इन्टरनेट सेवा अवरुद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरूले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएको प्रकाशित समाचाप्रति गम्भीर ध्यानाआर्कषण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको हो । आम उपभोक्ताबाट अग्रिमरूपमा संकलन गरेको महशुलबाट कानुनबमोजिम राज्यलाई तिर्न बुझाउनपर्ने ग्रामीण दूरसञ्चार विकास शुल्क तथा रोयल्टी रकम समयमा नबुझाइ अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कोही कसैले कुनै कार्य नगर्न र नगराउन आग्रह गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका १ सय २२ वटा इन्टरनेट सेवा प्रदायकहरू र २३ वटा नेटवर्क सेवा प्रदायकमध्ये केही इन्टरनेट सेवा प्रदायकबाहेक अन्य दूरसञ्चार सेवा प्रदायकले नियमअनुसार तिर्नु बुझाउनुपर्ने शुल्क बुझाएका सेवा प्रदायकहरूको विदेशी मुद्रा सट्टा सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानुनी व्यवस्थाबमोजिम नियमित सिफारिस भइरहेको पनि मन्त्रालयले जनाएको छ । इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिम रूपमा महशुल लिने गरेको, यसरी लिएको महशुलबाट वार्षिक आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कूल आम्दानीको चार प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्थाबारे पनि मन्त्रालयले पुनः स्मरण गराएको छ । ‘इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिम रूपमा महशुल लिने गरेको, यसरी लिएको महशुलबाट वार्षिक आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कूल आम्दानीको चार प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ३० र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा रहेको छ । नियमावलीको नियम २६ मा ९१० नियम १० को उपनियम (५० र (६) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गरेको वार्षिक कूल आम्दानीको चार प्रतिशतले हुने रकम प्रत्येक वर्ष रोयल्टीको रूपमा नेपाल सरकारलाई बुझाउनु पर्नेछ र सो अवधिभित्र नबुझाएमा बुझाउन बाँकी रहेको रकमको दुई प्रतिशतका दरले प्रत्येक महिना थप दस्तुर लाग्नेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । सो व्यवस्थाअनुसारको शुल्क बुझाउन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई पटक पटक अनुरोध गरिसकेको पनि विज्ञप्तिमा जनाइएको छ ।
भुक्तानी नगरेपछि इन्टरनेट सेवा अवरुद्ध
काठमाडौं । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवा अवरूद्ध भएको छ । बिहीबार ४ बजेदेखि अधिकांश इन्टरनेट सेवा अवरूद्ध भएको हो । भारतीय अपस्ट्रीम सेवा प्रदायक कम्पनीले इन्टरनेट सेवा काटेपछि नेपालको इन्टरनेट ठप्प भएको हो । वर्ल्ड लिङ्कका अनुसार भारतीय कम्पनीलाई भुक्तानी गर्नु पर्ने रकम नगरेका कारण सेवा अवरूद्ध भएको हो । आफूहरूले विदेशी मुद्राको लागि नेपाल सरकारबाट अनुमति प्राप्त नगरेका कारण भुक्तानी रोकिएको वर्ल्डलिङ्कले बताएको छ । साथै, छिट्टै सेवा सूचारू गर्ने विषयमा पहल भइरहेको कम्पनीको भनाइ छ । नेपालका इन्टरनेट सेवा कम्पनीहरूले ३ अर्ब रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको तथ्याङ्क छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो।
वैशाख २६ देखि १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला, विदेशी पनि सहभागी हुने
काठमाडौं । ‘नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१’ भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा वैशाख २६ गतेदेखि वैशाख ३० गतेसम्म मेला हुन लागेको हो । लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मेला गरिँदै आएको र मुलुकभरिका उद्यमीद्वारा उत्पादन गरिएका वस्तुलाई प्रदर्शनी गर्ने मुख्य उद्देश्य महासंघले जनाएको छ । यस महोत्सवको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको छ । विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना गर्न सुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष ‘नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१’ को नाममा आयोजना हुने महासंघले जनाएको छ । महांसघका अनुसार यसपटकको प्रदर्शनीमा ५औं राष्ट्रिय मह मेला पनि सञ्चालन हुनेछ । महांसघका अनुसार ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहेको भएता पनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरू प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसले गर्दा हाम्रा युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् । उल्लेखित तथ्यलाई मध्यनजर गरी एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडिदेखि नै नियमित रूपमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनीहरू आयोजना गर्दै आएको महासंघको भनाइ छ। तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने यस प्रदर्शनीले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई समावेश गरी द्यद्दद्य, द्यद्दऋ, द्यद्दन् जस्ता अन्तरक्रिया, छलफल र खाना महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने महासंघ अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिएका छन् । यसैगरी नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको उनले बताए । ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नाराका साथ मेला सञ्चा लन गरिए पनि विदेशीहरूको उपस्थिति कि भन्ने प्रश्नमा सिंहले भने, ‘विदेशीहरूलाई निम्तो नगर्ने हो भने हामीले उत्पादन गरेको नेपाली सामानहरू अन्य देशमा चिनिदैनन् त्यसैले उन्तराष्ट्रिय रूपमा हाम्रो उत्पादनलाई चिनाउन पनि विदेशीहरूलाई निम्तो गरेका हौं।’ यस वर्ष घरेलु उत्पादन महलाई विशेष प्राथमिक्ताका साथ प्रचारप्रसारमा जोड दिएको आयोजकको भनाइ छ । महको माग स्वदेश तथा विदेशमा समेत बढिरहेकोले यसलाई ब्राण्डिङ गर्न लागिएको आयोजकले बतएका छन् । अध्यक्ष सिंहका अनुसार प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ र प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुने र २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ । यस मेलामा काठ/ढुंगा/धातु कला, सेरामिक्स, भाँडाकुँडा, बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामान, गलैंचा, राडीपाखी पश्मिनाका वस्तु तथा अन्य ऊनी कपडा, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरू, नवीनतम प्रविधि, नेपाली हाते कागजका वस्तु, परम्परागत हस्तकलाका सामान, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादन, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्था, वैकल्पिक रनविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरू प्रदर्शन गरिने महासंघले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह-आयोजकको रूपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, काठमाडौं वैकल्पिक ऊर्जा महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लि. रहेका छन् । यस्तै प्रवर्द्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रवर्द्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका रहेका छन् । यस मेलाको अफिसियल बैंक कृषि विकास बैंक रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिएको यस मेलाको व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड शोजले गरेको छ ।
४३६ स्थानमा डढेलो
काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए । ‘आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।’ उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उनका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरु हुन्छन् । ‘असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ’, शर्माले भने । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले बताए । प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो । रासस
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्ता कारागारको आज उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले कैदीबन्दीले माफी मिनाहा पाउने कुरा उहाँहरूको अधिकारको विषय भएको उल्लेख गरे । ‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ’, उनले भने । कारागारमा कैदी जीवन बिताएका कैदीबन्दीलाई समाजमा पुनःस्थापना गर्न आवश्यक भएकामा जोड दिँदै गृहमन्त्री लामिछानेले कारागारलाई यातना गृहका रूपमा नभई सुधार गृहका रूपमा रुपान्तरण गराउन जरुरी भएको औँल्याए । ‘कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप कुनै पनि सजाय पाउनु हुँदैन’, उनले भने । अपराधीले अपराध गरेको भन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले कारागारलाई सुधारगृहका रूपमा रुपान्तरण गर्न मन्त्रालाय लागिपरेको बताए । गृहमन्त्री लामिछानेले कैदीबन्दीले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझै पनि समाजले स्वीकार गर्न नसकेको उल्लेख गर्दै पारिवारिक तथा सामाजिक जीवन बिताउन परिवार र समाज सचेत हुनुपर्नेमा जोड दिए । ‘आवाज र पहुँचका आधारमा होइन, असल आचरण र कानुनले तोकेको मापदण्ड पूरा गरेको जोसुकै कैदीबन्दी नियमानुसार छुट्नुपर्छ’, उनले भने । गृहमन्त्री लामिछानेले कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नगर्न, अमानवीय गतिविधि नगर्न र आपराधिक क्रियाकलाप नहोस् भन्नेमा सरकार सचेत रहेको उल्लेख गरे । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीले प्रदेशमा लागेको डढेलो नियन्त्रण गर्न कदम चाल्न सङ्घीय गृह मन्त्रालयको ध्यानाकर्षण गराए । लुम्बिनी प्रदेश सरकारका समाजिक विकासमन्त्री रत्न खत्री, कारागार व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाललगायतले कारागार सुधारका विषयमा आफ्नो धारणा राखेका थिए । विसं २०७९ मङ्सिरमा निर्माण गरिएको बाँकेको नौबस्ता कारागारमा हाल एक सय ३० कैदीबन्दी छन् । तीन हजार कैदीबन्दी राख्ने क्षमताको उक्त कारागारमा हाल करिब एक हजार कैदीबन्दी अट्न मिल्ने पहिलो चरणको काम सम्पन्न भएको छ । कारागारको दोस्रो र तेस्रो चरणको काम अझै बाँकी छ । रासस
आइएमई लाइफ : व्यवसायमा बलियो, लाभांशमा आकर्षक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमै दोस्रो बढी लाभांश घोषणा गर्यो । आईपीओ जारी गरेको १० महिनामामै कम्पनीले ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश घोषणा गरेको हो । यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात् वितरण हुनेछ । कम्पनीले पछिल्लो समय व्यवसाय पनि राम्रै गर्दै आएको छ । कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार ३३ करोड १५ लाख ६० हजार रुपैयाँ खुद नाफा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको ७५.७९ प्रतिशत नाफा बढाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ सेयर प्रिमियम शिर्षकमा सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ छ । कम्पनीका अधिकांश वित्तीय सूचकहरू बलियो देखिन्छन् । वित्तीय संस्था तथा बीमा कम्पनीहरू आर्थिक सुस्तताको समस्या भोगिरहँदा आइएमई लाइफले भने राम्रो व्यवसाय गरिरहेको देखिन्छ । सेयर बजारमा उच्च कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले उच्च लाभांश घोषणा गरेपछि त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको छ । बिहीबार ३४.५० प्रतिशत लाभांश घोषणा भएपछि सुरुवाती अवस्थामा कम्पनीको सेयर मूल्य बढेको थियो । तर, अन्तिम अवस्थामा भने त्यो अवस्था रहन सकेन । अर्थात्, बिहीबार कम्पनीको सेयर मूल्य २ रुपैयाँले घट्यो । मूल्य घटे पनि कारोबार भने बढी भएको छ । हाल यस कम्पनीको सेयर मूल्य ५७१ रुपैयाँ छ । बिहीबार कम्पनीको ४ लाख ९७ हजार ५७ कित्ता सेयर किनबेच भएर कुल २८ करोड ७७ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । जुन बिहीबार भएको कम्पनीहरूमध्येको उच्च कारोबार हो । लगानीकर्ता राजन लम्साल अन्य कम्पनीको तुलनामा आइएमई लाइफको लाभांश आकर्षक नै भएको बताउँछन् । उनी कम्पनीमा सर्टटर्म लगानीकर्ताको आकर्षण भएको धारणा राख्छन् । हाल यस कम्पनीको सञ्चालक समितिको अध्यक्षको रूपमा रामहरी अर्यालले नेतृत्व गरिरहेका छन् भने व्यवस्थापनबाट कबी फुयालले प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिरहेका छन् ।
नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न मन्त्री श्रेष्ठको निर्देशन
नुवाकोट । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले नेपाल प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् । बिहीबार नुवाकोटस्थित ईलाका प्रहरी कार्यालय, पञ्चकन्याको नवनिर्मित कार्यालय भवन तथा ब्यारेकको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका हुन् । उनले नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिकको साथी भएको उल्लेख गर्दै समस्या तथा विपद्मा परेका नागरिकको सेवामा सबैभन्दा अगाडी पुग्नुपर्ने बताए । उनले सिमित स्रोत तथा साधनको बिचमा पनि प्रहरीले नागरिकलाई दिइरहेको सेवाको प्रशंसा गरे । मन्त्री श्रेष्ठले स्रोत, साधनको अभावका कारण प्रहरीलाई परिरहेको समस्यालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रदेशभर प्रहरी भवन निर्माणका लागि सहयोग गरिरहेको पनि बताए । उनले आगामी दिनमा पनि प्रदेश सरकारले प्रहरीको लागि कार्यालय, आवास तथा अन्य अत्यावश्यक पूर्वाधार निर्माणका लागि प्राथमिकता दिने बताए । उनले अहिले डढेलो लगायतका विपद्हरु आइरहेका भन्दै विपद् व्यवस्थापनमा सक्रियतापूर्वक लाग्न आग्रह पनि गरे । वर्षायाम् सुरु हुन लागेको भन्दै मन्त्री श्रेष्ठले वर्षायाम्मा हुने प्राकृतिक प्रकोपका घटनाबाट नागरिकलाई बचाउन पनि सेचततापूर्वक लाग्नुपर्नेमा उनले जोड दिए । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ईलाका प्रहरी कार्यालय, पञ्चकन्या नुवाकोटको कार्यालय तथा भान्छाघरको निर्माण भएको हो । प्रदेश सरकारको २ करोड २ लाख ६९ हजार ५८० रुपैयाँ ८५ पैसा आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको प्रहरीले जनाएको छ ।
सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो
म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोड रुपैयाँभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष १७ करोड रुपैयाँको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो ५५ देखि ६० रुपैयाँका दरले बिक्री भएको छ । बेनी नगरपालिकाबाट सबैभन्दा बढी तीन करोड ३८ लाख रुपैयाँको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट एक करोड ३६ लाख रुपैयाँ, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमशः एक करोड ३० लाख रुपैयाँको दरले सुन्तला बिक्री भएको छ । धवलागिरि गाउँपालिकाबाट ३० लाख ७० हजार रुपैयाँ तथा रघुगङ्गाबाट २५ लाख रुपैयाँको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताउनुभयो । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै दुई करोड २० लाख रुपैयाँको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट एक करोड १० लाख रुपैयाँको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताए । म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । ‘सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ’, उनले भने, ‘अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।’ कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए । जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३ राखुका किसान खिम पुनले बताए । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि ६२ लाख रुपैयाँ अनुदान दिन छनोट गरेको जनाएको छ । रासस