विकासन्युज

होटल सरोवर र किगंस लाउन्जमा प्रभु बैंकका ग्राहकलाई छुट हुने

पोखरा । होटल सरोवर र किगंस लाउन्ज पोखरामा प्रभु बैंकका ग्राहकलाई छुट हुने भएको छ । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर र किगंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरू लक्षित गरी उपलब्ध सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको हो । मंगलबार छुट्टाछुट्टै समारोहकाबीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किगंस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रवन्धक अजय नकर्मी र बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवामा छुट प्राप्त गर्न सक्नेछन् । किगंस लाउन्ज पोखरामा उपलब्ध सेवाहरू जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुविधामा छुट प्राप्त गर्न सक्नेछन् । साथै बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

रहरले भन्दा बाध्यताले उच्चशिक्षा हासिल गर्दै विद्यार्थी

काठमाडौं । उच्च शिक्षा हासिल गर्ने अधिकांश विद्यार्थी रहरले भन्दा बाध्यताले अध्ययन गरिरहेको पाइएको छ । राइटपाथ करियर लामो समयदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श कक्षाहरु सञ्चालन गर्दै आएको राइटपाथ करियर काउन्सिलिङले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा गरिएको अन्तर्क्रीयामा यस्तो पाइएको हो । काउन्सिलिङले काठमाडौं,धनकुटा, हेटौडा, चितवन, बुटवल, दाङ र ललितपुर ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ गरेको छ । ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा उच्चशिक्षा हासिल गर्ने विद्याथीलाई कस्ता विषयहरू पढ्ने यसको सही सूचना कसरी पाउने भन्नेबारे जानकारी गराइएको छ । परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै परीक्षा पछिको तीन महिना खेर नजाओस् भन्ने उदेश्यले सञ्चालन गरेको कनक्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरुको समेत सहभागीता थियो । उनीहरूले विद्यार्थीलाई अष्ट्रेलिया, बेलायत, क्यानडा, कोरिया, डेनमार्क, युएई लगायत विभिन्न देशको शैक्षिक अवस्थाबारे जानकारी गराएका थिए । वैशाख २९ गते काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडकबाट सुरु भएको ’ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ ललितपुरको कुमारीपाटी शाखामा आएर सम्पन्न भएको हो । कनक्लेभमा गायीका अन्जु पन्त र मिस नेपाल २०१६ तथा राइटपाथकी ब्राण्ड एम्बास्डर अश्मि श्रेष्ठको पनि सहभागीता थियो ।

झापाको भद्रपुरमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा गरि बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले नयाँ शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । हाल बैंकको २७२ शाखा कार्यलय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २६५ वटा एटीएम रहेको बैंकले जनाएको छ ।

सिटी एक्सप्रेसले दुबईमा गर्यो सांगीतिक कार्यक्रम

दुबई। सिटी मनी ट्रान्सफरले दुबईमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । सिटी एक्सप्रेसले युएईस्थित बरदुबईको एस् के-७ क्लबमा ‘उत्सव र उमंग, सिटी एक्सप्रेस सँग’ शीर्षकमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्याएको बताए । कार्यक्रममा टण्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरुको कमाईलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। साथै, कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको पनि उनले व्यक्त गरे । सांगीतिक कार्यक्रमले क्लबलाई उल्लासमय बनाएको थियो । नेपालका प्रसिद्ध कलाकारहरुले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारे । चर्चित हाँस्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर जितु नेपालको प्रस्तुति दर्शकले निकै रुचाएका थिए । यस्तै, चर्चित आधुनिक गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो । लोकप्रिय लोक दोहोरी गायक खेम सन्चुरी र गायिका शान्ती श्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन् । सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा प्रयोग गरेर युएईबाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

कैलाश सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो

धनुषा । दोहोरो नागरिकता लिएको आरोपमा मंगलबार साँझ पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराइएकाे छ । उनलाई मंगलबार साँझ काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो । मंगलबार राति नै धनुषा लगिएका सिरोहियालाई अनुसन्धान गर्न म्याद थपका लागि प्रहरीले अदालतमा पेस गरेको हो । सिरोहिया पक्राउको विरोधमा बुधबार जनकपुरमा प्रदर्शनसमेत भएको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई आइएनजीए सपिङ कमप्लेक्समा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र आइएनजीए सपिङ कमप्लेक्सबीच समझदारी भएको छ । बैंक र तिलोत्तमा, मनिग्रामस्थित आइएनजीए सपिङ कमप्लेक्स प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले आइएनजीए सपिङ कमप्लेक्समा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवम् प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण पर्वतीय देशहरूमा देखापरेका समस्या सम्बोधन हुनुपर्ने बताए । उनले जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूको योगदान न्यून भए पनि त्यसको असर भयावह रहेको समेत बताए । ‘हामीमाथि गरिएको यो भयावह अन्यायका कारण हाम्रा देशका नागरिक र पर्वतीय पारिस्थितिकी प्रणाली जलवायु–प्रेरित प्रकोपले गम्भीर रूपमा प्रभावित भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जोडदारसँग हामी न्यायको माग गर्दछौँ ।’ स्थानीय नेतृत्वमा विज्ञानमा आधारित पर्याप्त, पूर्वानुमानयोग्य र पहुँचयोग्य कोष र प्रविधिको वितरण आवश्यक भएकामा जोड दिँदै प्रधानमन्त्री दाहालले समान र पारदर्शी तवरले हानी र क्षति कोषको पूर्णसञ्चालन गर्ने विषयले प्राथमिकता पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पर्वतमा बसोबास गर्ने सबैभन्दा कमजोर महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जनजाति र स्थानीय समुदायलाई जलवायु कार्यको प्राथमिकतामा राख्न अनुरोध गर्दछौँ ।’ नेपालले पेरिस सम्झौताप्रति पूर्णप्रतिबद्धका साथ विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्षअघि सन् २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए । ‘स्वच्छ ऊर्जा सुरक्षित गर्न हामी जलविद्युत् सम्भावनाको पूर्णउपयोग गर्नेछौँ । विश्ल्व्यापी लक्ष्यभन्दा पहिले नै ४५ प्रतिशत वन क्षेत्रको जमिन सुरक्षित गर्दैछौँ,’ प्रधानमन्त्री दाहालले भने । उनले जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीको सामना गर्न सहकार्य गर्नपर्ने आवश्यकतासमेत औँल्याए । ‘पर्वत, पर्वतीय सभ्यता, पर्वतीय पारिस्थितिकी प्रणाली र पर्वतीय बासिन्दाको संरक्षण र प्रवर्द्र्धन गर्नका लागि हाम्रो सामूहिक प्रयासमा सामेल होऔँ । यहाँ जलवायु परिवर्तनले ल्याउने साझा चुनौती समाधान गर्न सहकार्य र एकता जुटाउने प्रयास गरौँ,’ उनले भने । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गत वर्ष नेपाल भ्रमण गरेर जलवायु परिवर्तनका प्रभावको सामना गरिरहेका स्थानीय समुदायबाट प्रत्यक्ष जानकारी संकलन गरेको भन्दै प्रधानमन्त्री दाहालले वातावरणीय संकटलाई सम्बोधन गर्न महासचिवले गरेको अपिलको प्रशंसा गरे । यस संवादले पर्वतीय देशका सरकार, सरोकारवाला र तिनिहरूका सहयोगीलाई पर्वतीय–जलवायु चिन्ता र समाधानबारे बुझ्न, विशेषज्ञता र अनुभवहरू साझेदारी गर्न तथा तालमेल गर्न सक्षम बनाउने प्रधानमन्त्रीको विश्वास छ । उनले ‘युएनएफसिसिसी’ को जलवायु वार्ता समूहहरूको एलडिसी समूह, जि–७७, चीन र अन्य निकायबीच तालमेल र सहयोगको महत्व बिर्सन नहुनेमा जोड दिए ।

राईटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ सम्पन्न

काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंबाट सुरु भएको ‘ग्राण्ड एजुकेसन कनक्लेभ २०२४’ ललितपुरको कुमारीपाटी शाखामा मंगलबार सम्पन्न भएको छ । गत वैशाख २९ गते काठमाडौंमा सम्पन्न गरिसकेपछि वैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र आज जेष्ठ ८ गते ललितपूरमा सम्पन्न भएको हो । पहिलोदिन काठमाडौंमा भएको जस्तै आज अन्तिम दिनसम्म ललितपुरको आफ्नै प्राङ्गणमा आइपुग्दा विद्यार्थीहरुमा चाहेर वा बाध्यताले उच्चशिक्षा हाँसिल गर्न जाने चाहना र रुची बढ्दो देखिन्छ ।  ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । सोही अवसरमा विभिन्न देशका विश्वविद्यालयको स्कलरसिप देखि ६ हजार पर्ने आईएल्स मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफर विद्यार्थीहरुलाई प्रदान गरिको थियो । त्यस्तै विद्यार्थीहरुका लागी शतप्रतिशत प्रोसेसिङ्ग शुल्कमा छुट गरेका थियौँ भने उपस्थीत विद्यार्थीहरुलाई फ्रि मुभि टिकटका साथमा आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदा गरिएको थियो । कार्यक्रममा परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै परीक्षा पछिको तीन महिना खेर नजाओस् भन्ने उदेश्य राखेर यस कायक्रमको आयोजना गरिएको थियो । जुन उपलब्धि मुलक रह्यो भन्ने विद्यार्थी तथा अभिभावक हरुको उत्साहजनक सहभागीताले पनि पुष्टि गरिसकेको छ । पहिलो दिन राइटपाथ करियर काउन्सिलिङ्गको मुख्य कार्यालय पुतलीसडकमा २ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागीतामा सुरु भएको कन्क्लेभमा देशका अन्य स्थानमा पनि उत्तिकै उत्साहपूर्ण सहभागीता रहेको थियो । राइटपाथ करियर काउन्सिलिका सीईओ फिलिप डिसीले लामो समयदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भाषाका कक्षाहरु सञ्चालन गर्दै आएको र विगतमा जस्तै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु नियमित आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।