विकासन्युज

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २९औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । कामीरिता शेर्पाले २९औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन् । सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गरेर विश्वकीर्तिमान बनाएका आरोही शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरो टेटेको सेभन समिट प्रालिले जनाएको छ । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु-५ थामेका ५४ वर्षीय कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोड्नै पुनः नयाँ कीर्तिमान बनाएका हुन् । सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका कामीरिताले १९९८ मा पहिलो पटक गाइडकै रूपमा सगरमाथा आरोहण गरेका थिए । यसअघि उनले ८ हजार मिटर अग्ला केटू, चोयु, ल्होत्से, मनास्लुको पनि सफल आरोहण गरिसकेका छन् ।

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङका बासिन्दा

बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् । आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्याउन पनि समस्या छ ।  उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् । दुर्गम गाउँ भए पनि रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । उक्त सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन । बजार क्षेत्रमा रासायनिक मल प्रयोग गरी उन्नत जातका आलुको उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलुखेतीमा प्राङ्गारिक मल प्रयोग गर्दै आएका छन् । पशुपालन र आलुखेती यहाँका स्थानीयको मुख्य पेसा हो । प्राङ्गारिक मलका कारण एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन् । रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ । यो गाउँमा करिब एक सय ३० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन् । त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन । गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन । त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ । पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका स्थानीयसमेत रहेका पूर्वअध्यक्ष तिलक घर्तीमगरले बताए। रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका ठाउँमा पुग्ने गर्छ । वर्षौँ पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन् । समुद्री सतहबाट दुई हजार दुई सय मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन । प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्राङ्गारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताइन् । हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उनले बताइन्। आलु फल्ने समयमा कुनै पनि रोगको प्रकोप नदेखिए हरेक वर्ष उत्पादन वृद्धि हुने राना बताइन् । आलुखेतीबाटै परिवारको लालनपाल, पढाइलेखाइदेखि जीविका चलाउने गरेको उनले सुनाइन् । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको बताए । यहाँका किसानलाई आलुखेतीतर्फ अझ प्रोत्साहन गर्न कृषिसम्बन्धी तालिम, आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनले बताए । अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उनले जानकारी दिए । हाल सडक कच्ची भए पनि किसानलाई  बजारसम्म आलु पुर्याउन समस्या नभएको बताउँदै उनले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट गरे । किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनेतर्फ पालिका लागेको उनले बताए । आलुलाई ‘ब्राण्डिङ’ गर्ने पालिकाको योजना पनि उनले सुनाए । प्रवक्ता भण्डारीले भने, ‘रमुवा आलु उत्पादनका लागि उर्वर भूमि हो, पछिल्लो समय विषादी प्रयोग गरेको आलु बजारमा आइरहेको बेला यहाँका किसानले त्यस्तो मल प्रयोग नगरी  उत्पादन गर्छन्, जैविक आलुको बजार पनि राम्रो छ, किसानले बजार पाएन भनेर गुनासो गर्नुभएको छैन, उहाँहरूले उत्पादन गरेको आलु बिक्री नभए नगरपालिकाले त्यसको जिम्मा लिन्छ र किसानलाई उचित मूल्यको व्यवस्था गर्छ, सिङ्गो गाउँ नै आलुखेतीमा लाग्दा उत्पादन हरेक वर्ष बढेको छ, नगरपालिकाले समय–समयमा किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।’ रासस

नेपाल मोबिलिटीको जुमजुम सञ्चालन, ईसेवाबाट सहजै भुक्तानी हुने

काठमाडौं । नेपाल मोबिलिटी सोलुन्सन्सले गर्वका साथ ‘जुमजुम’, नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ । नेपाल मोबिलिटी सोलुसन्स अन्तर्गत एक ब्रान्डको रूपमा, जुमजुम, आफ्ना ग्राहकहरूको सहज र सुविधायुक्त यात्राका लागि नयाँ विशेषताकासाथ् प्रस्तुत भएको छ । नेपाली कम्पनी, एफवान सफ्ट ग्रुपको विज्ञहरूद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक मिद्वारा विकसित एप, जुमजुमले, नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकता बमोजिम सुविधा प्रदान गर्ने अपेक्ष्या राखेको कम्पनीले जनाएको छ । । एफवान सफ्ट ग्रुपका सिइओ शर्माले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘एफवान सफ्टले सधैँ डिजिटल आविष्कारको नेतृत्व गर्दै आएको छ, नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको छ । जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा यस इकोसिस्टममा समावेश गर्नेछौँ ।’ प्रयोगकर्तामैत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट-रहित यात्राको अनुभव सुनिश्चित गर्दछ । जुमजुमले ड्राइभरहरूको लागि प्रमाणिकरण प्रक्रियाहरू र एप भित्र सुरक्षा उपायहरूको साथ यात्रुहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सुविधाहरू इसेवामार्फत सजिलो भुक्तनी : जुमजुममा इसेवा डिजिटल वालेट मार्फत सजिलै भुक्तानी गर्न सकिन्छ जसले यात्रुहरूलाई खुद्रा पैसाको लागि लिनु पर्ने झन्झटबाट मुक्त बनाउँछ । साथै चालकहरूले इसेवार्फत तत्काल भुक्तानीहरू प्राप्त गर्न सक्नेछन् । मलटिपल बुकिङ : जुमजुममा विभिन्न गन्तव्यहरूको यात्रा सुव्यवस्थित गर्दै व्यक्ति वा समूहले सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सक्नेछन् । गुगल म्याप : जुमजुमसँग आफ्नो सहि गन्तव्य सुनिश्चित गर्छ । गुगल म्यापमार्फत सही नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटहरूको साथ कुशल मार्ग योजना र प्रयोगकर्ता अनुभव सक्नेछन् । बुक फर ए फ्रेन्ड : जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्नेछन् । बीमा कभरेज : बीमा कभरेजले प्रयोगकर्ताहरूलाई अप्रत्याशित घटनाहरूबाट सुरक्षा सुनिश्चित गर्दछ । सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि ५ लाख रुपैयाँसम्मको बीमा प्रदान गर्दछ । साथै, जुमजुमले चालकहरूको लागि थप आर्थिक अवसरहरू समर्थ गर्दछ, डाइरेक्शनल हायर जस्ता सुविधाहरूमार्फत, चालकहरूलाई उनीहरूको इच्छित यात्रा दिशामा यात्राहरू स्वीकार गर्न अनुमति दिँदै, एउटै दिशामा जाने यात्रुहरूसँगको यात्रा सुनिश्चित गर्दछ । जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको प्रस्तावको साथ यात्रुहरूको लागि अविश्वसनीय बचतमा जोड दिएको छ । थप रूपमा, चालकहरूले एक हजार रुपैयाँ ज्वाइनिङ बोनससहित आकर्षक बोनसहरूबाट लाभ उठाउन सक्छन् । प्रारम्भिक दुई हप्ताको लागि शून्य प्रतिशत कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जती धेरै राइड त्यती कम कमिसनको योजना ल्याएको छ, साथै चालकहरू दैनिक बोनस २ हजार रुपैयाँसम्म काउमान सक्छन् । पिक मि श्रीलंकाका सिइओ जिफ्री जुल्फरले भने, ‘हामी एफवान सफ्ट इन्टरनेसनलसँग हाम्रो उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित छौँ । यो सहकार्यले हाम्रो साझा दृष्टिकोणलाई प्रकाशित गर्दछ जसमा गतिशीलता र जीवनमा सुधार ल्याउन प्रविधिको प्रयोग गरिन्छ । जुमजुमले नेपालमा यातायातमा नयाँ रूप फेर्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ अन्तमा, एफवानसफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले, जुमजुमले नेपालको यातायातको परिदृश्यमा क्रान्ति ल्याइरहेको मात्रै नभएर रोजगारीका अवसरहरू सिर्जना गरी हाम्रो अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले भने, ‘यात्रुहरू र चालकहरू बीचको पारस्परिक रूपमा लाभदायक सम्बन्धलाई बढावा दिने हाम्रो प्रतिबद्धताले जीवन र समुदायहरूको उत्थान गर्ने हाम्रो समर्पणलाई जोड दिन्छ । सँगै, हामी नेपालको आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्दै यातायात उद्योगको मापदण्डलाई पुनर्संरचना गर्दै अगाडि बढिरहेका छौँ ।’

राइटपाथको एजुकेसन कन्क्लेभमा विद्यार्थीको घुइँचो

काठमाडौं । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ को पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शनिबार संस्थाको पुतलीसडक स्थित प्रधान कार्यालयमा आयोजित पहिलो कार्यक्रम दुई हजार भन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको हो । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरू सहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो । बिहान १० बजे देखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दा सम्म उत्तिकै मात्रामा देखिएको थियो । कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्त्वपूर्ण ज्ञान हासिल गरेका छन् । अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ आयोजना गरेको हो । कार्यक्रममा सहभागी भएका प्रत्येक विद्यार्थीले राइटपाथ बाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यस्तै विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशत सम्मको अफर दिइएको छ भने फ्रि मुभी टिकेट समेत प्रदान गरिएको छ । यसका साथै सहभागी विद्यार्थीहरूले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आइएल्टिएस जम्मा २०८१ रुपैयाँमै गर्न पाउने सुविधा पनि सहभागीहरूले प्राप्त गरेका छन् राइटपाथकी ब्राण्ड एम्बेसडर समेत रहेकी पुर्व मिस नेपाल अस्मि श्रेष्ठ तथा चर्चित गायिका अन्जु पन्तको उपस्थितिले कन्क्लेभको रौनकता अझै बढेको थियो । यी दुई प्रसिद्ध व्यक्तित्वहरु संग फोटो खिच्न सहभागी विद्यार्थीहरु झुम्मिएका थिए । अध्ययनका लागि क्यानडा जाने सोचमा रहेका एक विद्यार्थीले कन्क्लेभमा सहभागी भएर आफूले धेरै फाइदा लिएको प्रतिक्रिया दिए । उनले भने, ‘मैले क्यानडा अध्ययनका लागि आइएल्टिएस दिएर बसेको छु। आफ्नो सोच क्यानडा नै जाने भए पनि बजारमा सुनिएका विभिन्न कुराहरूले दुबिधा उत्पन्न भएको थियो । आज युनिभर्सिटीकै सररम्यामले गाइड गर्नु भएपछि धेरै कुरा बुझियो। अब थप रिसर्च गरेर प्रोसेसिङ गर्नेछु।’ आफूलाई कन्क्लेभ एकदमै लाभदायक भएको उनको भनाई थियो । अमेरिकाका विभिन्न विश्वविद्यालयहरू बारे रिसर्च गरिरहेकी अर्की एक विद्यार्थीले आफ्नो अनुसन्धानलाई सहयोग पुर्याएको भन्दै राइटपाथलाई धन्यवाद दिइन् । कुन ठाउँ जाने ?, कस्ता शैक्षिक संस्था छान्ने रु डकुमेन्ट बनाउँदा देखि अन्य आवेदन प्रक्रिया सम्मका आफ्ना जिज्ञासाहरू मेटिएको उनले बताइन् । उनले यस्ता शैक्षिक मेलाहरूले विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने र भविष्यमा आउन सक्ने समस्याबाट बचाउने प्रतिक्रिया दिइन् । कन्क्लेभमा भेटिएका अन्य विद्यार्थीहरूले पनि आयोजकलाई सकारात्मक प्रतिक्रिया दिए । भर्खर प्लस टु को परीक्षा दिएका देखि भाषा परीक्षा तयारी गरिरहेका, त्यस्ता परीक्षामा आवश्यक अंक प्राप्त गरिसकेका देखि आफ्नो रुचि र क्षमता अनुसारको विषय पढाउने शैक्षिक संस्था छानिरहेका सम्मका विद्यार्थीहरू कन्क्लेभमा भाग लिन पुगेका थिए । सहभागी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको एजुकेसन कन्क्लेभमा लागेको घुइँचो देखेर उत्साहित थिए। केही प्रतिनिधिहरूलाई आफू सँग परामर्श लिने विद्यार्थीहरूको चाप व्यवस्थापन गर्ने मुस्किल परेको थियो । ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ को पहिलो दिनको भव्य सफलता पछि प्रतिक्रिया दिँदै राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप डिसीले सहभागी विद्यार्थीलाई धन्यवाद दिए । उनले अपेक्षा गरे भन्दा निकै राम्रो सहभागिता देखिएको भन्दै उपत्यका बाहिर गर्न लागिएका कार्यक्रमहरूमा पनि त्यस्तै सहभागिता रहने विश्वास व्यक्त गरे । गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रम बाट विद्यार्थीले अधिकतम लाभ लिने उनको भनाई थियो । कन्क्लेभलाई देशका प्रमुख ७ सहरहरूमा पुर्याउने राइटपाथको तयारी छ । शनिबार काठमाडौंबाट सुरु भएको यो शैक्षिक मेला आगामी जेठ ८ गते ललितपुर शाखामा आएर समापन हुनेछ । यसबीचमा ३१ वैशाखमा धनकुटामा, ३ जेठमा हेटौँडामा, ४ जेठमा चितवनमा, ५ जेठमा बुटवलमा र ६ जेठमा दाङमा कन्क्लेभ सञ्चालन हुनेछ । यी प्रत्येक सहरका सहभागीहरूले माथि उल्लेखित अफरहरू प्राप्त गर्नेछन् ।

बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, ४ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए । रासस

इन्स्टाग्राम एपले एकैसाथ ५ वटा एकाउन्ट चलाउन सक्छ, जान्नुहोस् कसरी ?

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम युवाहरूमाझ निकै चर्चित छ । मेटाको यो एपमार्फत फोटो र भिडियोहरू सेयर गरिन्छ । धेरै मानिसहरूले यस प्लेटफर्ममा पोस्ट गरेर रिलहरू बनाएर राम्रो पैसा पनि कमाइरहेका छन् । यद्यपि, इन्स्टाग्राममा धेरै सुविधाहरू छन्, तर के तपाईंलाई थाहा छ एकै साथ कति इन्स्टाग्राम खाता थप्न सकिन्छ ? यदि तपाईंलाई पनि यो हिडन विकल्पको बारेमा थाहा छैन भने पहिले यसको बारेमा राम्ररी जान्नुहोस् । इन्स्टाग्राम एपमा कुनै पनि व्यक्तिले एकैपटक ५ वटा एकाउन्ट चलाउन सक्छन् । यदि तपाईं आफ्नो इन्स्टाग्राममा एकभन्दा बढी खाताहरू थप्न चाहनुहुन्छ भने तपाईं यसका लागि एक धेरै सजिलो प्रक्रिया अपनाउन सक्नुहुन्छ । यसरी थप्न सकिन्छ एकभन्दा बढी इन्स्टाग्राम एकाउन्ट · सबैभन्दा पहिले आफ्नो फोन वा ल्यापटपमा इन्स्टाग्राम एप खोल्नुहोस् । · गृहपृष्ठको तल दायाँ कुनामा देखिने आफ्नो प्रोफाइल तस्वीरमा क्लिक गर्नुहोस् । · पेजको शीर्षमा देखिएको आफ्नो आईडीमा क्लिक गर्नुहोस्। अब तपाईको अगाडि एड इन्स्टाग्राम एकाउन्टको विकल्प देखा पर्नेछ। यसमा क्लिक गर्नेबित्तिकै तपाईंको अगाडि दुईवटा नयाँ विकल्प खुल्नेछन्। · एउटा विकल्पमा तपाईंलाई अर्को आईडीबाट लग इन गर्न भनिनेछ र अर्कोमा ‘नयाँ खाता सिर्जना गर्नुहोस्’ लेखिनेछ। · यो प्रक्रिया पूरा गरेपछि तपाईं यसलाई सजिलैसँग चलाउन सक्नुहुन्छ। · यदि तपाईं एक खाताबाट अर्को खातामा स्विच गर्न चाहनुहुन्छ भने त्यसपछि तपाईंको इन्स्टाग्राम एपको गृह पृष्ठमा आफ्नो प्रोफाइल तस्वीरमा क्लिक गर्नुहोस् । यसपछि तपाईंको आईडीमा क्लिक गर्नुहोस् । · क्लिक गरेपछि तपाईंले स्विच गर्न चाहनु भएको खाताको विकल्प देखा पर्नेछ । यसमा क्लिक गरेर अर्को खाता पनि सञ्चालन गर्न सकिन्छ । · तपाईंले इन्स्टाग्राम प्रयोगकर्ता नाममा क्लिक गर्नेबित्तिकै तपाईंले एपमा थप्नुभएका सबै एकाउन्टहरू देख्न सक्नुहुनेछ । एजेन्सी

३८ प्रतिशतले बढ्यो चन्द्रागिरि हिल्सको नाफा

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चन्द्रागिरि हिल्सले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत १० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको हो । यो गत वर्षको यसै अवधिको तुलनामा ३८.८१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटक संख्यामा वृद्धि भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा सञ्चालन आम्दानी बढ्दा नाफामा वृद्धि वृद्धि भएको उल्लेख गरिएको छ । यस कारण समीक्षा अवधिमा होटलको आम्दानी ६२ करोड ९० लाख रुपैयाँबाट बढेर ६९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी पनि ४४ लाख रुपैयाँबाट बढेर ८६ लाख पुगेको छ । चन्द्रागिरि हिल्सले केबुलकार, होटेल तथा रेष्टुराँसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्छ । हाल कम्पनीको वित्तीय खर्च पनि २० करोड ६६ लाखबाट घटेर १८ करोड २९ लाख रुपैयाँ कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । गत वर्ष यस अवधिसम्म चन्द्रागिरी हिल्सको ५ रुपैयाँ ७ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष ७ रुपैयाँ ३ पैसा कायम भएको छ । यस वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ३ पैसा कायम छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै विभागले मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आगामी २४ घण्टामा मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।