
नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा चालु आर्थिक वर्षको १० महिनामा करिब २१ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका संघीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार ४ सय ५० रुपैयाँ राजस्व संकलन गरेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा संकलन भएको राजस्वमध्ये संघीय सरकारलाई जाने राजस्वतर्फ २० अर्ब ५० करोड ६९ लाख ५५ हजार ७ सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने ४५ करोड १८ लाख ८ हजार ६ सय ७९ रुपैयाँ संकलन भएको जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालय कावासोतीले २० अर्ब ३३ करोड ८० लाख ९७ हजार ७ सय ३२ रुपैयाँ राजस्व संकलन गरेको महतोले जानकारी दिए ।
यसैगरी, संघीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले ८ करोड ३९ लाख ५१ हजार १ सय २०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले २ करोड ४२ लाख एक हजार ७ सय ११, जिल्ला अदालत नवलपुरले १ करोड ५७ लाख ७७ हजार ७ सय ९९, त्रिवेणी भन्सार कार्यालयले १ करोड ५८ लाख ५१ हजार ६ सय ४७ राजस्व संकलन गरेका महतोले बताए ।
जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये यस वर्षको वैशाख मसान्तसम्ममा यातायात व्यवस्था कार्यालयले २५ करोड ६९ लाख ३९ हजार २ सय २७, मालपोत कार्यालयले १२ करोड ९१ लाख ६१ हजार ६ सय २७, डिभिजन वन कार्यालयले ४ करोड ५२ लाख ८१ हजार ८ सय ५४ राजस्व संकलन गरेका छन् ।