विकासन्युज

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण २८.५० प्रतिशत सम्पन्न, ३ वर्षभित्रै सक्ने लक्ष्य

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण कार्यको प्रगति २८.५० प्रतिशत पुगेको छ । आयोजनाको सुपरीवेक्षणको जिम्मा पाएको काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं यूनिकन्सल्ट सेन्टर’ ले प्रगति २८.५० प्रतिशत पुगेको जनाएको हो ।  २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको भवन निर्माण कार्यको भौतिक प्रगति हालसम्म २८.५० प्रतिसत पुगेको आयोजनाको सुपरीवेक्षण गरिरहेका काठमाडौं युनिकन्सल्टका इन्जिनियर मन्नुप्रसाद चौधरीले जानकारी दिए । पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने म्याद रहे पनि भवन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्शन र रेलिगेर सम्मिलित संयुक्त कम्पनीले तीन वर्षमै सक्ने लक्ष्यसहित काम गरिरहेको आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर चौधरीले बताए ।  आयोजनाको हालसम्मको प्रगति लक्ष्यअनुरुप अगाडी बढेको बताउदै उनले कुनै बाधा अवरोध नभए निर्धारित समय अगावै काम सकिने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं यूनिकन्सल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ माध्यमबाट सुपरीवेक्षणको जिम्मा दिइएको सो आयोजनाको प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले सुपरीवेक्षण गरिरहेको साइट इन्जिनियर शंकर सुवेदीले बताए । निर्माण कम्पनीको १० जना विशेष प्राविधिक सदस्यसहित २२० जना कामदारहरू दैनिक रूपमा खटिएको इन्जिनियर सुवेदीले जानकारी दिए ।  आयोजनाकाअनुसार हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ भने दोस्रो बेसमेन्टको ढलान पनि सकिएको छ । अस्पतालका पुराना संरचना हटाउने काम (साइट क्लियरेन्स) पछि निर्माण शुरु भएको करिव चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको आयोजनाको दाबी छ । पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि ३ वर्ष भित्रै सक्नेगरी कामले तिब्रता पाएको प्राविधिकहरुको भनाई छ । सरकारले दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १ सय ९९ रुपैयाँ रहने अनुमान गरेको छ ।  २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको निर्माण कार्यको म्याद आगामी २०८५ पुस २५ सम्म रहेको छ । निर्माणाधीन नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको छ । यसमा विशिष्टीकृत ग्यास्ट्रो एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका सबै विभागीय सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।   

व्यवसायीलाई भन्सारदेखि कर छुटको सुविधा, बीमा नगरेकालाई पनि राहत

काठमाडौं । सरकारले जेनजी आन्दोलनबाट ठूलो क्षति व्येहोरेका उद्योगी व्यवसायीलाई विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ । सरकारले राजपत्रमा सूचना नै जारी गरेर प्रदान गर्ने सुविधाको विषयमा जानकारी गराएको हो ।  नेपाल सरकार, मन्त्रिपरिषद्ले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विभिन्न सुविधाहरु प्रदान गरेको उल्लेख गरेको छ ।  जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा भएको आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिमध्ये बीमा सर्भेयरको प्रतिवेदनबाट एकिन भएको मालवस्तुको विवरणको आधारमा सोको पुनस्र्थापना तथा सञ्चालनका लागि त्यस्तो मालवस्तु आयात गर्दा लाग्ने भन्सार महसुल तथा अन्तःशुल्कमा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम पचास प्रतिशत छुट दिने राजपत्रमा उल्लेख छ ।  भन्सार महसुल ऐन, २०८१ को अनुसूची – ४ को दफा ६ को उपदफा (३) को खण्ड (च) मा उल्लिखित भन्सार महसुल छुट सुविधा एक पटक उपभोग गरिसकेका तारे होटलहरुमा आन्दोलनका क्रममा क्षति भएको भएमा यसरी क्षति भएका मालवस्तुहरु मध्ये बीमा सर्भेयरको प्रतिवेदनबाट एकिन भएको मालवस्तुको विवरणको आधारमा दोहोरो सुविधा उपलब्ध नहुने गरी सोको पुनस्र्थापना तथा सञ्चालन गर्न पुनः एक पटक त्यस्ता मालवस्तु आयात गर्दा लाग्ने भन्सार महसुलमा भन्सार महसुल ऐन, २०८१ को अनुसूची – ४ को दफा ६ को उपदफा (३) को खण्ड (च) मा उल्लिखित भन्सार महसुल छुट सुविधा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम प्रदान गर्ने बताएको छ ।  यस्तै, कुनै व्यक्तिले आर्थिक वर्ष २०८२÷८३ मा नेपाल सरकारले स्थापना गरेको राष्ट्रिय पुनः निर्माण कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउने गरी खर्च कट्टी गर्न दिन सुविधा पनि प्रदान गरेको छ ।  जेनजी आन्दोलनको क्रममा निोक्सान भएको व्यापार मौज्दातको बीमा नभएको हकमा सर्जमिन मुचुल्का सहितको मूल्याङ्कनका आधारमा सम्बन्धित करदाता स्वयंले सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा जानकारी गराई आयकर ऐन, २०५८ बमोजिमको व्यापार मौज्दातको लागत खर्च कट्टी तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम करकट्टी लिन सक्ने सुविधा प्रदान गर्ने बताएको छ । यस्तै, नेपाल सवारी प्रदुषण मापदण्ड, २०८२ लागू हुनुभन्दा पहिले प्रोफर्मा इन्भ्वाइस जारी भैसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा संवत् २०८२ साल मङ्सिर १५ गतेसम्मका लागि पूर्ववत् मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न वन तथा वातावरण मन्त्रालयले अनुमति प्रदान गर्ने सुविधा सरकारले दिएको छ ।  यस्तै, आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योगी, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका ऋणीले तिर्नुपर्ने साँवा तथा व्याजको भुक्तानी गर्नुपर्ने अवधि थप गर्ने निर्णय पनि सरकारले गरेको छ । आर्थिक गतिविधिको पुनस्र्थापना गरी सञ्चालन गर्न आधार दरमा बढीमा शून्य दशमलव पाँच  प्रतिशत मात्र प्रिमियम थप गरी सहुलियत दरमा कर्जा उपलब्ध गराउने, आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिहरुमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधनको क्षति भइ नयाँ खरिद गर्नुपर्ने भएमा बैङ्क कर्जामा कर्जा मूल्य अनुपात कम्तिमा ८० प्रतिशत हुने व्यवस्था मिलाउने र व्यावसायिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न पेरोल प्रोटेक्सन स्किम ल्याई बैकिङ प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउने भएमा आधार दरमा बढीमा शून्य दशमलव  पाँच प्रतिशत मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्ने र सो कर्जामा राष्ट्रिय पुनर्निर्माण कोषबाट छ महिनाको लागि दुई प्रतिशत अनुदान उपलब्ध गराउने सुविधा पनि दिइएको छ ।  दशैं बिदा बाहेक अन्य बिदाको समयमा व्यापार सहजीकरण गर्ने कार्यालय, बैङ्क तथा वित्तीय संस्था र राजस्व सङ्कलन गर्ने कार्यालयबाट नियमित सेवा सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउन पनि सरकारले सम्बन्धित कार्यालयललाई निर्देशन दिएको छ ।  यस्तै, जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा नोक्सान भएका भवन, सवारी साधन, माल, वस्तु तथा यन्त्र उपकरण लगायतका वस्तुको क्षतिको प्रारम्भिक प्रतिवेदनको आधारमा बीमा बापतको अनुमानित क्षतिको बढीमा पचास प्रतिशतले हुन आउने रकम अग्रिम रूपमा यथाशीघ्र भुक्तानी गर्ने निर्णय सरकारले गरेको छ । यसरी सिर्जना हुने दाबी भुक्तानीको लागि तत्काल सर्भेयर खटाई क्षति एकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउने, बीमा कम्पनीले बिमितलाई दाबी भुक्तानी गर्नका लागि पुनर्बीमा कम्पनीसँग रकम माग गरेको अवस्थामा यथाशीघ्र अग्रिम भुक्तानीका रूपमा बढीमा पचास प्रतिशत सम्म रकम उपलब्ध गराउने व्यवस्था मिलाउने विषय पनि राजपत्रमा उल्लेख छ । 

मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा असोज १० गते काठमाडौंको हात्तिसारस्थित अरण्य बुटिक होटलमा सभा बसेको हो । सभाले सेयरधनीलाई चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, आव २०८१/८२ को नाफा-नोक्सानी हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको छ । साथै, आगामी आव २०८२/८३ का लागि एनविएसएम एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ ।

युनाइटेड अजोडको मुख्य काउन्टर दशैँ विदामा पनि खुला रहने

काठमाडौं । दशैँ बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले सेवाग्राहीहरुका लागि काउन्टर खुला गर्ने भएको छ । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा दशैँ बिदामा पनि काउन्टर खुला रहने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।  यो काउन्टले असोज १३, १४ र १५ गते खुला रहने कम्पनीले जनाएको छ । काउन्टर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ । कम्पनीको अन्य शाखाहरु भने दशैँको विदामा बन्द रहने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । दशैँको समयमा बीमा सेवालाई निरन्तरता दिनको लागि कम्पनीको प्रधान कार्यालयमा काउन्टर सञ्चालन हुने भएकोले ग्राहकले आवश्यक सेवालका लागि सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख गरेको छ । 

जेनजी आनदोलकर्ताले आगजनी गरेपछि गभर्नरका लागि घर खोज्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा.डा. विश्वनाथ पौडलका लागि घर भाडामा लिने भएको छ । गत भदौ २३ गते र भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरुले घरमा आगजनी गरेपछि राष्ट्र बैंकले गभर्नर पौडलका लागि घर भाडामा लिन लागेको हो ।  राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ शंसोधन समेत) को विनियम ९० को उपनियम (१) को व्यवस्था बमोजिम घर भाडामा लिन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।  राष्ट्र बैंकमा ३० वर्ष काम गरिसकेका अधिकारले घर सुविधा लिन पाउने सुविधा छ । तर, कुनै पनि अधिकारीले त्यो सुविधा लिएका नलिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । तर, डा. चिरञ्जिवि नेपाल गभर्नर हुँदा घर भाडामा लिएर बसेको उनले बताए ।  राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडलले घर सुविधा लिने सोच बनाएका थिएनन् । तर, जेनजी आन्दोलनका कारण आगजनी भएपछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो ।  ‘विगतमा डा. चिरञ्जीवी नेपालको पालामा गभर्नरले आफ्नो निवासमा बस्नलाई उपयुक्त नठानेमा सञ्चालक समितिबाट निर्णय गराएर आवास सुविधा लिन सक्ने नीति छ । सोही अनुसार विगतमा कुनै समस्या नहुँदा पनि डा. नेपालले भाडाको घरमा बस्नु भएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘गभर्नर पौडलले घर सुविधा लिने सोच बनाउनु भएको थिएन । तर, यो दुर्घटनापछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो ।’ राष्ट्र बैंकका अनुसार ललितपुर महानगरपालिकाको मखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार तथा जीप पार्किङ गर्न मिल्ने, आरसिसि स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिन लागिएको हो ।  घरमा कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको हुनुपर्नेछ ।  साथै, २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।  ‘प्रस्ताव के–कस्तो आउँछ, त्यो सबै बोलपत्र हेरेर मात्रै थाहा पाइन्छ । प्रस्ताव सञ्चालक समितिमा लगिन्छ । विगतमा १ लाखको हाराहारीमा घर भाडामा लिएको थियो । ७/८ वर्ष अगाडिको मूल्य र अहिलेको मूल्य फरक पर्न सक्छ । तर, विवरण पत्रमा उल्लेख भए बमोजिमको प्रस्ताव आएमा मूल्यको विषय पछि नै तोकिन सक्छ,’ स्रोतले भन्यो ।  

बाई बाई काठमाडौं, ह्याप्पी दसैं (तस्बिरहरु)

काठमाडौं । नेपालीहरूको महान पर्व विजया दशमीको लागि घर जानेहरूको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरूको आइतबार बिहानैदेखि उल्लेख्य भीड छ । काठमाडौंको कलंकी, कोटेश्वर, बालाजु लगायतका नाकाहरूबाट बाहिरी जिल्ला जानेहरू बिहानैदेखि सडकमा उभिएका थिए ।  दशैँ, तिहार लगायतका पर्वहरू मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने, अध्ययन गर्नेहरू फर्किरहेका छन् । जसकारण पनि काठमाडौंमा सवारी ट्राफिक कम हुँदै गएको छ । केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरू अलपत्र परेका छन् । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरूको गुनासो छ । दशैँ मनाउन घर जान हिँडेका नागरिकहरूको तस्बिर आजको फोटो फिचरमा । 

जेनजी प्रदर्शन : बनेपा नगरपालिकामा १० करोडको क्षति

काभ्रेपलाञ्चोक । गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनीबाट बनेपा नगरपालिमा करिब रु १० करोडबराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उक्त रकमबराबरको क्षति भएको जनाइएको हो । प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रूपमा क्षति भएको नगरले जनाएको छ । नगरको मूल्याङ्कनअनुसार तीनतले प्रशासनिक भवनको पहिलो तलामा रहेको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रशासन, सहकारी तथा सामुदायिक विकास, राजस्व, जिन्सी, दर्ता चलानी शाखा, पुरुष र महिला शौचालय तथा शाखाका कार्यकक्षभित्र रहेका महत्त्वपूर्ण अभिलेख तथा दस्तावेज पूर्ण रूपमा नष्ट भएको छ । विसं २०४३ मा निर्माण भएको उक्त मुख्य भवनको ह्रासकट्टीसहितको प्राविधिक मूल्याङ्कनमा रु पाँच करोड ४२ लाख ५४ हजार ४८७ क्षति भएको जनाइएको हो ।   त्यसैगरी, दोस्रो तलामा रहेका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, गोप्यकक्ष, सचिवालय कक्ष, न्यायिक समितिको इजलास कक्ष, कानुन, शिक्षा, लेखा शाखा र दुईवटा शौचालय जलेर पूर्ण रूपमा नष्ट भएको पूाविधि मूल्याङ्कनमा उल्लेख गरिएको छ । यस्तै तेस्रो तलामा रहेको आन्तरिक लेखा परीक्षण, जिन्सी गोदाम कक्ष र लेखा शाखाका सबै अभिलेख रहेको कक्षसहित सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ ।    योजना र प्राविधिक शाखा रहेको भवनका सबै शाखा तथा कार्यकक्ष र त्यहाँका सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । सुरक्षा गार्ड र स्तनपान कक्ष रहेको भवनभित्रका सबै शाखा पनि जलेर नष्ट भएको उल्लेख गरिएको छ । मिनीट्रक रु ४९ लाख ५० हजार, तीन ट्याक्टरको रु ४५ लाख, एक टिपरको रु २५ लाख ९० हजार, एक मोटरसाइकलको रु एक लाख ४२ हजार ९००, दुई कारको रु २३ लाख, एक जीपको रु पाँच लाख आठ हजार २६८, पाँच साइकलको रु ५० हजार क्षति भएको छ । डेक्सटप कम्प्युृटर सेट ४४, ल्यापटप १६, ट्याबलेट १४, २१ मोबाइल, ५३ प्रिन्टर, डिजिटल क्यामेरा तीन, भिडियो क्यामेरा एक, टेलिभिजन तीनलगायत ६१ प्रकारका सामानको मूल्य रु आठ करोड २२ लाख ४९ हजार ५३१ बराबरको क्षति भएको उल्लेख छ ।   त्यस्तै, खर्च भएर जाने एक सय ४९ प्रकारका जिन्सी सामान जलेकामा रु १४ लाख ६० हजार क्षति भएको जनाइएको छ । विपद् प्रकोप व्यवस्थापनसम्बन्धी सम्पूर्ण सामग्री, सहरी तथा वातावरणीय सुधार परियोजनाका सामग्री तथा पुरातात्विक सामानसमेत पूर्ण रूपमा जलेर नष्ट भएका छन् । पुरातात्विक सामान पितलको कोपडा, चार धलौटका घण्टी, सिला भएको सूर्यनारायणको मूर्ति, ढुङ्गाको शिलापत्र, ढुङ्गाको मुखुण्डो, धलौटको सिनमुलगायत सामग्री चोरी भएको उल्लेख गरिएको छ । नगर कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नको पहिचान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए । हाल बनेपा १० नं वडा कार्यालयमा नगर कार्यालय व्यवस्थापन गरी सेवा प्रवाह गरिएको छ । रासस

‘इभी’ सवारी साधान दुर्घटनामा १७ जना घाइते

काँक्रेविहार । नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरका इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि मल्ल सहित जुम्ला चन्दननाथ नगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र दमाई, जुम्ला सिंजा गाउँपालिका–५ का २८ वर्षीय महेन्द्र शाही, वीरेन्द्रनगर नगरपालिका–३ का ३८ वर्षीय लालबहादुर शाही, २७ वर्षीया लक्ष्मी कठायत, वीरेन्द्रनगर–११ का ३८ वर्षीय नरेश शाही घाइते भएका छन् । त्यसैगरी, अन्य घाइतेहरूमा लेकबेँसी नगरपालिका–६ का ३५ वर्षीय पर्शुराम घर्तीमगर, दैलेख दुल्लु नगरपालिका–६ का २३ वर्षीय शम्सेर खड्का, दुल्लु–११ कै ३० वर्षीया लक्ष्माण कार्की, जुम्ला सिंजा गाउँपालिका–३ का २४ वर्षीया राज्यलक्ष्मी हमाल, दैलेख दुल्लु नगरपालिका–१० का २६ वर्षीय गणेश योगी, कालीकोट पचाल झरना गाउँपालिका–३ का २२ वर्षीय रोशन विक, जुम्ला सिंजा गाउँपालिका–४ का २२ वर्षीय ऐन रोकाय, १६ वर्षीया रक्षा धिताल, वडा नं ५ की २२ वर्षीय विष्णु शाही, मुगु सोरु गाउँपालिका–९ का ३२ वर्षीय दिनेश शाही, जुम्ला चन्दननाथ –१ का २१ वर्षीय श्री परियार घाइते प्रहरी उपरीक्षक रिमालले जानकारी दिए । घाइते सबैको उपचार भइरहेको छ ।