प्रधानमन्त्रीलाई सम्पादकहरूको संयुक्त पत्र- राज्य सिर्जित त्राससँग कुनै सम्झौता गर्दैनौं
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषयमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरूले आपत्ति जनाउँदै संयुक्त पत्र जारी गरेका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पत्र लेख्दै उनीहरूले राज्यले सिर्जना गरेको त्राससँग कुनै सम्झौता नगर्ने बताएका छन् । सम्पादकहरूले सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो ? भनेर प्रश्नसमेत गरेका छन् । ‘जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ, कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं’, सम्पादकहरूको वक्तव्यमा भनिएको छ, ‘नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं र त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं ।’ यस्तो छ प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्र: सम्माननीय प्रधानमन्त्रीज्यू, नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः १. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ। नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ। यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन् । २. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं। उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन। हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ। यो विषय अब अदालतले नै निरूपण गर्नेछ । ३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं – तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन्। अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन् । ४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं। सहकारी ठगीको समस्या विकराल बनेको छ। अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन्। गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रूपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन्। मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन्। जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन्। सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन्। हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं । ५.नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं ।
डा. ज्ञान कायस्थ अर्थात् ब्लड क्यान्सरका बिरामीको ‘भगवान’
काठमाडौं । जुन दिन बिरामीले मुसुक्क हाँसेर निको भयो भन्छन्, त्यो दिन उनलाई संसार जितेसरह महसुस हुन्छ । रुँदै अब मर्छु होला भन्दै अस्पताल आएकाहरू अब त म पनि बाँच्छु भन्दै आत्मबल बढाएर घर फर्कंदाको अनुभव उनका लागि व्यक्त गरिनसक्नु छ । हुन त हरेक चिकित्सकलाई लाग्ने खुसी यही होला । जुन दिन बिरामीको सेवा गर्ने बाचा र प्रतिज्ञासहित सेतो एर्पोन र स्टेथोस्कोप भिरेर मैदानमा जान्छन्, त्यसपछिका सफलतामा सबैलाई यस्तै खुसी मिल्दो हो । दिनहुँ ऐय्या र आत्था गरिरहेकाहरूको भीडमा दैनिकी बिताउनु कस्तो हुँदो हो ? प्राणको भिख माग्दै बचाइदिन गरेको विनम्रताको स्वरले मन कति रुँदो हो ? यो भोगाइ र अनुभवका फेहरिस्थ चिकित्सकहरू भन्दा अरुले सुनाउँन त परै जाओस् कल्पना पनि गर्न सक्दैनन् । यस्तो रोदनका दृश्य देखिरहेका चिकित्सकलाई बिरामीले मलाई निको भयो भन्दा कति खुसी हुँदा हुन् ? छट्पटिँदै बेडमा पुगेकाहरू उठेर हिँड्न सक्ने हुँदा चिकित्सक आफैंलाई कति गर्व लाग्दो हो ? हामीले कुराकानीको सुरुवातमा यही जिज्ञासा राख्यौं डा. ज्ञान कायस्थसँग । जवाफमा उनले भने, ‘त्योभन्दा बढी खुसीको क्षण अरु हुँदैन । ’ उनले उपचार गरेका अधिकांश बिरामी निको भएर घर फर्किएका छन् । कतिपय औषधी खाइरहेका छन् । निको भएकाहरू पनि बेलाबखत अस्पतालमै पुगेर सल्लाह लिन्छन् । नजिक भएका भेट्न सक्नेले भेटेरै सल्लाह लिन्छन् । टाढा भएकाहरू टेलिफोन तथा सामाजिक सञ्जालबाटै पनि सल्लाह लिन्छन् । धेरैले चिकित्सकलाई भगवान ठान्छन् । ब्लड क्यान्सरबाट पीडितहरूको लागि डा. कायस्थ साँच्चिकै भगवान नै हुन् । उनी अधिकांश समय बिरामीसँगै हुन्छन् । यो साता हामी उनलाई भेट्न पाटन अस्पताल पुग्दा अस्पतालमा बिरामीको भीड थियो । त्यही भीडमा व्यस्त थिए डा. कायस्थ । बिरामीसँगको व्यस्ततामै उनकाे २२ वर्ष बित्यो । उनी २२ वर्षदेखि ब्लड क्यान्सर भएका बिरामीसँगै समय बिताउँछन् । उनलाई हामीले उनको दैनिकीको जिज्ञासा राख्यौं । जवाफमा उनले भने, ‘हरेक दिन बिहान ८ बजे अस्पताल आइपुग्छु, सुरुमा हाम्रो बैठक हुन्छ, त्यहाँ आज के गर्ने, कस्ता बिरामी छन्, उनीहरूको उपचारमा कस्तो सुधार भइरहेको छ, थप के गर्नुपर्छ भन्नेबारे छलफल हुन्छ, त्यसपछि सुरु हुन्छ मेरो दिनको दैनिकी ।’ डा. कायस्थ लक्षित थेरापी विशेषज्ञ हुन् । लक्षित थेरापी भनेको क्यान्सर भएका बिरामीको उपचार गरिने विधि हो । यो विधिले क्यान्सर भएको ठाउँलाई मात्र ‘टारगेट’ गरेर उपचार हुन्छ । किमो थेरापीजस्तो एक ठाउँमा उपचार गर्न अरू सेललाई पनि मार्नु पर्दैन । अहिले यो विधि क्यान्सरको उपचारमा सबैभन्दा बढी प्रभावकारी मानिएको छ । बिरामीको उपचार मात्र होइन, डा. कायस्थ ब्लड क्यान्सरका नयाँ कस्ता बिरामी थपिरहेका छन्, उपचार गराइरहेकाको अवस्था कस्तो छ भन्ने विषयमा पनि अध्ययन तथा अनुसन्धान गर्छन् । यस बाहेक उनको अधिकांश समय आईसीयू र नर्मल वार्डका बिरामी हेर्दै बित्छ । २२ वर्षदेखि पाटन अस्पतालमा डा. कायस्थले पाटन अस्पतालमा काम गर्न लागेको २२ वर्ष पुग्यो । सुरुमा पाटनमा काम गर्दा अस्पतालमा जम्मा ५ आईसीयू बेड थियो । १ सय २० बेडको अस्पताल थियो । अहिले एमआईसीयू, सर्जीकल आईसीयू लगायत गरी १ सय २० आईसीयू बेड छन् । ७ सय बेडको अस्पताल बनेको छ । उनी आउँदा सामान्य सामुदायिक अस्पताल थियो । अहिले यो टिचिङ अस्पताल भइसकेको छ । सन् २००८ देखि एमडीएमएस, फेलोसिप एमबीएस नर्सिङ, एमपीएच, पीएच लगायतको पढाइ हुन्छ । अहिले यो अस्पताल शिक्षण संस्था बनिसकेको छ । डा. कायस्थ अस्पतालको स्तरोन्नतिसँगै बिरामीले पाउने सेवा सुविधा पनि बढेको बताउँछन् । विगतमा अस्पतालमा ५० जना चिकित्सक पनि थिएनन् । अहिले २ हजार बढी कर्मचारी छन् । त्यो बेलामा सबै रोगका बिरामीलाई डाक्टरले हुर्नुपथ्र्यो । डा. कायस्थ १ दिनमा ८२ जना बिरामी समेत हेरेको अनुभव सुनाउँछन् । अहिले पनि उनले दैनिक १५/२० जना बिरामीलाई हेर्नुपर्छ । ‘अहिले बिरामीको संख्या पनि बढेको छ, विगतमा बिरामीको यस्तो भीड हुँदैनथ्यो, अहिले जस्तो रोगअनुसार डाक्टर, विशेषज्ञ थिएनन्,’ उनी भन्छन्, ‘किड्नी, मुटु, फोक्सो, न्यूरोको सबै बिरामीलाई हामीले नै हेर्नुपर्थ्याे । तर, अहिले अवस्था फरक छ ।’ उनका अनुसार अहिले दिनको तीन/चार हजार बिरामी आउँछन् । वर्षमा ५/६ लाख बिरामीले सेवा लिन्छन् । करोडौं पर्ने औषधी निःशुल्क काठमाडौंमा जन्मे हुर्के पनि उनलाई देशको विकट ठाउँमा बस्नेको कथा थाहा छ । काठमाडौंको स्कुलमा पढे पनि डोल्पा र मुगुको शैक्षिक अवस्थासँग उनी नजिकबाट परिचित छन् । काठमाडौंमा बसेर बिरामीको उपचार गरे पनि बाजुराका नागरिकले औषधी नपाएको उनलाई राम्रोसँग थाहा छ । क्यान्सर लागेर औषधीसमेत नपाएर अकालमै मृत्युवरण गरेका पीडाहरू उनले नजिकबाट देखेका छन् । त्यही पीडा, दुःख र सास्ती देखेर क्यान्सरका बिरामीका लागि पाटन अस्पतालले निःशुल्क औषधीको व्यवस्था गरेको छ । डा. कायस्थका अनुसार क्यान्सरका बिरामीले लिनुपर्ने औषधी धेरै महँगो हुन्छ । एक लाखदेखि करोडौं मूल्य पर्ने औषधी पनि हुन्छन् । यस्ता औषधी नेपालीहरूले किनेर खानसक्ने अवस्था छैन । यसका लागि पाटन अस्पतालले निःशुल्क औषधीको व्यवस्था गरेको उनको भनाइ छ । शरीरका विभिन्न अंगमा लागेको क्यान्सरको १४ प्रकारका औषधी निःशुल्क पाइने उनले जानकारी दिए । रगतको क्रोनिक ल्युकिमियाँ, फोक्सोको चौथो तहको क्यान्सर (ए एनके पोजेटिभ) भएका, पिआर हर्मोन पोजेटिभ भएको स्तन क्यान्सर, मिर्गौलाको क्यान्सर, पेटको क्यान्सर लगायतका क्यान्सरको मुखबाट खाने औषधी निःशुल्क वितरण हुँदै आएको छ । यस्तै, आन्द्रा, ग्याष्ट्रो स्ट्रोमल टियूमरको लागि प्रयोग गरिने औषधी अस्पतालले दिन्छ । तर, यो विषयमा थाहा नपाएकाहरू अहिले पनि महँगोमा औषधी किनिरहेको डा. कायस्थ बताउँछन् । पाटन अस्पतालको म्याक्स फाउण्डेशन नामक अर्गनाइजेशनले यो औषधी सित्तैमा दिन्छ । म्याक्स फाण्डेशन र केही औषधी कम्पनीको सहकार्यमा बिरामीले निःशुल्क रुपमा औषधी पाइरहेको उनको भनाइ छ । म्याक्स फाउन्डेशन अमेरिकामा स्थापना भएको संस्था हो । अमेरिकाको क्यालीफोर्नियामा साउथ अमेरिकाबाट आएको एउटा परिवारको म्याक्सिम नाम गरेको केटा उपचार गर्न जाँदा उसलाई यो रोग हुँदा उपचार थिएन । त्यो बच्चाको मृत्यु भयो । उनैको सौतेनी आमाले औषधी नपाएर कसैले मर्न नपरोस् भनेर स्थापना गरेको फाउण्डेशन हो यो । त्यो फाउण्डेशनले औषधी कम्पनीसँग सहकार्य गरेर नेपाल लगायत ३६ भन्दा बढी देशमा निःशुल्क औषधी दिइरहेको छ । यसमा पाटन अस्पतालको निर्देशक डा. मार्क जिम्मरम्यानको पनि ठूलो हात छ । जिम्मरम्यान आफ्नो देश फर्किसकेपछि डा. कायस्थले औषधी कम्पनीसँग समन्वय गरेर क्यान्सरका बिरामीलाई सित्तैमा औषधी दिने प्रयास गरिरहेका छन् । ११ सय बिरामी टार्गेटेड थेरापी लिँदै अहिले पाटन अस्पतालमा क्यान्सर वार्ड पनि छ । रक्त क्यान्सर मात्र नभई अरु सबै किसिमका ट्युमरको बारेमा पनि उपचार हुन्छ । पाटनमा अहिले पनि ११ सय बिरामी टार्गेटेड थेरापी लिरहेका छन् । उनीहरूले सित्तैमा औषधी सेवन गरिरहेका छन् । अहिलेसम्मको अध्ययन हेर्दा सीएमएलको मात्र हेर्ने हो भने औषधी खाएर ९५ प्रतिशत बिरामीलाई निको भएको छ । सीएमएल भएकाहरूलाई पनि अरु-अरु रोगहरू देखिन्छ । २२ वर्षदेखि निरन्तर औषधी खाइरहेका हरु पनि अस्पतालमा छन् । क्यान्सर भन्ने बित्तिकै धेरै जना आतिने गर्छन् । तर, डा. कायस्थ निरन्तर डाक्टरको सल्लाह लिएर औषधी खाने करिब ५० प्रतिशलाई पछि औषधी खानै नपर्ने गरी निको हुने बताउँछन् । औषधी बन्द गर्दा भने क्लोज्ली मनिटरिङ गर्नुपर्ने उनको भनाइ छ । मनिटरिङको विषय महँगो हुन्छ । सुरुमा प्रत्येक महिनामा गर्नुपर्छ । धेरैले त्यही पैसाको जुगाड गर्न सक्दैनन् । कतिपय बिरामी उपत्यका बाहिर छन् । उनीहरूलाई काठमाडौं आउनै समय लाग्छ । धेरैलाई कन्ट्रोलमा राम्रो भएपनि औषधी दिइराख्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘नियमित औषधी सेवन गर्दा निको हुन्छ, तर धेरैले यस्तो गर्दैनन्, रोग बिग्रने कारण नै जो औषधी नियमितरूपमा खाँदैन, वास्ता गर्दैनन् त्यहाँ गाह्रो हुन्छ,’ अनुभव सुनाउँदै उनी भन्छन् । आमाको रहर र शिक्षकको उत्प्रेरणा उनी सानैदेखि साथीहरूसँग मिल्ने सहयोगी स्वभावका थिए । सहयोग गर्दा उनलाई सन्तुष्टि मिल्थ्यो । विद्यालय तहमा पढ्दा उनी सधैं प्रथम हुन्थे । साथीहरूलाई सहयोग गर्ने, नआएको कुरा सिकाउने उनको पहिलेदेखिकै बानी हो । एसएलसी (हालको एसईई) पछि उनको इच्छा विज्ञान, इन्जिनियरिङ वा मेडिसियन पढ्ने थियो । तर, यीमध्ये कुन विषय पढ्ने भन्ने दोधारमा परे । उनले यसमा आमाको सहयोग मागे । आमाले बिरामीको उपचार गर्ने मान्छे बन्दा राम्रो भनेर जवाफ दिइन् । आमाको इच्छा शिक्षकले थपेको उत्साहले उनको बाटो मेडिसियनतर्फ मोडियो । ‘मलाई के पढ्ने भन्ने अन्योलता थियो, आमाले नै डाक्टर बन भन्दा मैले यही क्षेत्र रोजेँ, शिक्षकहरूले पनि पढ्नुपर्छ भनेर उत्प्रेरणा दिइरहनुभयो,’ उनले भने । त्यसपछि उनले टिचिङ शिक्षण अस्पतालमा हेल्थ असिस्टेन्ट पढे । त्यसपछि उनी थप अध्ययनको लागि बंगलादेश गए । त्यहाँ गएर उनले एमबीबीएस पास गरे । त्यसपछि अमेरिका गए । अमेरिकामा ७ वर्ष बसे । त्यसपछि उनी फर्केर काठमाडौं आए । त्यो बेलामा नेपालमा धेरै डाक्टर पनि थिएनन् । उनी नेपाल आएर पाटन अस्पतालमा काम गर्न सुरु गरे । त्यसपछि अन्त्य भयो ‘त्यो बाध्यता’ उनी पाटन अस्पतालमा काम सुरु गर्दा क्यान्सरको परीक्षण नेपालमै हुने अवस्था थिएन । सन् २०११ सालसम्म पनि यस्तो समस्या थियो । व्यक्तिले रोग पत्ता लगाउन पनि भारत जानु पर्ने बाध्यता थियो । भारत गएर जँचाएर फर्कदा परीक्षणको नमुना नै बिग्रेको हुन्थ्यो । केही समयपछि पाटन अस्पतालले नमुना कलेक्सन गरी भारत पठाउन सुरु गर्यो । धेरै बिरामीले पैसा तिर्न नसक्ने अवस्था थियो । सन् २०१२ मा जब नेपाल सरकारले १ लाख रुपैयाँ दिने व्यवस्था गर्यो, त्यसपछि बिरामीलाई केही राहत पुग्यो । पाटन अस्पतालमा सुरुमा पहिलो अध्ययन गर्दा १ सय ७ जना क्यान्सरका बिरामी भेटिए । परीक्षण गर्ने २९ जना बिरामी पुरुष थिए । महिला बिरामीले परीक्षण नै गर्न नसकेको अवस्था थियो । तर, अहिले अवस्था र व्यवस्था नै फेरिएको छ । अहिले परीक्षणको लागि बाहिर जानु पर्दैन । पाटन अस्पतालमै यो सुविधा छ । उनले पाटन अस्पतालमै जेष्ठ नागरिकको हेरचाह गर्नेबारे जेरियाट्रिक तथा ब्लड क्यान्सरको उपचार कसरी गर्ने भन्नेबारे अध्ययन तथा तालिम लिने पनि अवसर पाए । क्यान्सर हुँदा धेरै जसोलाई सुरुमा थाहा हुँदैन । सुरुकै चरणमा अस्पताल आउँदा जस्तोसुकै क्यान्सर पनि निको हुन्छ । ओभरी, स्तन क्यान्सर अन्त नसरेको अवस्थामा आयो भने चट्ट टिपेर फाल्न सजिलो हुन्छ । तर, सुरुकै चरणमा थाहा नहुँदा बिरामीले धेरै औषधी सेवन गर्नु परेको डा.कायस्थ बताउँछन् । क्यान्सरका बिरामी पहिलो चरणमै नभए पनि दोस्रो चरणमा अस्पताल पुग्ने गरेका छन्,’ अहिले नागरिक पनि सचेत बनेका छन्, सुरुवाती चरणमै बिरामी आउने गरेका छन, उनी भन्छन्, ‘यसले पनि अधिकांश बिरामी निको हुन टेवा पुग्छ ।’ अहिले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रविधि विकास भइसकेको छ । खर्च गर्न सक्नेले नेपालमै सबै किसिमको उपचार गर्न सक्ने उनको भनाइ छ । उनको २२ वर्षे यात्रामा थुपै उतार चढाव आए । धेरै मृत्युहरू आँखै अगाडि देखे । कहिले बिरामीले औषधी नपाएर ज्यान गुमाएको त कहिले प्रयास गर्दागर्दै बिरामीको मृत्यु भएको पीडा उनले नजिकबाट नियकालेका छन् । आफूले सक्दो सहयोग गरेर उपचारका लागि पैसा नहुने बिरामीलाई निःशुल्क औषधी दिएर नयाँ जीवन दिएका छन् । नयाँ जीवन पाएकाहरू भन्छन्, ‘उहाँ त डाक्टर होइन, भगवान हाे ।’
३८ किमीको पोखरा-सिक्लेस सडक स्तरोन्नति, सहज बन्दै यात्रा
गण्डकी । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन् । गण्डकी प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा पोखरा–सिक्लेस खण्डको स्तरोन्नति भएसँगै पर्यटक तथा स्थानीयलाई आवागमनमा सहज हुँदै गएको हो । कास्कीको मादी गाउँपालिका–७ खतेडाँडाका भीमबहादुर तामाङ घरछेउको सडक कालोपत्र भएपछि मक्ख छन् । सडक राम्रो बनेपछि दैनिकी सहज भएको उनले सुनाए । ‘पहिले दिनभर हिँडेर पोखरा आउजाउ गर्नुथ्र्यो, अहिले आधा–एक घण्टामै पुगिन्छ’, तामाङले भने, ‘यस क्षेत्रमा आउने पर्यटकलाई पनि धेरै सहज भएको छ ।’ लामो समयसम्म कच्ची रहेको सडक कालोपत्र हुँदा गाउँको मुहार नै फेरिएझैँ भएको उनले बताए । मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पोखरा महानगरपालिका–१३ विजयपुरखोलाबाट मादी–७ थाकसम्मको १० किमी सडक हालै कालोपत्र भएको जानकारी दिए । उनका अनुसार थाकबाट मादी–६ चिप्लीसम्मको १० किमी खण्ड कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । ‘अब सिक्लेससम्मको १४ किमी सडक कालोपत्र हुन बाँकी छ’, वडाध्यक्ष गुरुङले भने, ‘बाँकी खण्ड कालोपत्रका लागि स्रोत जुटाउन पहल भइरहेको छ ।’ मार्ग खुलेको झन्डै दुई दशकपछि पोखरा–सिक्लेस सडक स्तरोन्नतिको कामले गति लिएको उनको भनाइ छ । ‘प्रदेश सरकारले महत्वपूर्ण सडक आयोजनाका रुपमा यसलाई अघि बढाएसँगै बजेटमा पनि प्राथमिकता पाएको छ’, उनले भने । प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत विजयपुरखोलाबाट थाकसम्म पहिलो चरणको काम सकिएको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ । विजयपुरखोला–थाक खण्डमा काष्ठमण्डप जेभीले २२ करोड २६ लाख ७८ हजारमा ठेक्का लिएर काम गरेको थियो । पूर्वाधार विकास कार्यालयका कन्सल्ट्यान्ट इन्जिनियर धनप्रसाद सुवेदीले दोस्रो चरणमा थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्र गर्न लागेको बताए । ‘अहिले ग्रेड र सब–बेस मिलाउने काम भइरहेको छ, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार काम गरिरहेको छ’, उनले भने । थाक–चिप्ली खण्ड स्तरोन्नतिको जिम्मा रौताहा निर्माण कम्पनीले लिएको छ । २५ करोड ८९ लाखमा ठेक्का सम्झौता भएको रौताहा निर्माण कम्पनीका सब–इन्जिनियर भरत थापाले जानकारी दिए । ‘३० महिनाको ठेक्का अवधि हो, सात महिना अझै बाँकी छ, समयमै सक्ने गरी कामलाई तीव्रता दिएको छौँ’, उनले भने, ‘कालोपत्रका लागि गिट्टी, बालुवालगायत नदीजन्य सामग्रीको भने अभाव भइरहेको छ, वैकल्पिक व्यवस्था गरेर काम गरिरहेका छौँ ।’ मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताए । ‘अहिले पोखराबाट गाडीमा साढे दुई घण्टामा आउन सकिन्छ, कालोपत्र सडक सिक्लेसम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ’, उनले भने, ‘बाँकी सडक कालोपत्रका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ ।’ पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ । प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पुर्याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो । वडाध्यक्ष देवीजङ्गले सडक स्तरोन्नति भएसँगै सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए । ‘सिक्लेस कास्कीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्र्याउन सकिन्छ’, उनले भने । पछिल्लो समय सिक्लेसबाट कोरी र कपुचे तालसम्मको पदमार्ग सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । सिक्लेसबाट कोरीसम्म केबुलकार सञ्चालनका लागि पनि एक निजी कम्पनीले अध्ययन गरिरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए । हिमशृङ्खला अवलोकनसँगै प्रकृति, ग्रामीण परिवेश र संस्कृतिको आनन्द लिन पर्यटक सिक्लेस पुग्ने गर्दछन् । गुरुङ बाहुल्य सिक्लेस प्रदेश राजधानी पोखराबाट ३८ किमीको दूरीमा अवस्थित छ । रासस
अध्यक्ष सिरोहियालाई अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताएका छन् । बुधबार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीहरुसको प्रश्नमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले अदालतले उक्त प्रक्रिया अघि बढाउन आदेश दिएपछि नै अदालती प्रक्रियाबाट पक्राउ गरिएको स्पष्ट पारे । यस विषयमा बढ्ता होहल्ला गर्न जरुरी नरहेको पनि बताए । कैलाश सिरोहियासँग सरकारको नुकै शत्रुता नरहेको भन्दै उपप्रधान एवं गृहमन्त्री व्यक्तिगत रुपमा लाग्नुभयो भन्ने हल्ला मात्रै रहेको जानकारी दिए । ‘अदालतले यो प्रक्रिया अघि बढाउ भनेपछि अदालती प्रक्रिया बुझेको छु मैले । यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन । सरकारले रिसिइबी साँध्यो भन्नेकुरा गलत हो । गृहमन्त्री व्यक्तिगत रुपमा आउनुभयो भन्नकुरा मान्छेले भन्नेकुरा मात्रै हो । यो अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भइ नै हाल्छ’, उनले भने । प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष हुने र सहजै छुट्ने बताए ।
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा स्थानीय तह र स्थानीय प्रशासनको सक्रियतामा सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउने काम धमाधम भइरहेको छ । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र प्रहरी प्रशासनको अगुवाइमा यहाँ नगरविकास समितिको जग्गामा अवैधरूपमा बनाइएका घर/टहरालगायत संरचना हटाउने कार्य भइरहेको भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशील भट्टले जानकारी दिए । लामो समयदेखि महेन्द्रनगर नगर विकास समितिको बजार क्षेत्रका जग्गा भाडामा दिएर मिलेमतोमा बनाइएका पक्की संरचना हटाउने काम भइरहेका उनले बताए । ‘विगत पाच दिनदेखि नगरपालिकाबाट डोजर लगेर अवैध संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणमा लागिपरेका छौँ’, उनले भने ,’यो अवधिमा बजार क्षेत्रमा बनेका डेढ सय भन्दा बढी घर, अधुरा संरचना हटाएका छौँ ।’ वडाध्यक्ष भट्टले दोस्रो चरणमा दोस्रो चरणमा बसपार्कलगायत स्थानका अवैध व्यापारिक संरचना हटाइने योजना रहेको बताए । ती संरचना खाली गर्न नगरपालिकाले मङ्गलबार सात दिने सूचनासमेत जारी गरिसकेको छ । यसअघि पनि अवैधरूपमा बनाइएका संरचना भत्काउन स्थानीय प्रशासनले पहल गरेको थियो । त्यसविरुद्ध व्यापारीहरू सर्वोच्च अदालत गएका थिए । अदालतले उनीहरुको रिट खारेज गर्दै महेन्द्रनगर नगरविकास समितिका केही पूर्वअध्यक्ष तथा कर्मचारीलाई कारबाहीको दायरामा ल्याएपछि स्थानीय सरकारलाई अवैध संरचना हटाउने बाटो खुलेको हो । ‘रिट खारेज भएकाले पनि जग्गा खाली गर्न सूचना र समय दिएका छौँ’, भट्टले भने,’तोकिएको समयावधिमा खाली नगरे हामी आफैँले थप प्रक्रिया अगाडि बढाउँछौँँ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अभियानकै रूपमा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य भइरहेको बताए । ‘अन्य ठाउँमा भन्दा भीमदत्तमा सरकारी सम्पत्ति अतिक्रमण बढी भएको पायौँ । अहिले सबैको सहयोग र सहकार्यमा दैनिकरूपमा अवैध संरचना हटाउने काम भइरहेको छ’, अधिकारीले भने । यसअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले जिल्लाभर सरकारी सम्पत्तिको संरक्षण गर्दै अतिक्रमण हटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बेल्डाडी गाउँपालिका र बेलौरी नगरपालिकाले पनि अतिक्रमण खाली गराउने काम छिटपुटरूपमा गरिरहेको छ । रासस
क्यालेडोनियाबाट थप अष्ट्रेलियाली स्वदेश फर्काइँदै
क्यानबेरा । बुधबार न्यू क्यालेडोनियाबाट थप अस्ट्रेलियालीहरूलाई स्वदेश फर्काउने सङ्घीय सरकारले बुधबार पुष्टि गरेको छ । नागरिक अशान्तिको बीचमा मे महिनाको सूरुमा उडानहरू रद्द हुँदा न्यू क्यालेडोनियामा फसेका लगभग १०० जना अष्ट्रेलियालीहरूलाई नौमियाबाट ब्रिस्बेनका लागि फ्रान्सेली उडानमार्फत् फिर्ता गरिने प्यासिफिक मन्त्री प्याट कनरायले बताए । सङघीय सरकारले दक्षिण प्रशान्त महासागरमा फ्रान्सेली क्षेत्रबाट नागरिकहरू स्वदेश फर्काउने अनुमति प्राप्त गरेपछि मगंलबाबार राति रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएएफ) को दुईवटा उडानमा ८४ जना अस्ट्रेलियाली नागरिक स्वदेश पुगेका छन् । न्यू क्यालेडोनियामा रहेका लगभग ३०० अस्ट्रेलियालीहरूले स्वदेश फिर्ता लागि विदेश मामिला तथा व्यापार विभागमा दर्ता गरेका थिए । पहिलो उडानबाट करिब २०० भन्दा बढी स्वदेश फर्कने प्रतीक्षामा रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले गर्यो वृक्षरोपण
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ईलाम र महोत्तरीमा वृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाम जिल्ला स्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा तथा महोत्तरी जिल्ला स्थित बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुर्याएको जनाएको छ । बैंकले उक्त कार्यक्रम हरियाली प्रवद्धनका लागि आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्याली गर्दै
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्याली गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबार बैंकले ‘इन्धन बचाऔं, वातावरण जोगाऔं,’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न लागेकाे छ । सो साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुकले जेष्ठ १६ गते सम्म निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्न सकिने बैंकले जनाएको छ । उक्त साइकल र्याली जेष्ठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने बैंकले जनाएको छ । यस साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पु-याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ भन्ने ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’, नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिँदै जाने जनाएको छ । सो साइकल र्यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट र भाग्यमानी एक जना सहभागीहरुलाई साइकल तथा अन्य बम्पर पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।