सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयर सूचीकृत भएको छ । बिहिबार कम्पनीको कुल १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । उक्त हकप्रद सेयर डिम्याट खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीले २०८० फागुन २ गतेदेखि २२ गते सम्म निष्कासन गरेको हकप्रद सेयर सूचीकृत गराएको हो ।
सडक भत्किएपछि कान्तिलोकपथ बन्द
पाटन । कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए । ‘काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्ण रूपमा क्षति भएको छ । भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन । अर्को सूचना नभएसम्म यो सडक बन्द रहने छ’, उनले भने । मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो । रासस
प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित, ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनश सेयर तथा बोनश सेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरि जम्मा ५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ । वार्षिक साधारण सभाले कम्पनीको संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन गर्नुका साथै सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ । त्यसैगरी कम्पनीलेनेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनका लागि स्वीकृत बोनश सेयर बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ । वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कुसुम लामाले कम्पनीको वासलात, नाफा नोक्सान हिसाब प्रस्तु गरेकी थिइन् । उनले कम्पनीले निरन्तर रुपमा आफ्नो व्यवसाय वृद्धि गर्दै संस्थागत शुशासन, आन्तरिक नियन्त्रण प्रणालीमा सुदृढीकरण र जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिई कार्य अगाडी बढाइ सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गको सन्तुष्टिको मुख्य आधार भएकोलाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक निति तर्जुमा गरी सूचना प्रविधि, जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै लगिएको जानकारी गराइन् ।
एनसेलकी एक्टिङ सीटीओ कंसाकार सम्मानित
काठमाडौं । एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित भएकी छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ को महिला विधामा सो सम्मान प्रदान गरेको हो । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो अवार्ड कंसाकारलाई वितरण गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र संवृद्ध नेपाल निर्माणको अभियानमा पुर्याएको विशिष्ट योगदानको उच्च मुल्यांकन गर्दै एक लाख नगद सहित यो पुरस्कार प्रदान गरिएको हो । इन्जिनियरिङ क्षेत्रमा करियर शुरु गरेपछि कंसाकार सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रुपमा एनसेलमा जोडिएकी थिइन र अहिले उनी १४० बढी प्राविधिक कर्मचारीहरुको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रुपमा कार्यरत छिन् । असिस्टेन्ट इन्जिनियर, इन्जिनियर, एक्जिक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुँदै अहिले उनी एक्टिङ सीटीओको उच्च पदमा नेतृत्व गरिरहेकी छिन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् ।
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफनो शाखाका कर्मचारीहरुको वृत्ति विकासको उद्देश्य राखेर बृहत रुपमा हाजिर जवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । माघ २६, २०८० मा शाखास्तरमा शुरु भएको सो प्रतियोगिता फागुन २८ मा क्लष्टर स्तरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भई सो प्रतियोगिताबाट छनौट भएकाहरु अन्तिम चरणमा आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा अन्तिम चरणको हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको हो । हाजिर जवाफ प्रतियोगितालाई संचालन तथा कर्जा गरि दुई समूहमा वर्गीकरण गरिएको थियो । शाखा स्तरको प्रथम चरणमा ४६४ कर्मचारी सहभागि भएकामा सोबाट विजयी १८७ कर्मचारीले क्लष्टर स्तरको दोस्रो चरणमा भाग लिएका थिए । तत्पश्चात्, दोस्रो चरणमा विजयी तथा उपविजयी भएका संचालन तथा कर्जा समूहका २०–२० जना गरि जम्मा ४० जना प्रतियोगीहरुको अन्तिम चरणको कन्ट्रि राउन्डमा सहभागीता रहेको थियो । सो कार्यक्रममा यस बैंकका कार्यकारी एवं उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय तथा इकाइ प्रमुखहरु, क्लष्टर/सब–क्लष्टर प्रमुख, शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरुसमेत गरि भौतिक रुपमा तथा अनलाइन रही करीब ३५० भन्दा वढी कर्मचारीहरुले उत्साहजनक रुपमा सहभागी भई प्रतियोगीहरुको हौसला बढाएका थिए । उक्त अन्तिम चरणको हाजिर जवाफ प्रतियोगितामा संचालन समूहको तर्फबाट सुर्खेत सव क्लष्टरका महेश रावल तथा हेमन्त वि.सी. विजयी भएका थिए भने धनगढी क्लष्टरका निरज कुँवर तथा गणेश सिंह ठगुन्ना उप विजयी भएका थिए । त्यस्तै, कर्जा समूहका तर्फबाट काठमाडौं क्लष्टरका चेतन भट्टराई तथा सञ्जु कुमारी श्रेष्ठ विजयी भएकी थिइन् भने विरगंज सव क्लष्टरका लव देव पाठक तथा अरुण ब्लोन उप विजयी भएका थिए । कार्यक्रममा दुई समूहका चार जना विजयी कर्मचारी प्रत्येकलाई नगद ६० हजार एवं दुई समूहका उपविजेता चार जना कर्मचारी प्रत्येकलाई नगद ४० हजार पुरस्कार सहित प्रमाणत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ बैंकको यस बैंकको इतिहासमै पहिलो तथा विकास बैंकहरुमै नौलो किसिमको यस्तो प्रतियोगिताले कर्मचारीहरुमा सिक्ने/पढ्ने बानी बसाली वृत्ती विकासमा बलियो टेवा पुग्ने हूनाले आगामी दिनहरुमा समेत बैंकले यस्ता कार्यक्रमहरु थप गर्दै जाने विश्वास व्यक्त गरे ।
समृद्धि फाइनान्सका ग्राहकलाई कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा छुट
काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडका ग्राहकलाई कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा छुट हुने भएको छ । कम्पनिले बिहीबार कालिन्चोक बुक्स एण्ड स्टेशनरी, पुतलिसडक काठमाडौंसँंग समझदारी गरेको हो । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले शुक्रबारदेखि समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरि उक्त स्टेशनरीमा कुनै पनि किताबको भुक्तानी गर्दा २० देखि २५ प्रतिशत छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र कालिन्चोक बुक्स एण्ड स्टेशनरीमा तर्फबाट संस्थापक पुष्कर राज कार्कीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर
त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् । करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उनले यसपटक खरबुजा फलाएका छन् । ‘पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ’, उनले भने । वरपर कतै चैतेधान कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबुजा लगाएर सफल भएको महतोले बताए । सरस्वती जातको खरबुजा लगाएका उनले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताए । चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उनले बताए । छ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उनले बताए । आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताउनुभयो । जिल्लाको स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उनले बताए । ‘यसलाई खासै औषधि हाल्नुपरेन, प्राङ्गारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्’, उनले भने । खरबुजाखेतीमा खासै खर्च र मेहनत गर्नुनपरेको उनले बताए । रोजगारीको सिलसिलामा सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिएका छन् । कावासोती नगरपालिका–१७ का वडासदस्यसमेत रहेका उनी विगत छ वर्षदेखि व्यावसायिक कृषिमा लागेका हुन् । ‘रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने छैन । कृषिकर्मबाट पनि कमाउन सकिन्छ’, उनले भने । रासस
महाराजगञ्जमा खुल्यो ‘सेल्सबेरी सुपरस्टोर’, २०२६ भित्र सय स्टोर बनाउने
काठमाडौं । सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर’ सञ्चालनमा ल्याएको छ । बेसमेन्ट पार्किङसहित १६ तला अग्लो यो सुपरस्टोरे कुल ९ रोपनी क्षेत्रफल ओगटेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्गले सुपरस्टोरलाई नेपालकै ‘सुपर सपिङ डेस्टिनेसन’ बनाउने उद्देश्य लिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । कम्पनी अनुसार सेल्सबेरी सुपरस्टोरको पहिलो चार तलामा बेसमेन्ट पार्किङ, भुइँ तलादेखि छेटौं तलासम्म डिपार्टमेन्टल स्टोर, सात र आठ तलामा विभिन्न कर्पोरेट कार्यालय, नवौं, १०औं र ११औं तलामा जिम, फिटनेस सेन्टर, स्पा, रेस्टुरेन्ट तथा बार, १२औं तलामा स्विमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर रहने छ । सुपरस्टोरको १३औं तलामा भ्यु टावर छ जहाँबाट काठमाडौं उपत्यकाको ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ । त्यसैगरी सेल्सबेरीको अर्को शाखा काठमाडौं कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टरमा आज शुक्रबारबाट नै सञ्चालनमा आएको छ । दुवै शाखा सञ्चालनका अवसरमा कम्पनीले ग्राहकका लागि लक्की ड्रमार्फत इलेक्ट्रिक कार, सेगवे इलेक्ट्रिक स्कुटर लगायत पुरस्कार दिने जनाएको छ । हाल सेल्सबेरी ब्रान्डमा ३२ शाखा सञ्चालनमा छ । कम्पनीले चालू आर्थिक वर्ष अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ शाखा सञ्चालन गर्ने जनाएको छ । ‘हरेक वर्ष सानो, मध्यम र ठूलो गरी १० देखि १५ वटासम्म शाखा सञ्जाल विस्तार गर्दै जाने लक्ष्य छ,’ सीईओ प्रधानाङ्गले भने, ‘सन् २०२६ सम्म १ सय शाखा विस्तार गरी २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य छ ।’