विकासन्युज

वात्सल्य नेचुरल आईभीएफको चितवनमा नयाँ क्लिनिक विस्तार

चितवन । वात्सल्य नेचुरल आईभीएफ, नेपालको प्रमुख निसन्तान उपचार सेवा प्रदायकले आईतबार एक कार्यक्रममाबीच चितवनमा आफ्नो नयाँ क्लिनिक सञ्चालन भएको घोषणा गरेको छ । क्लिनिकको शुभारम्भ यस क्लिनिकका कार्यकारी निर्देशक प्रशान्त सुवेदी र पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले संयुक्त रुपमा रिबन काट्दै गरेका थिए। गुणस्तरीय प्रजनन् उपचार नेपालभर सहज रुपमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता अनुरुप यस शाखाको विस्तार भएको र निकट भविष्यमै बुटवल, पोखरा, बिराटनगर जस्ता स्थानमा पनि यो सेवा विस्तार गर्ने योजना रहेको कार्यक्रममा बोल्दै वात्सल्यका कार्यकारी निर्देशक प्रशान्त सुवेदीले बताए । आफ्नो स्थापनाको छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्दै आएको र आम सेवाग्राहीको विश्वास जित्दै आएको यस क्लिनिकले, नेपालमै सर्वाधिक आईभीएफसफलता, निस्सन्तान उपचारबाट सर्वाधिक स्वस्थ शिशुको जन्म, सर्वाधिक निस्सन्तान विशेषज्ञको टोली, सर्वाधिक निस्सन्तान उपचार शाखा सञ्चालन जस्ता विभिन्न मानकमा आफूलाई अब्बल साबित गर्दै आफूलाई नेपालकै नं. १ आईभीएफ क्लिनिकको रुपमा स्थापित गर्न सफल भएको छ । चितवनमा भर्खरै उद्घाटन गरिएको वात्सल्यको नयाँ शाखाले हालक निस्शुल्क आईयूआई प्रदान गरिरहेको छ। यस बाहेक यस क्लिनिकमा प्रजनन् जाँच, प्रसुतिपूर्वका सम्पूर्ण हेरचाह, ओवूलेशन इन्डकसन, आईभीएफ, फर्टिलिटी फ्रिजिंग जस्ता विभिन्न अत्याधुनिक प्रजनन् उपचारका सेवाहरु प्राप्त गर्न सकिन्छ । वैशाख २९ शुक्रबारको दिन होटेल सिरायचुलीमा आयोजित समारोहमा ‘बाँझपनका प्रभावहरू र पार पाउने तरिकाहरू’ शिर्षकमा प्यानल छलफल पनि गरिएको थियो जसमा प्रतिष्ठित वक्ताहरू थिए जसले बाँझोपन र यसका सामाजिक प्रभाव, उपचार र कानुनी प्रभावहरूका महत्वपूर्ण पक्षहरूलाई सम्बोधन गरे । डा. बिनुमा श्रेष्ठले निसन्तानसँग सम्बन्धित भावनात्मक र चिकित्सा चुनौतिहरू, क्यान्सर रोगले निम्त्याउने विभिन्न प्रजनन् का चुनौती, तिनका मानोवैज्ञानिक असर, क्यान्सर रोगीहरूको लागि प्रजनन जस्ता विषयलाई प्रकाश पारिन् । यस्तै डा. शैलेन्द्र राज अधिकारीले निस्सन्तान सँग सम्बन्धित विभिन्न मनोवैज्ञानिक पक्षहरु जस्तै पुरुषहरुले आफ्नो कारणलाई स्वीकार गर्न नसक्ने, डाक्टरसँग खुलेर कुरा राख्न नसक्ने, पारिवारिक र सामाजिक चुनौती र असहज मानसिक अवस्था सिजर्ना हुने, आदि विषयलाई उजागर गर्नु साथै यसको निराकारणका लागि योगा, ध्यान, श्वास प्रश्वास सम्बन्धि व्यायाम आदिमा जोड दिए । सुनिता करमाचार्यले निसन्तानदम्पतीले समाजमा भोग्नुपर्ने चुनौती, यससम्बन्धि फैलिएका सामाजिक भ्रम, उपचारका चुनौती, आर्थिक सक्षमता जस्ता गहन विषयमा आफ्नो मत राखे । पूर्णिमा कार्कीले नेपालमा आईभीएफ र सरोगेसीलाई नियन्त्रित गर्ने कानुनी परिदृश्यको बारेमा अन्तर्दृष्टि प्रदान गरिन्, विद्यमान कानुन र सामाजिक मान्यताहरूबारे छलफल गरिन् । यसबाहेक वात्सल्यका प्रजनन् विशेषज्ञ डा. निजा राजभण्डारीले आईभीएफ उपचारका प्राविधिक पक्ष, उपचारमा देखिएको हालका विकासहरु, विभिन्न अवस्था जसले बाझोपन निम्त्याउन सक्छ, फ्रिजिंग टेक्नोलोजी जस्ता विभिन्न माह्त्वपूर्ण शिर्षकमा आफ्नो धारणा राखे ।

मनलाई बसमा राख्ने व्यक्ति सफल हुन्छ

शास्त्रमा जुन व्यक्तिले मनलाई बसमा राख्न सक्छ ऊ नै सफल हुन सक्छ भनिएको छ । मनलाई तह लगाउने उपाय भनेको साधना हो, योग हो, ध्यान हो, सत्सङ्ग हो र अध्ययन हो । जीवनलाई सही मार्गमा लगाउने बाटो नै जीवन विज्ञान हो । भनिएको छ कि हामीलाई आवश्यक पर्ने पाँच किसिमका धन हुन्छन् । वित्तीय धनले पैसा र सम्पत्तिको स्वामित्वको कुरा गर्दछ, सामजिक धनमा समाजले दिएको स्थान र लोकप्रियता पर्दछ । समयको धनले केही नयाँ काम गर्ने स्वतन्त्रतालाई इङ्गित गर्दछ । भौतिक धनले अरु केही नभएर स्वास्थ्य र तत्परतालाई इङ्गित गर्दछ र आध्यात्मिक धनले मनको शान्ति तथा स्वयम्को सम्मानलाई जोड दिन्छ । शरीर, मन र आत्मालाई बलियो राख्ने शुद्ध राख्ने र कर्मशील राख्ने कलाबाट नै खुसी र समृद्धि प्राप्त हुने गर्दछ । मूलतः विपश्यनाको १० दिने साधना र जीवन विज्ञानका कक्षाहरुमा सहभागी हुँदा योग गुरु रमेश नेपाल र एलपि भानुसँगको प्रवचन तथा जीवन विज्ञान प्रतिष्ठानद्वारा २०७५ सालमा प्रकाशित पुस्तक “समस्या अनेक समाधान एक नामक पुस्तकको अध्ययनबाट प्राप्त ज्ञानले यो आलेख लेख्न प्रेरित गरेको छ । आफूभित्र समाधान खोज्न सक्षम हुनका लागि पनि योग र ध्यानको सहयोग लिँदा शारिरीक, मानसिक, भावनात्मक तथा आत्मिक स्वास्थ्यका साथै आनन्द प्राप्त हुन जान्छ । व्यक्तिले आन्तरिक यात्रा गर्नका लागि प्रथमत अन्तरमुखी हुन जरुरी हुने र पूर्वीय सभ्यता विभिन्न प्रसङ्गहरुको सहयोगले आत्मिक रुपान्तरणको पथ देखाउने र साधनाको असल प्रभाव सम्बन्धमा पुष्टी गर्ने अभियान जीवन विज्ञानमा रहेको छ । अहंकारबाट ॐकारतिरको यात्रा हामी सबैमा कुनै न कुनै लेभलको इगो छ, अहंकार छ । व्यक्तिमा हुने शक्तिका दुई वर्ग छन् । पहिलो अहंकारको शक्ति र दोस्रो ॐकारको शक्ति । पहिलो वर्गको शक्ति अर्थात अहंकार समस्याको कारण हो भने दोस्रो शक्ति अर्थात ॐकार भने व्यक्तिको जीवनमा व्याप्त समस्याको समाधान हो । अहंकारबाट सिर्जित चार शक्तिका रुपमा ज्ञानी छु भन्ने अहंकार, शारिरीक बल छ भन्ने अहंकार, साधनाको अहंकार र दैवी शक्तिको अहंकारलाई व्याख्या गरिएको छ । यी सबै अहंकारका रुपले हामीलाई छद्मरुपमा शक्तिशाली अनुभूत गराए पनि, विविध विषयमा केही न केही प्राप्ति भएको जस्तो देखिए तापनि समग्र परिणाममा भने हाम्रो काम राम्रो हुँदैन । सुख जस्तो देखिए तापनि दुःखको निर्माणमा ती शक्तिले योगदान गरिरहेका हुन्छन् । परिणाम राम्रो हुनका लागि त अहंकारलाई निर्मूल वा विसर्जन गर्न सक्नुपर्दछ । इन्द्रियले दिने अनुभूतिभन्दा बाहिर जान सक्नुपर्दछ अर्थात इन्द्रियातित हुन सक्नुपर्दछ । त्यस्तो शक्तिलाई ॐकारको शक्ति नाम दिइएको छ । अर्थात हामीमा दोस्रो वर्गको शक्ति पनि आवश्यक पर्दछ अझ भनौँ पाँचाैँ शक्तिका रुपमा ॐकारलाई अवलम्वन गर्न सक्नुपर्दछ । ताकि बाँकी चारवटा शक्तिले पैदा गर्ने खरावीलाई न्यूनीकरण वा निर्मूल गर्न सकियोस् । ॐकारको जानकारी राख्ने र साधना गर्ने व्यक्ति मात्र वास्तवमा शक्तिशाली हुन सक्छ । ॐकारको हामिसँग भएर पनि शरीरभन्दा अलग रहेको मानिन्छ । सबै शक्तिको स्रोतचाँहि यही ॐकारको शक्ति मानिएको छ । यो अनुपम आनन्ददायक शक्तिलाई परमात्माको शक्ति पनि भनिन्छ र यो अविनाशी हुन्छ । अहंकाररुपी शक्तिलाई ॐकाररुपी शक्तिमा रुपान्तरण गर्नका लागि निरन्तरको साधना भने आवश्यक पर्दछ र जीवन विज्ञानको मार्गमा साधनाको व्यवस्थित अभ्यास सिकाइन्छ । प्रश्न उठ्न सक्छ कि अहमरुपी भारी कसरी बिसाउने रु अहम बढ्दै जाने एउटै कारण छ त्यो के हो भने हामी परिवारमा, सङ्गठनमा, समाजमा केही राम्रो काम भएको छ भने आफ्नै कारणले भएको हो भन्न मन पराउँछौँ । केही अपजस वा असमर्थता आइलाग्यो भने त्यो अरुको कारणले भएको भन्न रुचाउँछौँ । समय पायो कि अरुको कुरा काट्न हामीलाई मजा लाग्छ समय गएको पत्तो नै हुँदैन । संसारको एक कुनामा एउटा झिनो काममा हाम्रो जीविका चलिरहेको छ, होला केही सामाजिक काम तथा मानवसेवाको काम पनि गरेका होलाऔँ तर आफू नभई संसार नै रोकिन्छ, सामाजिक काम अगाडि बढ्दैन, मैले काम नगरी कसरी नतिजा आउला भन्ने खालको हामीले बोकिरहेको अहंकारको महान भारी बिसाउनै पर्दछ । कामको राम्रो परिणाम आउनुमा समाज वा परिवार राम्रोसँग चल्नुमा साथी, परिवार तथा समुदायका सदस्य वा कुनै समूहलाई जस दिन जानिन्छ र अझ राम्रो कामको लागि जब प्रेरक बन्न सकिन्छ अनि मात्र हामी अहंकारको च्यादर हटाउन थाल्दछौँ । यो कार्यका लागि पनि समग्र जगतमा हाम्रो राम्रो वा नराम्रो छुट्याउने शक्ति जगाउन जरुरी हुन्छ । तीन किसिमका फोहर संसारमा नयाँ नयाँ रोगले मानव सभ्यतालाई चुनौती दिइरहेको हुन्छ । कहिले त रोगले महामारीकै रुप लिने गरेको छ । यस्तो रोगको कारण विवेचना गर्दा मूलतः फोहोरको कारण रोगको जन्म भएको पाइन्छ । त्यसमा पनि मात्र तीन किसिमका फोहोर मध्ये कुनै एक वा दुई वा तीनको संयोगबाट हामीलाई लाग्ने रोग जटिल हुँदै गएको हुन्छ । ती तीन किसिमको फोहोर भनेको शरिरको फोहोर, मनको फोहोर र वातावरणको फोहोर हो । शरिरभित्र फोहोर कसरी प्रवेश गर्दछ । शरिरभित्र कहाँ कहाँ फोहोर जम्मा भएर बस्छ अनि के कस्ता फोहोरहरु हामीले शरिरबाहिर निष्काशन गर्नुपर्दछ भन्ने महत्वपूर्ण विषय हो । हामीले लिने श्वाससँग, खानेकुरासँग, पिउने कुरासँग शरिरभित्रको फोहोर सम्बन्धित छ । रोग लाग्ने र एकबाट अर्कोमा सर्ने प्रकृया कि शरीरको फोहर र कि वातावरणको फोहोरसँग सम्बन्धित हुन्छ । अहिले बढ्दै गएको र विश्वभर भयाभह असर देखाइरहेको मनको फोहोर हो । हाम्रो मनमा जागृत हुने काम, क्रोध, लोभ, मोह, इष्र्या र द्वेषका कारण हामी व्यक्तिगत र सामाजिक रुपमा असल कार्य गर्न सक्दैनौँ । मनको फोहोरको कारण शरीर पनि कमजोर बन्दै जान्छ । यी तीन प्रकारका फोहरको पहिचान गरी फोहोर हुनै नदिने र रहे भएको फोहोर सफा गर्नका लागि साधना आवश्यक छ, असल जीवनप्रणालीको अभ्यास आवश्यक छ । समृद्धिका लागि त्रिशक्ति र त्रिगुणको विकास हामी आफ्नो कर्म क्षेत्रमा आत्मा निष्ठाका साथ काम गर्नुपर्दछ । जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने काम कदापि गर्नुहुँदैन । जीवनलाई सबल, सक्षम र समुन्नत बनाउनका लागि शारीरिक, मानसिक र आत्मिक शक्तिको अभ्यास गर्नुपर्दछ । त्यस्तै दुर्गुणबाट सद्गुणतर्फको यात्रा तय गर्नुपर्दछ । यसको लागि एकैदिनमा एकैछिनमा सम्भव छैन निरन्तरको साधना आवश्यक छ । तेस्रो गुण अर्थात निर्गुण परमात्माको क्षेत्र हो । निर्गुण निराकार निरञ्जन मानिने भगवान हुन् । हामी आफूमा भगवत तत्व जगाउन सक्दछौँ । निर्गुण अवस्थामा उपलव्ध हुने अवसरका लागि ध्यान आवश्यक छ । राम्रो नराम्रो, ठीक वेठिक, मेरो तेरो भन्ने भावनाबाट निर्देशित वा विचलित नभई समान रहन सक्ने कला आवश्यक छ । परधर्मो भयावह भनिएको पनि छ । आफ्नो काममा ध्यान कम हुने तर अरुले गर्ने गरेको काममा बढी चासो राख्ने काम घातक हुन्छ । समय बर्बादी गर्ने, अल्छी हुने र अरुको चियोचर्चो गर्ने भन्दा पनि आफ्नो कामलाई माया गरेर समर्पित भावले लागिपर्ने व्यक्तिले मात्र समृद्धि प्राप्त गर्ने क्षमता राख्दछ । खुसी हुने सूत्र चयन हाम्रै हो फैसला आफ्नै हो सद्गुण प्रयोग गर्ने वा दुर्गुणहरु प्रयोग गर्ने । दुःख दिने खालका आफैभित्र रहेका खराबी वा अहमका विभिन्न पक्षहरु चिन्न र हटाउन सक्नुपर्दछ । ध्यानबाट प्रेम र शान्ति उत्पन्न हुने हुँदा नियमत ध्यान गर्नु श्रेयस्कर छ । शान्ति, स्थिरता र प्रेममा अहंकारको कामै छैन । तसर्थ, अहंकारप्रति सजग हुनु अति आवश्यक छ । चञ्चल मनलाई एकाग्र गर्न सकेमा मात्र खुशी प्राप्त हुन्छ । अरुसँग प्रेमपूर्ण सम्वन्ध राख्नुपर्दछ । खासगरी कर्मसँग, व्यक्तिसँग, विषयसँग र प्राकृतिक सम्पदासँगको सम्बन्ध प्रेमपूर्ण हुनु जरुरी छ । यसका लागि पनि साधना आवश्यक छ । वास्तवमा हाम्रै जीवनशैली र आनिबानीका कारणले हाम्रो जीवनको फल प्राप्त हुने हो । अर्को शब्दमा भन्नुपर्दा हामी जे खोज्यो त्यही पाउँछौँ सुख वा दुःख । विचारको कब्जियत हुनु पनि दुःखको कारण हो । साँगुरो विचार लिनु, आफ्नो र आफ्नाको मात्र चिन्तन गर्नु कदापि राम्रो होइन । के चाँही बुझ्न जरुरी छ भने हाम्रो सबभन्दा नजिक धन सम्पत्ति वा अरु कोही व्यक्ति नभएर हामी आफ्नै शरीर छ यसको हित हुने काम गर्दै अगाडि वढ्न जरुरी छ । यही शरीरमा हामीलाई निरन्तर सताउने हाम्रो मन छ । यो मनलाई ठेगानमा राख्नका लागि पनि हामी श्वासप्रश्वाससँग जोडिएको प्राणायाम साधना, विपश्यनालगायतका योग तथा ध्यान गर्न सक्छौँ । यसको लागि जीवन विज्ञान उपयुक्त स्थान वा प्लेटफर्म हुन सक्छ । अन्त्यमा जीवनलाई सार्थक बनाउने मार्ग सिकाउने विभिन्न सिकाइस्थल छन् । बुद्धले सिकाउनु भएको व्यक्तिभित्र जम्मा भएका क्लेश विसर्जन गर्ने विपश्यनाको स्वयम् अभ्यास कलादेखि ओशो रजनिशले सिकाउनुभएको साधनाको विधिसम्म । डा योगी विकासानन्द, डा राजु अधिकारीलगायत थुप्रै साधकहरुले पूर्वीय सभ्यताको प्राचीन भूमि नेपालमा मौलिक योगाभ्यासको चम्किलो उज्यालो छरिरहेका छन् । जीवन विज्ञान प्रतिष्ठानले केही दिनअघि मात्र लुम्बिनीमा वृहत चक्र विज्ञान साधनाको शिविर सञ्चालन गरेको छ । जीवन विज्ञान सबै उमेर समूहका लागि साधनाको कोर्ष निरन्तररुपमा सञ्चालन गरिरहेको छ । लामो अनुभव र प्रेरणादायी शैलीयुक्त नेपाली गुरुहरुबाट नेपाली आवश्यकता सुहाँउदो साधना कक्षामा सहभागी भएर, युटुवबाट वा पुस्तकबाट सिक्न र आफुलाई रुपान्तरण गर्ने मार्गमा समर्पित हुन हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षाका साथ हरि ॐ । रासस (लेखक नेपाल सरकारका सहसचिव हुन्)

व्यापार घट्दा सवा १९ खर्ब पुग्यो सञ्चिति, १५ महिनाको आयात धान्ने

काठमाडौं । विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार व्यापार। घट्दै जाँदा विनिमय सञ्चिति बढ्दै गएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्घि भई २ खर्ब २३ अर्ब ६५ करोड कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

चिरायु नेशनल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा प्रभु बैंक लिमिटेडका ग्राहकलाई छुट हुने भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिचचिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटका हस्पिटल डाइरेक्टर संजीव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा पेश गर्नुपर्ने छ । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट र मा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ । नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानितप्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

कालिन्चोक दर्शनको नाफा ६.९१ प्रतिशतले बढ्यो

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले ६.९१ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो । वित्तीय विवरणअनुसार कालिन्चोक दर्शनले पछिल्लो नौ महिनामा २ लाख ४७ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी बढेसँगै यसको नाफा बढेको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा अक्युपेन्सी दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ । एक वर्षको अवधिमा सञ्चालन आम्दानी ३०.४१ प्रतिशतले बढेर ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५८.२७ प्रतिशतले बढेर ३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ करोड ४३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ४ रुपैयाँ २० पैसा कायम छ । गत वर्ष प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा रहेको थियो । कालिन्चोकको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ०२ पैसा छ ।

राष्ट्र बैंकको तथ्यांकमा महँगी घटेको घट्यै, काठमाडौंमा सबैभन्दा सस्तो !

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांकले महँगी घट्दै गएको देखाएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालुआर्थि वर्षको ९ महिनाको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.३३ प्रतिशतले घटेको छ । २०८० चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५७ प्रतिशत, ७.६८ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत रहेको थियो ।

९ महिनामा साढे १० खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । ९ महिनाको अवधिमा साढे १० खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेर १० खबै ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।

सूर्यकुण्ड हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता-पत्रमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले नुवाकोट जिल्लाको घ्याङफेदी स्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरि ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ७० प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडकोे बहुमत सेयर लगानी रहेको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १० महिना भित्र आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । यस आयोजनाबाट उत्पादित विद्युत शक्ति ३३ के.भि डबल सर्किट ट्रान्समिसन लाईन मार्फत ८ किलोमिटर लामो समुन्द्रटार सवस्टेशनमा जडान गरिने कम्पनीले जनाएको छ । यस संस्थामा संलग्न समूहद्धारा प्रवद्र्धित कम्पनीहरुबाट हाल सम्म १०० मेगावाट भन्दा बढि विद्युत तथा सौर्य उर्जा उत्पादन गरी राष्ट्रको उर्जा उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको छ ।