मेराे र परिवारकाे छवि धुमिल्याउन खाेजियाे : कुलमान घिसिङ

<p>काठमाडौं । नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत केही दिनदेखि केही सञ्चार माध्यमबाट आफूप्रति लक्षित गरी सुनियोजित रूपमा निरन्तर समाचार सम्प्रेषण र सोही समाचारका आधारमा सामाजिक सञ्जाललगायतमा भइरहेका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार घिसिङले प्रेस विज्ञप्ति प्रकाशन गर्दै पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहितको उल्लङ्घन गर्दै आफ्नो र परिवारका सदस्यहरू (मुख्य [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत केही दिनदेखि केही सञ्चार माध्यमबाट आफूप्रति लक्षित गरी सुनियोजित रूपमा निरन्तर समाचार सम्प्रेषण र सोही समाचारका आधारमा सामाजिक सञ्जाललगायतमा भइरहेका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बुधबार घिसिङले प्रेस विज्ञप्ति प्रकाशन गर्दै पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहितको उल्लङ्घन गर्दै आफ्नो र परिवारका सदस्यहरू (मुख्य रूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले सुनियोजित रूपमा दूषित मनसायका साथ कपोकल्पित ढङ्गले भ्रमपूर्ण समाचारहरू सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निहीत स्वार्थका साथ यस्ता समाचारहरू सम्प्रेषण भइरहेको बताएका छन् । यस्तै उनले यस्ता समाचारको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् ।

‘अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ? मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु, यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायले छानबिन गर्ने नै छन् ।’

नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरुको खण्डन गर्ने उनले बताएका छन् ।

उनले नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रूपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरूसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य कुनै आफ्ना व्यक्तिगत नाजायज स्वार्थ नरहेको पनि बताए ।

स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहेकाे उनकाे भनाइ छ । ‘मेरा विरुद्धमा आफैं न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ’, उनले भने ‘नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाही पारदर्शी रूपमा भइरहेका छन् । र, अझै पारदर्शी रूपमा अगाडि बढाइने छ ।’

उनले ऊर्जा क्षेत्रका योजनाहरू कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रूपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने विज्ञप्तिमार्फत प्रतिबद्धता जनाएका छन् ।

Share News