प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो । अधिवक्ता प्रेम सिलवालले दायर गरेको सो मुद्दाको सुनुवाइ यही मङ्सिर ७ गते हुनेगरी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । वर्तमान सरकारले गत असोज ३० गते अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न गत कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो । अदालतको आदेश आएकै भोलिपल्ट सरकारले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । अदालतको सम्मान र कानुनी शासनका पक्षमा मुद्दा दायर गरेको अधिवक्ता सिलवालले जानकारी दिए ।
‘सुगर निको हुँदैन, नियन्त्रण गर्न सकिन्छ’ {अन्तर्वार्ता}
पछिल्लो समय नसर्ने रोगले मानिसको ज्यान लिइरहेको छ । शारीरिकभन्दा मानसिक थकान, अस्वस्थ खानपान र जीवनशैलीका कारण नागरिक यसको सिकार भइरहेका छन् । नसर्ने तर सुस्त गतिमा मानिसको ज्यान लिइरहेको रोग मधुमेह पनि हो । जुन अहिले बच्चादेखि वृद्धवृद्धासम्मको शरीरलाई तहसनहस बनाइरहेको छ । एउटा महामारीका रुपमा प्रवेश गरिरहेको मधुमेहले नेपालीलाई कसरी प्रभावित बनाइरहेको छ भन्ने विषयमा वीर अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरेसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् । मधुमेह अर्थात् चिनी रोग भनेको के हो ? ग्लुकोज हाम्रो शरीरलाई आवश्यक पर्ने चिज हो । तर, शरीरमा ग्लुकोजको मात्रा चाहिनेभन्दा बढी भयो भने राम्रो हुँदैन । हामीले खाने खानाबाट शरीरलाई आवश्यक पर्ने ग्लुकोज उत्पादन हुन्छ । ग्लुकोजको पनि एउटा सर्टेन लेभल हुन्छ । खाली पेट एउटा लेभल मेन्टेन गर्नुपर्छ भने खाना खाइसकेपछि अर्को लेभल हुनुपर्छ भन्ने मापदण्ड छ । त्यो मापदण्डभन्दा माथि गयो भने त्यसलाई मधुमेह अर्थात सुगर भएको मानिन्छ । सामान्यतयाः खाली पेटमा सुगर ७० देखि १ सय १० को बीचमा हुनुपर्छ भनिन्छ । यस्तै, खाना खाइसकेपछि १ सय १० देखि १ सय ४० को बीचमा हुनुपर्छ । जुन खालीपेट र भरी पेटको मात्र छुट्याएको छ त्योभन्दा बढी सुगर भयो भने मधुमेह लागेको भनिन्छ । मधुमेह डाइग्नोसिस गर्नलाई खालीपेट १ सय २६ भन्दा माथि खाना खाएको दुई घण्टा पछि २०० बढी काट्यो भने मधुमेह भएको मानिन्छ । १ सय ४० र २०० बिचमा र १ सय १० र १ सय २५ बिचमा भएकोलाई प्रीडाइबिटिज भनिन्छ । यो भनेको सुगर नभइसकेको तर सम्भावना बढी छ भन्ने हो । सुगर छ कि छैन भनेर कसरी थाहा पाउन सकिन्छ ? कुनै पनि रोग लागिसकेपछि त्यसका विभिन्न लक्षणहरू देखा पर्छन् । सुगर लागेको व्यक्तिलाई पनि मुख सुक्दै जाने, भोक बढी लाग्ने, पिसाब धेरै लाग्ने जस्ता लक्षणहरू देखा पर्छन् । पिसाब धेरै लाग्ने त्यसमा पनि रातिमा पिसाब बारम्बार लाग्ने गर्छ भने सुगरको लक्षण हुनसक्छ । कहिलेकाहीँ बाहिर पिसाब गर्यो भने पिसाबमा कमिला लाग्न थाल्छन् । सुगर लागेको व्यक्तिले खाना जति खाए पनि दुब्लाउँदै जाने, आँखा धमिलो हुने हुन्छ । सुगर लागेको व्यक्तिमा शरीरको कुनै भागमा इन्सफेक्सन भयो भने लामो समयसम्म निको नहुने हुन्छ । सामान्य घाउ चोट लाग्यो भने निको पार्न गाह्रो हुन्छ । सुगर कसरी लाग्छ ? धेरैजसोमा वंशाणुगत नै आउँछ । हामीले कतिपय रोगहरू जीनमै बोकेर ल्याएका हुन्छौं भने कुनै रोग हामी आफैले निम्त्याएका हुन्छौं । सन्तुलित खाना नखाने, जंक फुड बढी खाने, चिल्लो बढी खाने, अनियन्त्रित रूपमा खाने, माछा तथा मासु बढी खाने, व्यायाम नगर्ने, फलफूल नखाने, सागसब्जी तरकारीहरू नखानुले पनि यो रोग लाग्ने सम्भावना धेरै हुन्छ । मोटोपना पनि यसको मुख्य कारण हो । आजभोलि मान्छेले गर्ने काम शारीरिक भन्दा बढी मानसिक हुन्छ । शरीरमा पर्याप्त मात्रामा पानी पुगेको हुँदैन, शारीरिक व्यायाम पनि हुँदैन । यस्तो हुँदा पनि सुगर लाग्ने सम्भावना धेरै हुन्छ । अहिले संसारभरि नै सुगर प्रेसर, कोलेस्ट्रोल, क्यान्सर जस्ता नसर्ने रोग बढ्दै गएको छ । यसको मुख्य कारण हाम्रो आहारविहार र आचारले हो । अहिले व्यक्तिमा अनावश्यक तनाव लिनेक्रम बढेको छ । कुनै पनि काम गर्दा वा बस्दा पनि मान्छे तनाव लिएर बसेको हुन्छ । प्रतिस्पर्धाको समयमा त्योभन्दा बढी मैले कसरी गर्ने भन्ने होड एकातिर छ भने तनावले आजभोलि मधुमेहका बिरामीहरू बढ्दै गइरहेको पाइन्छ । प्रतिस्पर्धाले पनि मान्छेलाई रोगी बनाउँछ भन्छन्, के यो सत्य हो ? अहिले जमाना प्रतिस्पर्धाको छ । त्यसको भन्दा राम्रो मैले कसरी गर्न सक्छु भन्नेमा प्रतिस्पर्धा चल्छ । उसको भन्दा राम्रो गर्न व्यक्तिले ऊभन्दा बढी काम गर्नुपर्छ । थप काम गर्दा उसलाई निन्द्रा पर्याप्त पुगेको हुँदैन भने खानपान पनि मिलिरहेको हुँदैन । त्यसपछि अनावश्य तनावले नसर्ने रोग लाग्नलाई बढी प्रशय दिइराखेको हुन्छ । तनावले सुगरप्रेसर, कोलेस्ट्रोल जस्ता समस्याहरू बढ्न थाल्छ । यस्तो बेला पनि शारीरिक व्यायाम, ध्यान गर्ने, मौसम अनुसारको फलफूल खाने गर्यौं र आफूलाई जति रिल्याक्स बनाउन सक्यौं त्यति यस्ता रोगबाट छुटकरा पाउन सकिन्छ । सुगर भइसकेपछि यसले शरीरका कुन अंगमा असर गर्न सक्छ ? सुगर आफूमा केही होइन तर यो लागिसकेपछि शरीरका अंगमा ठूलो क्षति गर्छ । यसले आँखा, मुटु, किड्नी खराब पार्छ भने नसामा पनि असर गर्छ । यसले मस्तिष्कघात गरेर प्यारालाइसिससम्म गराइदिन्छ । मधुमेहकै कारण अन्धोपन हुने संख्या बढेको छ । भर्खरको लक्का जवानमै मधेमहले ठूलो क्षति पु¥याएको छ । हातकुटा झमझम गर्ने, हातखुट्टा चाहिँ लाटो हुने, एकदम राति झमझम सुत्नै नसक्ने पनि सुगरकै कारण हुन्छ । कहिलेकाहीँ जोर्नीहरू जाम भएर चलाउने नहुने, दुख्ने, कम्मर दुख्ने, घुडा दुख्ने, गर्दन दुख्ने हुन्छ । सुगरले शरीरका सबै अंगमा असर पुर्याउँछ । नेपालमा सुगर रोगको अवस्था कस्तो छ ? पहिलाभन्दा अहिले सुगरका बिरामीको संख्या बढ्दो छ । नेपालमा मात्र होइन, संसारभर सुगरका बिरामीको संख्या बढ्दो छ । भारतको कुरा गर्ने हो भने १०० जनामा ३० जनालाई सुगर छ । नेपालमा पनि १५ देखि २० प्रतिशत बिरामी सुगरका छन् । तर वास्तविक डेटा छैन । अहिलेको बिरामीको लर्को हेर्ने हो भने सुगरका बिरामीको संख्या निकै धेरै हुने सम्भावना छ । अहिले एकातिर संख्या पनि बढेको छ भने सचेत रहनेहरूको संख्या पनि बढेको छ । मान्छेमा चेत पनि आएको हो ? हो, अहिले नागरिक सचेत भएका छन् । सुगरको मात्र होइन, अन्य समस्या हुँदा पनि के भएको हो भनेर सोधपुछका लागि पुग्ने गर्छन् । अहिलेको जेनजी र जेनवाई पुस्ता स्वास्थ्यमा पनि उत्तिकै सचेत छ । तर पनि खानपान जीवनशैली तनाव लगायतका विभिन्न कारण नसर्ने रोगको सिकार भइरहेका छन् । कुन उमेर समूहका व्यक्तिलाई बढी यो रोग लाग्छ ? डाइबिटिज विभिन्न प्रकारको हुन्छ । टाइप वान डाइबिटिज तत्काल जन्मेको बच्चामै देखिएको छ । एक किसिमको डाइबिटिज जन्मदैदेखि सुरु हुन्छ । टाइप टु पहिले ४० वर्ष काटेपछि देखिन्थ्यो भने अहिले २५–३० वर्षको उमेरमै देखिन थालेको छ । अर्को गर्भवती महिलाहरूमा पनि मधुमेह देखिन्छ । भर्गवतीको बेला देखिएको डाइबिटिज बच्चा जन्मेको तीन–चार महिना पछि नर्मलाइज हुन्छ । तर त्यस्ता महिलालाई कालान्तरमा डाइबिटिज हुन्छ । त्यसकारण सुगर भनेको जन्मेदखि मृत्यु हुने बेला चाहिँ कुनै पनि बेला हुन सक्छ । तपाईंले भन्नुभएको टाइप वान/टु मध्ये नेपालीहरुलाई बढी देखिन कुन डाइबेटिस हो ? टाइप वान डाइबिटिज त कम नै छ । टाइप टु डाइबिटिज चाहिँ बढी छ । टाइप टु डाइबिटिज भनेको वयस्कलाई हुने डाइबिटिज हो । यो चाहिँ ३० वर्षमै सुरु हुन्छ । यसको संख्या बढिरहेको छ । अरु डाइबिटिज कम छ । अब त्यसलाई रोक्नको लागि के कस्ता कुरामा ध्यान दिनु पर्यो ? वंशाणुगत रुपमा आएको रोगलाई रोक्न सकिँदैन तर नियन्त्रण गर्न सकिन्छ । तर सुगर हुनबाट रोक्नको लागि आफ्नो आहारलाई कन्ट्रोल गर्नुपर्छ । चिल्लो नखाने, सन्तुलित खाना खाने, कार्बोहाइड्रेट भएको भएको खाना कम खाने, प्रोटिनयुक्त खानेकुरा खाने, फ्याट कम खाने, फलफल खाने, सागपात खाने, पानी प्रशस्त पिउने, टाइममा सुत्ने, धेरै तनाव नलिने अनि आफ्नो वजन कन्ट्रोल गर्नुपर्छ । आफ्नो हाइट अनुसारको तौल नियन्त्रण गर्न सक्नुपर्छ । यो उत्तम उपाय पनि हो । सुगर औषधी खाँदा निको हुन्छ ? सुगरको औषधि खाँदैमा सुगर कन्ट्रोल हुने होइन । सुगरको औषधि खाएर पनि हामीले डाइटमा र शारीरिक व्यायाम गरेनौं भने नियन्त्रण गर्न गाह्रो हुन्छ । सुगरको औषधिलाई काम गर्न दिन हामीले खानेकुरा र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । अर्को कुरा सुगर लागिसकेपछि कन्ट्रोल हुने हो निको हुने होइन । सुगरलाई हामीले एउटा सर्टेन लेभल दायरामा राख्न सक्छौं त्यो हो नियन्त्रण । नियन्त्रण हो, निको होइन । भनेपछि एक पटक सुगर लागिसकेपछि निको हुँदैन ? सुगरको औषधि सुरु गरेको दुई–चार वर्षमा निको भए जस्तो देखिए पनि फेरि भइहाल्छ । सुगर लागिसकेका व्यक्तिले आफू प्रिपेर हुनुपर्यो कि म अब म निको हुदिनँ यसलाई नियन्त्रण गर्न सक्छु भनेर । मलाई सुगर लाग्यो– अब मेरो जिन्दगी छैन भन्ने सोच्ने होइन । हामीले खानपान, जीवनशैली तनाव कम र नियमित शारीरिक व्यायाम गर्ने हो भने २०–३० वर्ष पर धकेल्न सक्छौं । सुगर यस्तो रोग दिर्घरोग हो, जसलाई लिएर मैले औषधि खाइरहनु पर्छ भन्ने मनसाय तयार पार्नुपर्छ । यसको मतलब रोग लाग्नु भन्दा लाग्न नदिनै राम्रो भन्ने मनसाय हरेक नागरिकले बनाउनुपर्यो ? रोग लाग्न नदिनु सबैभन्दा राम्रो । तर लाग्यो भने पनि निराश हुनु पर्दैन । ३० वर्षदेखि औषधि खाँदै आएका व्यक्तिले पनि अंग ड्यामेज नगरेर बसिरहेका छन् । त्यो भनेको सुगर कन्ट्रोल गरेर भएको हो । सुगर कन्ट्रोल गर्न सक्यो भने त्यो अंग ड्यामेज त रोक्न सकिन्छ । अल्टिमेटली हाम्रो उद्देश्यै त्यही हो । सामाजिक सञ्जालले गर्दा पनि पछिल्लो समय विभिन्न रोगहरु निम्त्यायो भन्ने लाग्छ कि लाग्दैन ? एकदम लाग्छ । अहिले व्यक्ति अरूसँग तुलना गरेर दुःखी हुन्छ । हामी टिकटक हेर्छौं राम्रो लगाएको छ, राम्रो गाडी चढेको छ, राम्रो ठाउँ घुमेको छ भने हामीलाई पनि त्यही रहर जाग्छ । यो गलत हो । आफूले आफैलाई हेर्ने हो– मेरो औकात के हो ? मेरो शिक्षा के छ ? मैले के गर्न सक्छु ? कति समय दिन सक्छु ? आदि । अरुसँग तुलना गर्दा आफूलाई उसअनुसार नपाउँदा मान्छेलाई तनाव हुन्छ । तनावले शरीरमा रोग निम्त्याउछ । अभिभावकले आफूलाई र आफ्नो बच्चालाई सुगर हुनबाट रोक्न अहिलेदेखि नै ध्यान दिनुपर्छ । आजभोलिका बच्चाहरूमा मोटोपनाको समस्या बढ्दै गइरहेको छ । सबैभन्दा पहिले अभिभावकले यतापट्टि ध्यान दिनुपर्छ । बच्चाहरूलाई मोटोपनबाट कन्ट्रोल गर्नु पर्छ । त्यस्तै, बच्चाहरूलाई जंकफुड दिने काम पूर्ण रूपमा बन्द गर्नुपर्यो । बच्चाहरूलाई बाहिरको खाने बानी बसाइसकेपछि घरको खाना मन पर्दैन । हामी आफैले जानीजानी रोग निम्ताइरहेका छौं । हामी नसर्ने रोगको जमानामा छौं, अबको भविष्य नसर्ने रोगको जमाना हो । नसर्ने रोग कन्ट्रोल गर्न हामीले आफैले आफूलाई ध्यान दिनुपर्छ ।
एनपीएल दोस्रो संस्करणका सबै खेल अब डिशहोम गोमा मात्र हेर्न सकिने
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) बाट प्राप्त अनलाइन प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले नेपाली प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै ३२ खेल डिशहोम गो एपमार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता कीर्तिपुरस्थित ट्यु क्रिकेट मैदानमा मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ । डिश मिडियाका अनुसार एनपीएल–२ का सबै खेल केवल डिशहोम गो एप र वेबसाइटमार्फत हेर्न सकिनेछन् । युट्युबमार्फत प्रसारण नहुने जनाउँदै कम्पनीले सम्पूर्ण खेल ‘स्वच्छ प्रसारण’ (क्लिन फिड – विज्ञापनरहित) हुने बताएको छ, जसले दर्शकलाई उच्च गुणस्तरको अनुभव प्रदान गर्नेछ । दर्शकले इसेवा, खल्ती, भिसा तथा मास्टरकार्डमार्फत सजिलै भुक्तानी गरी ‘सिजन पास’ खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । मोबाइल, ल्यापटप वा टेलिभिजनमार्फत सुरक्षित रूपमा भुक्तानी गरी, विश्वका जुनसुकै स्थानबाट खेल हेर्न सकिने सुविधा उपलब्ध छ । सदस्यता शुल्क नेपालभित्रका दर्शकका लागि ३०० रुपैयाँ, मध्यपूर्वका दर्शकका लागि ५०० रुपैयाँ तथा अन्य मुलुकका लागि १० अमेरिकी डलर निर्धारण गरिएको छ । एकपटक सदस्यता लिएपछि सम्पूर्ण प्रतियोगिताका प्रत्यक्ष प्रसारण, पुनःप्रसारण तथा अन्य सामग्री हेर्न सकिनेछ । डिशहोम गो सेवा मोबाइल एप (एन्ड्रोइड, आइओएस), एन्ड्रोइड टिभी तथा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ। एप गुगल प्ले स्टोर तथा एप स्टोरमा उपलब्ध छ । कम्पनीका अनुसार एपमा सजिलो दर्ता प्रक्रिया, विज्ञापनरहित प्रसारण तथा खेल सामग्रीमा २४ घण्टा पहुँच सुनिश्चित गरिएको छ । उच्च गुणस्तरको प्रसारणका लागि डिशहोम गोले अन्तर्राष्ट्रिय अनलाइन समाधान प्रदायक ‘मोबायोटिक्स’ तथा विश्वप्रसिद्ध सामग्री वितरण प्रदायक ‘अकामाई’सँग सहकार्य गरेको छ । यी संस्थाहरूले आईसीसी च्याम्पियन्स ट्रफी र आइपिएल जस्ता ठूलो दर्शकसंख्या भएका प्रतियोगितामा आफ्ना प्राविधिक क्षमता प्रमाणित गरिसकेका छन् । डिश मिडिया नेटवर्कका प्रतिनिधिले एनपीएल दोस्रो संस्करणलाई डिजिटल माध्यममार्फत विश्वभर पुर्याउने लक्ष्य राखिएको बताउँदै, लोकप्रिय डिजिटल भुक्तानी माध्यम उपलब्ध गराइएकोले दर्शकका लागि पहुँच अझ सहज बनेको बताएका छन् । अघिल्लो संस्करणमा पनि देश–विदेशबाट उल्लेखनीय चासो प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले एनपीएल–२ हेर्नका लागि डिशहोम गो नै एक मात्र आधिकारिक डिजिटल प्रसारण माध्यम भएको उल्लेख गर्दै, अन्य कुनै पनि माध्यममार्फत प्रसारण नहुने स्पष्ट गरेको छ ।
आइएमई खल्तीको सीईओमा प्रवीण रेग्मी नियुक्त
काठमाडौं । आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण रेग्मीलाई नियुक्त गरेको छ। सोमबार बसेको सञ्चालक समितिको ११औं बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागि आजदेखि लागू हुने गरी नियुक्त गरेको हो । यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सीईओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जरपश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रही संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय थिए । यससँगै कम्पनीका सीईओ विनय खड्का कार्यकाल सकिएपछि कम्पनीबाट बाहिरिएका छन् । खल्ती र आईएमई पेबीच मर्जर भएपछि खड्का खल्ती आईएमई लिमिटेडको सीईओ बनेका थिए । त्यसअघि उनी साबिक खल्तीको सीईओ थिए । डिजिटल वालेट खल्तीलाई उचाइमा पुर्याउन खड्काले महत्त्वपूर्ण भूमिका खेलेका छन्। हाल आईएमई खल्तीको सञ्चालक रहेका रेग्मीले अब कार्यकारी भूमिका निर्वाह गर्नेछन् । यसअघि साबिक आईएमई पेको सीईओ रहेका रेग्मी खल्तीसँग मर्जरपछि कम्पनीको सञ्चालक बनेका थिए । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवं बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ। उनकाे भुक्तानी प्रणाली, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल छ
एलओडी क्लब एनपीलको इन्टरटेनमेन्ट पार्टनर
काठमाडौं । एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको छ । सोमबारदेखि किर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरू हुने एनपीएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो । आइतबार एक कार्यक्रम गरेर क्लबका सीइओ रविन श्रेष्ठ र क्रिकेट एशोशिएसनका सचिव पारस खड्काले सम्झौता गरेका हुन् । एनपीएलको खेल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका सीइओ श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल भइरहेको समय क्लबका डिजेहरूले 'म्युजिक' प्ले गर्ने छन् । क्लबले क्रिकेट रंगशालामा क्याबिन म्युजिक प्ले गर्ने छन् । 'प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ,' उनले भने, 'खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गर्नु क्लबले जिम्मेवारी पाएको छ ।' उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्ने छन् । एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछ । बाँकी ९ खेल दिनमा हुनेछन् । लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ । ठमेलमा रहेको एलओडी क्लब विश्वकै ४४ औँ स्थानमा रहेको छ ।
बुटबलमा जीलीको नयाँ शोरूम
बुटवल । एलआरर मोटर्सले बुटबलमा जीलीको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बुटवलका लागि सोमार्जुन मोटर्सलाई अधिकृत डिलर नियुक्त गरेको हो । सोमबार आयोजित विशेष कार्यक्रमबीच नयाँ सोमार्जुन मोटर्स शोरूम औपचारिक रूपमा उद्घाटन गरिएको हो । कम्पनीले एक वर्षभित्र १४ नयाँ डिलर विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । नयाँ शोरूमले बिक्री, बिक्रीपछिको सेवा तथा स्पेयर पाट्र्ससहित जिलीका आधुनिक ईभी लाइनअप ग्राहकसम्म सहज रूपमा पुर्याउने बताइएको छ । सोमार्जुन मोटर्सका सीईओ अर्जुन पाठकले बुटवलमा बढ्दो ईभी माग पूरा गर्न उच्चस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गरे । यस्तै, कम्पनीका निर्देशक जीवनजंग शाहीले यो साझेदारीले पश्चिम क्षेत्रमा वातावरण–मैत्री आधुनिक सवारी अपनत्व झनै तीव्र हुने विश्वास व्यक्त गरे ।
जेनजी आन्दोलनले ध्वस्त बनेको सिप्रदीको शोरुम ७० दिनमै ठडियो, ग्राहकलाई थप परिष्कृत सेवा दिने दाबी
काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड अन्तर्गतको टाटा मोटर्सको थापाथलीस्थित मुख्य शोरूम ७० दिनमै पुन:निर्माण गरी सोमबारबाट पुनः सञ्चालनमा आएको छ । कम्पनीले सोमबार (आज) रुद्री पूजा र होम गरेर शोरूमको औपचारिक उद्घाटन गरेको हो । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडका महाप्रबन्धक शावन्तजंग सिजापतिले आन्दोलनका क्रममा आफ्नो शोरूम र केही सवारीसाधनमा ठूलो क्षति पुगेको जानकारी दिए । उनले विकासन्युजसँग भने, ‘हामीले सन् २०१६ मा उद्घाटन गरेको यो शोरूम आन्दोलनका क्रममा नराम्ररी प्रभावित भयो । हाम्रा केही गाडी र हाम्रो मुख्य शोरूमको पूर्वाधारमा ठूलो क्षति भयो ।’ महाप्रबन्धक सेजापतिका अनुसार शोरूमको डिस्प्लेमा राखिएका ६ वटा विद्युतीय गाडी (ईभी) पूर्ण रूपमा जलेर खरानी भएका थिए भने अन्य दुईवटा गाडीमा तोडफोड गरिएको थियो । उनले क्षति बाबजुद एउटा सकारात्मक पक्ष पनि औंल्याए । बजारमा विद्युतीय गाडीको ब्याट्रीमा आगो लागे पड्किन सक्छ भन्ने भ्रम फैलिएकोमा जलेका ६ वटै विद्युतीय गाडीका ब्याट्रीमा कुनै बिस्फोट नभएको उनले बताए । यसले विद्युतीय गाडीको सुरक्षाबारेको भ्रम चिर्न मद्दत पुगेको उनको भनाइ थियो । गाडीबाहेक शोरूमको ८० प्रतिशत संरचनामा क्षति पुगेको थियो । क्षतिको बाबजुद ग्राहक सेवामा भने कुनै कमी आउन नदिएको सेजापतिले दाबी गरे । उनका अनुसार कम्पनीका वर्कशपहरू प्रभावित नभएकोले टाटाका गाडी प्रयोग गर्ने ग्राहकहरूले सर्भिसमा निरन्तरता पाएका थिए । बिक्रीतर्फ भने मुख्य शोरूममा क्षति पुगेपछि पछाडिको सानो खाली ठाउँमा अस्थायी शेल्टर बनाएर बिक्री सेवा दिइएको थियो । उनले अब नयाँ ढङ्गले सञ्चालनमा आएको शोरूमबाट पहिलेभन्दा राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाए । कर्मचारीहरूको सुविधामा कुनै कटौती नभएको र उनीहरूलाई बिदा दिनु नपरेको सेजापतिले स्पष्ट पारे । ‘हामीले दुई दिनभित्रै अस्थायी शोरूमबाट काम सुरु गरिसकेका थियौं । हाम्रो काममा कुनै रोकतोक भएन । हामी त जहाँ बसेर पनि काम गर्छौं । तर ग्राहकलाई राम्रो अनुभव होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने । उनले शोरुममा आगजनी भए पनि आफूहरुको मनोबल नखस्किएको बताए । उनले अब थप ऊर्जावान बनेको सुनाए । उनले ४४ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएको सिप्रदी नेपालको सबैभन्दा ठूलो नेटवर्क भएको र कमर्सियल गाडी तथा विद्युतीय गाडी दुवैमा हिस्सा राम्रो रहेको सुनाए । टाटा नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभी जस्ता मोडलको सफलताले कम्पनीलाई पहिलो नम्बर पुर्याएको उनको भनाइ छ । नयाँ शोरूममा ग्राहकका लागि छुट्टाछुट्टै लाउञ्ज र पहिलेभन्दा अझ ग्राहकमैत्री वातावरण सिर्जना गरिएको उनले बताए । सिजापतीका अनुसार भारतमा टाटा सिएराको पुनः लन्चको तयारी भइरहेको र त्यो गाडी नेपालमा पनि ल्याउने जानकारी दिए । सिप्रदीले नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा पुरस्कार प्राप्त गरेको र करिब ८०० स्थायी तथा १५०० अस्थायी कर्मचारीलाई रोजगारी दिएर राष्ट्र निर्माणमा योगदान गरिरहेको उनले उल्लेख गरे । हाल सिप्रदीसँग नेपालभर ३८ वटा डीसी फास्ट चार्जर रहेको र अहिले बजारमा पर्याप्त चार्जर उपलब्ध रहेकाले चार्जिङको समस्या त्यति नरहेको उनले बताए । ग्राहकको मागअनुसार आवश्यक परेका ठाउँमा चार्जिङ स्टेशन थप्न कम्पनी जहिले पनि तयार रहेको उनको भनाइ थियो । सेजापतिले पछिल्लो ७० दिनमा धैर्य धारण गरी अस्थायी शोरूममा आएका सम्पूर्ण ग्राहकहरूलाई टाटा मोटर्सको नयाँ शोरूममा स्वागत गर्न तयार रहेको बताए । सन् २०२२ देखि विद्युतीय सवारी (ईभी) मा आक्रामक बजार विस्तार गरिरहेको सिप्रदी नेपालमा सबैभन्दा धेरै ईभी बेच्ने कम्पनीका रूपमा चिनिन्छ । यो कम्पनी भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हो ।
दूधकोशी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एडीबीलाई मन्त्री घिसिङको आग्रह
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एशियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन् । एडीबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडीबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग सोमबार भएको भेटमा मन्त्री घिसिङले दूधकोशीको वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले यसलाई तत्काल टुंगो लगाइनुपर्ने बताए । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब दुई खर्ब २५ अर्ब रुपैयाँ ) रहेको छ । यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी स्वपुँजीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ । एडीबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुने छ । यसमध्ये एडीबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । आयोजनाको हाल निर्माणपूर्वका तयारीका काम भइरहेका छन् । भेटमा मन्त्री घिसिङले खानेपानी, सडक, सिँचाइ, विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।काठमाडौं उपत्यकाका विभिन्न चोकको ट्राफिक व्यवस्थापनका लागि फ्लाइओभर, सुरुङमार्गलगायतको सम्भाव्यता अध्ययनका लागि आवश्यक सहायता उपलब्ध गराउन घिसिङले आग्रह गरे । उनले एडीबीको सहायतामा सञ्चालित आयोजनामा वन क्षेत्रका जग्गा प्रयोग एवम् रुख कटान, जग्गा प्राप्ति, ऐलानी जग्गाको क्षतिपूर्तिलगायत वातावरणीय तथा सामाजिक सुरक्षणका विषय कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने र कार्यान्वयन गर्ने निकायका संस्थागत क्षमता विकास गर्दै जाने बताए । सहायतामा सञ्चालित आयोजनाको खर्च गर्ने क्षमता बढाउन, जग्गा अधिग्रहण तथा ऐलानी जग्गाको क्षतिपूर्तिमा देखिएको समस्या समाधान गर्न, आयोजना कार्यान्वयन गर्ने निकायको क्षमता अभिबृद्धि गर्न एडीबीकातर्फबाट अनुरोध गरिएको थियो ।