विकासन्युज

बागलुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । बागलुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनमा प्रभु बैंकका ग्राहकलाई छुट हुने भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बागलुङ अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण बागलुङ जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । अन्नपुर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ्ग र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बागलुङ झोलुङ्गे पुलहरुको जिल्लाको उपनामबाट परिचित छ । बैंकका अनुसार धौलागिरि र अन्नपुर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बागलुङ बाइकिङ्ग, -याफ्टिङ्ग तथा साहसिक चाहनेहरुका लागि उक्तम गन्तव्य स्थानका रुपमा लिईन्छ । कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरुबाट समेत परिचित छ । त्यस्तै बागलुङको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष जहाँ निलो भेडाहरुको प्रमुख बासस्थान रहेको पाईन्छ ।

मुद्रण उद्योगमा ३३ प्रतिशत कर लगाउँदा चार हजार व्यवसायी मारमा, अर्बौंको उद्योग धरापमा

काठमाडौं । सरकारले मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा कर बढाएर उद्योग नै धराशायी हुने अवस्थामा पुर्याएको भन्दै नेपाल मुद्रण उद्योग महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा कर बढाएकोमा महासंघले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएको हो । महासंघका अध्यक्ष विष्णु तिवारी र महासचिव अर्जुन प्रसाद सापकोटाले संयुक्त विज्ञप्ति जारी गरेर मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा कर बढाएकोमा विरोध जनाएका छन् । सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा विगतको भन्सार दरमा वृद्धि गरी १५ प्रतिशतबाट बाट २० प्रतिशत पुऱ्याएको र त्यसमा १३ प्रतिशत भ्याट लगाउँदा ३३ पतिशत हुन पुगेको विज्ञप्तिमा उल्लेख छ । ‘विदेशमा मुद्रित भई आउने केही तयारी सामाग्रीहरूमा भन्सार शुल्क मिनाह गरेको र अधिकांश तयारी सामाग्रीहरूमा जम्मा ५ देखि १० प्रतिशत मात्र भन्सार शुल्क लगाउने तथा १३ प्रतिशत भ्याट समेत छुट दिने घोषणाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘संसारभरिका सरकारले तयारी वस्तु आयातमा बढी भन्सार लिने र उद्योगको विकास र प्रवर्द्धनका लागि कच्चा पदार्थमा कम भन्सार शुल्क लिने गरेकोमा नेपाल सरकारले विगतदेखि नै उल्टो नीति अवलम्बन गर्दै आइरहेको छ ।’ महासंघले सरकारले उत्पादनमुखी भन्दा पनि आयातमुखी अर्थतन्त्रलाई निरन्तरता दिँदै, गलत भन्सार नीति अवलम्बन गरेका कारण गएको १० महिनामा ४ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको छपाइजन्य सामग्री विदेशमा नै छपाई गरी आयात भएको र यो १० महिनामा १६ अर्ब ५० करोड भन्दा बढीको पेपरजन्य कच्चा पदार्थ सार्कराष्ट्र तथा तेस्रो मुलुकबाट आयात हुँदा निर्यात भने जम्मा ८७ करोडको मात्र हुन पुगेको बताएको छ । मुद्रण व्यवसाय नै धरासायी हुने गरी ल्याइएको गलत नीतिप्रति विरोध जनाउँदै महासंघले तत्काल सरकारका तर्फबाट उद्योग र उत्पादन विरोधी नीतिमा परिवर्तन गरी उद्योगमैत्री भन्सार नीति लागु गर्न महासंघले माग गरेको छ ।

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला

काठमाडौं । ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’ कार्यक्रमका लागि आवेदन खुला भएको छ । सूचना प्रविधिको क्षेत्रमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनको लागि ह्वावेले आवेदन माग गरेको हो । स्नातक तहका विद्यार्थीले वेबसाइटमार्फत् आवेदन दर्ता गर्न सक्छन् । कम्पनीको वेबसाइटमा गएर जुन ९ तारिखसम्म आवेदन दिन सकिने हुवावे नेपालले जनाएको छ । ‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो ह्वावेको चौथो वर्ष हो । यस बृहत् कार्यक्रममार्फत ह्वावेले नेपालमा आईसीटी पारितन्त्र प्रवर्द्धन डिजिटलाइजेशन, नवप्रवर्तन, उद्यमशीलता, र दिगोपनको सेशनद्वारा गरेको छ । यस वर्ष ह्वावेले सरकार, शिक्षाविद् र उद्योग विज्ञहरू सम्मिलित विविध निर्णायक समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि यहाँ सह-आयोजक र युनेस्को रणनीतिक रूपमा रहेको थिए । यो प्रतियोगिताको दुई महिनामा अन्तर्वार्ता, कार्य, र प्रस्तुतीकरणका धेरै चरणहरू हुनेछन् । ‘सिड्स फर द फ्युचर नेपाल’ को विजेता चीन गइ, त्यहाँ तालिम र छेत्रीय प्रतियोगितामा भाग लिने अवसर पाउनेछन् । भ्रमणका क्रममा उनीहरुले उद्योग विशेषज्ञहरु द्वारा प्राविधिक नवाचार बारे अत्याधुनिक सेमिनारमा भाग लिने हुवावे नेपालले जनाएको छ ।

ट्राफिक कारबाहीमा परेकालाई सडकमा स्वयंसेवा गर्न लगाउनु गलत-खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरुलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएका भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताएका छन् । उनले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने बताए । कानून बनाएर मात्रै सो काम गर्न आग्रह गरे । गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गरे । ‘ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरुलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको शुरुवात गर्नुभएछ । पहेँलो ज्याकेट लगाउने मान्छेहरु सबै मापसेयुक्त हुन भन्ने भान भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरुको इज्जत रहन्छ रहँदैन । त्यसैले यो काम तुरुन्त बन्द गरेर कानून अनुसार शासन चलाउने व्यवस्थाको शुरुवात होस् भन्ने माग गर्न चाहन्छु । पत्रकारजस्तो बोलेर ट्वीट गरेर मुलुक चलाउने हो । कानुन अनुसार देश चलाउने पद्धतिको विकास गर्नुपर्छ’, उनले भने । उनले मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङको समेत माग गरे ।

औद्योगिक क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन बन्दै

वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनहरुको निर्माण गरिरहेको छ । वीरगञ्जसहित बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगहरुलाई विद्युत् आपूर्ति दिन चालू रहेका प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको छ । साथै, उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन छन् भने केही प्रस्तावित छन् । बारा-पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रुपमा बनाउन लागेको हो । प्राधिकरणले वीरगञ्ज औद्योगिक करिडोरको समस्या समाधान गर्न बाराको पथलैया (पिलुवा) सबस्टेसनदेखि परवानीपुरसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको तार (कन्डक्टर) बदलेर नयाँ राखिरहेको छ । डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पुरानो कन्डक्टर निकाली उच्च क्षमता (एचटिएलएस)को राख्ने काम भइरहेको छ । एउटा सर्किटको काम सकिएपछि त्यसलाई सञ्चालन गरी दोस्रो सर्किटको काम सुरु हुनेछ । प्रसारण लाइनको स्तरोन्नति आगामी असारको पहिलो हप्ताभित्र सक्ने लक्ष्यकासाथ काम भइरहेको छ । पथलैया (पिलुवा)- परवानीपुर प्रसारण लाइनबाट करिब २ सय मेगावाट प्रवाह गर्न सकिनेमा कन्डक्टर बदलेपछि क्षमता बढेर झण्डै दोब्बर हुनेछ । हेटौंडा-पथलैया (पिलुवा) १३२ केभी प्रसारण लाइनको पनि कन्डक्टर बदलेर क्षमता दोम्बर बनाइसकिएको छ । यसले गर्दा परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार स्थलगत अनुगमन गरी कन्डक्टर बदल्ने कार्य जतिसक्दो छिट्टो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई निर्देशन दिए । उनले भने-‘प्रसारण लाइनको क्षमता स्तरोन्नतिको कामका लागि एउटा सर्किट बन्द गर्नुपर्दा वीरगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिको समस्या भएको गुनासो आइरहेको छ, अर्कोतर्फ पथलैयाबाट थप विद्युत पठाउन नसक्दा भारतको रक्सौलबाट विद्युत् आयात गरिरहनु परेको छ, त्यसैले यस्तो संवेदशील अवस्थामा गम्भीर भएर तोकिएकै समयभन्दा अगाडि काम सक्नुपर्छ ।’ घिसिङले अब पथलैया-परपानीपुर प्रसारण लाइनको क्षमता हालकोभन्दा दोब्बर हुनेहुँदा त्यस क्षेत्रमा खपत गरी बढी भएको वर्षायामको विद्युत् रक्सौलतर्फ निर्यात गर्न सकिने बताए । वीरगञ्ज क्षेत्रका उद्योगहरुले १३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माणाधीन रहेको उनले बताए । वीरगञ्ज क्षेत्रका उद्योगहरुलाई लक्षित गरी बाराको प्रसौनी र वीरगञ्जमा गरी १३२ केभीका दुईवटा सबस्टेसन निर्माणाधीन छन् । प्रसौनी सबस्टेसन र बीरगञ्ज सबस्टेसन जोडी विद्युत् आपूर्ति गर्न १३२ प्रसारण लाइन निर्माणाधीन छ । यसैगरी, वीरगञ्ज क्षेत्रको विद्युत्को बढ्दो औद्योगिक माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ । पोखरियामा सबस्टेसन निर्माणाधीन छ । परवानीपुर- पोखरिया करिब २१ किलोमिटर प्रसारण लाइनको डिजाइन तयार भइसकेको छ । हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई रमौली हुँदै पोखरियामा पुर्याउने गरी अर्को आयोजना सुरु गरिएको छ । प्रस्तावित उक्त ४०० केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुने छ । निजगढ, रमौली र पोखरियामा गरी ४०० केभीका तीनवटा सबस्टेसन निर्माण गरिने छ । निजगढ-रमौली-पोखरिया प्रसारण लाइनको सर्वे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ । निजगढ सबस्टेसन भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूणर् ऋणमा निर्माण गरिने छ । निजगढ-रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेसन एसियाली विकास बैंकको सहुलितपूणर् ऋणमा निर्माण गरिनेछ । रमौली-पोखरिया २७ किलोमिटर प्रसारण लाइन र पोखरिया सबस्टेसनको लगानी स्रोत जुटिसकेको छैन ।

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली-डुम्रे खण्ड अवरुद्ध भएको छ । मुग्लिन-पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहानै पुनः पहिरो खसेको हो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्स विमान धावनमार्गबाट फर्काइयो

काठमाडौं । काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ । ‘धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो’, यात्री मञ्जु शाहीले भने, ‘नेल पलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।’ यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको ८ः२५ बजेको उडान तालिका थियो । विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए ।

मारुती गाडी बिक्रीमा गिरावट

काठमाडौं । मारुती सुजुकीका कार बिक्रीमा गिरावट आएको छ । मारुतीको बिक्री सन् २०२४ मे महिनामा दुई प्रतिशतले घटेको हो । मारुती सुजुकी इन्डिया (एमएसआई) को गाडी बिक्री वार्षिक आधारमा मे महिनामा दुई प्रतिशतले घटेर १ लाख ७४ हजार ५ सय ५१ युनिटमा सीमित भएको हो । कम्पनीले वितरकहरूलाई १ लाख ७८ हजार ८३ सवारीसाधन आपूर्ति गरेको थियो । एमएसआईले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै आन्तरिक बजारको यात्रुवाहक सवारी खण्डमा यसको बिक्री केही बढेर १ लाख ४४ हजार युनिट पुगेको छ, जुन गत वर्षको मे महिनामा १ लाख ४३ हजार ७ सय ८ युनिट रहेको जनाएको छ । कम्पनीका अल्टो र एस–प्रेसो जस्ता साना कारहरूको बिक्री गत वर्षको मे महिनामा १२, हजार २ सय ३६ युनिटको तुलनामा मे महिनामा घटेर ९ हजार ९ सय २ युनिटमा अडिएकाे छ । कम्प्याक्ट कारहरू बलेनो, सेलेरियो, डिजायर, इग्निस, स्विफ्ट, टुर एस र वागन आरको ​​बिक्री पनि मे महिनामा घटेर ६८ हजार २ सय ६ युनिटमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ७१ हजार ४ सय १९ युनिट थियो । बहुउद्देश्यीय सवारीसाधनहरू (ब्रेजा, ग्रान्ड भिटारा, एर्टिगा, एस–क्रस र एक्सएल६) को बिक्री मे महिनामा बढेर ५४ हजार २ सय ४ युनिट पुगेको छ, जुन मे २०२३ मा ४६ हजार २ सय ४३ युनिट थियो । भ्यान बिक्री गत वर्षको सोही महिनामा १२ हजार ८ सय १८ युनिटको तुलनामा मे महिनामा १० हजार ९ सय ६० युनिटमा झरेको छ । हल्का व्यावसायिक गाडी सुपर क्यारीको बिक्री गत वर्षको मे महिनामा २ हजार ८ सय ८८ युनिटको तुलनामा मे महिनामा २ हजार ६ सय ९२ युनिट थियो । कम्पनीको सवारी निकासी वैशाखमा १७ हजार ३ सय ६७ युनिटमा झरेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा २६ हजार ४ सय ७७ युनिट थियो । एजेन्सी