नेपाल एसबिआईका ग्राहकले स्काई वाकको टिकटमा छुट पाउने
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र वोन्डर्स नेपाल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा वोन्डर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । जसअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ काठमाडौंमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले स्काई वाकको टिकट खरिदमा १ देखि ५ जनासम्मको लागि १५ प्रतिशत र ५ जनाभन्दा बढीको टिकट खरिद गर्दा २० प्रतिशतसम्म विशेष छुट प्रदान पाउने सहमति भएको छ । कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरेका थिए । त्यसैगरी, सोही अवसरमा वोन्डर्स नेपालका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवालीले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा रहेको बताए ।
युरोपेली राष्ट्रहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि पछि हट्यो अमेरिका
काठमाडौं । अमेरिकी सरकारले बुधबार नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णयलाई फिर्ता लिन आग्रह गर्दै प्यालेस्टाइनको राज्यलाई एकपक्षीय मान्यतामार्फत प्राप्त गर्न नहुने बताएको छ । यस विषयमा अमेरिकाको स्पष्ट अडान रहेको बताउँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानले राष्ट्रपति जो बाइडेनले दुई–राज्य समाधानको समर्थन गर्दै आएको बताए । दुई–राज्य समाधान प्रत्यक्ष वार्ताबाट मात्रै हुनुपर्ने बताए । एकपक्षीय मान्यताको माध्यमबाट गरिएको समाधान दिगो नहुने अमेरिकाको अडान छ । बुधबार छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् । प्यालेस्टिनी राष्ट्रपतिद्वारा उक्त कदमलाई स्वागत गरिएको छ । यद्यपि इजरायलले यसको प्रतिक्रियामा तीन राष्ट्रबाट आफ्ना राजदुतहरूलाई फिर्ता बोलाएको छ । बाइडेनले जर्जियाको एटलान्टामा मोरेहाउस कलेजको उद्घाटन समारोहमा अमेरिकाले दुई–राज्य समाधान प्राप्त गर्न सुनिश्चितताका लागि काम गरिरहेको बताएका छन् । प्यालेस्टाइनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गरेका छन् ।
बौद्धदर्शन मानव समुदायका लागि प्रेरणादायी छ : अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गरेको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताएका छन् । शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश निकालेर उनले बुद्धले प्रतिपादन गरेका अहिंसा, शान्ति, करुणा, मानव अधिकार र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका बताएका छन् । बौद्ध उपदेश, शिक्षा र मार्गदर्शनलाई अवलम्बन गर्न सकेमा एकापसमा सद्भाव तथा सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले बुद्धका विचार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । यसैबीच, उनले उँभौली पर्वका अवसरमा सम्पूर्ण किरात समुदायको सुख शान्तिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै
लुम्बिनी । आज २५६८औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो संकल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए । विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी आउने कार्यक्रम रहेको उनले जानकारी दिए । कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा विविध कार्यक्रम आयोजना गरिने बताए । बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । हिजो साँझ देखि नै मायादेवी मन्दिरमा महापरित्राण पाठ जारी छ । आज बिहान अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा तथा शोभायात्रा भएको छ । लुम्बिनीबाट आजै नेपाल, भारत र श्रीलंका त्रिदेशीय मोटरसाइकल यात्रासमेत प्रारम्भ गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए ।
खानेपानीको कुच्चिएका जार र बोतलमा काठमाडौं महानगरको ध्यानाकर्षण
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोतलहरू कुच्चिएका, टुटे फुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने जनगुनासो आएको भन्दै यसमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरले बिहीबार एक सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौं महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिएको उल्लेख गरेको छ । प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन पनि महानगरको अनुरोध छ । मापदण्डले तोके बमोजिम भए नभएको निरीक्षणलाई पनि महानगरपालिकाले तीव्रता र यसका लागि सबैबाट सहयोग अपेक्षा गरिएको पनि बताएको छ ।
नेपालगञ्ज-गुलरिया सडकको काम ६५ प्रतिशत पूरा
राँझा । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज-गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र १६.२ किलोमिटर दुई लेन गरी २७.६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो । शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २ अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको ठेक्का जिम्मा पाएको हो । नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ ।
गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मानव जातिको सर्वांगीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए । प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसंग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ भन्दै प्रधानमन्त्रीले बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न आफूले आमनेपाली जनताको सकारात्मक भूमिकाको अपेक्षा गरेको उनले बताए । ‘आजका सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ’, शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन् । प्रधानमन्त्री दाहालले बुद्ध जयन्तीले बुद्ध दर्शन र धर्मको अहिंसात्मक शान्ति सन्देश तथा भ्रातृत्व भावनालाई आत्मसात् गर्दै मिलेर अगाडि बढ्ने प्रेरणा मिलोस् भनी कामनासमेत गरे । उनले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ ।
कुमारी बैंकको २ लाख ८७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ८७ हजार ५ सय ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।