेत उत्कृष्ट सपिङ्ग डेस्टीनेशन हुने विश्वास सेल्सवेरीको छ । यसैगरि सेल्सवेरीले आफ्नो अर्को शाखा कालिमाटीस्थित कालिमाटी ट्रेड सेन्टरमा संचालनमा ल्याएको छ । महाराजगञ्जको सेल्सवेरी टावर र कालिमाटी ट्रेड सेन्टरको सुरुवातको उपलक्ष्यमा ग्राहकहरूको लागि लक्कि ड्र स्किममार्फत बम्पर पुरस्कार पनि ल्याएको छ । सेल्सवेरीका अनुसार ईलेक्ट्रिक कार, स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरू लक्कि ड्र स्किम मार्फत जित्न सकिने छ । आर्थिक वर्षको अन्त्यमा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखा संचालन गर्न लक्ष्य कम्पनीको रहेको छ । हरेक वर्ष सानो, मध्यम तथा ठुलो गरी १०/१५ वटा शाखा संचालन विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । विगत ३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रूपमा संचालित सेलवेज ग्रुपले सेलवेज क्यास एण्ड क्यारी प्रालि विगत १० वर्षदेखि सेल्सवेरी ब्राण्डमा हाल ३२ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । सन् २०२६ सम्म १ सय वटा शाखा विस्तार गरी २ हजारलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने कम्पनीले बताएको छ ।
पुरानो पार्टनरबाट मारिने अस्ट्रेलियाली महिलाको दर ३० प्रतिशतले बढ्यो
काठमाडौं । सन् २०२२–२३ मा हालको वा पुरानो पार्टनरबाट मारिने अस्ट्रेलियाली महिलाको दर झन्डै ३० प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ । सरकारी अनुदानमा सञ्चालित अष्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआईसी) ले राष्ट्रिय हत्या अनुगमन कार्यक्रमको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । सन् २०२३ को जुन महिनाको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा २४७ जना हत्याको शिकार भएका थिए । जसमध्ये ७५ जना महिला थिए । ७५ महिलाहरूमध्ये ३४ वा ४५.३ प्रतिशत वर्तमान वा भूतपूर्व पुरुष घनिष्ठ साथीद्वारा मारिएका थिए । जुन अघिल्लो १२ महिनामा २६ भन्दा बढी थियो । २०२२–२३ मा पुरुषहरूद्वारा कुल ६० महिलाको हत्या भएको थियो । प्रतिवेदनले २०२१–२२ मा प्रति १० लाख व्यक्तिमा ०.२५ हत्या भएकोमा महिला पीडित संलग्न घनिष्ठ साझेदार हत्याको दर २८ प्रतिशतले बढेर २०२२–२३ मा ०.३२ पुगेको देखाएको छ । हजारौं अस्ट्रेलियालीहरू लैङ्गिक हिंसाको अन्त्यको माग गर्दै देशभर बिरोध प्रदर्शनमा सामेल भएपछि यो प्रतिवेदन प्रकाशित भएको हो । एड्भोकेसी ग्रुप डिस्ट्रो द जोइन्टका अनुसार २०२४ मा अस्ट्रेलियामा अहिलेसम्म २७ जना महिलाको हिंसात्मक मृत्यु भएको छ । जसले प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई महिला बिरुद्धको हिंसालाई राष्ट्रिय संकट घोषणा गर्न प्रेरित गरेको छ ।
हराएका शताब्दीऔं पुराना मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
वासिङ्टन । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले संकलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो । तेह्रौं, सत्रौं र अठारौं शताब्दीका मूर्ति स्वदेश पठाइएको दूतावासले जनाएको छ । ती मूर्तिकला धातु, काठ, ढुंगा र हड्डीबाट बनेका हुन् । ‘हामीहरूले नेपालबाट हराएका धेरै धार्मिक, सांस्कृतिक महत्वका वस्तुहरूलाई खोजीनीति गरेर नेपाल फिर्ता पठाउन पहल गरिरहेका छौँ, यसपटक भने अमेरिकी नागरिक सुसनले आफैँ हामीहरूलाई सम्पर्क गरेर यो प्रक्रिया पूरा भएको छ,’ दूतावासका द्वितीय सचिव उत्तम घिमिरेले भने । मूर्ति लिन उनलाई हवाइ पठाइएको थियो । ती मूर्ति हराएका स्थानमा प्रतिस्थापन गरिने पुरातत्व विभागले तयारी गरेको उनले बताए । नेपाल-अमेरिका समन्वयमा हवाइबाट पठाइएका मूर्तिहरूमा ढलोटको कालाकुवेर मूर्ति, विश्वरुपको मूर्ति, महिषासुरमर्दिनीको मूर्ति, मोक्षदा भनिएको महामञ्जुश्री शक्तिको मूर्ति, ढलोटको विघ्नान्तक भैरवको मूर्ति, तामाको प्रज्ञापारमिताको मूर्ति, ढलोटको किन्नरीको मूर्ति, काठको बाराहीको मूर्ति र चमुण्डाको शिर, प्रस्तरको सरस्वतीको मूर्ति छन् । । यसैगरी अरु मूर्तिहरूमा प्रस्तरको मञ्जुश्री शक्ति, प्रस्तर अगस्थमुनिको मूर्ति, हस्तलिखित ग्रन्थ, र कुवेरका मूर्तिहरू, तामाको कालियन्त्र, हाडको सीतापाती यन्त्र, काठको फुर्वा, फलामको ताल्चा, ढलोटको सिन्हमु, फलामको त्रिशूल छन् । दूतावासले एक वर्षको अवधिमा ६३ वटा विभिन्न मूर्तिकला तथा वास्तुकलाका सामग्री नेपाल पठाएको छ ।
हिमालयन डिष्टिलरीद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ को साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सूचना प्रकाशित भएको ३० दिनभित्र सेयरधनीहरूले कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क गरि आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिनु पर्ने कम्पनीले जनाएको छ । अन्यथा उक्त अवधिको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।
नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता बिक्रीमा राखिएको हो । विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालय वा नेपाल पुनर्बीमा कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८१ रुपैयाँ निर्धारण गरिएको छ । निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सेवा प्रवर्द्धनसम्बन्धी सम्झौता
एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबीच एक अर्काको ग्राहक सेवा प्रवर्द्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तिय संस्थाका रूपमा रहेको रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुबैले वित्तिय सेवा र पुँजीबजारसम्बन्धी सेवा सहज र सरलरूपमा दिनका लागि सम्झौता गरेका हुन । दुबै संस्थाबीच भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अध्यक्ष समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन । सम्झौताअनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरू मार्फत एलिट क्यापिटलका सेवा प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरूका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ । यसबाहेक लगानीकर्ताहरूलाई सेयर कारोबार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोबार खाता एवम अनलाईन टिएमएस सेवासमेत उपलब्ध गराइने भएको छ । साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलव्ध गराउनेछ भने सेयर लगानीकर्ताहरुलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलब्ध गराउनेछ । एलिट क्यापिटलले १९९९ रुपैयाँमा एकपटक खोलेपछि आजिवन नविकरण गर्न नपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ भने ९९९ रुपैयाँमा १० वर्षसम्म नवीकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ । यस्तै रिलायन्स फाइनान्सका खातावालहरुका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ । उपत्यकाबाहिरका शाखाहरूमा डिम्याट खाता र ब्रोकरको खाताका लागि ग्राहकहरूबाट धेरै अनुरोध आएकाले सहजीकरण गर्न र दुवै संस्थाले आफ्ना सेवालाई थप विस्तार गर्नका लागि सो सम्झौता गरिएको जनाएका छन् ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस
काठमाडौं । शुक्रबार ३१औं विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।