विकासन्युज

नेपालमा काेकाकाेलाकाे व्यापार ४ अर्ब ५९ कराेड

काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ५९ करोड ९९ लाख रुपैयाँको काराेबार गरेको छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँको काराेबार गरेको थियो जुन सन् २०२२ को तुलनामा ०.९३ प्रतिशतले बढी हो । यस्तै  कम्पनीले सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको काराेबार गरेको थियो भने २०२१ मा ८ अर्ब २९ करोड ४० लाख रुपैयाँको काराेबार गरेको थियो । बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ । नेपालमा कोकाकोला उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबैभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा छ । नेपाली पेय पदार्थ बजारमा ठूलो हिस्सा ओगटेको कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको क्रेडिट रेटिङ एजेन्सी इक्राले जनाएको छ ।

मेराे र परिवारकाे छवि धुमिल्याउन खाेजियाे : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत केही दिनदेखि केही सञ्चार माध्यमबाट आफूप्रति लक्षित गरी सुनियोजित रूपमा निरन्तर समाचार सम्प्रेषण र सोही समाचारका आधारमा सामाजिक सञ्जाललगायतमा भइरहेका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार घिसिङले प्रेस विज्ञप्ति प्रकाशन गर्दै पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहितको उल्लङ्घन गर्दै आफ्नो र परिवारका सदस्यहरू (मुख्य रूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले सुनियोजित रूपमा दूषित मनसायका साथ कपोकल्पित ढङ्गले भ्रमपूर्ण समाचारहरू सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निहीत स्वार्थका साथ यस्ता समाचारहरू सम्प्रेषण भइरहेको बताएका छन् । यस्तै उनले यस्ता समाचारको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् । ‘अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ? मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु, यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायले छानबिन गर्ने नै छन् ।’ नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरुको खण्डन गर्ने उनले बताएका छन् । उनले नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रूपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरूसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य कुनै आफ्ना व्यक्तिगत नाजायज स्वार्थ नरहेको पनि बताए । स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहेकाे उनकाे भनाइ छ । ‘मेरा विरुद्धमा आफैं न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ’, उनले भने ‘नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाही पारदर्शी रूपमा भइरहेका छन् । र, अझै पारदर्शी रूपमा अगाडि बढाइने छ ।’ उनले ऊर्जा क्षेत्रका योजनाहरू कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रूपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने विज्ञप्तिमार्फत प्रतिबद्धता जनाएका छन् ।

कालोसूचीमा राख्न सिफारिस २७ कम्पनीलाई सोधियो स्पष्टीकरण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ । विभिन्न निकायबाट समयमा काम पूरा नगर्ने निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । उक्त समयमा ती कम्पनीले लिखित स्पष्टीकरण पेस नगरेकाले बिहीबार पुनः ७ दिने अर्को सूचना जारी गरेको हो । सूचनाअनुसार ७ दिनभित्र लिखित स्पष्टीकरण पेस नगरे कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ क बमोजिम कारबाही हुने जनाएको छ ।

राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै

काठमाडौं । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले ‘ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ । राजधानीस्थित पुतलीसडकमा रहेको राइटपाथले २९ वैशाख देखि ८ जेठसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ आयोजना गर्ने भएको हो । राइटपथका अनुसार कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य सहरहरूमा पुग्नेछ । वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौँडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा कन्क्लेभ हुने तालिका छ । कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ । त्यस्तै, अमेरिकालक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आईएएल्स २ हजार ८१ रुपैयाँमै गर्न सकिने व्यवस्था गरिएको छ । साथै २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई विद्यार्थीहरूले एकै छानामुनि भेट्न सकिने राइटपथले जनाएको छ । राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने, ‘युनीभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरूले सत्य तथ्य जानकारी पाउन सकुन् भन्ने नै हाम्रो कार्यक्रमको उद्देश्य हो । विद्यार्थीहरूको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्‍याउँछ । कतिपयले अफर लेटर हेर्न ढिलाइ गर्नु भएको पनि हामीले पाउने गरेका छौँ ।’ उनले वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने बताएका छन् ।

टोफिचो ‘तड्का इमली’ बजारमा

काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्रान्ड टोफिचाेअन्तर्गत नयाँ टफी ‘तड्का इमली’ बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘टेस्टको नयाँ ब्लास्ट’ नारासहित तड्का इमली बजारमा सार्वजनिक गरेको हो । तड्का इमलीमा इमलीको चट्किलो स्वादका साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण रहेको छ । तड्का इमलीको बिक्री मूल्य पाँच रुपैयाँमा दुई गोटा कायम गरिएको कम्पनीले जानकारी दिएको छ । यसको नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

५१९ जना प्रहरी निरीक्षकको सरुवा

काठमाडौं । नेपाल प्रहरीले ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ । बुधबार बसेको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा –काज सरुवा गरिएको हो । आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी उनीहरूको सरुवा भएको हो । सूची: [pdf id=482073]

कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभरि आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभरि आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति देशभरि आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत मुलुकका बाँकी पहाडी भागका केही स्थानका साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

खाँदबारी । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि बुधबार उडान भएको छ । यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो । विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ । विमानस्थल खुलेपछि बुद्धएयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै सडक यातायातबाट जान नसकेका सङ्खुवासभा र भोजपुर जिल्लाका वृद्धवृद्धा र बिरामीलाई फाइदा पुगेको छ ।