सेयर बजारमा ७ अंकको गिरावट, ४ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा ७.३१ अंकको गिरावट आएको छ । योसँगै नेप्से परिसूचक १९९८.९६ अंकमा अडिएको छ । यस दिन ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १६१ कम्पनीको सेयर घट्दा ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ को स्थिर रहेको छ । आज सबैभन्दा धेरै आइएमई लाइफको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १५ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कमाउनेमा समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाका लगानीक छन् । यस दिन यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए । विजय लघुवित्त वित्तीय संस्थाले ९.७१ प्रतिशत, आरएसडिसी लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतले कमाए । आज सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स पावर कम्पनीका लगानीकर्ताले छन् । आज यस कम्पनी लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाए ।
सन नेपाल लाइफको हकप्रद सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका सेयरधनीलाई प्रति सेयर १०० रुपैयाँ दरको १ करोड ०६ लाख ९६ हजार ३२० कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय न्युप्लाजा, पुतलीसडक, काठमाडौंमा बिहीबार आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
बैंकिङ कसुरका घटना बढे, ५० वटा मुद्दा दर्ता
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । विगत वर्षमा न्यून मात्रमा बैंकिङ कसुरका घटना प्रहरीकहाँ आउने गरेकामा अहिले सो सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही वैशाख १५ गतेसम्ममा ५० वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन् । आव २०८९/८० मा २३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए । दर्ता भएका बैंकिङ कसुरका सबैजसो मुद्दा चेक अनादरका छन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप छैन् वा निक्षेप भए पनि पर्याप्त छैन् भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बन्धित बैंकसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको ठहर्छ भने चेक अनादर भएको मानिन्छ । चेक अनादर भएको छ महिनाभित्र चेक पाएको व्यक्तिले अदालतमा मुद्दा दायर गर्नुपर्छ । दाबी प्रमाणित भएको खण्डमा अदालतले बिगो र त्यसबमोजिम जरिवाना गर्नसक्ने प्रावधान रहेको प्रहरी उपरीक्षक रेग्मीले बताए । चेक अनादरका मुद्दा ह्वात्तै बढ्नुमा प्रमुख कारण आर्थिक सङ्कट हो । कोभिड–१९ पछि रोजगारी र व्यवसायमा परेको असर अहिले देखिन थालेको छ । आर्थिक सङ्कटका कारण लेनदेनमा अविश्वास र शङ्का बढ्दा बैंकिङ कसुरका घटना बढेका प्रहरी उपरीक्षक रेग्मीले बताए । आर्थिक कारोबारमा विश्वास कम हुँदै जाँदासमेत यस्ता घटना बढेका हुनसक्ने उनको भनाइ छ । कसैलाई व्यक्तिगत रूपमा दिएको रकम फिर्ता आउने सुनिश्चितता नहुने अवस्था देखेपछि तथा विश्वास कम हुँदै जाँदा मुद्दा दर्ता गर्न आउनेको सङ्ख्या बढी छ । रासस
काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित सहर (तस्बिरहरू)
काठमाडौं । काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार वायु गुणस्तर सूचकाङ्क एक सय ६२ पुगेको थियो । तापक्रम वृद्धिसँगै विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको जानकारी दिएको छ ।
सोपान मल्टिपलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा मूल्यमा आईपीओ निष्काशन गर्ने कार्यका निम्ति बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । मंगलबार सोपान मल्टिपल कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. ई. तारा प्रसाद पोखरेल र एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट सीईओ दिपेश कुमार बैध्यले एक कार्यक्रमकाबीच नियुक्ति सहमति पत्रमा हस्ताक्षर गरेका छन् । आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औं वार्षिक साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्ने योजना बनाएको कम्पनीका अध्यक्षले बताए । हाल कम्पनीको प्रति सेयर नेट वर्थ कस्ट भ्यालु मा १०३.५८ रुपैयाँ रहेको छ भने फेयर मार्केट भ्यालु मा ४५० रुपैयाँ माथी रहेको समेत अध्यक्ष पोखरेलले बताए । कम्पनीले आफ्नो चुक्ता पूँजी १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पुर्याउने योजना बनाएको छ । जस अन्तरगत संस्थापक तर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता (१ अर्ब १६ करोड ६० लाख रुपैयाँ)को हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपीओ जारी हुने सहमति पत्रमा उल्लेख गरिएको छ। महतो समुहको प्रमुख लगानी रहेको सोपान मल्टिपल कम्पनी लिमिटेड एक होल्डिङ (ईन्भेष्टमेन्ट) कम्पनी हो । डा. उपेन्द्र महतो, डा. बिरेन्द्र प्रसाद महतो, इ. रामेश्वर रिजाल, डा. इ. तारा प्रसाद पोखेल, जीवनाथ लामिछाने, राजेन्द्र मल्ल, अशोक कुमार खड्का, इ. वसन्त चन्द्र मरहट्टा लगायतको सबल नेतृत्व र सक्रियतामा यो कम्पनीले शिक्षा, स्वास्थ्य, जलविद्युत र रियल स्टेट, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । यस कम्पनीको मातहतमा कान्तिपुर ईन्जिनियरिङ्ग कलेज, एक्मी ईन्जिनियरिङ्ग कलेज, सोपान फर्मास्युटिकल्स लि., मोल्नीया पावर लि., मैलुङ्ग खोला जलविद्युत कम्पनी लि., माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनी लि., सोपान प्रोपर्टिज कम्पनी लि. रहेका छन् । सोपान मल्टिपलको लगानी रहेको मैलुङ्ग खोला जलविद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गरिसकेको छ भने सोपान मल्टिपलको प्रमुख परियोजनाको रूपमा बिकास गरिएको देशकै नमुना अत्याधुनिक प्रविधियुक्त सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशनको लागि धितो पत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ। स्थापनाकै बेला पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित यस कम्पनीलाई सुशासनका पक्षमा अझ सबल बनाउने र सहभागितामुलक लगानीलाई अझ विस्तार गर्दै लैजाने योजना अनुरूप आईपीओ जारी गर्न लागिएको अध्यक्ष पोखरेलले बताए ।
राष्ट्र बैंकको कारबाहीमा आधा दर्जन बैंक
काठमाडौं नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले चालु आर्थिक वर्ष २०८/०८१ को तेस्रो त्रैमासमा प्राइम बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक, बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई लाई कारबाही गरेको हो । राष्ट्र बैंकबाट निर्देशन बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको, बैंकको २०७८ चैत्र महिनाको अपरिष्कृत वित्तीय विवरणको आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेकाले प्राइम बैंकका सीईओलाई राष्ट्र बैंक ऐनअनुसार नसिहत दिइएको छ । साथै, प्रचलित कानुन र राष्ट्र बैकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए/नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको हुँदा बैंकको सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । कुमारी बैंकले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ विपरीत ब्याज अनुदान दिएकाले बैंकको सञ्चालक समिति र सीईओलाई सचेत गराइएको राष्ट्र बैंकको भनाइ छ । साथै, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलव भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शनको व्यवस्थाभन्दा प्रतिकूल हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख रुपैयाँ भुक्तानी दिने निर्णय गरेकाले बैंकको सञ्चालक समितिलाई सचेत गराइएको छ । साथै, उक्त रकम ३५ दिनभित्र असुल उपर गर्न सञ्चालक समितिलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्रअन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रोमिसरी नोट जारी गरी बिलबाट बैंकले कुल ४१.३६ करोड रुपैयाँ बराबरको बिल प्रर्चेच गरी कर्जा सापटमा देखाएको र सो प्रतितपत्रको म्याचुरिटी डेट बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म इभरग्रीन गरी असल कर्जाकै रूपमा देखाएको, संस्थागत सामाजिक उत्तरदायित्व वापतको खर्चलाई समेत समावेश गरी आधार दर गणना गरेको भन्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओलाई सचेत गराएको छ । लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक) को १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनी राजेन्द्रकुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रुपैयाँ कर्जा मध्ये ११ करोड ४४ लाख रुपैयाँ आफ्नो खातामा ट्रान्सफर गरी/गराई उपयोग गरेको र उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी/गराई भुक्तानी भएकोले खेतानलाई १० लाख रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । साथै, लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक)बाट प्रवाह भएको कर्जा बैंकका सेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकोले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका सीईओलाई सचेत गराइएको छ । [pdf id=480421]
अफगानिस्तानलाई विश्व बैंकको ८४ मिलियन सहयोग
काबुल । अफगानिस्तानले देशमा चलिरहेको मानवीय संकटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको छ । उक्त सहयोग आर्थिक संकटसँग जुध्न, जीविकोपार्जन परियोजना प्रदान गर्न, अफगान महिलाहरूलाई सहयोग गर्न, जलवायु परिवर्तनलाई सम्बोधन गर्न तथा आप्रवासीहरूलाई सहयोग गर्न प्रयोग गरिने विश्व बैंकले जनाएको छ । परियोजना सन् २०२२ मा ग्रामीण र सहरी क्षेत्रमा आजीविका सहयोग र सेवाहरू प्रदान गर्न, महिला र सबैभन्दा कमजोरका लागि सामाजिक अनुदानलाई समर्थन गर्न र समावेशी सेवा वितरणका लागि सामुदायिक संस्थाहरूलाई सुदृढ पार्न एआरटीएफबाट २६ करोड ५० लाख डलरको अनुदानका साथ सुरु भएको बैंकको विज्ञप्तिमा उल्लेख छ । अर्थ मन्त्रालयले विश्व बैंकको सहयोगलाई स्वागत गर्दै आर्थिक विस्तार र परियोजना संशोधनहरूलाई सहयोग गर्न सक्ने बताएको छ, जसको परिणामस्वरूप देशको रोजगारी सिर्जनामा योगदान पुग्नेछ । परियोजनाको कार्यान्वयनले रोजगारी सिर्जना गर्न, सहरी र ग्रामीण क्षेत्रमा सेवा वितरणमा सुधार ल्याउन तथा आप्रवासीे समस्यालाई सम्बोधन गर्न सक्ने तालिबानी अर्थ मन्त्रालयका प्रवक्ता अब्दुल रहमान हबीबले बताए । यसैबीच, काबुलका नागरिकहरूले हालको परिस्थितिलाई ध्यानमा राख्दै अझ बढी सहयोग आवश्यक रहेको बताउदै यसलाई खुल्लारुपममा दिनुपर्ने माग राखेको टोलो न्यूजले जनाएको छ । अफगानीस्तानमा मानिसहरू गरिब तथा निराश्रित भई महिनामा तीन दिन मात्र काम पाउने अवस्थामा छन् । काबुलका बासिन्दा उमर अलीले आफ्नो घरमा दस जना आश्रित भएको तथा डेढ वर्षदेखि भाडाका लागि ऋणमा डुबेको बताए । तालिबानले अफगानिस्तानमा अधिकार पुनः प्राप्त गरेपछि विश्व बैंकसहित अधिकांश अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानिस्तानमा काम गर्न छोडेका छन् । यी संस्थाहरूको पुनः सञ्चालनले अफगान अर्थतन्त्रलाई बढावा दिने अनुमान गरिएको छ ।
पर्वतको कुश्माबजारमा खानेपानीको अभाव, लोडसेडिङ सुरु
पर्वत । लामो समयदेखिको खडेरीका कारण मुहान सुकेपछि पर्वत सदरमुकाम कुश्माबजारमा खानेपानीको अभाव भएको छ । नियमित आउने स्रोतमा पानीको मात्रा घट्दै गएपछि मगंलबारदेखि खानेपानीको ‘लोडसेडिङ’ सुरु भएको छ । बजार क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्दै आएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मगंलबारदेखि लागू हुनेगरी अनिश्चितकालका लागि लोडसेडिङ सुरु गरेको हो । प्रत्येक दिन बिहान र बेलुका दुई समय धारामा खानेपानी आउने गरेकोमा लोडसेडिङ गरी बिहान वा बेलुका मात्र पानी उपलब्ध गराउन थालिएको छ । बजारको आधा भागमा बिहान र आधा भागमा बेलुका पानी दिनेगरी समय व्यवस्थापन गरिएको संस्थाले जनाएको छ । बढ्दो खडेरीका कारण अहिले खानेपानीको मुख्य ट्याङ्कीमा प्रतिसेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ । बजारको मागअनुसार पानीको आपूर्ति दिनका लागि प्रतिसेकेन्ड ६० लिटरका दरले पानी खस्नुपर्ने भए पनि आधाभन्दा कम पानी आएका कारण लोडसेडिङ गर्नुको विकल्प नभएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले जानकारी दिए । खडेरीका कारण २४ घण्टामा जम्मा २८ लाख ५१ हजार दुई सय लिटर पानीको आपूर्ति भइरहेको उनले बताए । बजारको मागअनुसार पानी वितरण गर्नका लागि प्रत्येक २४ घण्टामा ५१ लाख ८४ हजार लिटर पानी आवश्यकपर्ने श्रेष्ठले बताए । खडेरीका कारण बजारवासीले तरकारीखेतीका लागि पनि पानी प्रयोग गर्ने गरेकाले अन्य समयभन्दा बढी माग हुने गरेको उनले बताए । कतिपय ग्राहकले धाराबाटै मोटर लगाएर पानी तानिदिँदा सबैले समानरुपमा उपभोग गर्न नपाएको संस्थाको गुनासो रहेको छ । अहिले कुश्माबजारमा मोदी गाउँपालिकाको पाती खोलाबाट १६ लिटर, कुश्मा नगरपालिकास्थित खुर्कोटको केवादी खोलाबाट सात लिटर, फाप्रे खोला लिफ्टिङबाट पाँच लिटर र डिप बोरिङबाट पाँच लिटर गरी प्रतिसेकेन्ड ३३ लिटरका दरमा पानी आइरहेको छ । अब बर्खा लागेपछि प्रतिसेकेन्ड ३५ लिटरसम्म पानी आउने केवादी खोला अहिले सात लिटरमा पुगेको छ । पानीको आपूर्तिमा नै समस्या भएपछि मगंलबारदेखि लागू हुने गरेर संस्थाले बजारका विभिन्न क्षेत्रमा पालोअनुसार पानीको वितरण गर्न पानीको ‘लोडसेडिङ’ सुरू गरेको हो । कुश्मा बजारका विभिन्न भागहरूलाई छ भागमा बाँडेर तीमध्येका तीन वटामा बिहानको समय र तीन वटामा बेलुकाको समयमा मात्रै आपूर्ति व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताए । गर्मी तथा खडेरीकै बेलामा पानीको आपूर्ति माग बढी हुने भए पनि यही बेलामा पानीको समस्या झेल्नुपर्दा बजारवासी समस्यामा परेका छन् । रासस