विकासन्युज

९ महिनामा कोकाकोलाको कमाइ ३२ करोड, ईपीएस २४ रुपैयाँ

काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले ९ महिनाको अवधिमा ३२ करोड १२ लाख रूपैयाँ बढी खुद नाफा गरेका छन् । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नाफा गरेको हो । बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ भने बोटलर्स नेपाल (बालाजु) ले ५ करोड ९८ लाख रूपैयाँ खुद नाफा गरेको छ । बोटलर्स नेपाल (तराई) ले अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्म बोटलर्सले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्ष सोही अवधिको दाँजोमा २७.५९ प्रतिशतले कम हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको दाँजोमा ३.०१ प्रतिशतले कम हो । कम्पनीको अन्य सञ्चालन आम्दानी १ करोड ५५ लाख रुपैयाँ र वित्त आम्दानी ८३ हजार छ । उक्त अवधिसम्म बोटलर्सको बिक्री तथा वितरण खर्च ९२ करोड २८ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि २० करोड ५१ लाखले ऋणात्मक छ । कम्पनीको रिजर्भ कोषको आकार ११.१७ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड पुगेको छ । त्यस्तै कुल चालु सम्पत्ति ५ अर्ब १५ करोड र कुल चालु दायित्व ५ अर्ब ९३ करोड छ । समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ सय ८८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३ हजार ३ सय ९७ र पीई अनुपात ४४ गुणा कायम भएको छ । यसैगरी बोटलर्स नेपाल (बालाजु) लिमिटेडले चालु आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाण बराबर नाफा कमाएको जनाएको हो । कम्पनीले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको दाँजोमा ८६.२४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५४ लाख खुद नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ७ अर्ब १८ करोड कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.५८ प्रतिशत कम हो । उसको अन्य आम्दानी २ करोड २३ लाख र वित्त आम्दानी १९ लाख ५७ हजार छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च १ अर्ब १४ करोड ६२ लाख ऋणात्मक र प्रशासनिक खर्च पनि ४६ करोड ९८ लाखले ऋणात्मक अवस्थामा छ । कम्पनीको रिजर्भ कोषको आकार ६.४५ प्रतिशतले बढेर ५ अर्ब ७० करोड कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २ सय ९९, रिटर्न अन इक्विटी १.३ प्रतिशत र पीई अनुपात ६९१ गुणा कायम भएको छ । नेपालमा कोकाकोला उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबैभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा छ । कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ ।

उजुरी परेकै आधारमा थुन्ने प्रवृत्ति गलत, आरोप प्रमाणित भएपछि मात्रै कारबाही गर्न माग

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । अध्यक्ष सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जो–कोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा सबै स्पष्ट रहेको जनाएका छन् । कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने जनाएका छन् । विगतदेखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेको स्मरण गराएका छन् । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने माग रहेको तीन वटै संस्थाले जानकारी गराएका छन् । ‘थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह गरेको स्मरण गराएका छन् । यो अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिन नहुने संयुक्त सुझाव रहेको छ । ‘कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन । अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ’, जारी सयुक्त विज्ञप्तिमामा भनिएको छ, ‘उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ ।’ देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

ढिलो विवाहले निःसन्तानपनको समस्या बढाउँछ : डा. शाक्य

भोलीको उज्वल भविष्यको कल्पनाले आजभोलि विवाह गर्ने युवा युवतीको उमेर बढ्दै गएको छ । अधिकांशकाे प्राथमिकता विवाहभन्दा जागिर पर्छ । व्यस्त जीवनशैलीकै कारण विवाह धेरै पछारिन्छ । तर, विशषेज्ञहरूले यसले पछि समस्या निम्त्याउने धारणा राख्छन् । व्यस्त जीवनशैली तथा ढिलो विवाहले निःसन्तानको समस्या सिर्जना गर्ने उनीहरूको धारणा छ । पछिल्लो समय नेपालमा पनि निःसन्तानपनको समस्या बढ्दै गएको छ । निःसन्तानपन, आईभीएफ प्रणाली र समस्या समाधानका लागि अपनाउनु पर्ने विधि लगायतको विषयमा स्त्री तथा आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्यसँग कुराकानी गरेका छौं । निःसन्तानपन भनेको के हो ? कुनै पनि दम्पती परिवार नियोजनका साधन प्रयोग नगरी एक वर्षसम्म सँगै बस्दा पनि गर्भधारण हुन सकेन भने निःसन्तानपन भनिन्छ । यदि यही कुरा महिलाको उमेर ३५ वर्षभन्दा बढी भयो भने ६ महिनामात्र पनि सँगै बस्दा पनि बच्चा बसेन भने यो समस्या भएको मान्न सकिन्छ । यस्तो हुँदा, गर्भ नरहने, बसिहाले पनि तुहिने समस्या हुन्छ । निसन्तानपन भएको भनिन्छ । निःसन्तानपन के कारणले हुन्छ ? महिलाको हकमा नली बन्द हुँदा यस्तो समस्या देखिन्छ । अर्को डिम्बमा अण्डाको विकास राम्ररी नहुनु हो । जसको महिनावारी समयमा हुँदैन उसमा राम्ररी अण्डाको विकास हुँदैन । त्यस्तै पाठेघरमा मासु पलाउदा पनि यस्तो समस्या देखिन्छ । अर्को, श्रीमान श्रीमती दुवैमा जाँच गर्दा राम्रै देखिने तर कारण पत्ता नलाग्ने र महिलाको उमेर बढ्दै जाँदा डिम्बको भण्डारण घट्दै जाँदा पनि बच्चा नबस्ने हुन्छ भने पुरुषको हकमा शुक्रकिटको मात्रा जति हुनुपर्ने हो त्यती नहुनु र बनावटमा समस्या भयो भनेपनि बाझोपन अथवा निसन्तानपन हुन्छ । निसन्तानपन महिला र पुरुष दुवैमा हुन्छ । महिलाको पाठेघरको नली बन्दा हुँदा के हुन्छ ? मुख्यतया महिलाको पाठेघरमा दुइटा नली र दुइटा डिम्ब हुन्छ । एउटा साइडमा अण्डा निस्कन्छ र त्यही नलीबाट जान्छ जब श्रीमानसँग सम्पर्कमा बसिन्छ तब शुक्रकिट यौनीबाट माथि गएर नलिसम्म पुग्नुपर्छ । बच्चा सुरुमा भु्रण बन्नेक्रम नलीमा हुन्छ । त्यहाँ भु्रण बनिसकेपछि बल्ल पाठेघरभित्र जान्छ । यो नली नै बन्द भइदियो भने बच्चा बस्दैन । एउटा मात्र नली बन्द भइदियो अर्को ठिक छ भने खुल्ला रहेको नलीबाट पनि अण्डा आउन सक्छ । यसो भयो भने गर्भ रहने सम्भावना हुन्छ । तर, बन्द रहेको तर्फबाट धेरै आयो भने बच्चा बस्ने सम्भावना कम हुन्छ । फेरि दुवै नली बन्द भयो भने बच्चा हुन गाह्रो हुन्छ । यस्तो समस्याको यसको उपचार के हुन्छ ? एउटा मात्र नली बन्द छ अर्को ठिक छ भने महिलाको उमेर र शुक्रकिटको मात्रा हेरेर आईवाई प्रणाली प्रयोग गर्न सकिन्छ । दुवै नली बन्द छ भने यस्ता दम्पतीबाट आभीएफ प्रणाली (इनभिट्रो फर्टिलाइजेशन) अथवा टेस्टयुब बेबीको लागि सल्लाह दिइन्छ । एउटा पुरुषमा शुक्रकिटको मात्रा कति हुनुपर्छ ? एक एमएलमा शुक्रकिटमा १५ मिलिएन मात्रा हुनुपर्छ । मात्रा मात्र नभई चाल पनि हुनुपर्छ । १५ मिलिएनमा ३२ प्रतिशत रफ्तारमा दगुर्न सक्नुप¥यो । सँगै यसको बनावट पनि राम्रो हुनुपर्छ । शुक्रकिटको टाउको र पुच्छर हुन्छ । कसैको दुइटा पुच्छर हुने, कसैको टाउको वा घाँटीमा डल्लो आइदिने अथवा टाउको पनि गोलो भइदियो भने अण्डा छेड्न सक्दैन । एउटा शुक्रकिट स्वस्थ्य र राम्रो हुनको लागि मात्रा, चाल र बनोट राम्रो हुनुपर्छ । पुरुषको आईभीएफ कुन अवस्थामा गर्ने ? शुक्रकिटको संख्या एकदम कम भयो । मानौं, १५ मिलियन हुनु पर्नेमा, एक÷दुई मिलियन कम भयो भनेपनि आईएभीएफ गर्नुपर्छ । अर्को कुरा त्यही चाल र मात्रामा कमी आएपनि पुरुषको आइएभीएफ गर्नुपर्छ । औषधी खाएर यस्तो समस्याको समाधान गर्न सकिँदैन ? शुक्रकिटको मात्रामा परिवर्तन आउनुमा पुरुषहरुको जीवनशैलीले पनि धेरै महत्व राख्छ । चुरोट खाने, रक्सी खाने, तारेको कुरा धेरै खाने र धेरै मोटाउने कारणले गर्दा पनि विर्यमा समस्या आउँछ । धेरै तातोमा बस्दा, काम गर्दा पनि यस्तो समस्या आउँछ । कसैको काखमा ल्यापटप राखेर काम गर्ने बानी हुन्छ, गाडी चलाउने, गर्मीले शुक्रकिटलाई धेरै अवरोध गर्छ । यसको उदाहरण हो वैदेशिक रोजगार, वैदेशिक रोजगारीमा गएका विशेष गरेर खाडी बसेर आएका पुरुषहरूमा यस्तो समस्या बढी देखिएको छ । नेपालमा अवस्था कस्तो छ ? विगतमा निःसन्तानपन भन्ने बित्तिकै महिलामा मात्र हुन्छ भन्ने भनाइ थियो । तर, अहिलको अवस्था हेर्दा पुरुषमा पनि उत्तिकै निःसस्तानपन बढिरहेको छ । पहिले परीक्षण गर्न पनि पुरुष त्यति नआउने गरेकोमा अहिले दम्पतीहरू नै अस्पताल पुग्ने गरेका छन् । यसरी हेर्दा महिला र पुरुष दुवैमा निःसन्तापनको समस्या देखिरहेको छ । कम उमेर समूहका व्यक्तिमा यस्तो समस्या देखिदैन ? यस्तो समस्या २१/२२ वर्षका युवा युवतीमा पनि देखापर्छ । समयभन्दा अगाडि नै डिम्बले काम गर्न छोड्ने हुन्छ । यस्तोमा अण्डा नै नबन्ने हुँदा, २२/२३ वर्ष उमेर समूहका दम्पतीले पनि आईभीएफ प्रणालीमा जानुपर्ने हुन्छ । सन्तान जन्माउन उमेरले के प्राभव पार्छ ? जति २५/३० वर्षको उमेरमा बच्चा जन्माएको राम्रो हुन्छ, त्यति ३५ वर्ष माथि जन्माउँदा राम्रो हुँदैन । किनकि ३५ वर्ष माथी अण्डाको गुणस्तर र संख्या घट्दै जान्छ । त्यसैले बच्चा जन्माउँदा २५ वर्ष देखि ३० वर्ष भित्रको उमेरमा जन्माइ सक्नुपर्छ । ३० वर्षभित्र सकिएन भने ३५ वर्षभित्र बच्चा जन्माइसकेको राम्रो हो । यदि ढिलै बच्चा जन्माउने योजना छ भनेपनि महिला पुरुष दुवै जनाले विशेषज्ञसँग सल्लाह गरेर अण्डा र शुक्रकिट भण्डारण गर्न सकिन्छ । पुरुषको हकमा भने ५०÷६० वर्षसम्म पनि शुक्रकिट उत्पादन हुन्छ । तर, उसको गुणस्तर राम्रो हुँदैन । पुरुषले पनि सकेसम्म ३५/४० वर्ष भित्र बच्चा जन्माइसकेको राम्रो हुन्छ । के हामीले यस्तो समस्याबाट बच्न खानपानमा ध्यान दिँदा हुन्छ ? खानपानमा पनि ध्यान दिनुपर्छ । हामीले जुन खाना खाइरहेका छौं । त्यसमा रसायन धेरै हुन्छ । यसले पनि हाम्रो शरीरमा नकरात्मक असर गर्छ । अर्को कुरा चिल्लो धेरै खायो, धेरै मोटायो भने आफैं अण्डा बन्ने क्षमता पनि कम हुन्छ । महिला र पुरुष दुवैमा यसले असर गर्छ । जुन दम्पतीले बच्चा बनाउने योजना बनाउनुभएको छ उहाँहरूले स्वस्थ जीवनशैली मेन्टेन गनुपर्छ । जसमा फलफुल, प्रोटिन भएका खानेकुरा कागती पानी खाने गर्नुपर्छ । महिनावारी गडबडीले पनि बच्चा बस्न गाह्रो हुन्छ ? हरेक महिलाको महिनामा एक पटक डिम्बबाट अण्डा निस्कन्छ । अण्डा निस्केको १४ दिनपछि महिनावारी हुन्छ । जसको महिनावारी अनियमित हुन्छ उसको अण्डा निस्केको हुँदैन । यसो हुँदा पाठेघरको लाइन बढ्दै जान्छ र उसले थेग्न नसकेपछि बल्ल महिनावारी हुन्छ । यस्तो अवस्थामा अण्डा नै ननिस्केपछि बच्चा बस्ने चान्स हुँदैन । अनियमित महिनावारी हुनेहरुका लागि ठ्याक्क यो बेला बच्चा बस्छ भन्ने हुँदैन । सन्तान जन्माउने योजना बनाउनु अगाडि चेकजाँच आवश्यक छ ? एकदम आवश्यक छ । हामी यसलाई फर्टिलीटी वर्कसप नै भन्छौं । अहिले धेरै दम्पती विवाहपछि धेरै दम्पती अहिले सल्लाह लिन आउनुहुन्छ । कहिलेकाँही महिला या पुरुषमा सुगर, थाइराइड र प्रेसरको समस्या आउन सक्छ । यस्तो बेला बच्चा बसिदियो भने खेर जाने सम्भावना पनि हुन्छ । बच्चा बनाउने योजनाको तीन महिना अगाडि एकपटक डाक्टरसँग सम्पर्क राखेर चेकजाँच गराउनुपर्छ । आईभीएफ भनेको के हो ? महिलाको डिम्बबाट सकेसम्म धेरै अण्डा बनाएर, महिलालाई बेहोस गरी अण्डा झिक्ने हो । यसरी झिकेको अण्डा त्यही दिन श्रीमानको शुक्रकिटसँग मिलाएर भ्रुण बनाउने र यसरी बनेको भु्रणलाई महिलाको पाठेघरमै राखिने प्रक्रियालाई आईभीएफ भनिन्छ । भु्रण बन्ने प्रक्रिया ल्याबमै हुन्छ । कस्तो अवस्थामा आईभीएफ प्रणालीमार्फत पनि बच्चा जन्माउन नमिल्ने हुन्छ ? महिलामा पाठेघरमा धेरै समस्या हुँदा मिल्दैन । जस्तै मासु पलाएको भए, भ्रुण राख्ने ठाउँ पातलो भए यो प्रार्णाली मार्फत पनि बच्चा जन्माउन मिल्दैन । डिम्बको भण्डार कस्तो छ, राम्रो छ कि छैन । पुरुषको शुक्रकिट राम्रो छ कि छैन भनेर पनि जाँच गर्नुपर्छ । योजना बनाउनु अगाडि नै जाँच गर्दा पछि समस्या आउँदैन । मेरो समस्या के छ, मेरो शरीर कस्तो छ, स्वस्थ्य छु कि छैन भन्नेबारे समयमा जानकारी लिएको राम्रो हुन्छ ।

हिम पर्वत हाइड्रोपावरले आइपीओ जारी गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समिति बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित जेठ २७ गते विशेष साधारण सभा डाकेको छ । सभा कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुने कम्पनीले जनाएको छ । त्यसैगरी, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने एजेन्डा पनि रहेको छ ।

देवेन्द्ररमण खनाल बने राष्ट्रिय वाणिज्य बैंकको सीईओ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी दिए । खनाल खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन् । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् । बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनालले कामु सीईओको जिम्मेवारी समेत पाएका थिए । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरी बुधबार अन्तवार्ताका लागि बोलाएको थियो । अन्तवार्तामा ३ जनाको नाम सञ्चालक समितिमा पेस गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न २० जनाले आवेदन दिएका थिए ।

जलवायु परिवर्तन न्यूनीकरणमा स्थानीय तहलाई सवलीकृत बनाउनुपर्नेमा जोड

काठमाडौं । जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहको क्षमता अभिवृद्धि गराउँदै उनीहरूलाई सवलीकृत बनाउन आवश्यक रहेकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु विज्ञको जोड रहेको छ । हिजोदेखि काठमाडौंमा सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को आज दोस्रो दिनको ‘स्थानीयरूपमा नेतृत्व अनुकूलनः पहाडदेखि समुद्री पारिस्थितिकीय प्रणाली’ विषयकसत्रमा बोल्दै उनीहरूले स्थानीय तहलाई तालिम दिएर जलवायु परिवर्तनसम्बन्धी क्षमता बढाउनुपर्नेमा जोड दिएका हुन् । खाद्य तथा कृषि सङ्गठन (एफएओ)का नेपाल प्रतिनिधि केन सिमिजुले समावेशीकरणको सिद्धान्तमा आधारित भएर जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका नीतिलाई प्रथामिकता दिनुपर्नेमा जोड दिए । ‘जलवायु परिवर्तनका कारण स्थानीय तहमा भएका असल अभ्यासहरूमा आधारित भई स्थानीय स्रोतसाधनलाई नै केन्द्रमा राखेर काम गर्नुपर्छ’, उनले भने, ‘जलवायु परिवर्तनले निम्तिएका समस्या न्यूनीकरणका लागि जलवायुवित्त पर्याप्त छैन ।’ चिनियाँ विज्ञान प्रतिष्ठान चीनका डा लिनफेङ्ग फानले सबै तहका सरकारका नीति तथा कार्यक्रम र योजना उत्थानशीलतामा आधारित हुनुपर्ने भन्दै जलवायु उत्थानशीलताका गतिविधिमा सक्रिय हुनुपर्नेमा जोड दिए । ‘जलवायुका कारण हिमाली क्षेत्र पहिराको जोखिममा छन्, हिमाली क्षेत्रमा जाने पहिरोहरू धेरै नै जटिल हुनेछन् र ठूलो क्षति निम्त्याउने छन्’, फानले भने, ‘हिमाली क्षेत्रलाई संरक्षण गर्न सके नहुँदा पहिरोको प्रभाव पनि कम हुँदै जानेट । जलवायु परिवर्तनका कारण नदीको बहाव बढिरहेको छ । नदीको बहावलाई यसरी बढ्न नदिने गरी काम गर्नेसम्बन्धी नीति तथा योजना बनाएर अगाडि बढ्नुपर्छ ।’ उनले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका नीतिको प्रभावकारी कार्यान्वयनका लागि परिवेश सुहाउँदो रणनीति आवश्यक रहेकामा जोड दिए । अन्तर्राष्ट्रिय जलवायु क्रायोस्फेयर पहलका निर्देशक डा पाम पियर्सनले अहिले जसरी नै निरन्तर हिमालमा हिउँ पग्लँदै जाने हो भने समुद्री सतहसमेत बढ्दै जाने भन्दै यसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायहरूलाई बढी असर पुग्ने बताए । ‘हिमालको हिउँ पग्लनुमा जलवायु परिवर्तनको प्रभावले हो भन्ने कुरा स्थानीय तहका विज्ञहरूमा जानकारी नहुनु सक्छ, हामीले बुझाउन सक्नुपर्छ’, उनले भने, ‘अहिले पनि समुद्रको तह बढिरहेको छ, समुद्री सहत बढ्न नदिन हिमालको हिउँ जोगाउन आवश्यक छ ।’ अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान भारतका प्राकृतिक स्रोत विशेषज्ञ डा गोपाल कुमारले जलवायु परिवर्तन, यसका असर र समाधानका विषयमा सम्बन्धी स्थानीयस्तरमा काम गर्ने संस्थालाई जागरुग बनाउन आवश्यक रहेकामा जोड दिए । ‘हरित पर्यावरणलाई कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा हामीले सोच्नुपर्ने छ । जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरणमा स्थानीय सरकारको क्षमता बढाउने किसिमका कार्यक्रम ल्याउनुपर्छ ।’ रासस

बुद्ध जन्मभूमिलाई पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शनरअवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताएका हुन् । उनले भने, ‘वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील छ ।’ नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आह्वान गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसले विश्वभरिका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्वशान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ‘बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ’, प्रधानमन्त्री दाहालले भने, ‘लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ ।’ उनले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए । ‘पूर्वीय दर्शन र चिन्तन परम्परामा बुद्धको विचार र त्यसको प्रभाव निकै महत्त्वपूर्ण छ’, प्रधानमन्त्री दाहालले भने, ‘मानव सभ्यता र संस्कृतिको विकासमा, ज्ञान निर्माण (आर्जन) र प्रज्ञाको अभ्युदयमा बुद्धको मार्गदर्शन अत्यन्तै प्रभावशाली छ । बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको छ ।’ मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्त्वपूर्ण अङ्ग पवित्र लुम्बिनीको द्रूत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पारे । प्रधानमन्त्रीले भने, ‘अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयलाई विकासको प्रतिफल दिलाउन प्रयास गरिरहेको छ ।’ बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उनले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिए । लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको अझ ठूलो केन्द्र बनाउन सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्धदर्शनको उद्गमस्थल भएको स्पष्ट पारे । उनले भने, ‘यस क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको केन्द्र बनाउन ठोस योजना अगाडि बढाएको छ ।’ उनले बौद्ध विश्वविद्यालयको समग्र ध्यान बौद्धदर्शनको प्रवर्द्धनतर्फ केन्द्रित गर्न निर्देशन दिए । नेपाल सरकारले सन् २००४ मा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिट्टै आयोजना गरिनेसमेत जानकारी दिए ।

सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ ः बालेन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाविहार पुनर्निर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए । उनले पुरानो शैलीमा सम्पदाहरूको पुनर्निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए । महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको उनकाे भनाइ छ । उनले भने, ‘महाविहार बनाउँदा वडाध्यक्षहरूलाई सबै बजेट एकैपटक माग्दा आउँदैन कि भन्ने जस्तो लाग्दो रहेछ, म सधैँ भन्छु, एकै पटक सबै माग्नुस्, एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो, सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ, हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो, हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ , सबैको इज्जत पनि बढ्छ, त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’ मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गरे ।