विकासन्युज

यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले सेयर प्रिमियममा आईपीओ जारी गर्ने निर्णय गरेको हो । आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते दिउँसो ३ बजे रजिस्टर्ड कार्यालय तिलगंगा काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।  सभाले कम्पनी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने छ ।  सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति र कार्य योजना पारित गर्नेछ । 

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले असोज २६ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले असोज २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोष र १ लाख २३ हजार ९७५ कित्ता कर्मचारीलाई बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँको २५ लाख १० हजार ४९३ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्नेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए कात्तिक ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।   

डेडिकेटेड-ट्रंकलाइन महसुल: उद्योगीलाई कात्तिक १७ गतेको अल्टिमेटम, २८ महिनाको किस्ता

काठमाडौं । लामो समयदेखि विवादित र गिजोलिँदै आएको डेडिकेटेड र ट्रंकलाइनको विषय फेरि उठेको छ । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई कात्तिक १७ गतेभित्र महसुल बुझाउन अल्टिमेटम तोकेको छ । प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत सप्लाइ लिएका उद्योगी व्यवसायीहरूलाई कात्तिक १७ गतेसम्म बक्यौता विद्युत महसुल बुझाउन ताकेता गरेको हो ।  यसअघि डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेवापत विसं २०७२ माघदेखि विसं २०७५ वैशाखसम्मको विद्युत महसुल बक्यौता रहेका ग्राहकलाई प्रशासकीय पुनरावलोकनको लागि २०८२ जेठभित्र निवेदन दिन सक्ने म्याद कायम गरेको थियो ।  तर, असोज १० गते प्राधिकरणमा बसेको सञ्चालक समितिको बैठकले सो म्याद कायम गर्ने निर्णय तथा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारबाहीहरू बदर गरेको हो । साथै, असोज १० गतेको बैठकले २०८१ असार ३१ गते, असोज २४ गते र कात्तिक २९ गतेको सूचना अनुसार नै २१ दिन समय थप गरेर आगामी कात्तिक १७ गतेभित्र भुक्तानी गर्न समयावधि थप गरेको प्राधिकरण संचालक समितिले निर्णय गरेको हो ।  मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरूलाई बढीमा २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । यदि कात्तिक १७ गतेभित्र बक्यौता महसुल बुझाउन नआएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । 

रिभर फल्स पावरले थप्यो हकप्रद सेयरमा आवेदन दिने समय

काठमाडौं । रिभर फल्स पावरको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ । भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरुले अब असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको १ प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका ७० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

सिटि होटलको हकप्रद सेयरमा आवेदन दिने समय लम्बियो

काठमाडौं । सिटि होटलको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । गत भदौ २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । ​​ हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

२ लाख ६७ हजारले उपत्यका छोडे, काठमाडौंको जाम घट्यो, राजमार्गमा बढ्यो

काठमाडौं । असोज ६ गते घटस्थापनाका दिनदेखि शनिबारसम्म २ लाख ६७ हजार ४४१ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । अध्ययन/अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौं आएकामध्ये शनिबार ११ गतेसम्म २ लाख ६७ हजार ४४१ जनाले काठमाडौं उपत्यका छोडेका प्रहरीले जनाएको छ ।  नागरिक उपत्यका छोडेर गृह जिल्लातर्फ जान थालेपछि अहिले उपत्यकामा सवारी चाप क्रमिक रूपमा घट्दै गएको छ भने राजमार्गमा सवारी चाप बढ्दै गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । असोज ६ गते (घटस्थापना) का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४, असोज ८ गते ५७ हजार ५५९, असोज ९ गते ५६ हजार ९०६, असोज १० र ११ गतेसम्म ७२ हजार २३९ जनाभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छोडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए ।  ‘काठमाडौंबाट बाहिरिनेको सङ्ख्या बढ्दो क्रममा छ । ठूलो सङ्ख्यामा नागरिक र सवारीसाधन बाहिरिन थालेपछि राजमार्गमा सवारी चाप बढ्दो छ,’ उनले भने ।​​​ घटस्थापनाका दिनदेखि शनिबारसम्म काठमाडौं उपत्यकाबाट ४५ हजार ४९३ सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।  यसैगरी घटस्थापनाका दिनदेखि शनिबारसम्म काठमाडौं उपत्यकामा ४१ हजार ५१४ वटा सवारीसाधन भित्रिएका छन् भने कूल १ लाख ५६ हजार ७८६ जना यात्रुहरू काठमाडौं भित्रिएका प्रहरी उपरीक्षक सुवेदीले बताए । उनका अनुसार यो तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट गन्तव्यस्थलतर्फ  गएका र भित्रिएका यात्रुरूको हो । 

अब ३० हजार रुपैयाँमै चिन, नेपाल एयरलाइन्सले सुरु गर्यो ग्वाञ्जाओमा सिधा उडान

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौं-ग्वाञ्जाओ-काठमाडौं नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भएको हो । ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी विभिन्न क्षेत्रका व्यक्ति तथा केही सङ्ख्याका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेको अवस्थामा उडान रद्द भएको थियो । विमानस्थल पुगेका यात्रुलाई निगमले व्यवस्थापन गरेको थियो । निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार काठमाडौंबाट शनिबार दिउँसो ग्वाञ्जाओ उडेको विमान ग्वाञ्जाओबाट एक सय सात यात्रु लिएर आइतबार काठमाडौं फर्किएको छ । पूर्वनिर्धारित तालिका बमोजिम नै ग्वाञ्जाओमा नियमित उडान हुनेछ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान पनि तय भएको छ । त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ । काठमाडौं-ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ । नेपालीहरूको बाहुल्यता रहेको ग्वाञ्जाओ  उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ ।  हाल नेपाल वायुसेवा निगमसँग रहेका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुवई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ ।

दिउँसो पहाडमा साधारण र अन्य ठाउँमा आंशिक बदली,कोशी र बागमतीमा भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाका सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।