किसानलाई बजारसँग जोड्न ७ करोडमा चक्रपथ निर्माण
ढोरपाटन । पहाडैपहाडले घेरिएको बागलुङको बरेङ गाउँपालिकाले किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण गरेको छ । विसं २०७४ देखि चक्रपथ निर्माण थालेको गाउँपालिकाले वडा नं ५ देखि भित्रीवन, साग्दी सत्यवती, डाँडाकटेरी, झुले, हुँदै सल्यान जोडेको छ । ग्रामीण चक्रपथले दर्जनौँ गाउँबस्ती जोडिएपछि स्थानीय कृषक हर्षित भएका छन् । चक्रपथ मात्रै नभएर गाउँपालिकाले सबै बस्तीसम्म मोटरबाटो पुर्याएको छ । चक्रपथले विकट बस्तीसम्म जोडिएपछि अब यात्रा मात्रै नभएर स्थानीय उत्पादन बजार पुर्याउन सहज हुने भएको छ । गाउँपालिकाले सात करोड रुपैयाँको लगानीमा उक्त चक्रपथ निर्माण गरेको हो । चक्रपथको विभिन्न खण्डमा स्तरोन्नतिसमेत गर्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। हरेक नागरिकलाई सडकको पहुँमा ल्याउन र किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा टेवा पुर्याउन गाउँपालिकाले चक्रपथ निर्माण गरेको उनको भनाइ छ । चक्रपथले धेरै गाउँ जोडेको हुँदा कुनै पनि नागरिक सडकको पहुँचभन्दा बाहिर नरहेको अध्यक्ष शर्मा बताउँछन् । ग्रामीण क्षेत्रमा चक्रपथ निर्माण चुनौतीपूर्ण भए पनि आफूहरुले ठूलै लगानी गरेर सम्पन्न गरेको उनको भनाइ छ । अब चक्रपथको स्तरोन्नति गरिने उनले बताए । ‘लामो समय मेहनत गरेर चक्रपथ निर्माण गरिएको छ, यसले पालिकाभित्रका धेरै गाउँबस्तीलाई जोड्ने हुँदा हजारौँ नागरिक लाभान्वित हुने छन्, यसबाट किसानले बढी लाभ लिने छन्’, अध्यक्ष शर्माले भने, ‘यो सडक गाउँपालिकाको गौरवको आयोजना हो । हरेक वर्ष हाम्रो प्राथमिकतामा पर्छ, सडक खुलेपछि कृषि उपज बजारीकरण गर्न सहज भएको छ ।’ स्थानीय किसान मीनबहादुर पुनले चक्रपथले गाउँ जोडिएपछि बजार आउजाउ गर्न सहज भएको बताए । यसअघि पालिकाको केन्द्र पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा अहिले ४५ मिनेटमै पुग्न सकिने उनले बताए । गाउँपालिकाले चक्रपथ निर्माण गरेपछि तरकारी र फलफूल बजार पुर्याउन सजिलो भएको छ । ‘पहिला डोकोमा बोकेर सडक भएको ठाउँसम्म पुर्याउनुपथ्र्यो, अहिले बारीबाटै गाडीमा राखेर बजार पुर्याउन सकिन्छ’, पुनले भने । रासस
सदरमुकाममा नै छैन पक्की पुल, काठेपुलको भरमा सवारीसाधन
मनाङ । विकट जिल्ला मनाङको सदरमुकाम चामेमा पक्की पुल नहुँदा आवागमनका लागि काठको पुल निर्माण गरिएकको छ । जिल्लाको मुटुमा मानिएकाे चामेमा आवतजावत सहज बनाउने उद्देश्यले चामे गाउँपालिका र स्थानीय युवाको सहयोगमा काठेपुल निर्माण गरिएको हो । सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन् । दीर्घकालीन हुनेगरी पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन् । चामे–१ तिमाङस्थित तिमाङखोलामा, चामे–२ स्थित स्यार्कुखोला, चामे–४ स्थित दुईवटा घट्टेखोलामा काठेपुलले मात्रै आवतजावत गर्न सकिन्छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बेसीँसहर चामे सडक आयोजनासँग पटकपटक समन्वय गर्दा पनि दीर्घकालीन रूपमा पक्की पुल निर्माण हुन नसकिएको बताए । उनले भने, ‘वर्षा लाग्न थालेको छ, यससँगै काठका पुल बाढीले बगाउँछ, आवतजावत नै रोकिने समस्या फेरि दोहोरिनेछ । एउटा काठेपुल निर्माणका लागि बर्सेनि पाँच/सात लाख रुपैयाँ लाग्छ, अन्य ठाउँमा उपयोग हुने बजेट काठेपुललाई छुट्याउन बाध्य छौँ ।’ आयमूलक क्षेत्रमा लगानी गर्नुको सट्टा काठेपुल निर्माणमा खर्चनुपर्ने बाध्यता रहेको अध्यक्ष घलेले बताए । सडक निर्माण आयोजना, सङ्घीय तथा प्रदेश सरकारसँग छलफल गर्दा पनि यहाँ पुल निर्माण गर्न नसक्दा आमनागरिकको गुनासो पूरा गर्न नसकिएको उनको भनाइ छ । मनाङ पर्यटकीय क्षेत्र भएकाले मेरुदण्डको रूपमा रहेको यस सडकमा काठेपुलमात्र हुँदा सवारीसाधन तथा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको छ । जिल्लाको मुख्य सडकमा मात्र नौवटा काठेपुलको यात्रा गरेर माथिल्लो मनाङका तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने बाध्यता रहेको स्थनीय बताउँछन् । बाढी आउँदा झनै सास्ती हुने गरेको उनीहरुको भनाइ छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सडक आयोजनासँग पुल निर्माणको विषयमा छलफल भइरहेको बताए । पर्यटकीय क्षेत्रमा नै पुलको अभाव हुँदा हुने जोखिमलाई मध्यनजर गरी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएको उनले बताए । प्रजिअ लामिछानेले भने, ‘सधैँ काठेपुल सञ्चालन गर्न सम्भव छैन, हामीले सडक आयोजना कार्यलयसँग बोलाएर छलफल गर्यौँ, तर काम भएको देखिँदैन । काठेपुल पनि जीर्ण हुँदै गएका छन्, केही ठाउँमा धान्न नसक्ने भएपछि खोलाबाट नै तर्नुपर्ने अवस्था आएको छ ।’ पक्की पुल नहुँदा काठेपुलको यात्रा जोखिम बन्दै गएकाले सरकारको ध्यान पुग्नुपर्नेमा उनले जोड दिए । जिल्लाका काठेपुल हटाउने गरी पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि सम्झौता भएको डुम्रे–बेसीँसहर–चामे आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । ‘डिपिआर गर्नका लागि मात्रै सम्झौता भएको छ । बजेट अभावमा अझै उस्तै छ’, उनले भने । अधिकारीका अनुसार यस सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि डिपिआर भएको र बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम हुनेछ । बोलपत्र आह्वान हुनासाथ निर्माण थालिने योजना रहेको उनले बताए । जिल्लाका विभिन्न क्षेत्रबाट आउने यात्रु, पर्यटक तथा सवारीसाधन पक्की पुल नहुँदा काठेपुलको भरमा सञ्चालित छन् । वर्षामा काठेपुलबाट आवतजावत गर्दा थप समस्या र जोखिम हुँदै आएको स्थानीय बताउँछन् । रासस
चिप्स उत्पादनमा दक्षिण कोरिया आक्रामक, १९ अर्ब डलर सहयोग गर्ने राष्ट्रपतिको घोषणा
कोरिया । दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ । राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना घोषणा गरेका हुन् । दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वमा धेरै मेमोरी कार्ड र चिप्स उत्पादन गर्ने ख्यातिप्राप्त कम्पनीहरू रहेका छन् । दक्षिण कोरियाले गत वर्ष चार खर्ब ५६ अर्ब अमेरिकी डलरको निजी लगानी प्रयोग गरेर विश्वको सबैभन्दा ठूलो चिप्स सेन्टर निर्माण गर्ने प्रतिज्ञा गरेको थियो । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ कार्यक्रमबारे राष्ट्रपति युनले भने, ‘हामीले २६ ट्रिलियन कोरियन वोन बराबरको सेमीकन्डक्टर उद्योगको लागि एक व्यापक सहयोग कार्यक्रम बनाएका छौँ । यसमा वित्तीय, पूर्वाधार, अनुसन्धान र विकास, साथै साना र मझौला आकारका कम्पनीहरूको लागि सहयोग समावेश छ ।’ यो प्याकेजमा यसै महिनाको सुरुमा घोषणा गरिएको सात अर्ब अमेरिकी डलर लगानी पनि समावेश छ । युनले सियोलले रोजगारी बढाउने र उद्योगमा थप प्रतिभा आकर्षित गर्ने आशामा चिप लगानीका लागि कर लाभ विस्तार गर्ने पनि बताए । कार्यक्रम अनुसार सियोलको बाहिर भागमा ‘मेगा चिप्स क्लस्टर’ पनि निर्माण गरिरहेको छ । कोरिया सरकारले यो विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर बनाउने उद्योग हुने र लाखौं रोजगारी सिर्जना गर्ने दावी गरेको छ । युनले भने, ‘तपाईंहरू सबैलाई थाहा छ, सेमीकन्डक्टर उत्पादन राष्ट्रिय विकासका लागि अवसर र चुनौतीको क्षेत्र हो । यसले अर्थतन्त्र र समाजलाई सशक्त बनाउँदै यसले कोरियाली आवश्यकता अनुसार पूर्णतया हतियार निर्माणका समग्री र हतियार निर्माणमा पनि सहयोग गर्नेछ ।’ उनले भने, ‘जीत वा हार उच्च सूचना संस्करण क्षमताको साथ अत्याधुनिक सेमीकन्डक्टरहरू कसले बनाउँदछ भन्नेमा निर्भर गर्दछ । सेमीकन्डक्टरलाई राज्यले सहयोग गर्नुपर्छ ताकि उनीहरू प्रतिस्पर्धीभन्दा पछि नपरून् ।’ नयाँ प्याकेजका लागि कोरिया विकास बैंक मार्फत ‘१७ ट्रिलियन वोनको नयाँ सेमीकन्डक्टर वित्तीय सहायता कार्यक्रम’ सञ्चालन हुनेछ, जसले कम्पनीहरूलाई महत्त्वपूर्ण नयाँ लगानी गर्न अनुमति दिनेछ । ‘कम्पनीहरूले नयाँ कारखाना र लाइन विस्तारजस्ता सुविधाहरूमा ठूलो रकम लगानी गर्दा तरलताको समस्या उत्पन्न हुन्छ तर कोरिया विकास बैंकको सहयोग कार्यक्रममार्फत यी समस्याहरु धेरै हदसम्म समाधान हुनेछन् भन्ने मलाई विश्वास छ,’ उनले भने । यो योजनाले एक ट्रिलियन वोन बराबरको ‘सेमीकन्डक्टर पारिस्थितिक कोष’ पनि सिर्जना गर्नेछ । यसले फ्यावलेस (हार्डवेयर यन्त्र र अर्धचालक चिपहरूको उत्पादन र बिक्री) का क्षेत्रमा काम गर्ने कम्पनी र उद्योगसँग सम्बन्धित साना र मझौला उद्यमहरूलाई सहयोग गर्नेछ । ‘हाम्रो फ्याबलेस बजार हिस्सा अझै पनि एक प्रतिशतको दायरामा छ, र प्रणालीगत सेमीकन्डक्टरहरू उत्पादन गर्दछ र टीएसएमसीजस्ता अग्रणी कम्पनीहरूसँगको अन्तरलाई बन्द गर्न असमर्थ छ,’ यूनले भने । यसै महिनाको सुरुमा सियोलले आफ्नो चिप उद्योगलाई सहयोग गर्न सात अर्ब डलरभन्दा बढीको सहायता प्याकेज स्थापना गर्ने घोषणा गरेको थियो । यो योजना एशियाको चौथो ठूलो अर्थतन्त्र मानिने दक्षिण कोरियाका लागि महत्वपूर्ण सेमीकन्डक्टर क्षेत्रलाई बढावा दिने अभियानको एक हिस्सा हो । कोरियाली सरकारले चिप्स, डिस्प्ले र ब्याट्री सहित छ वटा प्रमुख प्रविधिमा ठूलो लगानी गर्न खोजिरहेको बेला यो कदम चालिएको हो । रासस
भ्रमपूर्ण विज्ञापन प्रकाशन र प्रसारण नगर्नू- विज्ञापन बोर्ड
काठमाडौं । विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न अपिल गरेको छ । बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा विभिन्न किसिमका चिया, तेल, स्याम्पो, औषधिलगायत वस्तुले विभिन्न रोग निको पार्ने तथा जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्री वितरण गर्न भ्रमपूर्ण विज्ञापन गरिएको अनुगमनका क्रममा पाइएको जनाउँदै त्यसो नगर्न आह्वान गरेको हो । ती विज्ञापनमा वस्तु वा सेवा उत्पादन गर्ने व्यक्ति र कम्पनीको नामसमेत उल्लेख भएको नपाइएको बताउँदै त्यस्ता विज्ञापनका विषयमा बोर्डमा उजुरीसमेत प्राप्त भइरहेको बोर्डका प्रवक्ता निशानराज गौतमले जानकारी दिए । उनका अनुसार बोर्डबाट श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुपूर्व परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था विज्ञापन (नियमन) ऐन, २०७६ को दफा १५ (ख) मा उल्लेख गरिएको छ । बोर्डले विज्ञापन (नियमन गर्ने नियमावली, २) ७७ को दफा (५)मा भएको व्यवस्थाका साथै विज्ञापन गर्दा विज्ञापनकर्ताको नाम र ठेगाना स्पष्ट रूपमा उल्लेख हुनुपर्ने व्यवस्था ऐनको दफा ९ मा रहेकाले उक्त कानुनी व्यवस्थाविपरीत प्रसारण भएका कुनै पनि विज्ञापन तत्काल रोकी अनुमति लिएर मात्र प्रसारण गर्नरगराउन अनुरोध गरेको प्रवक्ता गौतमले बताए । अनुमतिविना विज्ञापन निरन्तर प्रसारण गरेको पाइएमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
९ महिनामा कोकाकोलाको कमाइ ३२ करोड, ईपीएस २४ रुपैयाँ
काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले ९ महिनाको अवधिमा ३२ करोड १२ लाख रूपैयाँ बढी खुद नाफा गरेका छन् । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नाफा गरेको हो । बोटलर्स नेपाल (तराई) लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म २६ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ भने बोटलर्स नेपाल (बालाजु) ले ५ करोड ९८ लाख रूपैयाँ खुद नाफा गरेको छ । बोटलर्स नेपाल (तराई) ले अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्म बोटलर्सले ३६ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्ष सोही अवधिको दाँजोमा २७.५९ प्रतिशतले कम हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीबाट ५ अर्ब ८१ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको दाँजोमा ३.०१ प्रतिशतले कम हो । कम्पनीको अन्य सञ्चालन आम्दानी १ करोड ५५ लाख रुपैयाँ र वित्त आम्दानी ८३ हजार छ । उक्त अवधिसम्म बोटलर्सको बिक्री तथा वितरण खर्च ९२ करोड २८ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि २० करोड ५१ लाखले ऋणात्मक छ । कम्पनीको रिजर्भ कोषको आकार ११.१७ प्रतिशतले बढेर ३ अर्ब ९८ करोड पुगेको छ । त्यस्तै कुल चालु सम्पत्ति ५ अर्ब १५ करोड र कुल चालु दायित्व ५ अर्ब ९३ करोड छ । समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ सय ८८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३ हजार ३ सय ९७ र पीई अनुपात ४४ गुणा कायम भएको छ । यसैगरी बोटलर्स नेपाल (बालाजु) लिमिटेडले चालु आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षकाे तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाण बराबर नाफा कमाएको जनाएको हो । कम्पनीले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको दाँजोमा ८६.२४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ४३ करोड ५४ लाख खुद नाफा कमाएको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ७ अर्ब १८ करोड कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १२.५८ प्रतिशत कम हो । उसको अन्य आम्दानी २ करोड २३ लाख र वित्त आम्दानी १९ लाख ५७ हजार छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च १ अर्ब १४ करोड ६२ लाख ऋणात्मक र प्रशासनिक खर्च पनि ४६ करोड ९८ लाखले ऋणात्मक अवस्थामा छ । कम्पनीको रिजर्भ कोषको आकार ६.४५ प्रतिशतले बढेर ५ अर्ब ७० करोड कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३ हजार २ सय ९९, रिटर्न अन इक्विटी १.३ प्रतिशत र पीई अनुपात ६९१ गुणा कायम भएको छ । नेपालमा कोकाकोला उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबैभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा छ । कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ ।
उजुरी परेकै आधारमा थुन्ने प्रवृत्ति गलत, आरोप प्रमाणित भएपछि मात्रै कारबाही गर्न माग
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । अध्यक्ष सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जो–कोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा सबै स्पष्ट रहेको जनाएका छन् । कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने जनाएका छन् । विगतदेखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेको स्मरण गराएका छन् । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने माग रहेको तीन वटै संस्थाले जानकारी गराएका छन् । ‘थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह गरेको स्मरण गराएका छन् । यो अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिन नहुने संयुक्त सुझाव रहेको छ । ‘कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन । अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ’, जारी सयुक्त विज्ञप्तिमामा भनिएको छ, ‘उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ ।’ देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
ढिलो विवाहले निःसन्तानपनको समस्या बढाउँछ : डा. शाक्य
भोलीको उज्वल भविष्यको कल्पनाले आजभोलि विवाह गर्ने युवा युवतीको उमेर बढ्दै गएको छ । अधिकांशकाे प्राथमिकता विवाहभन्दा जागिर पर्छ । व्यस्त जीवनशैलीकै कारण विवाह धेरै पछारिन्छ । तर, विशषेज्ञहरूले यसले पछि समस्या निम्त्याउने धारणा राख्छन् । व्यस्त जीवनशैली तथा ढिलो विवाहले निःसन्तानको समस्या सिर्जना गर्ने उनीहरूको धारणा छ । पछिल्लो समय नेपालमा पनि निःसन्तानपनको समस्या बढ्दै गएको छ । निःसन्तानपन, आईभीएफ प्रणाली र समस्या समाधानका लागि अपनाउनु पर्ने विधि लगायतको विषयमा स्त्री तथा आईभीएफ विशेषज्ञ डा. अर्चना शाक्यसँग कुराकानी गरेका छौं । निःसन्तानपन भनेको के हो ? कुनै पनि दम्पती परिवार नियोजनका साधन प्रयोग नगरी एक वर्षसम्म सँगै बस्दा पनि गर्भधारण हुन सकेन भने निःसन्तानपन भनिन्छ । यदि यही कुरा महिलाको उमेर ३५ वर्षभन्दा बढी भयो भने ६ महिनामात्र पनि सँगै बस्दा पनि बच्चा बसेन भने यो समस्या भएको मान्न सकिन्छ । यस्तो हुँदा, गर्भ नरहने, बसिहाले पनि तुहिने समस्या हुन्छ । निसन्तानपन भएको भनिन्छ । निःसन्तानपन के कारणले हुन्छ ? महिलाको हकमा नली बन्द हुँदा यस्तो समस्या देखिन्छ । अर्को डिम्बमा अण्डाको विकास राम्ररी नहुनु हो । जसको महिनावारी समयमा हुँदैन उसमा राम्ररी अण्डाको विकास हुँदैन । त्यस्तै पाठेघरमा मासु पलाउदा पनि यस्तो समस्या देखिन्छ । अर्को, श्रीमान श्रीमती दुवैमा जाँच गर्दा राम्रै देखिने तर कारण पत्ता नलाग्ने र महिलाको उमेर बढ्दै जाँदा डिम्बको भण्डारण घट्दै जाँदा पनि बच्चा नबस्ने हुन्छ भने पुरुषको हकमा शुक्रकिटको मात्रा जति हुनुपर्ने हो त्यती नहुनु र बनावटमा समस्या भयो भनेपनि बाझोपन अथवा निसन्तानपन हुन्छ । निसन्तानपन महिला र पुरुष दुवैमा हुन्छ । महिलाको पाठेघरको नली बन्दा हुँदा के हुन्छ ? मुख्यतया महिलाको पाठेघरमा दुइटा नली र दुइटा डिम्ब हुन्छ । एउटा साइडमा अण्डा निस्कन्छ र त्यही नलीबाट जान्छ जब श्रीमानसँग सम्पर्कमा बसिन्छ तब शुक्रकिट यौनीबाट माथि गएर नलिसम्म पुग्नुपर्छ । बच्चा सुरुमा भु्रण बन्नेक्रम नलीमा हुन्छ । त्यहाँ भु्रण बनिसकेपछि बल्ल पाठेघरभित्र जान्छ । यो नली नै बन्द भइदियो भने बच्चा बस्दैन । एउटा मात्र नली बन्द भइदियो अर्को ठिक छ भने खुल्ला रहेको नलीबाट पनि अण्डा आउन सक्छ । यसो भयो भने गर्भ रहने सम्भावना हुन्छ । तर, बन्द रहेको तर्फबाट धेरै आयो भने बच्चा बस्ने सम्भावना कम हुन्छ । फेरि दुवै नली बन्द भयो भने बच्चा हुन गाह्रो हुन्छ । यस्तो समस्याको यसको उपचार के हुन्छ ? एउटा मात्र नली बन्द छ अर्को ठिक छ भने महिलाको उमेर र शुक्रकिटको मात्रा हेरेर आईवाई प्रणाली प्रयोग गर्न सकिन्छ । दुवै नली बन्द छ भने यस्ता दम्पतीबाट आभीएफ प्रणाली (इनभिट्रो फर्टिलाइजेशन) अथवा टेस्टयुब बेबीको लागि सल्लाह दिइन्छ । एउटा पुरुषमा शुक्रकिटको मात्रा कति हुनुपर्छ ? एक एमएलमा शुक्रकिटमा १५ मिलिएन मात्रा हुनुपर्छ । मात्रा मात्र नभई चाल पनि हुनुपर्छ । १५ मिलिएनमा ३२ प्रतिशत रफ्तारमा दगुर्न सक्नुप¥यो । सँगै यसको बनावट पनि राम्रो हुनुपर्छ । शुक्रकिटको टाउको र पुच्छर हुन्छ । कसैको दुइटा पुच्छर हुने, कसैको टाउको वा घाँटीमा डल्लो आइदिने अथवा टाउको पनि गोलो भइदियो भने अण्डा छेड्न सक्दैन । एउटा शुक्रकिट स्वस्थ्य र राम्रो हुनको लागि मात्रा, चाल र बनोट राम्रो हुनुपर्छ । पुरुषको आईभीएफ कुन अवस्थामा गर्ने ? शुक्रकिटको संख्या एकदम कम भयो । मानौं, १५ मिलियन हुनु पर्नेमा, एक÷दुई मिलियन कम भयो भनेपनि आईएभीएफ गर्नुपर्छ । अर्को कुरा त्यही चाल र मात्रामा कमी आएपनि पुरुषको आइएभीएफ गर्नुपर्छ । औषधी खाएर यस्तो समस्याको समाधान गर्न सकिँदैन ? शुक्रकिटको मात्रामा परिवर्तन आउनुमा पुरुषहरुको जीवनशैलीले पनि धेरै महत्व राख्छ । चुरोट खाने, रक्सी खाने, तारेको कुरा धेरै खाने र धेरै मोटाउने कारणले गर्दा पनि विर्यमा समस्या आउँछ । धेरै तातोमा बस्दा, काम गर्दा पनि यस्तो समस्या आउँछ । कसैको काखमा ल्यापटप राखेर काम गर्ने बानी हुन्छ, गाडी चलाउने, गर्मीले शुक्रकिटलाई धेरै अवरोध गर्छ । यसको उदाहरण हो वैदेशिक रोजगार, वैदेशिक रोजगारीमा गएका विशेष गरेर खाडी बसेर आएका पुरुषहरूमा यस्तो समस्या बढी देखिएको छ । नेपालमा अवस्था कस्तो छ ? विगतमा निःसन्तानपन भन्ने बित्तिकै महिलामा मात्र हुन्छ भन्ने भनाइ थियो । तर, अहिलको अवस्था हेर्दा पुरुषमा पनि उत्तिकै निःसस्तानपन बढिरहेको छ । पहिले परीक्षण गर्न पनि पुरुष त्यति नआउने गरेकोमा अहिले दम्पतीहरू नै अस्पताल पुग्ने गरेका छन् । यसरी हेर्दा महिला र पुरुष दुवैमा निःसन्तापनको समस्या देखिरहेको छ । कम उमेर समूहका व्यक्तिमा यस्तो समस्या देखिदैन ? यस्तो समस्या २१/२२ वर्षका युवा युवतीमा पनि देखापर्छ । समयभन्दा अगाडि नै डिम्बले काम गर्न छोड्ने हुन्छ । यस्तोमा अण्डा नै नबन्ने हुँदा, २२/२३ वर्ष उमेर समूहका दम्पतीले पनि आईभीएफ प्रणालीमा जानुपर्ने हुन्छ । सन्तान जन्माउन उमेरले के प्राभव पार्छ ? जति २५/३० वर्षको उमेरमा बच्चा जन्माएको राम्रो हुन्छ, त्यति ३५ वर्ष माथि जन्माउँदा राम्रो हुँदैन । किनकि ३५ वर्ष माथी अण्डाको गुणस्तर र संख्या घट्दै जान्छ । त्यसैले बच्चा जन्माउँदा २५ वर्ष देखि ३० वर्ष भित्रको उमेरमा जन्माइ सक्नुपर्छ । ३० वर्षभित्र सकिएन भने ३५ वर्षभित्र बच्चा जन्माइसकेको राम्रो हो । यदि ढिलै बच्चा जन्माउने योजना छ भनेपनि महिला पुरुष दुवै जनाले विशेषज्ञसँग सल्लाह गरेर अण्डा र शुक्रकिट भण्डारण गर्न सकिन्छ । पुरुषको हकमा भने ५०÷६० वर्षसम्म पनि शुक्रकिट उत्पादन हुन्छ । तर, उसको गुणस्तर राम्रो हुँदैन । पुरुषले पनि सकेसम्म ३५/४० वर्ष भित्र बच्चा जन्माइसकेको राम्रो हुन्छ । के हामीले यस्तो समस्याबाट बच्न खानपानमा ध्यान दिँदा हुन्छ ? खानपानमा पनि ध्यान दिनुपर्छ । हामीले जुन खाना खाइरहेका छौं । त्यसमा रसायन धेरै हुन्छ । यसले पनि हाम्रो शरीरमा नकरात्मक असर गर्छ । अर्को कुरा चिल्लो धेरै खायो, धेरै मोटायो भने आफैं अण्डा बन्ने क्षमता पनि कम हुन्छ । महिला र पुरुष दुवैमा यसले असर गर्छ । जुन दम्पतीले बच्चा बनाउने योजना बनाउनुभएको छ उहाँहरूले स्वस्थ जीवनशैली मेन्टेन गनुपर्छ । जसमा फलफुल, प्रोटिन भएका खानेकुरा कागती पानी खाने गर्नुपर्छ । महिनावारी गडबडीले पनि बच्चा बस्न गाह्रो हुन्छ ? हरेक महिलाको महिनामा एक पटक डिम्बबाट अण्डा निस्कन्छ । अण्डा निस्केको १४ दिनपछि महिनावारी हुन्छ । जसको महिनावारी अनियमित हुन्छ उसको अण्डा निस्केको हुँदैन । यसो हुँदा पाठेघरको लाइन बढ्दै जान्छ र उसले थेग्न नसकेपछि बल्ल महिनावारी हुन्छ । यस्तो अवस्थामा अण्डा नै ननिस्केपछि बच्चा बस्ने चान्स हुँदैन । अनियमित महिनावारी हुनेहरुका लागि ठ्याक्क यो बेला बच्चा बस्छ भन्ने हुँदैन । सन्तान जन्माउने योजना बनाउनु अगाडि चेकजाँच आवश्यक छ ? एकदम आवश्यक छ । हामी यसलाई फर्टिलीटी वर्कसप नै भन्छौं । अहिले धेरै दम्पती विवाहपछि धेरै दम्पती अहिले सल्लाह लिन आउनुहुन्छ । कहिलेकाँही महिला या पुरुषमा सुगर, थाइराइड र प्रेसरको समस्या आउन सक्छ । यस्तो बेला बच्चा बसिदियो भने खेर जाने सम्भावना पनि हुन्छ । बच्चा बनाउने योजनाको तीन महिना अगाडि एकपटक डाक्टरसँग सम्पर्क राखेर चेकजाँच गराउनुपर्छ । आईभीएफ भनेको के हो ? महिलाको डिम्बबाट सकेसम्म धेरै अण्डा बनाएर, महिलालाई बेहोस गरी अण्डा झिक्ने हो । यसरी झिकेको अण्डा त्यही दिन श्रीमानको शुक्रकिटसँग मिलाएर भ्रुण बनाउने र यसरी बनेको भु्रणलाई महिलाको पाठेघरमै राखिने प्रक्रियालाई आईभीएफ भनिन्छ । भु्रण बन्ने प्रक्रिया ल्याबमै हुन्छ । कस्तो अवस्थामा आईभीएफ प्रणालीमार्फत पनि बच्चा जन्माउन नमिल्ने हुन्छ ? महिलामा पाठेघरमा धेरै समस्या हुँदा मिल्दैन । जस्तै मासु पलाएको भए, भ्रुण राख्ने ठाउँ पातलो भए यो प्रार्णाली मार्फत पनि बच्चा जन्माउन मिल्दैन । डिम्बको भण्डार कस्तो छ, राम्रो छ कि छैन । पुरुषको शुक्रकिट राम्रो छ कि छैन भनेर पनि जाँच गर्नुपर्छ । योजना बनाउनु अगाडि नै जाँच गर्दा पछि समस्या आउँदैन । मेरो समस्या के छ, मेरो शरीर कस्तो छ, स्वस्थ्य छु कि छैन भन्नेबारे समयमा जानकारी लिएको राम्रो हुन्छ ।