विकासन्युज

बिहीबार सुनको मूल्य तोलामा १८ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुुुसार बुधबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

मर्जरको तयारीमा वायु सेवा कम्पनी, बजेटमा छुट माग

काठमाडौं । वायु सेवा कम्पनी पनि बैंक तथा वित्तीय संस्थाजस्तै मर्जर तथा एक्विजिसनको तयारीमा लागेका छन् । वायु सेवा कम्पनीहरूको नियामक नागरिक उडड्यन प्राधिकरणले पाँच वर्षमा पाँच वटा जहाज थप्नु पर्ने व्यवस्थासँगै कम्पनीहरु जहाज थप्नुभन्दा कम्पनी मर्जर गरेर अगाडि बढ्ने तयारीमा जुटेका हुन् । त्यसका लागि सरकारसँग छुटको व्यवस्था गर्न माग गरेका छन् । वायुसेवा सञ्चालकहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि सुझाव दिँदै वायुसेवा कम्पनीकाे मर्जरमा छुटको माग गरेका हुन् । वायुसेवा सञ्चालक संघका प्रथम उपाध्याक्ष प्रतापजंग पाण्डेले कम्पनीहरू मर्जर हुँदा छुटको व्यवस्था गर्नुपर्ने माग गरेकाे बताए । उनका अनुसार सरकारले ५ वर्षमा ५ वटा जहाज पुर्याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेको हुँदा कम्पनीहरूलाई मर्जर तथा एक्विजिशनमा छुट दिनुपर्छ । ‘एयरलाइन्सहरूलाई ५ वर्षभित्र ५ वटा जहाज पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ । धेरै संख्यामा जहाज मात्रै भित्र्याउँदा अस्वस्थ प्रतिस्पर्धा हुन्छ, अहिले मार्केट पनि सुस्त छ, त्यसैले वायुसेवा कम्पनीहरू मर्जर तथा एक्विजिशन हुँदा छुटको व्यवस्था गरिदिनुपर्छ,’ उनले भने । हाल वायुसेवा कम्पनीहरूको पुँजी १५ करोड हुनुपर्ने व्यवस्था छ । मर्जरका माध्यमबाट पुँजी वृद्धिसँगै सुरक्षाको प्रत्याभूति हुने उनको भनाइ छ । १ प्रतिशत भन्सार दरमा मूख्य स्पेयर पाट्र्स आयात गर्दै आएका छौं । भन्सार दरबन्दीको खुलस्त रूपमा उल्लेख नभएका कारण अन्य भन्ने विषय परिभाषित हुँदा स्पेयर पार्टस् ल्याउँदा साह्रै दुख पाइरहेका छौं । यसलाई स्पष्ट रूपमा उल्लेख गरेर भन्सार दरबन्दीसम्बन्धी १ प्रतिशत शुल्क सबै स्पेयर पार्टसमा लागू हुने भनेर लेख्नुपर्ने । वायुसेवा क्षेत्रमा सबैले लगानी गर्न नसक्ने भएकाले लिजमा ल्याउँदा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने अवस्था छ । यसलाई घटाएर ३ प्रतिशतमा झार्नु पर्ने । टिकेट, स्पेयर, जहाज किन्दा भ्याट लाग्छ । जसले गर्दा हवाई क्षेत्र एकदमै महँगो भएर पर्यटकहरूको आगमन घट्न सक्ने सम्भावना छ । यस विषयमा बारम्बार उठाउँदा पनि समाधान हुन सकेको छैन । आगामी बजेटमा भ्याट नलाग्ने व्यवस्था हुनुपर्ने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ लाख मात्रै पयर्टक भित्र्याउन सकिन्छ । तर, नेपालमा होटलहरूको क्षमता ३५ लाखसम्म भइसकेको छ । त्यसैले निजगढ विमान स्थललाई पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) सञ्चालन गर्नुपर्ने, भारत र चीनसँगका नाकालाई एशियन हाइवेको अवधारणा ल्याएर पर्यटक आगामन सहज बनाउनुपर्ने ।

डा. नूतन शर्मा बी एण्ड बी हस्पिटलमा प्रवेश, अत्याधुनिक आईभिएफ सुरु गर्दै

काठमाडौं । देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले बी एण्ड बी हस्पिटल प्रालिमा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने भएकी छिन् । हालै मात्र थापाथलीस्थित नर्भिक अस्पतालसँगको सहकार्य तोडेकी डा. शर्माले केही विश्वस्तरीय सेवा तथा प्रविधिलाई समेत भित्र्याएर बि एण्ड बी अस्पतालमा आगामी आइतबारदेखि पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने तयारी गरेकी हुन् । डा. शर्माले बि एण्ड बी अस्पतालमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिनेछिन् । नर्भिक छाडेर आफू बी एण्ड बी हस्पिटलमा आबद्ध भएको पुष्टि गर्दै डा. शर्माले देशमै पहिलोपटक रोबोटिक ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गर्न लागिएको समेत बताएकी छिन् । ‘बी एण्ड बी गाइनेक ल्याप्रोस्कोपिक रोबोटिक सर्जरी सेवा सुरु गर्ने नेपालकै पहिलो अस्पताल बन्नेछ’, डा. शर्माले भनिन्–‘केही समयपछि हामीले बी एण्ड बीमै वल्र्ड क्लासको एड्भान्स र अत्याधुनिक आईभिएफ सेन्टर समेत सञ्चालन गर्नेछौं । त्यसको पूर्व तयारी समेत थालिसकिएको छ ।’ नवचिकित्सकहरुका लागि विश्वस्तरीय आईभिएफ ट्रेनिङ इन्स्टिच्यूट समेत सञ्चालन गरिने डा. शर्माले जानकारी दिइन् । ‘त्यस्तो इन्स्टिच्यूटमा युवा चिकित्सक, प्यारामेडिक्स र मेडिक्सहरुलाई बेसिक र एड्भान्स ट्रेनिङ दिइनेछ’, डा. शर्माले भनिन् ।

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो

चितवन । अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ । नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउँछन् । गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्दछ । गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिउँसो कुखुरालाई दाना नखुवाउन सुझाव दिँदै उनले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिए । पोल्ट्री क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञ डा तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायी प्रभावित भएको बताउँछन् । हाल एउटा अण्डा तयार गर्न १६ रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । यसअघि अण्डाको लागत मूल्य १४.५ रुपैयाँ थियो । नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल चर्को गर्मी र रोगका कारण अण्डा उत्पादनमा कमी आएको बताउँछन् । दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधा घटेको उनी बताउँछन् । पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट किसानले लागत मूल्य पाउन नसकेका भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य कम रहेको बताउँछन् । उनले भने, ‘धेरै किसान विस्थापित भए, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ ।’ मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने पोल्ट्री व्यवसाय संवेदनशील भएकाले राज्यले यसलाई विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल एसबिआईका ग्राहकले स्काई वाकको टिकटमा छुट पाउने

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र वोन्डर्स नेपाल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा वोन्डर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । जसअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ काठमाडौंमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले स्काई वाकको टिकट खरिदमा १ देखि ५ जनासम्मको लागि १५ प्रतिशत र ५ जनाभन्दा बढीको टिकट खरिद गर्दा २० प्रतिशतसम्म विशेष छुट प्रदान पाउने सहमति भएको छ । कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरेका थिए । त्यसैगरी, सोही अवसरमा वोन्डर्स नेपालका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवालीले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा रहेको बताए ।

युरोपेली राष्ट्रहरूले प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि पछि हट्यो अमेरिका

काठमाडौं । अमेरिकी सरकारले बुधबार नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णयलाई फिर्ता लिन आग्रह गर्दै प्यालेस्टाइनको राज्यलाई एकपक्षीय मान्यतामार्फत प्राप्त गर्न नहुने बताएको छ । यस विषयमा अमेरिकाको स्पष्ट अडान रहेको बताउँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानले राष्ट्रपति जो बाइडेनले दुई–राज्य समाधानको समर्थन गर्दै आएको बताए । दुई–राज्य समाधान प्रत्यक्ष वार्ताबाट मात्रै हुनुपर्ने बताए । एकपक्षीय मान्यताको माध्यमबाट गरिएको समाधान दिगो नहुने अमेरिकाको अडान छ । बुधबार छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् । प्यालेस्टिनी राष्ट्रपतिद्वारा उक्त कदमलाई स्वागत गरिएको छ । यद्यपि इजरायलले यसको प्रतिक्रियामा तीन राष्ट्रबाट आफ्ना राजदुतहरूलाई फिर्ता बोलाएको छ । बाइडेनले जर्जियाको एटलान्टामा मोरेहाउस कलेजको उद्घाटन समारोहमा अमेरिकाले दुई–राज्य समाधान प्राप्त गर्न सुनिश्चितताका लागि काम गरिरहेको बताएका छन् । प्यालेस्टाइनीहरूले इजरायलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गरेका छन् ।

बौद्धदर्शन मानव समुदायका लागि प्रेरणादायी छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गरेको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताएका छन् । शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश निकालेर उनले बुद्धले प्रतिपादन गरेका अहिंसा, शान्ति, करुणा, मानव अधिकार र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका बताएका छन् । बौद्ध उपदेश, शिक्षा र मार्गदर्शनलाई अवलम्बन गर्न सकेमा एकापसमा सद्भाव तथा सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले बुद्धका विचार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । यसैबीच, उनले उँभौली पर्वका अवसरमा सम्पूर्ण किरात समुदायको सुख शान्तिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै

लुम्बिनी । आज २५६८औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र नभई सबैको साझा उत्सव भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले पवित्र लुम्बिनीको विकास गर्ने आफ्नो संकल्प सुनाउँदै त्यस निम्ति समाजका सबै वर्गको सहयोग अपरिहार्य भएको बताए । विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहितका उच्चअधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी लुम्बिनी आउने कार्यक्रम रहेको उनले जानकारी दिए । कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डिराज भट्टराईले लुम्बिनीसहित रामग्राम, कपिलवस्तु र देवदहमा विविध कार्यक्रम आयोजना गरिने बताए । बुधबार साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । हिजो साँझ देखि नै मायादेवी मन्दिरमा महापरित्राण पाठ जारी छ । आज बिहान अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरूको सहभागितामा प्रार्थनासभा तथा शोभायात्रा भएको छ । लुम्बिनीबाट आजै नेपाल, भारत र श्रीलंका त्रिदेशीय मोटरसाइकल यात्रासमेत प्रारम्भ गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष भट्टराईले बताए ।