विकासन्युज

आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८औं जयन्ती शान्तिको कामना गर्दै आज देशभरि मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरू बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

भारतसँग जोडिएको पर्साका सीमानाका बन्द

वीरगञ्ज । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो । वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका आज बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिए । ‘दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो,’ उनले भने । पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ ।

यी प्रदेशमा हावाहुरीसहित वर्षा हुने

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहति हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, कोशी गण्डकी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

बढिरहेको सेयर बजार निरन्तर तीन दिन बन्द

काठमाडौं । सेयर बजार तीन दिन बन्द हुने भएको छ । पछिल्लो समय निरन्तर बढिरहेको सेयर बजार सार्वजनिक विदाका कारण निरन्तर तीन दिन बन्द हुने भएको हो । सरकारले भोलि अर्थात् बिहीबार बुद्ध जयन्तीको अवसरमा सार्वजनिक विदाको घोषणा गरेको छ । भोलि सार्वजनिक विदा भएकोले सेयर बजार पनि बन्द हुनेछ । त्यसपछि पर्सी अर्थात् शुक्रबार र शनिबार पनि सेयर बजार बन्द नै रहनेछ । किनकि शुक्रबार र शनिबार सेयर बजार बन्द नै हुने गरेको छ । गृह मन्त्रालयले मुलुकभर नै बुद्ध जयन्तीको सार्वजनिक विदा दिएको हो । अब आइतबार मात्रै सेयर बजार खुल्नेछ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गरेपछि सेयर बजार नियमित बढिरहेको छ ।

विकल पौडेलविरुद्ध ६२ करोडको अर्को भ्रष्टाचार मुद्दा

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको दाबी गर्दै ६२ करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको अख्तियारको आरोप छ । यसअघि पौडेलविरुद्ध दायर भएका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । उनले आर्जन गरेको गैरकानुनी सम्पत्ति जफत गरी त्यति नै जरिवाना र जेल सजाय गर्न अदालतसँग माग गरिएको छ । यसअघि सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाइसकेको छ । उक्त मुद्दामा विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्न र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको छ । यस्तै झुटा विवरण पेस गरी सरकारी ओहोदामा पुगेको तथा सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर मुद्दा फैसला हुने क्रममा छन् ।

कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग

काठमाडौं । आफ्ना सदस्यबीच मात्र ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा सर्वसाधारणले जम्मा गरेको सहकारीको रकमको ठूलो हिस्सा अपचलन भएको उल्लेख गर्दै नेपाली कांग्रेसले उक्त रकम तत्काल फिर्ता गराउन माग गरेको छ । पार्टी केन्द्रीय सहकारी विभागले आज जारी गरेको वक्तव्यमा सुप्रिम सहकारी बुटवल, सूर्यदर्शन सहकारी पोखरा, स्वर्णलक्ष्मी सहकारी काठमाडौं र साहरा सहकारी चितवनबाट ९५ करोड ८१ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी भएको प्रमाणसहित तथ्य सार्वजनिक भएको दाबी गर्दै उक्त रकम तत्काल फिर्ता गर्न आग्रह गरेको हो । विभाग प्रमुख देवेन्दराज कँडेलद्वारा जारी विज्ञप्तिमा सहकारी ऐन २०७४ एवं नियमावली २०७५ विपरीत सहकारीको रकम अपचलन भएको उल्लेख छ । कँडेलले सहकारी संस्थामा प्राकृतिक व्यक्तिमात्र सदस्य हुन पाउने र वित्तीय कारोबार गर्ने सहकारी संस्थाले सदस्यबीच ऋण लगानी गर्न मिल्ने कानुनी व्यवस्थाविपरीत गोरखा नेटवर्क प्रालिमा पैसा गएको बताए । बचत अपचलन गर्ने सहकारी सञ्चालक र कार्यकारी प्रमुख साथै गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक एवं कार्यकारी प्रमुखलाई कानुनबमोजिम तत्काल कारबाही गरी सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिवाना र सजाय हुनुपर्नेमा कांग्रेसको माग छ । सरकारले जनतामा कानुनी राज्यको अनुभूति दिलाउन पनि कानुनविपरीत काम गर्नेलाई कारबाही गरिनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको हो । न्यून आय भएका गरिब, किसान, पिछडिएका वर्गको आर्थिक सामाजिक उन्नतिमा महत्वपूर्ण योगदान गर्दै आएको सहकारी क्षेत्रलाई यस्ता अराजक गतिविधिले बदनाम गरिरहेकाले यसमा संलग्न हुने जोसुकै व्यक्ति, कम्पनीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न र सर्वसाधारण जनताको बचत सुरक्षा गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ । देशको समग्र विकासका लागि सहकारी आन्दोलनको अपरिहार्यता बोध गरी नियमित र सुशासित सहकारी आन्दोलन अघि बढाउन आवश्यक नीति, ऐनको संशोधन हुनुपर्नेमा पनि कांग्रेसले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ ।

सवा ९ अर्बमा बन्ने सुपर बागमती जलविद्युत आयोजनामा भयो लगानी सम्झौता

काठमाडौं । ललितपुर र मकवानपुर सीमाको बागमती नदीमा निर्माण हुने ‘सुपर बागमती जलविद्युत आयोजना’ का लागि लगानी सम्झौता भएको छ । सुपर बागमती हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको यो आयोजना ४१.३१४ मेगावाट क्षमतायुक्त हो । निर्माण कम्पनी र लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरूबीच बुधबार लगानी सम्झौता सम्पन्न भएको हो । यो आयोजनाको कुल लागत ९ अर्ब २८ करोड रुपैयाँ बराबर हुने कम्पनीले जनाएको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने लगानीकर्ताहरूको भनाइ छ । सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ मा जलविद्युत विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत उत्पादनको अनुमतिपत्र लिएर २०८० आसार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता समेत गरिसकेको छ । कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रकसन रहेका छन् । उक्त परियोजना निमार्णका लागि बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक संस्थापकहरूको लगानी रहने छ । उक्त परियोजनामा बैंकको कर्जा प्रतिबद्धता ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमध्ये सह-अगुवा एभरेष्ट बैंकको २ अर्ब ५ करोड तथा सिटिजन्स बैंक इन्टरनेसनलको १ अर्ब रुपैयाँ लगानी रहेको छ । उक्त आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।

सिटिजन्स बैंकका ग्राहकले न्यूरो कार्डियोमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र बिराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हाे । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलका सेवाहरुमा १० प्रतिशतसम्मको  छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।