पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने उनको भनाइ छ । मन्त्रीको सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय भएको जनाइएको छ ।
भारतीय दूतसरह अभिव्यक्ति दिएपछि डा. नेपालको जिम्मेवारी खोसियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालको जिम्मेवारी खोसिएको छ । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध अभिव्यक्ति दिएपछि राष्ट्रपति कार्यालयले उनको जिम्मेवारी खोसेको हो । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले डा. नेपालले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएकी छन् । नेपालले नोटमा नयाँ नक्सा राख्ने विषयमा गलत अभिव्यक्ति दिएका थिए । उनले सरकारको निर्णयविरूद्द तत्काल नयाँ नक्सा राख्न नहुने अभिव्यक्ति दिएका थिए । उनले भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको धारणा सार्वजनिक गरेका थिए । उनको सो अभिव्यक्तिपछि उनी विवादमा तानिएका छन् । राष्ट्रपतिको आर्थिक सल्लाहकारजस्तो व्यक्तिले सरकारको निर्णयविरूद्द बोलेपछि उनलाई राजीनामा दिन दबाब थियो । ठूलो दबाबका बीच उनले राजीनामा दिएका हुन् । उनले पदबाट राजीनामा दिए पनि उनको अभिव्यक्ति भित्रको रहस्यका विषयमा भने धेरैले चासो राखेका छन् । सरकारले नै गरेको निर्णयविरूद्द राष्ट्रपति कार्यालयका सल्लाहकार बोलेपछि उनलाई धेरैले सांकेतिक ढंगबाट ‘भारतीय दूत’का रूपमा चित्रण गर्न थालेका छन् । एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपालको अभिव्यक्तिको विरोध गरेका थिए । उनले यो गम्भीर विषय रहेको बताउँदै यसबारे संसदमा पनि बहस हुने धारणा राखेका छन् । गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो । तर, यसको अहिले भारतले विरोध गरिरहेको छ । २०७७ साल जेठ ७ गते नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्सा जारी भएसँगै नेपालभरि चुच्चे नक्सा प्रयोग भइरहेको छ । नेपाल राष्ट्र बैंकले पनि नोटको साइज वा कुनै छाप परिवर्तन गर्दा सरकारको अनुमति लिनु पर्ने व्यवस्था छ । तर, नेपाल राष्ट्र बैंककै गभर्नर बनिसकेका डा. नेपाल सरकारको निर्णयविरूद्द अभिव्यक्ति दिएपछि चौतर्फी उनको आलोचना भइहरेको छ । चर्को आलोचना र दबाब आएपछि उनी पदबाट हट्न बाध्य भएका हुन् ।
गिरीबन्धु जग्गा प्रकरणबारे बालेनले भने- ओलीलाई कारबाही गर्नुपर्छ
काठमाडौं । झापास्थित गिरीबन्धु टि-इस्टेटको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी शर्मा ओली सरकारलाई कारबाही गर्नुपर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बताएका छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बालेनले गिरीबन्धु टि–इस्टेट अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको भन्दै वर्तमान सरकारले तत्कालीन सरकारलाई कारबाहीको भागीदार बनाउनुपर्ने बताएका हुन् । अहिलेको अवस्थामा त्यहाँको जग्गाको मूल्य १० अर्ब रुपैयाँभन्दा धेरैको रहेको उनको भनाइ छ । ‘जस–जसले बैना गर्नुभएको छ, यो जग्गाको लागि अब कानुनी प्रक्रियाबाट बैना फिर्तामा जानुहोला तपाईंहरूको जग्गा प्राप्तिको बाटो सकिएको छ’ उनले समाजिक सञ्जालमा लेखेका छन् । महानगरका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालको इमान्दारीताले सरकारी सम्पत्ति जोगिएको पनि उनले उल्लेख गरेका छन् । सर्वोच्चको संवैधानिक इजलासले २०८० साल माघ २४ गते तत्कालीन ओली नेतृत्वको सरकारले गरेको जग्गा साटफेर गर्न पाउने निर्णय बदर गरिदिएको थियो । सर्वोच्चले गिरीबन्धु टि-इस्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न आदेश दिएको छ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आईतबारका लागि भने एक लाख ३८ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएकामा आईतबारका लागि भने एक लाख ३७ हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ ।
४९ देशका विद्यार्थीलाई नेपाली भाषा सिकाउने पण्डित
काठमाडौं । बझाङमा जन्मे । उतै लेखपढ गरे । कक्षा १० मा हुने टेस्ट परीक्षामा फेल हुँदा पढाइ छोडेर भारत लागे । पढ्ने इच्छा भएकालाई कहाँ बाध्यताले रोक्दो रहेछ र उनी भारतमा काम गर्दै पढे । तीन वर्षपछि काठमाडौं हेर्न आएका उनी अहिलेसम्म काठमाडौंमै छन् । उनी अर्थात् प्राध्यापक धनप्रसाद पण्डित । उनी ४० वर्षदेखि नेपाली शिक्षा क्षेत्रमा काम गरिरहेका छन् । पेशा शिक्षण तर उनको यात्रा भाषा सिकाउने शिक्षकबाट सुरु भयो । जेलभित्र विदेशीलाई नेपाली भाषा सिकाउन सुरु गरेका उनले अहिलेसम्म ४९ देशका नागरिकलाई नेपाली भाषा सिकाएका छन् । उनी अहिले पनि काठमाडौं विश्व विद्यालयमा विदेशीलाई नेपाली भाषा सिकाउनमा व्यस्त छन् । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा ३४ वर्षदेखि अध्ययपन गराउँदै आएका उनले ८ वर्षसम्म काठमाडौंका दुइटा क्याम्पसको प्रमुखको रूपमा काम गरिसकेका छन् । विभिन्न आरोह अवरोहको सामना गर्दै बझाङदेखि भारत हुँदै काठमाडौंमा पुगेर शिक्षण पेशामा जमेका छन् । उनको घर बझाङ हो । उनी कक्षा १० सम्म बझाङमै पढे । तर, कक्षा १० मा हुने टेस्ट परीक्षामा फेल भएपछि उनी पढाइ छोडेर भारत लागे । उनी भारतको अहमदावाद गए । त्यहाँ उनले पण्डितको कामको काम सुरु गरे । कहिले मन्दिरमा लाग्ने पुजा, कहिले घरमा हुने विवाह बर्तबन्ध, त कहिले महायज्ञमा उनको काम हुन्थ्यो । यसरी काम गर्दा उनी महिनामा तीन सय रुपैयाँ कमाउँथे । एकातिर पढाइ खर्च अर्कोतिर, बस्न खान उनले त्यही पैसा पु¥याउनु पथ्र्यो । धनप्रसादले भारतको अहमदाबादमा तीन वर्ष काम गर्दै पढे । त्यसपछि उनलाई काठमाडौं आउन मन लाग्यो । उनलाई भारतको मुम्बई, अहमदावादभन्दा काठमाडौं राम्रो होला लाग्थ्यो । किनकि बझाङबाट जति सहज भारत जान थियो उती काठमाडौँ आउन थिएन । उनी भारतबाट एक्लै काठमाडौं आए । भारत हुँदै काठमाडौं उनी बनारसबाट बिरगञ्ज हुँदै सिबभज्याङको बाटो भएर काठमाडौं आए । त्यो बेला काठमाडौं आइपुग्न एक साता बढी बढी लाग्यो । उनीसँग अर्को साथी कोही थिएन । काठमाडौँमा आफन्त त थिए तर को कहाँ बस्छन् भन्ने थाहा थिएन । शरिरमा कुर्ता सुरुवाल हातमा टीनको बाकस, मनमा अनेक डर बोक्दै उनी काठमाडांै आए । काठमाडौं पुगुञ्जेल शरीरका लुगा सबै फोहोर भइसकेका थिए । उनी काठमाडौंको नारायणहिटी राजदरबार नजिक झरे । वरिपरी पर्खाल त्यसैमाथि काँडेतार बेरेको र आर्मी बसेको देख्दा उनलाई चिडियाखाना यही हो जस्तो लाग्यो । उनले कौतुहलताका साथ आर्मीलाई यो चिडियाखाना हो ? भन्दै सोधे । उनी त्यो क्षण स्मरण गर्दै भन्छन्, ‘आर्मीले त ठूला आँखा तरेर मलाई हे¥यो, मलाई घेरबार देख्दा यहाँ बाघ होला जस्तो लागेको थियो, पाँच दिनपछि थाहा पाएँ, त्यो त राजा बस्ने दरवार पो रहेछ ।’ पहिलो पटक काठमाडौं आउँदाका यस्ता अनेक किस्सा उनीसँग छन् । काठमाडौं आइपुगेपछि उनलाई कहाँ बस्ने पत्तो थिएन । अध्यारो हुँदै गयो उनी बासको खोजीमा लागे । साथमा पैसा पनि थियो । उनले खिचापोखरी नजिक एउटा होटेल भेटाए । त्यो रात त्यहीँ बसे । उनलाई मामाको छोरा काठमाडौँ छन्, ल क्याम्पसमा पढदैछन् भन्ने थाहा थियो । उनी भोलिपल्ट क्याम्पस खोज्दै गए । ठ्याक्कै क्याम्पसको गेटमै मामाको छोरालाई देखे । तर, उनले नदेखे जस्तै ग¥यो । ‘उ क्याम्पसमा चिटिक्क परेर गएको थियो,म एक एक सातादेखिको फोहोर कुर्ता सुरुवालमा थिएँ, मलाई फोहोरी देखेर होला उ बोलेन,’ उनी भन्छन्, ‘म पनि गेटमै बसेँ बाहिर निस्केको बेला दाई भन्दै बोलाई हाले,ँ दाईले साथीले नदेख्ने गरी मलाई ट्याक्सीमा राखेर आफ्नो कोठा लग्यो ।’ उनका फुपूका छोरा पनि काठमाडौं मै बस्थे । उनको भेट मामाको छोरासँग भएपछि उनी दाईसँग बस्न थाले । ५/६ महिना दाईसँग बसेपछि उनी प्रर्दशनीमार्गमा रहेको संस्कृत विद्यालयमा भर्ना भए । त्यहाँ छात्रावासको पनि व्यस्था थियो । त्यसपछि उनी छात्रावासमै बसे । जेलमा बसेर विदेशीलाई सिकाउँदा काँग्रेसले २०४२ सालमा बहुदलिय व्यवस्थाका लागि सत्याग्रह सुरु गरेको थियो । उनी त्यो बेला विद्यार्थी थिए । काँग्रेसले सुरु गरेको सत्याग्रहमा अवरुद्ध हुँदै सडकमा बसे । ‘सत्याग्रह सबैका लागि, सबै सत्यग्रहका लागि’ भन्दै सडकमा सुतेपछि प्रहरीले पक्राउ गरेर लग्यो । सरकारको नियमको उल्लंघन गरेको भन्दै उनलाई ९ महिना जेलमा राख्यो । उनी बसेको जेलमा विदेशीहरूपनि थिए । विभिन्न मुद्दामा पक्राउ परेका विदेशीलाई उनले नेपाली भाषा सिकाउन लागे । संस्कृत लिएर पढेका उनले राजनीतिशास्त्र लिएर एमए पास गरे । तर, जेल राखिसकेको मान्छेलाई आयोगमा नाम निकाले पनि अन्र्राष्ट्रिय तत्व भन्ने ट्याग लागेको हुन्थ्यो । जागिर पाउन समस्या थियो । तर, बाँच्नलाई काम गर्नेपथ्र्यो । त्यसपछि उनले भाषा शिक्षकको रूपमा काम गरे । धनप्रसादले सन् १९८६ देखि अमेरिकी पिस्करलाई पूर्णकालीन रुपमा भाषा सिकाउन सुरु गरेका थिए । त्रिविमा प्रवेश गर्नुभन्दा पहिले उनी विदेशीलाई नेपाली भाषा सिकाउने काम गर्थे । स्वदेश विदेशमा लिएको तालिमको अवसरले विदेशीलाई भाषा सिकाउने ४० वर्ष अनुभव अहिले पनि जारी राखेको उनले बताए । ‘मेरो शिक्षण पेशाको सुरुवात विदेशीलाई नेपाली भाषा सिकाउनेबाट सुरु भएको थियो,’ उनी भन्छन्, ‘म अहिलेपनि भाषा सिकाइरहेको छु, ज्ञान दिने र लिने काम कहिल्यै सकिँदैन ।’ उनले अमेरिकन पिस्कोर, ब्रिटीस भोलेन्टर, डेनिस भोलेन्टर,स्विस भोलेन्टर, लगायत विभिन्न एमबीसीमा काम गर्नेहरूलाई भाषा सिकाए । कोरियन भोलेन्टरलाई पढाउन तीन महिना कोरिया पनि गए । उनी विदेशीलाई भाषा सिकाउँदा भाषामात्र नभई नेपालको संस्कृति, परम्परा, नेपालको रहनसहन पनि सिकाउने गरेको बताउँछन् । राजनीतिले गिजोलेको शिक्षा क्षेत्र त्रिभुवन विश्वविद्यालयमा ३४ वर्ष पढाएर सेवा निवृत्त भएका धनप्रसाद नेपालको शैक्षिक अवस्था जरजर रहेको बताउँछन् । यसको पछाडिको कारण राजनीतिक रहेको उनको दाबी छ । नेपालका राजनीतिक दलले विश्वविद्यालयबाट निःशुल्क रुपमा कार्यकर्ता प्राप्त गर्छन् । विश्वविद्यालयमा भर्ना हुने तर, पढाइतिर ध्यान नदिने संस्थाको रुपमा विश्वविद्यालय चिनिएको छ । नेपालमा करिब १७ वटा विश्वविद्यालय छन् । तर, कुनैपनि विश्वविद्यालय राम्रोसँग विश्वविद्यालय जसरी नचलेको उनको भनाइ छ । विश्वविद्यालय भनेको ज्ञान आर्जन गर्ने, नया-नयाँ अनुसन्धान गर्ने, त्यसको प्रयोग गर्ने, देश र विश्वको हितको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने संस्था हो । यो चल्न पहिले स्वतन्त्र हुनुपर्छ । तर, यहाँ राजनीतिबाट जकडिएका छन् । विश्वविद्यालयको नियुक्तिदेखि नियन्त्रणसम्म सरकारले हस्तक्षेप गर्ने गरेको उनको अनुभव छ । यहाँ उपयुक्त बहस चर्चा, अनुसन्धान तथा अध्ययन हुनुपर्छ । ‘अहिले सेमेस्टर प्रणाली हुँदा पनि विद्यार्थी छैनन्,’ उनी भन्छन्,‘ प्राविधिक विषय बाहेक अन्य विषयमा विद्यार्थी, वर्षमा चार/पाँच लाख मान्छे मार्केटको रोजगारीका लागि तयार पार्छौं । तर, ३० हजारले पनि रोजगारी पाउँदैन ।’ नेपालबाट पढेर गएको विद्यार्थीहरू अमेरिका, अस्ट्रेलियामा गएर अब्बल दर्जामा गएर राम्रो गरेका छन् । तर, नेपालमा राम्रो वातावरण छैन । ‘स्कुलमा राम्रो शिक्षा भएपनि राम्रो शिक्षक छैनन्,’ उनी भन्छन्, ‘कतिपय ठाउँमा शिक्षक छन्, विद्यार्थी छैनन्, कतिपय ठाउँमा विद्यार्थी छैनन्, कतिपय ठाउँमा झोलामा छ । ’ कुनैपनि देशलाई अगाडि बढाउन शिक्षा पहिलो माध्यम हो । तर, नेपालमा राम्रो शिक्षा नै छैन । काठमाडौंमा पनि अहिले थुप्रै निजी कलेज मर्जरमा गएका छन् । विद्यार्थी नहुँदा त्रिविबाट मान्यता लिएका तीन सय कलेज अहिले छैनन् । उनी धेरैजसो कलेज होडबाजीमा स्थापना गर्दा यस्तो अवस्था आएको बताउँछन् । ८ वर्ष क्याम्पस प्रमुख धनप्रसाद ३४ वर्ष त्रिविमा रहेर शिक्षण पेशामा रहँदा ८ वर्ष क्याम्पस प्रमुखको रुपमा काम गरे । उनी सन् १९९९ मा विश्व भाषा क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भए । त्यो बेला माओवादी द्धन्द्ध चलेको थियो । माओबादी चन्दा उठाउन आउँथे । दिनहुँ चन्दा माग्ने र नदिए कारवाही गर्ने चेतावनी दिन्थे । अर्कोतिर कलेजमा रहेको विभिन्न संघसंगठनमा आवद्ध विद्यार्थीको थ्रेट हुन्थ्यो । उनी विश्वभाषा क्याम्पस प्रमुख हुँदा विदेशी विद्यार्थीको शुल्क बढाएर साढे २ करोडको भवन निर्माण गरे । महिनाको ६०/७० हजार रुपैयाँ भाडा दिने गरी एउटा भवन साझा पुस्तक भण्डारणलाई दिए । त्यो बेला अरूलाई दिँदा विद्यार्थीले पैसा उठाएर खान्थे । ४ वर्ष क्याम्पस प्रमुख भइसकेपछि फेरि दोस्रो कार्यकालका लागि उनलाई पत्र आयो । तर, उनले अस्वीकार गरे । ‘विभिन्न संघ संगठनको डर त्रास एकातिर, कसरी भौतिक संरचना बनाउने, शिक्षक कसरी खोज्ने, विद्यार्थीलाई कसरी राम्रो शिक्षा दिने भन्ने तनाव अर्कोतिर, यस्ता चुनौतीसँग जुध्न गाह्रो हुँदो रहेछ, उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘क्याम्पसमा बस्दा कतिखेर को आएर थर्काउने हो भन्ने थाहा हुँदैन, क्याम्पस सञ्चालनमा विद्यार्थी संगठनको ठूलो दुश्प्रभाव रहन्छ । ’ उनी यस्ता विद्यार्थीलाई राजनीतिक दलको ठूलो साथ हुने बताउँछन् । उनका अनुसार क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनको राज चल्छ । उनीहरूले जे गरेपनि करवाही हुँदैन । उनी जबसम्म विश्वविद्यालय, क्याम्पसमा विद्यार्थीले राजनीति गर्छन, तबसम्म गुणस्तरीय शिक्षा नहुने बताउँछन् । विश्वभाषा क्याम्पसपछि उनी पद्मकन्या क्याम्पसको प्रमुख भए । उनले व्यक्तिगत डोनर खोजेर भवन निर्माण गरे । उनी विश्वका २९ बढी देश गइसकेका छन् । कहिले भाषा सिकाउन त कहिले विद्यार्थीलाई लिएर विभिन्न देश पुगेका छन् । यति देश घुम्दा उतै बस्न मन लागेन भन्ने प्रश्नमा उनले भने, ‘मैले कहिल्यै त्यस्तो सोचिनँ ।’ उनी जति देश घुमे पनि नेपाल जस्तो सुन्दर देश कहीँ पनि नभएको बताउँछन् । उनले नेपाली भाषा सिकाएका धेरै विदेशी नेपालमै काम गरिरहेका छन् । कति आफ्नो देश फर्किसके । उनीहरू बेलाबेला धनप्रसादलाई आफ्नो देश आउन आग्रह गर्छन् । उनी आफ्नो जिल्लाको लागि केही नगरे पनि देशका लागि केही गरेको बताउँछन् । धनप्रसादको परिवार अहिले सुकेधारमा बस्छ । उनका चारजना छोराछोरी छन् । सबै नेपालमे बसेर काम गरिरहेका छन् । उनी भन्छन्, ‘जे गर्ने हो, स्वदेशमै गर्ने हो ।’
अपांगता भएका व्यक्तिको र्याली (तस्बिरहरू)
काठमाडौं । सरकारले सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनुपर्ने माग राख्दै अपांगता भएका व्यक्तिहरूले आईतबार काठमाडौंमा १५ मिनेट चक्काजाम गरी दवावपूर्ण र्याली निकालेका छन् । शान्ति वाटिकामा भेला भएका उनीहरूले भद्रकालीमा पुगी कार्यक्रम सञ्चालन गरेका छन् । तनहुँका दीपक भण्डारी शान्ति वाटिकामा आमरण अनसनरत छन् । उनले गत चैत ६ गतेदेखि अनिश्चितकालीन धर्ना सुरु गरेका थिए । चैत १४ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भण्डारीबीच माग सम्बोधनको सहमति भएको थियो । सहमतिअनुसार सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यही वैशाख १ देखि सुरु गर्ने भनिएको थियो । यसका लागि तीन सदस्यीय समिति गठन गरेर आवश्यक कार्यक्रम र मापदण्डको मस्यौदा प्रतिवेदन बनाइयो । तर प्रतिवेदन लागू नभएको भन्दै भण्डारीले यही वैशाख १८ देखि आमरण अनसन थालेका हुन् ।
आफ्नै कीर्तिमान तोड्दै कामीरिता २९औं पटक सगरमाथा चुचुरोमा
काठमाडौं । कामीरिता शेर्पाले २९औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन् । सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेको सेभन समिट प्रालिले जनाएको छ । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु-५ थामेका ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाएका हुन् । सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलो पटक गाइडकै रूपमा सगरमाथा आरोहण गरेका थिए । यसअघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन् ।
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङका बासिन्दा
बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् । आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्याउन पनि समस्या छ । उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् । दुर्गम गाउँ भए पनि रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । उक्त सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन । बजार क्षेत्रमा रासायनिक मल प्रयोग गरी उन्नत जातका आलुको उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलुखेतीमा प्राङ्गारिक मल प्रयोग गर्दै आएका छन् । पशुपालन र आलुखेती यहाँका स्थानीयको मुख्य पेसा हो । प्राङ्गारिक मलका कारण एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन् । रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ । यो गाउँमा करिब एक सय ३० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन् । त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन । गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन । त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ । पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका स्थानीयसमेत रहेका पूर्वअध्यक्ष तिलक घर्तीमगरले बताए। रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका ठाउँमा पुग्ने गर्छ । वर्षौँ पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन् । समुद्री सतहबाट दुई हजार दुई सय मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन । प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्राङ्गारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताइन् । हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उनले बताइन्। आलु फल्ने समयमा कुनै पनि रोगको प्रकोप नदेखिए हरेक वर्ष उत्पादन वृद्धि हुने राना बताइन् । आलुखेतीबाटै परिवारको लालनपाल, पढाइलेखाइदेखि जीविका चलाउने गरेको उनले सुनाइन् । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको बताए । यहाँका किसानलाई आलुखेतीतर्फ अझ प्रोत्साहन गर्न कृषिसम्बन्धी तालिम, आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनले बताए । अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उनले जानकारी दिए । हाल सडक कच्ची भए पनि किसानलाई बजारसम्म आलु पुर्याउन समस्या नभएको बताउँदै उनले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट गरे । किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनेतर्फ पालिका लागेको उनले बताए । आलुलाई ‘ब्राण्डिङ’ गर्ने पालिकाको योजना पनि उनले सुनाए । प्रवक्ता भण्डारीले भने, ‘रमुवा आलु उत्पादनका लागि उर्वर भूमि हो, पछिल्लो समय विषादी प्रयोग गरेको आलु बजारमा आइरहेको बेला यहाँका किसानले त्यस्तो मल प्रयोग नगरी उत्पादन गर्छन्, जैविक आलुको बजार पनि राम्रो छ, किसानले बजार पाएन भनेर गुनासो गर्नुभएको छैन, उहाँहरूले उत्पादन गरेको आलु बिक्री नभए नगरपालिकाले त्यसको जिम्मा लिन्छ र किसानलाई उचित मूल्यको व्यवस्था गर्छ, सिङ्गो गाउँ नै आलुखेतीमा लाग्दा उत्पादन हरेक वर्ष बढेको छ, नगरपालिकाले समय–समयमा किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।’ रासस