कारमा स्रोत नखुलेको एक करोड एक लाख रूपैयाँ राख्ने पक्राउ
इनरुवा । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारमा निरीक्षण गर्दा बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हरिनगर–५ का ३७ वर्षीय इसा अन्सारीलाई पक्राउ गरिएको छ । उक्त रकम हुन्डी कारोबारको भएको आशङ्का गरिएको छ । बरामद रकम, कार र चालकलाई राजस्व अनुसन्धान कार्यालय पठाइने सशस्त्र प्रहरी बल बराहवाहिनीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट
काठमाडौं । मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् । तनहुँको दमौलीमा जन्मिएकी उनी १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी हुन् । यसअघि मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनीसँग अस्ट्रेलियाको साँसदले सन्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ । रावतले मानसिक स्वास्थ, वृद्ध हेरचाह, यूरोलोजी गाइनी तथा युरोलोजी, ट्राभल नर्सिङ जस्ता क्षेत्रमा काम गरेकी छन् । उनी मिस अटो डी एलिगेन्स, प्राइभेट जेट शूट र स्पोर्ट्स कारका लागि प्रतियोगीका रूपमा छनोट समेत भएकी थिइन् । उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्याम्प वाक प्रदर्शन गरेकी थिइन् । विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी रावत मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् । वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर समेत केही समय काम गरेकी उनले बूमटाउन शिखर सम्मेलनमा समेत सहभागी भएकी थिइन् । यस्तै सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् । रावतले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अष्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् । साथै थाइल्यान्डमा स्वेच्छिक रूपमा ग्रामीण क्षेत्रमा विद्यार्थीहरूलाई अध्ययन गराएको अनुभव समेत उनीसँग छ ।
हरित कर नवीकरणीय ऊर्जामा खर्च गर्न सुझाव
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा नवीकरणीय ऊर्जालाई प्राथमिकता दिने घोषणा गरे पनि स्पष्ट कार्ययोजना भने नभएको यस क्षेत्रका विज्ञ, व्यवसायी, अभियन्ता एवम् सरोकारवालाहरूको गुनासो छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघद्वारा आयोजित ‘बजेट समीक्षा २०८१’ परिसंवादका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् । बजेटमा नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राखिएको भए पनि नवीकरणीय ऊर्जाको प्रवर्द्धन र विकासका निम्ति विनियोजित बजेट अत्यन्तै न्यून र स्पष्ट कार्ययोजनासमेत नभएको सहभागीहरूको भनाइ छ । सरकारले आगामी वर्षको बजेटमा सन् २०४५ भित्र खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले क्रमशः विस्थापन गर्ने, ऊर्जा उत्पादनलाई विविधीकरण गर्न निजी क्षेत्रबाट सय मेगावाट सौर्य विद्युत् जडान गर्ने व्यवस्था मिलाइने, हरित हाइड्रोजन प्रवर्द्धन गर्न अनुसन्धान र विकास गर्ने विषय उठाइए पनि नवीकरणीय ऊर्जाका अन्य स्रोतहरू लघु जलविद्युत्का विषयमा बजेट मौन रहेको उनीहरूको भनाइ छ । त्यस्तै लघु जलविद्युत्लाई स्तरोन्नति गर्ने, राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने, घरेलु तथा ठुला बायोग्यासलगायतको प्रवर्द्धन गर्ने विषयमा बजेटलाई सम्बोधन नगरेको नवीकरणीय ऊर्जाकर्मीले बताएका छन् । सरकारले नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गर्ने भनेर मात्रै नहुने स्पष्ट हुनुपर्ने भन्दै आगामी दिनमा बन्ने नीति तथा निर्देशिकाहरूमा स्पष्ट गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् । सरकारले यसपटकदेखि लागू गरेको कार्बन उत्सर्जन घटाउन पेट्रोलियम पदार्थ र कोइलामा लगाउने ‘हरित कर’ नवीकरणीय ऊर्जा क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिएका छन् । नवीकरणीय ऊर्जा उत्सर्जन घटाउन नवीकरणीय ऊर्जाका स्रोतको योगदान महत्त्वपूर्ण हुने भन्दै ‘हरित कर’लाई राजस्व आम्दानीको केन्द्रीय कोषमा नराखेर छुट्टै कोषमा जम्मा हुने गरी कार्यविधि निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । पेट्रोलियम पदार्थमा विगतमा लगाइएको कर लक्षित क्षेत्र खर्च नभई अन्यत्र खर्च भइरहेको अनुभवका आधारमा हरित करबाट नवीकरणीय ऊर्जा क्षेत्र लाभ लिनुपर्ने सरोकारवालाहरूको जोड छ । सरकारले नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राख्ने, दिगो विकास लक्ष्यको महत्त्वपूर्ण अंशका रूपमा लिइए पनि पछिल्ला दिनमा सरकारको चासो कम तथा अन्तर्राष्ट्रिय सहयोग एवम् प्रतिबद्धतासमेत न्यून हुँदा नवीकरणीय ऊर्जा क्षेत्र शिथिल भएको कार्यक्रमका सहभागीहरूले बताए । नवीकरणीय ऊर्जा क्षेत्रलाई अनुदानमा मात्रै आश्रित कार्यक्रममा सीमितता नगरेर उद्यमशीलताको विकास गर्नका लागि नवीकरणीय ऊर्जा क्षेत्रलाई ‘सहुलियतपूर्ण कर्जा’ प्रवाह गर्न नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा उल्लेख गर्नुपर्ने, हरित कर खर्च गर्ने स्पष्ट कार्यविधि निर्माणमा उनीहरूको जोड छ । छलफलमा पूर्वमन्त्री एवम् नवीकरणीय ऊर्जाका अभियन्ता गणेश साह, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. रामप्रसाद धिताल, ऊर्जा विज्ञहरू प्राडा रामेश कुमार मास्के, विश्वभूषण आमात्य, परिसंघका अध्यक्ष गुणराज ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।
सेती लोकमार्ग : १० किलोमिटर कालोपत्र हुँदै
गोदावरी । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ । सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्र गर्न निर्माण कम्पनीसँग एकदुई दिनभित्रै सम्झौता हुँदैछ । सडक कालोपत्रका लागि ३१ करोड रुपैयाँ प्राप्त भएको छ । कैलालीको टीकापुरबाट बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको ठुलीगाडदेखि सेती र बुढीगङ्गा दोभानसम्मको ४० किलोमिटर क्षेत्रमा रुख काट्न सरकारले अनुमति दिएको छ । दुई सय चार किलोमिटर लामो उक्त सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ । यो लोकमार्गको कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालय अछामले जनाएको छ । कैलालीको टीकापुरबाट चैनपुरसम्मको सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्रयाक बाँकी छ । अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी रहेको सूचना अधिकारी मिश्रले दिनुभयो । बाजुराको मेडासैनबाट राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । चालु आर्थिक वर्षमा सो सडकका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सो सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा तीन करोड छुट्याइएको छ । रासस
पवर्त पैयु खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाडौं । पवर्त पैयु खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न असार ३ गते विशेष साधारण सभा आह्वान गरेको छ । उक्त सभा काठमाडौं टोखामा रहेको कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि ३ बजेसम्म आयोजना हुनेछ । उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्नुपरेमा वा प्रस्तावित संशोधनमा नियमनकारी निकायाबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालन समितिलाई दिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको आयोजना,संरचना, बिक्री वा हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पुरा गर्न गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।
बोनस सेयरबापत लाग्ने कर तिर्न मनकामना स्मार्ट लघुवित्तको सेयरधनीलाई आग्रह
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीलाई आग्रह गरेको छ । संस्थाले आइतबार एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरूलाई आग्रह गरेको हो । साविकको स्मार्ट लघुवित्त र मनकामना लघुवित्त एक आपसमा कर्ज भई मनकामना स्मार्ट लघुवित्तको नामबाट एकीकृत कारोबार भएको २०७७ साउन ११ गतेपश्चात सेयर खरिद गरेका वा प्राथमिक सेयर निष्कासन बाँडफाँडमा परि हालसम्म सो सेयर कायम रहेका सेयरधनीहरूको हकमा सो सेयरमा करबापतको रकम तिर्न आग्रह गरेको हो । संस्थाका अनुसार करबापतको रकम जममा गरेपछि मात्रै बोनस सेयर हितग्राही खातामा जम्मा गरिने छ । २०७८ पुस १९ गते सम्पन्न संस्थाको चौथो वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित १७ प्रतिशत बोनस सेयर पारित गरेको थियो । सेयरधनीहरूले संस्थाको नाममा रहेको एनएमबी बैंक लिमिटेडको खातामा रकम जम्मा गर्नुपर्नेछ ।
नेपाल वेयरहाउजिङको ६८ हजार कित्ता सेयरको लकइन अवधि समाप्त
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लकइन अवधि शनिबारदेखि समाप्त भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७ सय ५० कित्ता सेयरको लकइन अवधि जेठ १९ गते समाप्त भएको हो । कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँड गरेको थियो ।
४० लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो । ४० लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका अध्यक्ष मनोज तिलिजाले बताए । ‘व्यवस्थित खेलमैदान बनेपछि विद्यालय परिसर र खेतबारीमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने समस्या हटेको छ,’ उनले भने । खेलाडीलाई फुर्सदको समयमा व्यायाम, खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको १५ लाख सहयोगमा ढलान गरिएको खेलमैदानमा अपर र मङ्गले राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक तुण्डी हाइड्रोपावरको १४ लाख बजेटमा स्टेज निर्माण भएको अध्यक्ष तिलिजाले बताए । गाउँपालिकाबाट विनियोजित ११ लाख बजेटबाट प्यारापिट निर्माण र तारजालीले खेलमैदानको डिलतर्फ घेराबार गरिएको वडाध्यक्ष पविन गर्बुजाले बताए । बाहालवाला र सेवानिवृत्त भारतीय गोर्खा सैनिकहरूको पाँच लाख बढी सहयोगमा बास्केटबलको फाइबर बोर्ड जडान भएको छ । क्लबका पूर्वअध्यक्ष गुन पुनले खेलमैदान निर्माणका लागि स्थानीय यौमन गर्बुजाले पाँच रोपनी, भक्त र रुकबहादुर गर्बुजका दाजुभाइ, नन्दबहादुर र कुलप्रसाद गर्बुजाका दाजुभाइ एवं विशाल र श्रीलाल गर्बुजाका दाजुभाइका परिवारले गरी पाँच रोपनी बढी जग्गा दान गरेका जानकारी दिए । खेलमैदानको भूमे पूजाका अवसरमा एकता युवा क्लबले आयोजना गरेको खेलकुद तथा सांस्कृतिक कार्यक्रमको अवसरमा शनिबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गरेका थिए । कार्यक्रममा क्लबले जग्गादाता र चन्दादातालाई सम्मान गरिएको थियो ।