काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधार हुँदै गएको तथ्यांकबाट देखाएको छ । पछिल्लो समय देशको अर्थतन्त्रमा मन्दी सिर्जना भएको बहस भइरहँदा नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्यांक भने सुधारको स्थितिमा देखिएका छन् । महँगी घट्दै गइरहेको छ भने कुल विदेशी विनिमय सञ्चिति पनि बढ्दै गएको छ । तर, विज्ञहहरू भने व्यापार घटेर बढेको सञ्चितिलाई सन्तोष मान्न नहुने बताइरहेका छन् ।
पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्र बैंकले सञ्चिति बढेको तथ्यांक सार्वजनिक गरेर सन्तोष लिनु पर्ने अवस्था नभएको बताउँछन् । ‘आयात र निर्यात घटेको छ, आयात निर्यात घट्नु भनेको देशको व्यापार घट्नु हो, व्यापार घट्नु भनेको देशमा आर्थिक कारोबार सुस्त हुनु हो, कारोबार घटेपछि सञ्चिति बढ्ने नै भयो, यो भनेको भकारी भरेर भोकै बस्नुजस्तै हो,’ उनले भनेका छन् ।
विगतमा सञ्चिति घट्दै गएको भनेर धेरै चर्चा हुने गरेको थियो भने धेरैले देश श्रीलंका बन्न थालेको टिप्पणी पनि गरेका थिए । तर, राष्ट्र बैंकले भने सञ्चिति बढेको देखाएर अर्थतन्त्र सुधार हुँदै गएको सन्देश प्रवाह गरेको छ ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर सञ्चिति थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६ खर्ब ८८ अर्ब २१ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्घि भई २ खर्ब २३ अर्ब ६५ करोड कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।
महँगी घट्दै, सस्तिँदै काठमाडौं
यस्तै, नेपाल राष्ट्र बैंकले महँगी पनि घट्दै गएको देखाएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप– समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.१० प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा गैर-खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.३३ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकले तराई, पहाड र हिमालको तुलनामा काठमाडौं उपत्यकामा महँगी घट्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । २०८० चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५७ प्रतिशत, ७.६८ प्रतिशत, ७.०१ प्रतिशत र ७.४७ प्रतिशत रहेको थियो ।
बजारमा वस्तुको मूल्य नघटेको भएपनि राष्ट्र बैंकको तथ्यांकमा महँगी घटेको कसरी देखियो भनेर पनि विभिन्न समयमा बहस हुने गरेको छ । कतिपयले राष्ट्र बैंकको तथ्यांकको विश्वसनीयतामाथि पनि प्रश्न गरेका छन् । तर, राष्ट्र बैंक भने तथ्यांकप्रति विश्वस्त हुन आग्रह गर्छ ।
राष्ट्र बैंकले उपभोक्ताले खरिद गर्ने विभिन्न वस्तुको मूल्य संकलन गरेर एउटा बास्केटमा राख्ने गर्छ । तीन सयभन्दा बढी वस्तुहरूलाई एउटै बास्केटमा राखेर ती वस्तुहरूको मूल्य र उपभोक्ताको खर्चभार निर्धारण गर्छ । ती वस्तुहरूको खर्चभार निर्धारण गरेपछि राष्ट्र बैंकले औसत रुपमा मूल्यवृद्धि निकाल्ने गरेको छ ।
पछिल्लो समय काठमाडौंमा घरजग्गाको मूल्य घटेका समाचारहरू बाहिरिरहेका छन् । यसले पनि काठमाडौं उपत्यकाको मूल्यवृद्धि कम गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
शोधान्तर स्थिति बचतमा
चैतमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ४८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँले धनात्मक रहेको थियो ।
साढे १० खर्ब रेमिट्यान्स
९ महिनाको अवधिमा साढे १० खर्ब रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेर १० खबै ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।
व्यापार घाटामा कमी
९ महिनामा कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले कमी आई १० खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो अनुपात ९.८ प्रतिशत नै रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कुल वस्तु निर्यात ३.७ प्रतिशतले कमी आई १ खर्ब १३ अर्ब ९५ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६.२ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात २३२ प्रतिशतले वृद्धि भएको छ ।
९ महिनामा कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई ११ खर्ब ६७ अर्ब ३७ करोडकायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ३.२ प्रतिशत र २२.६ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.४ प्रतिशतले बढेको छ ।
आम्दानीभन्दा खर्च बढी
९ महिनामा नेपाल सरकारको कुल खर्च ९ खर्ब ९ अर्ब ३९ करोड भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो नौ महिनामा १८.७ प्रतिशतले वृद्दि भएकोमा समीक्षा अवधिमा ३.६ प्रतिशतले ह्रास आएको छ ।
समीक्षा अवधिमा चालु खर्च ६ खर्ब ४४ अर्ब ३ करोड, पँुजीगत खर्च ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ६७ अर्ब ९९ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब ४८ अर्ब ४ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो नौमहिनामा १३.४ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.४ प्रतिशतले बढेको छ । सरकारले आम्दाीभन्दा बढी खर्च गरेको छ ।