विकासन्युज

लघुबीमामा भ्याट छुट, स्वास्थ्य बीमा बोर्डलाई कम्पनीमा रूपान्तरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमामा भ्याट छुट दिन सुझाव दिएको छ । प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव दिँदै ग्रामिण क्षेत्रमा बसोबास गर्ने विपन्न एवं न्यून आए भएका नागरिकको बीमा गर्न लघु बीमालाई नेपाल सरकारबाट अनुदान प्रदान गर्नुका साथै लघु बीमामा भ्याट छुट दिने व्यवस्था गर्न सुझाव दिएको हो । प्राधिकरणले कोरोना बीमाको बाँकी रहेको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्था गर्न पनि सुझाव दिएको छ । कोरोना बीमाको बाँकी रहेको दावी भुक्तानीका लागि नेपाल सरकारबाट बजेट विनियोजन गर्नु पर्ने र विनियोजित बजेटलाई प्राथमिकता तोकी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई प्राधिकरणले सुझाव दिएको हो । हाल तेस्रो मुलुकमा जाने श्रमिकका लागि मात्र म्यादी जीवन बीमा अनिवार्य रहेकोमा भारतमा जाने श्रमिकका लागि समेत उक्त अनिवार्य गर्न सरकारलाई सुझाव दिएको छ । भारतमा जाने श्रमिकका लागि म्यादी जीवन बीमा अनिवार्य गर्न लक्षित वर्गका लागि आवश्यकताअनुसार कानून निर्माण तथा संशोधन गर्न आग्रह गरेको छ । प्राधिकरणले स्थानीय तहहरूसँगको समन्वयमा भारतमा जाने श्रमिकको म्यादी जीवन बीमा गर्न सकिने पनि स्पष्ट पारेको छ । यस्तै, उपभोक्ता समितिमार्फत् निर्माण हुने संरचना तथा भौतिक सम्पत्तिको समेत अनिवार्य बीमा गर्नु पर्ने, न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमाको माध्यमबाट आर्थिक सुरक्षण प्रदान गर्न सुझाव दिएको छ । प्राधिकरणले हाल ठेकेदारमार्फत् निर्माण हुने आयोजनाको मात्रै बीमा हुने भएकोले अब उपभोक्ता समितिमार्फत् निर्माण हुने आयोजनाको पनि बीमा गर्नु पर्ने बताएको हो । प्राधिकरणले नीति तथा कार्यक्रममार्फत् कृषि, पशुपंक्षी तथा जडिबुटी बीमामा प्रदान गरिँदै आएको अनुदान स्थानीय तहमार्फत् भुक्तानी दिने व्यवस्था मिलाउने, स्वास्थ्य बीमा बोर्डलाई सरकारी स्वामित्वको स्वास्थ्य बीमा कम्पनीमा रुपान्तरण गरी नेपाल बीमा प्राधिकरणको नियमनको दायरामा ल्याउनु पर्ने सुझाव पनि दिएको छ । यस्तै, देशभित्र आन्तरिक परिवहनबाट ढुवानी हुने मालवस्तुको अनिवार्यरुपमा बीमा गर्ने र साइबर घटनाबाट उत्पन्न हुने जोखिमको बीमाको माध्यमबाट सुरक्षण गर्नु पर्ने सुझाव पनि प्राधिकरणको छ ।

डेढ अर्ब बढी लागतमा बन्ने नेपालकै पहिलो सिग्नेचर ब्रिज सोमबार शिलान्यास हुँदै

चितवन । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको ‘एड्भान्स टेक्नोलोजी ब्रिज’ (सिग्नेचर) पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने भएका छन् । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट नगरपालिका जोड्ने उक्त नयाँ पुल शिलान्यास गर्न लागेका हुन् । भरतपुर महानगरपालिकातर्फ पुलको शिलान्यास गरिन लागिएको हो । पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक केबलस्टेट ब्रिज निर्माण गर्न लागिएको हो । सडक विभागको पुल महाशाखाका डिभिजनल इञ्जिनियर एवं यस पुलको योजना प्रमुख कृष्ण अधिकारीका अनुसार पुल ४ सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने यस पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी बनाइएको छ । उनले भने, ‘पुलको बीचमा दुई पिल्लरबीचको भाग दुई सय १० मिटर फराकिलो छ । यहाँबाट जहाज आवतजावत गर्न सक्छन् ।’ पुलको दुई ठाउँमा टावर राखिएका छन् । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा सात दशमलव पाँच मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उनले जानकारी दिए । सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ । मूल्यअभिवृद्धि करसहित १ अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ रुपैयाँमा ठेक्का सम्झौता भएको हो । पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको अधिकारीले जानकारी दिए । डिजाइनको काम करिब सम्पन्न भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सात वर्षअघि आफू पहिलो पटक महानगर प्रमुखको उम्मेदवार हुँदा घोषणापत्रमा उल्लेख गरेर निरन्तर पहलकदमीपछि पुल निर्माण हुने अवस्थामा पुगेको बताए । महानगरले हरेक वर्षको नीति तथा कार्यक्रममा नारायणी नदीमा ‘सिग्नेचर’ पुल निर्माणका लागि पहल गर्ने उल्लेख गर्दै आएको भन्दै उनले यो नमुना ‘सिग्नेचर’ पुल भएको पनि स्पष्ट पारे । समयमा पुल निर्माण गर्न नसकेमा दीर्घकालीनरूपमा समस्या हुनसक्ने भएकाले आफूहरू निरन्तर लागेको उनको भनाइ छ । नारायणी नदीमा जलसँग सम्बन्धित पर्यटकीय गतिविधि गर्नका लागि पुलको डिजाइन नै तलको भाग फराकिलो बनाइएको भन्दै उनले नयाँ पुल बनेसँगै भरतपुरको विकासमा थप टेवा पुग्ने बताए । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मञ्जिल मिश्रले तोकिएको समयमा गुणस्तरीय काम गर्न आफूहरू प्रतिबद्ध भएर सोहीअनुसार तयारी गरिएको बताए । भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकाले आवश्यक सहजीकरण गरेका कारण कामलाई गति दिन सहज हुँदै आएको बताए । हाल भएको नारायणीको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको हालको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडर उत्तरतर्फ नयाँ पुल निर्माण गर्न लागिएको हो ।

त्रिविको जग्गा व्यवस्थापन गर्न उच्चस्तरीय समिति बन्दै छ : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति गठनको तयारी भइरहेको बताएकी छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थय तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलमा मन्त्री श्रेष्ठले समितिको लागि कार्यजिम्मेवारी तयार भइसकेको जानकारी दिइन् । उनले भनिन्, ‘त्रिभुवन विश्वविद्यालयका नाममा भएका सबै जग्गा छानबिन वा अध्ययन गरौँ भन्न समय सीमाका कारण असम्भव काम हुन्छ, त्यसैले निश्चित् ठाउँमा केन्द्रित रहेर तीन महिने अवधि दिएर कामको लागि प्रस्ताव तयार गर्दै छौँ ।’ उनले त्रिविको शैक्षिक पात्रोको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी सङ्घरसङ्गठनसँग छलफल भएको बताइन् । उनले शैक्षिक पात्रो बनाउनका लागि मुख्य भूमिका दलगत रुपमा आबद्ध प्रशासन र कर्मचारी सङ्गठनको एउटै धारणा हुुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘जबसम्म दलगत रूपमा रहेको प्रशासन र कर्मचारी सङ्गठनको निचोड एउटै आउँदैन, तबसम्म कार्यान्वयन सहज हुँदैन, एउटा कर्मचारी सरुवा गर्दा पनि आन्दोलन गर्ने, धम्की दिने काम भइरहेको छ ।’ त्रिविमा पटक-पटक तालाबन्दीलगायत समस्या राजनीतिक हस्तक्षेपका कारण आएका कारण राजनीतिक दलका शीर्ष नेतासँग नै छलफल गर्नुपर्ने उनको भनाइ छ ।  विश्वविद्यालयलाई राजनीतिकरण नगर्न उनले आग्रह गरिन् । बङ्गलादेशको छात्रवृत्तिको विषयमा दुई देशबीचको सम्बन्धको पनि विषय भएकोले कूटनीतिक रुपमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले विदेशी विश्वविद्यायको अनुमतिका लागि समिति बनाएर नीतिगत कमजोरी के हो भन्नेबारेमा बुझ्न लगाएको जानकारी दिइन् । त्रिविको सेवा आयोगको सदस्यको नियुक्ति लागि प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ छ ।  शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेले शैक्षिक क्षेत्रमा देखिएका समग्र समस्या समाधानका लागि मन्त्रालयले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलविरुद्ध भ्रष्टाचारको तेस्रो मुद्दा

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । केही साताअघि मात्रै अमेरिकाको स्थायी आवास अनुमति पत्र लिएर त्यसको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध दोस्रो मुद्दा दायर भएको थियो । आइतबार फेरि अख्तियारले पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविनकुमार पोखरेलविरुद्ध सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । यस्तै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे, सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेनविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ । गत वर्ष सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी मुद्दा दायर भएको थियो । त्यो मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ । आजै विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी

काठमाडौं । शंकरदेव क्याम्पस प्रमुख डा. कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीले आफूहरुमाथि लागेको आर्थिक अपचलनको आरोपको खण्डन गरेका छन् । आईतबार यहाँ पत्रकार सम्मेलन गरी उनीहरुले भ्रष्टाचार भएको भन्ने आरोपको खण्डन गरेका हुन् । शंकरदेव क्याम्पस प्रशासन र स्ववियुमाथि क्याम्पस प्रमुख, लेखाप्रमुख र स्ववियु पदाधिकारीसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लागेको छ । क्याम्पस प्रमुख डा आचार्यले आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भन्ने आरोपमा आफू सहमत नरहेको स्पष्ट गरे । उनले आफू क्याम्पस प्रमुख भएर आउनुअघिको नेतृत्वको कामकारबाहीबारे जिम्मेवार हुन नसक्ने बताउँदै आफ्नो नेतृत्वमा क्याम्पसको सबै कामकारबाही पारदर्शी रहेको दाबी गरे । स्ववियु अध्यक्ष सुशान्त बस्नेत र सचिव मदनराज उपाध्यायले केही समूहले क्याम्पस प्रशासन र लेखा प्रमुखसँग मिलेर आर्थिक अपचलन गरेको आरोप झुटो भएको बताए । उनले स्ववियु निर्वाचनपछि आफूहरुले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै आएको पनि बताए ।

निर्जीवन बीमा क्षेत्रमा लगानीकर्ताको आकर्षण, ३ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ८.२ अंकले बढेको छ । आज सेयर बजार नेप्से परिसूचक ८.२ अंक अर्थात ०.४२ प्रतिशतले बढेर १९७४ अंकमा कायम भएको हो । आज ३११ स्टकको ७८ लाख ५७ हजार कित्ता सेयर ४९ हजार ७६४ पटक खरिदबिक्री हुँदा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको भएको छ । आज फाइनान्स, होटल तथा पर्यटन र माइक्रोफाइनान्सका सूचक घटे भने अरु सबै क्षेत्रका सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.६ प्रतिशत बढेको छ । यसअघि गत बिहीबार होटल समूह सबैभन्दा धेरै ६.९ प्रतिशत बढेको थियो । आज दिनभर १२७ कम्पनीको मूल्य बढ्दा १११ को घटेको छ भने ७ को स्थिर रहेको छ। आज सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै उन्नति सहकार्यको ७.५, युनाइटेड अजोड इन्स्योरेन्सको ५.६, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ५.५, एसियन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत मूल्य बढेको हो । मानुषी लघुवित्तको ५.४, दोल्ती पावरको ४.५, आरएसडीसी लघुवित्तको ४.४, सोल्टी होटलको ३.६ र नेस्डो लघुवित्तको ३.४ प्रतिशत मूल्य घटेको हो । कारोबार रकमका आधारमा आज सांग्रिला विकास बैंक, पोखरा फाइनान्स, सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट र नेपाल इन्स्योरेन्स कम्पनी अगाडि रहेका छन् । आज सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ ।  

शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छु : उपकुलपति बराल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले शैक्षिक पात्रो सुधारअनुरूप काम गरिरहेको र तयारी भइरहेको जानकारी दिए । ‘कसरी त्रिविको परीक्षा पात्रो सुधार गर्नुहुन्छ, कसरी परीक्षालाई सुधार गर्नुहुन्छ भन्ने यहाँहरुको जिज्ञासा स्वाभाविक हो,’ उनले भने, ‘प्रत्येक प्रदेशमा परीक्षा गर्ने र उत्तरपुस्तिका त्यही संकलन र जाँच गर्ने संरचना भन्दै छ, परीक्षालाई विकेन्द्रीकरणलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्ने हाम्रो योजना छ ।’ उपकूलपति प्राडा बरालले विद्यार्थीलाई जतिसक्दो चाँडो परीक्षाफल दिनका लागि आइटीको प्रयोग गर्ने योजना सुनाए । बजारको मागअनुसार पाठ्यक्रम विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्ने बताउँदै उनले त्यसपछि बजारले मागेको जनशक्ति उत्पादन गर्नका निम्ति नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे । नेपाल सरकारको शिक्षा नीति, २०७६ मा विदेशी विद्यार्थीलाई आकर्षण गर्नेगरी त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्नुपर्ने उल्लेख गरिएको छ । कमाउँदै पढ भन्ने आफ्नो योजना रहेको बताउँदै उनले प्रमाणपत्र मात्रैभन्दा पनि व्यावहारिक र रोजगारमूलक शिक्षा बनाउने तयारी भइरहेको बताए । उनले भने, ‘त्रिभुवन विश्वविद्यालयले नेपालको उच्च शिक्षामा करिब ८० प्रतिशत ओगटेको छ, यो विश्वविद्यालय बिग्रिँदा देशको समग्र शिक्षा क्षेत्र नै बिग्रिन्छ भन्ने मेरो योजना, सोँच पत्रमा राखेको छु र अहिले पनि हाम्रो मान्यता त्यही नै छ ।’ उनले शैक्षिक पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा र समयमा परीक्षफल प्रकाशित नहुँदा पछिल्लो समयमा विश्वविद्यालयप्रति विकर्षण बढ्दै गएको स्वीकार गर्दै अभिभावक र आमजनतामा विश्वविद्यालयप्रति नकारात्मक किसिमको भावना सिर्जना गरेको बताए । विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै उनले उपकुलपतिलाई विभिन्न समयमा विभिन्न किसिमका धम्की आउने गरेको बताए । उनले भने, ‘यो नेपालको ठूलो विश्वविद्यालय हो, यसको ७७ जिल्लामै नेटवर्क छ, त्यसैले विश्वविद्यालय सुधार गर्नका निम्ति हामीले यसको ‘स्ट्रक्चर रिफर्म’ गर्नुपर्छ भन्ने छ, यो नेपाल सरकारको नीतिमा पनि छ ।’

वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, आज ५० औँ स्थानमा

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषणको हिसाबले आज विश्वकै ५० औँ स्थानमा सूचीकृत भएको छ । यही वैशाख २० गते विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचीकृत भएकोमा वर्षाले वायु प्रदूषण न्यूनीकरण भएर आज भने ५० औँ नम्बरमा पुगेको हो । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायुगुणस्तर सूचकाङ्क (एक्यूआई) ५६ रहेको छ । गत वैशाख २० गते भने एक सय ६२ पुगेको थियो । केही दिनयता परेको वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएको तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण भएकाले वायु प्रदूषण पनि कम भएको हो । डढेलोविद् सुन्दर शर्माले डढेलो नियन्त्रण भएमा वायु प्रदूषण पनि कम हुने बताएका छन् । ‘अहिले वर्षासँगै वन डढेलो पनि नियन्त्रण भएकाले वायु प्रदूषण न्यूनीकरण भएको छ,’ उनले भने । विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात हरियो सङ्केतले चिनिन्छ । ‘५१ देखि १०० सम्मको एक्युआइलाई होसियार रहौँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा स्वाशप्रस्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ ।’ उनले भने, ‘१५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थको रुपमा लिइन्छ र ३०१ देखि चार सयसम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई धरै खतरा मानिएको छ ।’ काठमाडौं उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिइन्छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्न रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरिने कार्ययोजनामा उल्लेख छ । रासस