विकासन्युज

कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभरि आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभरि आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति देशभरि आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत मुलुकका बाँकी पहाडी भागका केही स्थानका साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

खाँदबारी । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि बुधबार उडान भएको छ । यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो । विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ । विमानस्थल खुलेपछि बुद्धएयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै सडक यातायातबाट जान नसकेका सङ्खुवासभा र भोजपुर जिल्लाका वृद्धवृद्धा र बिरामीलाई फाइदा पुगेको छ ।

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कानुनमा विशेगा अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत भइन् । उनले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी शर्मासँग विभिन्न आईएनजीओमा समेत संलग्न छिन् ।

दक्षिण कोरियामा चार कार निर्माताले ८ हजार गाडी फिर्ता बोलाए

सोल । दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब ७ हजार ७ सय सवारीसाधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले बुधबार जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुन्डाई मोटरले एभान्टे सेडानसहित पाँचवटा विभिन्न मोडलका ४ हजार १ सय १८ एकाइ फिर्ता बोलाउनेछ । यसमा निकास ग्यास रिसर्कुलेशन (इआरजी) भल्भ पावर युनिटमा त्रुटि देखिएको छ । उक्त त्रुटिका कारण गाडी चलाउँदा इन्जिन रोकिन सक्छ । किया कर्पोरेशनले के–३ सेडानसहित तीनवटा मोडेलका २ हजार ६ सय ५८ एकाइ हुन्डाई गाडीहरू जस्तै उत्पादनमा त्रुटिको लागि फिर्ता गर्नेछ । जगुआर ल्यान्ड रोभर कोरियाले नयाँ रेन्ज रोभर स्पोर्ट पी–३६० जस्ता दुई मोडलका तीन सय २९ एकाइमा रियर लाइट इलुमिनेसन डिभाइसको कमजोर फिक्सेसनको मर्मत गर्नेछ । भक्सवागन समूह कोरियाले टोवारेग ३ ३.० टिडिआई को ६ सय २३ एकाइमा सुधारात्मक कारबाही गर्नेछ । यो मोबाइल अनुप्रयोगहरूमा सफ्टवेयर त्रुटिका कारण रिमोट स्वचालित पार्किङको समयमा खराबी हुन सक्छ । सवारीसाधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पार्टपुर्जाहरू निःशुल्क बदल्न सक्छन् । एजेन्सी

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् । सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन् । सिकारमा १५ देखि २० जनासम्मको सूमह हुन्छ । टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुण्डिएर मह काढ्न भिर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् । पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरु यसरी मह सिकारमा रमाउँछन् । पितापूर्खाको छाडेको सीपलाई पछ्याउँदै उनीहरुले मह सिकारको चलन धानिरहेका छन् । मङ्गलबारदेखि मह सिकारमा व्यस्त बागलुङको ताराखोला गाउँपालिका-५ का रतनबहादुर घर्तीले आफूले ३० वर्षदेखि भिरमौरीको मह काढ्दै आएको बताए । ‘हाम्रा बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौँ’, उनले भने, ‘ हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको छ ।’ घर्तीका अनुसार ताराखोला(५ को ठूलो भिर र माडो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । यस वर्ष ठूलो भिर सामुदायिक वन क्षेत्रमा आठ घार भिरमौरीबाट दुई सय ६० लिटर मह काढिएको उनले बताए । ‘मङ्गलबारदेखि जुल्फे सामुदायिक वनमा पर्ने माडो भिरमा मह काढ्न सुरु गरिएको छ’, ५१ वर्षीय घर्तीले भने, ‘१४ घारको मह काढ्न अझ एकरदुई दिन लाग्न सक्छ ।’ ताराखोलाका अन्य भिरमा पनि एक/दुई घार मौरी रहेको उनले बताए । कुनै वर्षमा दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ । मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न नसक्ने जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताए । ‘मह सिकार साहसिक र उत्तिकै जोखिमपूर्ण पनि हुन्छ, आँट र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ’, उनले भने, ‘ पराङमा झुण्डिएर मह काढ्नुपर्छ, मौरीले आक्रमण गर्ने उस्तै डर हुन्छ ।’ मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाँबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ ९भर्‍याङ० मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरु भिरमा पुग्छन् । सुथरी (डोरी), चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको सचिव घर्तीले बताए । ‘पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घारनजिक पुग्छन्’, उनले भने, ‘निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्टाइन्छ र तलपट्टि डालीमा थापिन्छ ।’ मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उनको भनाइ छ । मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताए । एक लिटर महलाई रु १५ सयसम्ममा बिक्री गर्ने गरिएको छ । ‘संस्कृति र परम्पराका रुपमा घरगाउँमा भिरमहको सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउन जरुरी छ’, सचिव घर्तीले भने । ताराखोलाकै मपेसमा रहेको तीन घार भिरमौरीको मह पनि काढ्ने तयारी भइरहेको जनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनमा भिरमहलाई जोड्दै आएको गलकोट नगरपालिका(१० रमुवाको सरस्वती युवा क्लबले अहिले ‘मह सिकार महोत्सव’ कै आयोजना गरेको छ । वडा कार्यालयसँग मिलेर क्लबले बर्सेनि मह सिकारको कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष उदिम घर्तीले बताए । पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको उनको भनाइ छ । औषधिजन्य गुण र स्वास्थ्यवद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिर मह प्रयोग गर्छन् । मह सिकार हेर्न र महको स्वाद लिन पनि रमुवामा आगन्तुकको सङ्ख्या बढ्दै गएको अध्यक्ष घर्तीले बताउनुभयो । रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट(१० का अध्यक्ष भक्तबहादर काउचाले बताए । गाउँलेले पुस्तौँदेखि मह सिकार गर्दै आएको उनको भनाइ छ । ‘अनुभवी सिकारीले रैथाने सीप र प्रविधिमार्फत मह सिकार गर्दै आएका छन् ‘ वडाध्यक्ष काउचाले भने, ‘पछिल्लो समय यसलाई उत्सवकै रुपमा लिन थालिएको छ ।’ महसिकारलाई साहसिक पर्यटनसँग जोड्नुपर्ने उनले बताए । ताराखोला, बडिगाड, गलकोटको रमुवालगायत बागलुङका अन्य ठाउँमा पनि मह सिकार हुँदै आएको छ । गलकोट नगरपालिका(४ निलुवामा पनि केही वर्षअघि ‘मह सिकार महोत्सव’ आयोजना गरिएको थियो । निलुवाको पाँच सय मिटर अग्लो भिरमा पनि रमुवाकै अनुभवी सिकारीले मह काढेका थिए। कास्कीको अन्नपूर्ण गाउँपालिका(७ लान्द्रुकस्थित कोटेसाङमा आउँदो जेठ ८ गतेदेखि १० गतेसम्म ‘मह सिकार महोत्सव’ आयोजना गरिएको छ । पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला तथा संस्कृतिको संरक्षण हेतु उक्त महोत्सव गर्न लागिएको वडाध्यक्ष भरतमान गुरुङले बताए ।

‘दक्षिण कोरियामा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर’

काठमाडौं । दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले त्यहाँ नेपालजस्ता विकासोन्मुख मुलुकका विद्यार्थी र कामदारका लागि राम्रो सम्भावना हुनसक्ने नेपाल भ्रमणमा रहेका कोरियाली प्राध्यापक र अधिकारीले बताएका छन् । शैक्षिक परामर्श संघ, नेपाल (केइक्यान) ले कोरियाको शिक्षा प्रणालीका विषयमा आज आयोजना गरेको कार्यक्रममा कोरियाको फारइस्ट विश्वविद्यालयका प्राडा लिउ की आइएलले आफ्नो विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय र उत्पादनमूलक शिक्षा दिइरहेको बताए । कोरियाको चुङ्चोइनबुक प्रदेशका शिक्षा सचिव प्रदेश प्रा ली योङ इउनले सो प्रदेशका १७ विश्वविद्यालयले व्यावहारिक र प्रयोगात्मक शिक्षा दिँदै आएको जानकारी दिए । सो प्रदेशमा उद्योग कलकारखानाको विकासका कारण अध्ययनपश्चात् रोजागारीको सम्भावना पनि बढी भएको उनले बताए । केइक्यानका अध्यक्ष गणेश शर्माले कोरियाका विश्वविद्यालका प्रतिनिधि नै नेपाल आएर कोरियाको शिक्षाको विषयमा जानकारी दिइनुले नेपाली परामर्शदातृ संस्था र विद्यार्थीसँग कोरियाका विश्वविद्यालयसँग सहकार्य गर्ने अवसर बढेको बताए । नेपालबाट प्रत्येक वर्ष करिब तीन हजार विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि कोरिया जाने गरेका छन् ।

मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजस्व संकलन

भद्रपुर । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार अधिकृत रामप्रसाद ढुंगानाले चालु आव २०८०/०८१ को चैत मसान्तसम्ममा ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार रुपैयाँ बराबरको समान आयात हुँदा १८ अर्ब ५९ करोड एक लाख ७२ हजार बराबरको मालसमान निर्यात भएको जानकारी दिए । उनले अघिल्लो आव २०७९/०८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले क्रणात्मक हुँदा निर्यात भने १५ दशमलव ९६ प्रतिशतले बढेको बताए । काकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरूमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरु, जिप्सम, कपडा, फलफूल (जुस समेत) लगायत छन् । यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा विरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिकर लगायतका रहेका भन्सार कार्यालय काकरभिट्टाले जनाएको छ ।

हाम्रो सामान, हाम्रै स्वाभिमान

काठमाडौं । संसारका सबै देशले सकेसम्म स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै आएका हुन्छन् । यसको अर्थ ‘आफ्नो खुट्टामा आफैं उभिने’ भन्ने नै हो । स्वदेशी उत्पादन प्रयोग र प्रवर्द्धन गर्न सके सरकारदेखि सर्वसाधारण सबैलाई फाइदा पुग्नेमा दुई मत हुन्न । जति धेरै स्वदेशी उत्पादन प्रयोग गर्न सक्यो, आयातका लागि बाहिरिने ठूलो परिमाणको विदेशी मुद्रा पनि यहीँ सञ्चित हुने गर्छ । युरोप, अमेरिका, अस्ट्रेलियामात्र नभई संसारभरिका देशले सकेसम्म स्वदेशी उत्पादनतर्फ बढी ध्यान दिनुको मुख्य ध्येय नै यही हो । ठूला र विकसित देशले त स्वदेशी उत्पादन आफूले उपभोग गरेर ठूलो परिमाणमा निर्यात गरी मनग्ये आम्दानी समेत गरिरहेका छन् । अब चर्चा गरौं नेपालले स्वदेशी उत्पादन वृद्धि, विस्तार र प्रवर्द्धनमा हाल के कस्ता गतिविधि र काम गरिरहेको छ भन्ने सन्दर्भ । नेपालले पनि ठूला र विकसित देशलाई पछ्याउँदै स्वदेशी उत्पादनमा पछिल्लो पटक देखिने गरी काम गरिरहेको छ । ‘हाम्रो सामान हाम्रै स्वभिमान !’ यो नारा पछिल्लो पटक ‘क्वाइन’ गरिएको हो । यो नारा देख्ने बित्तिकै आमनेपालीको मनमा आउने एउटै कुरा भनेको स्वदेशी उत्पादन हो । स्वदेशी उत्पादन प्रोत्साहन गर्न सके नेपालको अर्थतन्त्रमा समेत सहयोग पुग्ने आवाज उठिरहेको छ। ‘मेक इन नेपालः स्वदेशी अभियान’ ले स्वदेशी उत्पादनलाई विश्वसामु चिनाउन पहल कदमी गरिरहेको छ। सन् २०२१ अन्त्यतिरबाट सुरु भएको मेक इन नेपाल स्वदेशी अभियानले एउटा पहिचान मात्रै बनाएको छैन, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ठोस काम गर्न नेपाल सरकार, निजी क्षेत्र एवं सरोकारवालालाई झक्झकाइरहेको छ । अभियानमा हालसम्म १ सय ३५ स्वदेशी उद्योगहरू आबद्ध भइसकेका छन् । यो अभियानका सदस्य कम्पनीहरूले आफ्ना वस्तुमा निश्चित मापदण्ड र प्रक्रिया सहितको स्वदेशी लोगो ‘गैंडा’ अंकित लोगो प्रयोग गरिरहेको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल बताउँछन् । उनका अनुसार स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, उत्पादन प्रवर्द्धन गर्ने लगायत काममा परिसंघले सहयोग गर्दै आइरहेको छ । त्यस्तै, यसका लागि स्वदेशी एवम् विदेशी विभिन्न प्लेटफर्म समेत प्रयोग गरिरहेको उनले बताए । परिसंघले उत्पादनमूलक तथा सेवामूलक उद्योगहरूको छाता संगठन हो । मेक इन नेपाल स्वदेशी अभियान परिसंघले अघि सारेको एक प्रमुख अभियान हो । परिसंघले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनका लागि विभिन्न रणनीति लिएको छ । अध्यक्ष अग्रवालका अनुसार संयुक्त राष्ट्र संघ पुँजी विकास कोषसँग सहमति गरी ‘अगोरा’ प्लेटफर्ममा अभियान आबद्ध भइसकेको छ । अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरूसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो । यस प्लेटफर्म मार्फत स्वदेशी सदस्यहरूका वस्तुलाई अन्तर्राष्ट्रिय नेटवर्कमा पुर्याउन सहयोग पुग्ने आशा लिइएको छ। साथै, प्लेटफर्ममा कसरी जोडिने भन्ने विषयमा स्वदेशी सदस्यहरूलाई जानकारी गराइसकेको उनी बताउँछन् । ‘स्वदेशी वस्तुहरूको अधिकतम प्रयोग, प्रयोगका लागि प्रोत्साहन गर्ने नीतिले नै अर्थतन्त्रलाई बलियो बनाउँछ,’ अग्रवाल भन्छन्, ‘आत्मनिर्भर अर्थतन्त्र र उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्वदेशी उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्दै हाम्रो उपभोगको शैली पनि स्वदेशी बनाउन जरुरी छ, सरकारी एवम् सार्वजनिक संस्थानसहित आमउपभोक्तालाई पनि स्वदेशी वस्तु तथा सेवा उपभोगका लागि अभिप्रेरित गर्न आवश्यक छ ।’ कुनै समय कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिब १४ प्रतिशत पुगेको उद्योग क्षेत्रको योगदान हाल घटेर ५ प्रतिशत तल आइपुगेको छ ।स्वदेशी उत्पादनलाई जोड दिन सके मात्रै जीडीपीमामा उद्योग क्षेत्रको योगदान बढ्न सक्ने उनले बताए । अभियानले नेपालमा उत्पादन र नेपाली वस्तुको उपभोग बढाउने र नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाएर विश्वबजारमा पुर्याउने यरी दुई मुख्य उद्देश्य लिएको छ । सोही उद्देश्यअन्तर्गत वार्षिक १ हजार नयाँ उद्योग दर्ता, दिगो विकास लक्ष्यअनुसार जीडीपीमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्म २५ प्रतिशत पुर्याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षभित्र वार्षिक निर्यात ४ अर्ब ६० करोड अमेरिकी डलर पुर्याउने लक्ष्य अभियानको छ । चालू आर्थिक वर्ष २०८०८१ को बजेट भाषणमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएको छ, तर हालसम्म उक्त व्यवस्था लागु हुन सकेको छैन । आगामी वर्ष उक्त व्यवस्थालाई अनिवार्य गरिनुपर्ने माग अभियानले राखेको छ । नेपाल सरकारले स्वदेशी वस्तु पहिचानका लागि एक वेब पोर्टल निर्माण गर्नुपर्ने परिसंघ अध्यक्ष अग्रवालले बताए । ‘नेपाल उद्योग परिसंघले सञ्चालनमा ल्याएको स्वदेशी अभियानका सदस्यका उत्पादन तथा निश्चित मापदण्ड पूरा गर्ने, नेपालमै उत्पादन हुने अन्य उत्पादनहरू समेत त्यस पोर्टलमा समावेस गर्ने व्यवस्था कायम गरिनुपर्दछ,’ उनी भन्छन्, ‘पोर्टलमै वस्तुको मुल्य, उपलब्ध परिमाण तथा त्यसकाे गुणस्तरसमेत उल्लेख हुने व्यवस्था कायम गरी उक्त पोर्टलमा उपलब्ध रहेका स्वदेशी वस्तुहरू नै खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था कायम गर्न आवश्यक छ ।’ कैही वर्षअघिको परिवेशलाई हेर्ने हो भने सामान्यतया स्वदेशी उत्पादन भन्ने बित्तिकै नेपालीहरूले नाक खुमच्याउने गरेका थिए । तर, अहिले भने सोच परिवर्तन भएको ‘देशी ग्रव’ का सञ्चालक चिराग मोदी बताउछन् । उनले कोराना समयभन्दापछि आफ्नो व्यवसायलाई अघि सारेका हुन् । मेक इन नेपाल स्वदेशी अभियानमा भने करिब ६ महिनाअघि मात्रै आबद्ध भएको उनी बताउछन् ।  उनले आयुर्वेदिक सामग्रीहरू उत्पादन गर्दै आएका छन् । हाल नेपालमा मात्रै नभएर अन्य देशहरूमा समेत उनले आफ्नो उत्पादन निर्यात गरिरहेका छन् । अभियानमा जोडिएकाले आफ्नो व्यवसाय सञ्चालन गर्दैगर्दा नीतिगत कुराहरूमा विशेष सहयोग भएको उनी बताउछन् । ‘नयाँ उद्योग सञ्चालन गर्दा सरकारको स्पष्ट नीति नभएकाले समस्यामा हुने गर्थ्याे,’ ‘तर, अभियानमा आबद्ध भएपछि हामीले एउटा अभिभावक पाएजस्तै भएको छ ।’ आफ्नो व्यवसाय अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि पनि अभियानले थप सहयोग गरेको उनको अनुभव छ । उनी भन्छन्, ‘हामीले आफ्नो तर्फबाट पनि सकेकाे गरिरहेका छाैं, अभियानमा आबद्ध भएपछि अझै धेरै सहयोग पुगेकाे छ ।’ त्यस्तै स्वदेशी उत्पादन माकुशेकी सञ्चालिका रुवि शाह अभियानमा जोडिएदेखि गुनासो सुन्ने कुनै निकाय छ भन्ने आभास भएको बताउँछिन् । ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ, स्वदेशी उत्पादनले नै हामीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ भनेर व्यवसाय सुरु गरेका हामीलाई केही समस्या परे कसलाई गुहार्ने भन्ने ठूलो चुनौती थियाे,’ उनी भन्छिन्, ‘याे अभियानमा जोडिएसँगै अब समस्या परे गुनासो राख्ने ठाउँ त पाइएकाे छ भन्ने भएकाे छ, केही नीतिगत निर्णय लिनुपर्ने भयाे भने पनि सल्लाह सुझाव लिन सजिलो भएको छ ।’ अभियानमा जोडिएकाले आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन र ब्राण्डिङका लागि पनि सहयोग पुगेको उनी बताउँछिन् । त्यस्तै स्वदेशी उत्पादन ‘आमो बाइ’ कि सञ्चालिका आयुसा श्रेष्ठको अनुभव पनि उस्तै छ। ‘हामीले उत्पादन गरेको सामान अन्तर्राष्ट्रियस्तरमा चिनाउन के के गर्नुपर्छ भन्ने विषयलाई अभियानले विशेष जोड दिएको छ, जसले गर्दा हामी आबद्ध कम्पनीहरूलाई पनि त्यसबाट फाइदा त हुने नै भयो,’ उनले सुनाइन् । सामान्यतया नेपालमा ५ हजारभन्दा बढी वस्तुहरू आयात हुने गरेको पाइन्छ ।  तर, नेपालमा हाल करिब १ हजार १ सय ५० वटा वस्तु तथा सेवाहरूमा मात्र  गुणस्तर निर्धारण गरिएको छ । यसले स्वदेशमा उत्पादन हुने वस्तुहरूको बजारलाई समेत नकारात्मक असर गरिरहेको अध्यक्ष अग्रवाल बताउँछन् । मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध हुन भने वार्षिक केही रकम बुझाउनुपर्ने हुन्छ । संघका अनुसार कारोबारका आधारमा शुल्क निर्धारण गरिएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरूको कारोबार ५ करोड रुपैयाँसम्म भए उनीहरूले वार्षिक २० हजार रुपैयाँ सदस्य शुल्क बुझाउनुपर्छ । त्यस्तै ५ देखि २० करोडको ५० हजार, २० देखि ५० करोडको १ लाख र ५० करोडभन्दा माथिको २ लाख रुपैयाँ शुल्क बुझाउनुपर्छ । हरेक क्षेत्रको कारोबारको आधारमा फरक-फरक शुल्क निर्धारण गरिएको अभियानले बताएको छ ।