शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छु : उपकुलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले शैक्षिक पात्रो सुधारअनुरूप काम गरिरहेको र तयारी भइरहेको जानकारी दिए । ‘कसरी त्रिविको परीक्षा पात्रो सुधार गर्नुहुन्छ, कसरी परीक्षालाई सुधार गर्नुहुन्छ भन्ने यहाँहरुको जिज्ञासा स्वाभाविक हो,’ उनले भने, ‘प्रत्येक प्रदेशमा परीक्षा गर्ने र उत्तरपुस्तिका त्यही संकलन र जाँच गर्ने संरचना भन्दै छ, परीक्षालाई विकेन्द्रीकरणलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्ने हाम्रो योजना छ ।’ उपकूलपति प्राडा बरालले विद्यार्थीलाई जतिसक्दो चाँडो परीक्षाफल दिनका लागि आइटीको प्रयोग गर्ने योजना सुनाए । बजारको मागअनुसार पाठ्यक्रम विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्ने बताउँदै उनले त्यसपछि बजारले मागेको जनशक्ति उत्पादन गर्नका निम्ति नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे । नेपाल सरकारको शिक्षा नीति, २०७६ मा विदेशी विद्यार्थीलाई आकर्षण गर्नेगरी त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्नुपर्ने उल्लेख गरिएको छ । कमाउँदै पढ भन्ने आफ्नो योजना रहेको बताउँदै उनले प्रमाणपत्र मात्रैभन्दा पनि व्यावहारिक र रोजगारमूलक शिक्षा बनाउने तयारी भइरहेको बताए । उनले भने, ‘त्रिभुवन विश्वविद्यालयले नेपालको उच्च शिक्षामा करिब ८० प्रतिशत ओगटेको छ, यो विश्वविद्यालय बिग्रिँदा देशको समग्र शिक्षा क्षेत्र नै बिग्रिन्छ भन्ने मेरो योजना, सोँच पत्रमा राखेको छु र अहिले पनि हाम्रो मान्यता त्यही नै छ ।’ उनले शैक्षिक पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा र समयमा परीक्षफल प्रकाशित नहुँदा पछिल्लो समयमा विश्वविद्यालयप्रति विकर्षण बढ्दै गएको स्वीकार गर्दै अभिभावक र आमजनतामा विश्वविद्यालयप्रति नकारात्मक किसिमको भावना सिर्जना गरेको बताए । विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै उनले उपकुलपतिलाई विभिन्न समयमा विभिन्न किसिमका धम्की आउने गरेको बताए । उनले भने, ‘यो नेपालको ठूलो विश्वविद्यालय हो, यसको ७७ जिल्लामै नेटवर्क छ, त्यसैले विश्वविद्यालय सुधार गर्नका निम्ति हामीले यसको ‘स्ट्रक्चर रिफर्म’ गर्नुपर्छ भन्ने छ, यो नेपाल सरकारको नीतिमा पनि छ ।’
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, आज ५० औँ स्थानमा
काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ । यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर आज भने ५० औँ नम्बरमा पुगेको हो । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायुगुणस्तर सूचकाङ्क (एक्यूआई) ५६ रहेको छ । गत वैशाख २० गते भने एक सय ६२ पुगेको थियो । केही दिनयता परेको वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएको तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण भएकाले वायु प्रदूषण पनि कम भएको हो । डढेलोविद् सुन्दर शर्माले डढेलो नियन्त्रण भएमा वायु प्रदूषण पनि कम हुने बताएका छन् । ‘अहिले वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएकाले वायु प्रदूषण न्यूनीकरण भएको छ,’ उनले भने । विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात हरियो सङ्केतले चिनिन्छ । ‘५१ देखि १०० सम्मको एक्युआइलाई होसियार रहौँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा स्वाशप्रस्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ ।’ उनले भने, ‘१५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थको रुपमा लिइन्छ र ३०१ देखि चार सयसम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई धरै खतरा मानिएको छ ।’ काठमाडौं उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिइन्छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्न रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरिने कार्ययोजनामा उल्लेख छ । रासस
नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही सहकारीले नियमित रुपमा विवरण अद्यावधिक नगरेको भन्दै यस्ता सहकारीलाई पहिचान गरी बारबाही गर्ने जनाएको छ । हाल कामपामा एक हजार नौ सय ५३ सहकारी सञ्चालनमा छन् । जसमध्ये नौ सय ५५ ले मात्रै नियमितरूपमा वार्षिक विवरण पेस गर्ने गरेका कामपाले जनाएको छ । कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने गरी काम भइरहेको जानकारी दिए । नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दैछन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ । प्रमुख त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन सुरु गरिसकेको र अनुगमनको क्रममा दोषी ठहर भएकालाई कारबाही सुरु गर्ने तयारी विभागको रहेको छ । अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने सम्मको तयारी कामपाको छ । संवैधानिक व्यवस्थाअनुसार विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो । कामपामा सोही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन् । कामपामा रहेको जम्मा सहकारीमध्ये एक हजार छ सय २८ वटा बचत तथा ऋण सहकारी, दुई सय ६४ वटा बहुउद्देश्यीय सहकारी, तीन वटा श्रमिक सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, तीन वटा सीपमूलक सहकारी, दुई वटा शिक्षा सहकारी छन् । सञ्चार, पर्यटन, चिया र साझा क्षेत्रका जम्मा एक/एक वटा सहकारी रहेका छन् ।
सञ्चितिको भाँडो भरियो, सस्तिदै काठमाडौं !
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधार हुँदै गएको तथ्यांकबाट देखाएको छ । पछिल्लो समय देशको अर्थतन्त्रमा मन्दी सिर्जना भएको बहस भइरहँदा नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्यांक भने सुधारको स्थितिमा देखिएका छन् । महँगी घट्दै गइरहेको छ भने कुल विदेशी विनिमय सञ्चिति पनि बढ्दै गएको छ । तर, विज्ञहहरू भने व्यापार घटेर बढेको सञ्चितिलाई सन्तोष मान्न नहुने बताइरहेका छन् । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्र बैंकले सञ्चिति बढेको तथ्यांक सार्वजनिक गरेर सन्तोष लिनु पर्ने अवस्था नभएको बताउँछन् । ‘आयात र निर्यात घटेको छ, आयात निर्यात घट्नु भनेको देशको व्यापार घट्नु हो, व्यापार घट्नु भनेको देशमा आर्थिक कारोबार सुस्त हुनु हो, कारोबार घटेपछि सञ्चिति बढ्ने नै भयो, यो भनेको भकारी भरेर भोकै बस्नुजस्तै हो,’ उनले भनेका छन् । विगतमा सञ्चिति घट्दै गएको भनेर धेरै चर्चा हुने गरेको थियो भने धेरैले देश श्रीलंका बन्न थालेको टिप्पणी पनि गरेका थिए । तर, राष्ट्र बैंकले भने सञ्चिति बढेको देखाएर अर्थतन्त्र सुधार हुँदै गएको सन्देश प्रवाह गरेको छ । राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्घि भई २ खर्ब २३ अर्ब ६५ करोड कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए । महँगी घट्दै, सस्तिँदै काठमाडौं यस्तै, नेपाल राष्ट्र बैंकले महँगी पनि घट्दै गएको देखाएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ । समीक्षा महिनामा गैर-खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.३३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले तराई, पहाड र हिमालको तुलनामा काठमाडौं उपत्यकामा महँगी घट्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । २०८० चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५७ प्रतिशत, ७.६८ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत रहेको थियो । बजारमा वस्तुको मूल्य नघटेको भएपनि राष्ट्र बैंकको तथ्यांकमा महँगी घटेको कसरी देखियो भनेर पनि विभिन्न समयमा बहस हुने गरेको छ । कतिपयले राष्ट्र बैंकको तथ्यांकको विश्वसनीयतामाथि पनि प्रश्न गरेका छन् । तर, राष्ट्र बैंक भने तथ्यांकप्रति विश्वस्त हुन आग्रह गर्छ । राष्ट्र बैंकले उपभोक्ताले खरिद गर्ने विभिन्न वस्तुको मूल्य संकलन गरेर एउटा बास्केटमा राख्ने गर्छ । तीन सयभन्दा बढी वस्तुहरूलाई एउटै बास्केटमा राखेर ती वस्तुहरूको मूल्य र उपभोक्ताको खर्चभार निर्धारण गर्छ । ती वस्तुहरूको खर्चभार निर्धारण गरेपछि राष्ट्र बैंकले औसत रुपमा मूल्यवृद्धि निकाल्ने गरेको छ । पछिल्लो समय काठमाडौंमा घरजग्गाको मूल्य घटेका समाचारहरू बाहिरिरहेका छन् । यसले पनि काठमाडौं उपत्यकाको मूल्यवृद्धि कम गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ । शोधान्तर स्थिति बचतमा चैतमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ४८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँले धनात्मक रहेको थियो । साढे १० खर्ब रेमिट्यान्स ९ महिनाको अवधिमा साढे १० खर्ब रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेर १० खबै ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो । व्यापार घाटामा कमी ९ महिनामा कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले कमी आई १० खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो अनुपात ९.८ प्रतिशत नै रहेको थियो । आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु निर्यात ३.७ प्रतिशतले कमी आई १ खर्ब १३ अर्ब ९५ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६.२ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात २३२ प्रतिशतले वृद्धि भएको छ । ९ महिनामा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई ११ खर्ब ६७ अर्ब ३७ करोडकायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.२ प्रतिशत र २२.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको छ । आम्दानीभन्दा खर्च बढी ९ महिनामा नेपाल सरकारको कुल खर्च ९ खर्ब ९ अर्ब ३९ करोड भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो नौ महिनामा १८.७ प्रतिशतले वृद्दि भएकोमा समीक्षा अवधिमा ३.६ प्रतिशतले ह्रास आएको छ । समीक्षा अवधिमा चालु खर्च ६ खर्ब ४४ अर्ब ३ करोड, पँुजीगत खर्च ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ६७ अर्ब ९९ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब ४८ अर्ब ४ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो नौमहिनामा १३.४ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.४ प्रतिशतले बढेको छ । सरकारले आम्दाीभन्दा बढी खर्च गरेको छ ।
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैन : गोविन्द केसी
काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् । सशस्त्रद्वन्द्व कालका जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने तर्क गरे । काठमाडौंको पशुपति क्षेत्रस्थित मृगस्थलीमा प्रधानमन्त्री दाहालको राजीनामासहित ४ बुँदै माग राख्दै आमरण अनसुनमा बसेको उनले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहाल अभियुक्त भएकाले देश चलाउन नमिल्ने बताए । उनले प्रधानमन्त्री दाहालले पदबाट तत्काल राजीनामा दिएर संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्याउन सहयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले अभियुक्त भएर देश चलाउने कुनै अधिकार नभएको वरिष्ठ चिकित्सक केसीको भनाई थियो । उनले द्वन्द्वकालको मुख्य अभियुक्त हुँदाहुँदै दाहाल प्रधानमन्त्री बन्दा पनि अरुले त्यसको विरोध नगरेकोमा आक्रोश पनि व्यक्त गरे । उनले भने, ‘अपराधीहरु प्रधानमन्त्री, मन्त्री बन्ने ? मैले भनि हाले नि–त्यस्तो हुन सक्दैन । उनले राजीनामा दिनुपर्छ । राजीनामा दिएर यो संक्रमणकालिन न्याय प्रक्रियालाई निष्पक्ष ढंगले टुंगोमा पुर्याउन उसले सहयोग पुर्याउनु पर्छ । हो, निर्दोष छन् भने प्रधानमन्त्री बन, मन्त्री बन, मलाई कुनै आपत्ति छैन । अब प्रधानमन्त्री नै जघन्य अपराधको अभियुक्त छन् भने मैले मात्रै होइन, यसमा सबैले किन बोलेनन् ? स्वास्थ्य सेवामा अहिले सरकारी अस्पतालमा पनि के छ भने महंगो शुल्क तिर्नुपर्ने हुन्छ । निजी अस्पताल र माफियाहरुको स्वार्थ पूूर्तिका लागि त्यसलाई बिथोल्ने काम गरियो ।’ वरिष्ठ चिकित्सक केसीले स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्ने, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा तत्काल सञ्चालन गर्नुपर्नेलगायतका विगतमा मेडिकल क्षेत्रको सुधारका लागि आफूसँग सरकारले गरेको सबै सहमती कार्यान्वयन हुनुपर्ने माग पनि राखेका छन् ।
र्याडिसन होटलको नाफा ६ करोड ५९ लाख
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । होटलले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यो नाफा १० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । होटलले चैतसम्म ८१ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा होटलले ६९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो । होटलले ९ महिनामा १२ करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष होटलले ११ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल होटलको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ छ । हाल होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा छ । गत आर्थिक वर्षको सोही अवधिमा होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा मात्रै थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ ४२ पैसा छ ।
वायुप्रदुषणको दुष्प्रभाव र बच्ने उपाय
काठमाडौं । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ । जसका कारण भिजिविलिटी कम हुँदा कतिपय विमानस्थलमा हवाईजहाजको उडान समेत रोकिएको अवस्था छ । पछिल्लो समय अस्पतालहरूमा श्वासप्रश्वासका बिरामीहरूको चाप बढेको अनुभव भएको छ । हामीले प्रत्येक पटक श्वास लिँदा आधा लिटरजति हावा फोक्सो भित्र तानिरहेका हुन्छौँ एक मिनेटमा ७ देखि ८ लिटर र २४ घण्टामा ११०० लिटर जति हावा लिन्छौँ । प्रदूषित हावामा धुलोको कणहरु तथा हानिकारक ग्याँसहरू मिसिएको हुन्छ । हामीले श्वास लिँदाखेरि हावासँगै त्यसमा मिसिएका कणहरू तथा हानिकारक ग्याँसहरु पनि फोक्सो भित्र प्रवेश गर्दछ जसले विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउन सक्छ । धुलोका अत्यन्त साना कणहरू तथा हानिकारक ग्याँसहरू फोक्सोमा मात्र नभई फोक्सोको माध्यमबाट रक्त सञ्चार प्रणालीमा प्रवेश गरी शरीरका अन्य भागहरुमा समेत क्षति पुर्याउन सक्दछ । वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य समस्या तत्कालीन र दीर्घकालीन हुन्छन् । तत्कालीन असरमा आँखा पोल्ने, नाक चिलाउने, रुघा लाग्ने , घाँटी खसखस गर्ने, खोकी लाग्ने खकार आउने, सास फेर्न गाह्रो हुने, छाला चिलाउने आदि हुन् । प्रदूषणले अप्रत्यक्ष रूपमा श्वासको संक्रमणको जोखिम पनि बढाउँदछ र निमोनिया जस्ता घातक रोगहरू लाग्न सक्छ । कसैलाई पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धित रोग भएमा त्यसलाई पनि गम्भीर नकारात्मक असर पार्दछ । दीर्घकालीन असरमा प्रदूषित स्थानमा लामो समयसम्म बस्दाखेरि त्यसले हाम्रो श्वासप्रश्वास प्रणाली र शरीरमा गम्भीर समस्याहरूको सृजना गर्न सक्छ। प्रदूषणबाट हुने दीर्घकालीन समस्या मध्ये प्रमुख रोग दम नै हो, यसको साथसाथै फोक्सोको क्यान्सर, उच्चरक्तचाप, हृदयघात , मस्तिष्कघात, मुटुको चाल अनियमित हुने जस्ता समस्याहरू पनि देखिन सक्छ। वायु प्रदूषण बालबालिका र गर्भवती महिलाहरुका लागि पनि त्यत्तिकै खतरनाक छ । त्यसकारण वायु प्रदुषणबाट बच्नका लागि विशेष रुपले गर्भवती महिला र बालबालिकाले ध्यान दिनुपर्दछ । शिशु महिना नपुगी जन्मने, जन्मिँदा तौल कम हुने, मस्तिष्क विकासमा कमी हुने, पछि गएर श्वासप्रश्वासको समस्या देखिन सक्दछ । यसबाट कसरी जोगिने ? व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वायु प्रदूषण न्यूनीकरणको लागि गम्भीर रुपमा लाग्न आवश्यक छ । यसले कुनै व्यक्ति, वर्ग वा समुदाय छुट्याउँदैन । सहरी क्षेत्रको कुरा गर्दा प्रदुषण बढ्ने विशेष समय भनेको विहान र साँझ हो । यो समयमा सकेसम्म घर बाहिर ननिक्लने । सकेसम्म प्रदुषण कम हुने समयमा निस्कने । निस्कनै परेमा मास्कको प्रयोग गर्ने । हामीले सामान्यतया लगाउने सर्जिकल मास्कले सुरक्षा दिन नसक्ने हुँदा एन नाइन्टी फाइभ मास्क लगाउनुपर्छ । यसले ९५ प्रतिशत सम्म कणहरूलाई छेक्न सक्दछ, यद्यपि हानिकारक ग्यासहरू र अत्यन्त सुक्ष्मकणहरू बाट भने यसले बचाउन सक्दैन । ग्रामीण क्षेत्रको हकमा प्रदूषणको मुख्य कारण भनेको घरभित्रबाट हुने प्रदूषण जस्तै दाउरा, गुइठा मट्टी तेलको चुलो आदिमा खाना पकाउने इन्धन हो र त्यसको न्यूनिकरण गर्न सुधारिएको चुलो प्रयोग गर्ने, भान्छामा धुवा जम्मा नहुने किसिमले वायुसंचारको व्यवस्था मिलाउने, स्वच्छ उर्जाको प्रयोगमा बढी जोड दिने आदि हो । वनजङ्गल वन्यजन्तुको साझा घर हुनुको साथै स्वच्छ हावाको स्रोत पनि हो । यसको संरक्षणमा विशेष जोड दिनु आवश्यक छ र मानवीय रूपमा पनि वनजङ्गलमा आगो लगाउनु भनेको अक्षम्य अपराध हो । यस्तो अपराधीलाई कडाभन्दा कडाई कारबाही गर्ने नियम कानुन को अवलम्बन गर्न आवश्यक छ । ( डा. रवी महत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा श्वासप्रश्वास रोग विशेषज्ञ रुपमा कार्यरत छन्)
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दियो प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बेबिवारम प्रदान गरेको छ । इन्स्योरेन्सको ३१ औं वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतको पञ्चपुरी सालकोटलाइ २ थान बेबी वार्मर प्रदान गरेको हो । कार्यक्रममा पञ्चपुरी २ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र पञ्चपुरीका व्यवस्थापन समितीका अध्यक्ष याम बहादुर बि.सी, स्वास्थ्य केन्द्र प्रमुख डा.जयन्त कुमार साहु, लगायत पदाधिकारीको उपस्थितीमा इन्स्योरेन्सको कर्णाली प्रदेश प्रमुख राकेश बिसीले डा. जयन्त कुमार साहुलाई हस्तान्तरण गरेएका थिए । कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख डा. साहुले सुर्खेत पश्चिमका सम्पुर्ण र अछाम जिल्लाका केहि बिरामीहरु समेतले स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेको बताउँदै बेबी वार्मरअति नै आवश्यक रेहेको र महत्वपूर्ण सामग्री प्राप्त भएको बताए । त्यस्तै अध्यक्ष बि.सीले स्वास्थ्य केन्द्रलाई आवश्यक रहेको सामाग्री उपलब्ध गराउनु भएकोमा धन्यवाद दिँदै धेरै बिरामीको चाप रहेको स्वास्थ्य केन्द्रलाई यस्ता मेडिकल सामग्री दिनु भनेको यो बिकट क्षेत्रका बिरामीहरुलाई नयाँ जिवन दिनु जस्तै हो भन्दै कार्यक्रमको समापन गरेका थिए ।