४५ हजार ६८० मत ल्याएर झापा १ मा रास्वपाकी निशा डाँगी विजयी
काठमाडौं । झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी निर्वाचित भएकी छिन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले १० हजार चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ८३ हजार ८२२ मत खसेको थियो भने ७ हजार ७७ मत बदर भएको उनले बताए ।
ताप्लेजुङमा एमालेका क्षितिज थेवे निर्वाचित
काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे निर्वाचित भएका छन् । थेवेले १३ हजार ९६२ मत पाउँदै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तम्वाहाङ लिम्बुले ११ हजार ७११ मत पाए । यस्तै नेकपाका खेल प्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत पाए भने रास्वपाका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाए । ताप्लेजुङमा जम्मा ४५ हजार ५८३ मत खसेको थियो । अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।
नेपालको पहिलो आँखा अस्पताललाई बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार
काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई यस वर्षको बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा सम्मानित गरिएको छ । केन्द्रीय मानन्धर सङ्घ नेपालको ७३औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रा. जगदिश नारायण मानन्धरले आँखा अस्पताल त्रिपुरेश्वरका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंलाई उक्त पुरस्कार हस्तान्तरण गरे । ५२ वर्षअघि नेपालमा पहिलो आँखा अस्पतालको रूपमा स्थापित उक्त अस्पतालले स्थापनाकालदेखि समुदायलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको योगदानस्वरूप सम्मान गरिएको हो । अस्पतालमा हाल १६ जना पूर्णकालीन नेत्र विशेषज्ञ र ४ जना ‘फेलो नेत्र विशेषज्ञ’ समेत गरी १५० जना कार्यरत छन् । अस्पतालले दिएको जानकारी अनुसार बहिरङ्ग सेवामा वार्षिक करिब २ लाख बिरामीको उपचार र १५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरिन्छ । अस्पतालले सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत वर्षैभरी निःशुल्क आँखा परीक्षण, निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया शिविर, विद्यालयस्तरीय दृष्टि परीक्षण तथा चस्मा वितरण र डायबेटिक रेटिनोपेथी परीक्षण तथा छनौट शिविर सञ्चालन गर्दै आइरहेको छ ।
एमालेका आचार्यलाई पराजित गर्दै पाल्पा-१ मा कांग्रेसका राना निर्वाचित
काठमाडौं । पाल्पाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका सन्दीप राना विजयी भएका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई पराजित गर्दै विजयी भएका हुन् । उनले १८ हजार ३३६ मत प्राप्त गर्दा एमालेका आचार्यले आचार्यले १६ हजार ८१९ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरे ।
५० हजार ९४५ मतसहित नवलपुर-१ मा रास्वपाका गौतम निर्वाचित
काठमाडौं । नवलपरासी (बर्दघाट(सुस्तापूर्व) निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ५० हजार ९४५ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भागिरथ सापकोटाले ९ हजार १३१ र श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले १ हजार ७०२ मत प्राप्त गरे । यस्तै, नवलपरासी (बर्दघाट(सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा पनि रास्वपाका उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खनाल ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन । नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका छन् ।
लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै
काठमाडौं । लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका आक्रमण र झडपमा मृत्यु र घाइतेको सङ्ख्या बढेको छ । लेबनानको पूर्वी क्षेत्रमा शनिबार भएको झडपमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घटनास्थल नबी चित-हाम क्षेत्रमा चार इजरायली हेलिकोप्टरले अवतरण गरेपछि हिजबुल्लाहका लडाकूहरूले उनीहरूलाई भेट्टाउँदै गोलीबारी गरेका थिए । स्थानीय बासिन्दाहरू पनि यस झडपमा सहभागी भएका थिए । इजरायली सेनाका फाइटर जेट र हेलिकोप्टरले उक्त क्षेत्रमा करिब ४० हवाई आक्रमण सञ्चालन गरेका थिए । झडपमा लेबनानी सेना, सुरक्षा कर्मी र सामान्य नागरिकहरू मारिएका थिए । यस अघि शुक्रबार इजरायली हवाई सेनाले नबी चित र वरिपरिका क्षेत्रमा १३ हवाई आक्रमण गरेका थिए । यो घटनाक्रम हिजबुल्लाहद्वारा सोमबार इजरायलतर्फ प्रक्षेपित गरिएका रकेटपछिको पहिलो ठूलो द्वन्द्व हो ।
मध्यपूर्वमा तनाव चर्किँदै, इजरायल र अमेरिकी अड्डामा इरानको आक्रमण
काठमाडौं । इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ठूलो आक्रमण गरेको दाबी गरेको छ । क्षेत्रीय युद्ध दोस्रो सातामा प्रवेश गर्दा तनाव झन् बढेको छ । इरानी सेनाले जारी गरेको विज्ञप्ति अनुसार इरानी नौसेनाले ‘ठूलो लहर’ मा आक्रमण गर्दै अमेरिकी सैन्य अड्डा तथा इजरायलका रणनीतिक स्थानहरूलाई निशाना बनाएको हो । यो जानकारी सरकारी समाचार संस्था इरानको आधिकारिक समाचार एजेन्सी मार्फत सार्वजनिक गरिएको थियो । विज्ञप्तिमा संयुक्त अरब इमिरेट्सको अल-मिन्हाद सैन्य अड्डा र कुवेतस्थित अर्को अमेरिकी सैन्य अड्डा लक्ष्य बनाइएको उल्लेख छ । साथै इजरायलको एक रणनीतिक संरचना पनि आक्रमणको निशानामा परेको दाबी गरिएको छ । पछि इरानको इस्लामिक क्रान्तिकारी गार्डले पनि संयुक्त अरब इमिरेट्सको अल-धाफ्रा हवाई अड्डामा आक्रमण गरिएको जनाएको छ । अर्ध सरकारी समाचार संस्थाका अनुसार उक्त आक्रमणमा अमेरिकी वायु युद्ध केन्द्र, उपग्रह सञ्चार केन्द्र, प्रारम्भिक चेतावनी रडार तथा फायर नियन्त्रण रडारहरू निशाना बनाइएका थिए । मध्यपूर्वमा अमेरिका र इजरायलले इरानमा हवाई आक्रमण गरेका थिए । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएका थिए । त्यसयता इरानले इजरायल र क्षेत्रभर रहेका अमेरिकी हितहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा अन्य आक्रमणहरू गर्दै आएको बताइएको छ ।
देशभर मतगणना जारी, हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म विभिन्न ८३ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् । यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् । रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित डा. लेखजङ्ग थापा ५० हजार ३७९ मतान्तरले विजयी भएका छन् । उनले ५८ हजार ८१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले आठ हजार ४३५ मत प्राप्त गरे । रुपन्देही क्षेत्र नं २ बाट रास्वपाका सुलभ खरेल ४३ हजार ६८९ मतान्तरले विजयी भएका छन् । खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरे। मोरङ निर्वाचन क्षेत्र नं ६ बाट रास्वपाका उम्मेदवार रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी छन् । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा. शेखर कोइराला १२ हजार ८५० मतसहित दोस्रो स्थानमा सीमित भए । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याएर विजयी भएका छन् । उनका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गरे। उच्च मतान्तरले विजयी हुने उम्मेदवारमा धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयीभएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र नीतिले १६ हजार ६५२ मत प्राप्त गरे । महोत्तरी क्षेत्र नं १ बाट रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणी पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरे । बारा क्षेत्र नं ३ मा रास्वपाका अरबिन्द साह ३० हजार ६४५ मतान्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन् । बारा निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका रहवर अंसारी ४१ हजार २०० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरे । जुन २९ हजार ५६१ को मतान्तर हो । पर्सा निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरे। काठमाडौं निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीले छ हजार ३६४ मत ल्याउँदा नौ हजार ९१ मतान्तरसहित न्यौपाने विजयी भएकी हुन् । काठमाडौं निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरे । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ सात हजार ५८५ मतान्तरले पछि पर्दै ११ हजार १७१ मत प्राप्त गरे । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका पुकार बम २९ हजार १४२ मतसहित विजयीभएका छन् । उनी २० हजार ३१८ मतान्तरसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिव तिमल्सेनाको आठ हजार ८२४ मत छ । काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार १५९ मत प्राप्त गरे । त्यस्तै निर्वाचन क्षेत्र नं ७ मा रास्वपाका उम्मेदवार गणेश पराजुली २७ हजार ८०५ मतसहित विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंको भन्दा २३ हजार ८२३ मत बढी प्राप्त गरे । काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गरे । निर्वाचन क्षेत्र नं ९ मा रास्वपाका डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गरे । काठमाडौं निर्वाचन क्षेत्र नं १० मा रास्वपाका उम्मेदवार प्रदिप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीको भन्दा विष्टको मत २९ हजार ४६९ ले बढी हो । कार्कीले आठ हजार १०० मत प्राप्त गरे । भक्तपुर निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रुकेश रञ्जित ३३ हजार ४३६ मतसहित विजयी भएका छन्। उनी पाँच हजार २८९ मतान्तरले विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको २८ हजार १४७ मत रहेको छ । ललितपुर निर्वाचन क्षेत्र नं १ मा रास्वपाका बुद्ध रत्न महर्जन २३ हजार ३७३ मतसहित विजयी भएका छन् । महर्जन नौ हजार ८५३ मतान्तरसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उदयशम्शेर राणाले १३ हजार ५२० मत प्राप्त गरे । चितवन निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भएका छन् । उनी ३९ हजार ८३८ मतान्तरसहित विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरे । यसरी निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश प्रतिनिधि ठूलो मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेस तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस का उम्मेदवार सन्तोष सुब्वा ११ हजार ५६१ मतसहित विजयी भएका छन् । उनी ८७९ मतान्तरसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गरे । मनाङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ दुई हजार ४१५ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ले ४५४ मत प्राप्त गरे। त्यस्तै, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित विजयी भएका छन् । उनीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का इन्द्रधारा विष्टले एक हजार ८०६ मत प्राप्त गरे । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार वासना थापा १२ हजार ३७२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे । डोटी निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरे । त्यस्तै, अछामको निर्वाचन क्षेत्र नं १ बाट १० हजार ७५९ मतसहित भरतकुमार स्वाँर, सुर्खेतको क्षेत्र नं १ बाट २६ हजार ८९७ मतसहित विष्णुबहादुर खड्का, जाजरकोटको क्षेत्र नं १ बाट २० हजार १४२ मतसहित खड्कबहादुर बुढा र कपिलवस्तुको निर्वाचन क्षेत्र नं ३ बाट २३ हजार ५३५ मतसहित अभिषेक प्रताप शाह निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मोहम्मद इश्तियाक राई २४ हजार ६२८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्की रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गरे । बझाङ निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार ऐनबहादुर महर १८ हजार ५४३ मत ल्याएर विजयी भएका छन् । उनीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत ल्याए । दैलेख क्षेत्र नं २ बाट लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित भएकी छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम (पूर्वी भाग) निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल १० हजार २४० मतसहित विजयी भएका छन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले तीन हजार ४६२ मा प्राप्त गरे । त्यस्तै, रोल्पाको निर्वाचन क्षेत्र नं १ बाट वर्षमान पुन २७ हजार ४६० मतसहित निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन् । शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग तीन हजार १८१ मतान्तरसहित निर्वाचित भएका हुन् । स्वतन्त्र उम्मेदवार म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० महतसहित विजयी भएका छन् । उक्त निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार हरीकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले समान छ हजार ६७६ मत प्राप्त गरे । पुन १४ हजार ९३१ मतान्तरसहित विजयी भएका हुन् ।