काठमाडौं । सेलवेज क्यास एन्ड क्यारी प्रालिले काठमाडौं महाराजगञ्जमा ‘सेल्सबेरी सुपरस्टोर’ सञ्चालनमा ल्याएको छ । बेसमेन्ट पार्किङसहित १६ तला अग्लो यो सुपरस्टोरे कुल ९ रोपनी क्षेत्रफल ओगटेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्गले सुपरस्टोरलाई नेपालकै ‘सुपर सपिङ डेस्टिनेसन’ बनाउने उद्देश्य लिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
कम्पनी अनुसार सेल्सबेरी सुपरस्टोरको पहिलो चार तलामा बेसमेन्ट पार्किङ, भुइँ तलादेखि छेटौं तलासम्म डिपार्टमेन्टल स्टोर, सात र आठ तलामा विभिन्न कर्पोरेट कार्यालय, नवौं, १०औं र ११औं तलामा जिम, फिटनेस सेन्टर, स्पा, रेस्टुरेन्ट तथा बार, १२औं तलामा स्विमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफी लाउन्ज तथा इभेन्ट सेन्टर रहने छ ।
सुपरस्टोरको १३औं तलामा भ्यु टावर छ जहाँबाट काठमाडौं उपत्यकाको ३६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ ।
त्यसैगरी सेल्सबेरीको अर्को शाखा काठमाडौं कालीमाटीस्थित कालीमाटी ट्रेड सेन्टरमा आज शुक्रबारबाट नै सञ्चालनमा आएको छ ।
दुवै शाखा सञ्चालनका अवसरमा कम्पनीले ग्राहकका लागि लक्की ड्रमार्फत इलेक्ट्रिक कार, सेगवे इलेक्ट्रिक स्कुटर लगायत पुरस्कार दिने जनाएको छ ।
हाल सेल्सबेरी ब्रान्डमा ३२ शाखा सञ्चालनमा छ । कम्पनीले चालू आर्थिक वर्ष अन्त्यसम्ममा काठमाडौं तथा पोखरामा थप ६ शाखा सञ्चालन गर्ने जनाएको छ ।
‘हरेक वर्ष सानो, मध्यम र ठूलो गरी १० देखि १५ वटासम्म शाखा सञ्जाल विस्तार गर्दै जाने लक्ष्य छ,’ सीईओ प्रधानाङ्गले भने, ‘सन् २०२६ सम्म १ सय शाखा विस्तार गरी २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य छ ।’