विकासन्युज

‘सुनको अबैध व्यापार फस्टाउन सक्छ, लाखौंकाे रोजगारी धरापमा’

काठमाडौं । सुनचाँदी व्यवसायमा आवद्ध तीनवटा प्रतिनिधिमूलक संस्थाले सुनको आयातमा गरिएको भन्सार वृद्धिको निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला संघको संयुक्त टोलीले शुक्रबार अर्थमन्त्री वर्षामान पुनः सँग भेट गरी सरकारले आ.व. २०८१/०८२ को भन्सार विधेयक मार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत कायम गरिएकोमा विरोध गर्दै त्यसलाई खारेज गर्न माग गरेको हो । अर्थमन्त्री पुनले व्यवसायीको मागलाई आफूले सकारात्मक रुपमा लिएको उल्लेख गर्दै व्यवसायीहरुले राखेका समस्यालाई कसरी समाधान गर्न सकिन्छ त्यस विषयमा आवश्यक पहल गर्ने बताए । त्यसक्रममा महासंघका सल्लाहकार समेत रहेका सभाषद् रणेन्दू वराइलीले भन्सार दरमा भएको वृद्धिले ब्यवसायीमा परेको नकारात्मक प्रभावका बारेमा मन्त्री पुनलाई जानकारी गराए  । मन्त्री पुन सँगको भेटका क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मुलुक भरका सुनचाँदी पेशा व्यवसायीसँग प्रत्यक्ष रुपमा जोडिएको र आआफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मानिसलाई जन्मदेखि मृत्युसम्म कुनै न कुनै रुपमा आवश्यक पर्ने सुन जस्तो संवेदनशील वस्तुमा यसरी निरन्तर रुपमा भन्सार दर वृद्धि भएकोमा  तिनवटै महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । गत वर्ष पनि सरकारले भन्सार महसुल विधेयक २०८० मार्फत सुनको आयातमा लाग्ने भन्सार महशुल वृद्धि गरेको थियो । जसका कारण विश्व बजारमा निर्यात प्रतिष्पर्धामा उत्रन कठीनाई भैरहेको विद्यमान अवस्थामा व्यवसायी संघको कुनै पनि सरसल्लाह विना एकाएक भन्सार दर वृद्धि गरिएपछि सिंगो सुनचाँदी व्यवसायमा ठूलो समस्या पर्ने अवस्था सिर्जना भएको उनकाे भनाई छ । महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले विभिन्न अध्ययन अनुसार नेपालमा २० हजार भन्दा बढी सुनचाँदी व्यवसायी प्रत्यक्ष रुपमा यो व्यवसायमा जोडिएको र यो व्यवसायामा प्रत्येक्ष/अप्रत्येक्ष रुपमा दुई लाख भन्दा बढी रोजगारिमा आवद्ध भएको बताए । राज्यले यो व्यवसायबाट वर्षेनी अबौं रुपैयाँ राजस्व समेत प्राप्त गर्दै आइरहेको अवस्थामा यो व्यवसाय विश्व बजार र त्यहाँको मुल्यसँग प्रतिष्पर्धामा उत्रन सक्नु पर्ने प्रकृतिको ब्यवसाय भएपनि सरकारले व्यवसायीसँगको सल्लाह र सहमति विना नै एकाएक यसरी वर्षेनी भन्सार दर वृद्धि गर्दै लैजाँदा नेपालमा अब यो व्यवसाय गर्नै नसक्ने अवस्था आएको उनको भनाई छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसन सुनारले झिटी-गुण्टा अन्तर्गत पैठारी हुने सुनको सीमा बढाइने अपेक्षा गरिएकोमा आर्थिक वर्ष २०८१/८२को बजेटमा झनै संकुचित पारिएकोले सोको सीमा बढाई भन्सार छुटको सीमा ५० ग्राम र सो भन्दा बढीमा विदेशी मुद्राको स्रोत खुलाई प्रचलित भंसार बुझाई ३०० ग्राम सम्म ल्याउन पाउने व्यवस्था गरिनु पर्ने बताए । झिटी-गुण्टा अन्तर्गत भित्रिने सुनको खरीद बिलमा प्रवेश विन्दुमा भंसार कार्यालयले छाप लगाउने र सोही निस्साको आधारमा पैठारीकर्ताबाट गहना व्यवसायीले फाइन गोल्ड खरीद गर्न सक्ने प्रावधान हुनु पर्ने उनको भनाई छ । भारतीय बजारको समेत कुनै पर्वाह नगरी त्यहाँको तुलनामा समेत निकै बढी हुनेगरी यसरी भन्सार दर बृद्धि गरिँदा ब्यवसायीले सुनको आयात तथा बिक्रि बितरण गर्न नसक्ने र त्यसको प्रत्येक्ष प्रभाव आम ब्यवसाय, उपभोक्ताका साथ साथै सरकारलाई समेत पर्ने निश्चित छ । कोटा प्रणालीमा आधारित रही सुन आयात भैरहेको नेपालको विद्यमान अवस्थामा राज्यले यसरी उच्च रुपमा भन्सार वृद्धि गर्दा निर्धारित कोटा अनुरुप सुनको माग तथा आयात हुन नसक्ने र त्यसको फलस्वरुप राज्यले विगतमा भन्दा झनै कम भन्सार महशुल प्राप्त गर्न सक्ने जोखिम बढाएको उनीहरुको भनाई छ । ‘जुन विगतमा बैंकहरू मार्फत आयात भएको तथ्यांकले प्रष्ट देखाउँदछ । नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात सम्वन्धी निर्देशिका अनुसार हाल दैनिक २० केजीका दरले बैंकहरु मार्फत सुन आयात गर्न पाउने व्यवस्था छ । यो व्यवस्था अनुसार राज्यले सिधा सिधा भन्सार मुल्यलाई मात्र आधार मानेर वर्षेनी भन्सार दर वृद्धि गर्ने गरेको पाइएको छ । तर, राज्यले सोचको भन्दा ठीक विपरित हुनेगरी भन्सार दरमा निरन्तर उच्च वृद्धि गरिँदा तोकिएको परिमाणमा सुनको आयात हुन सकेको छैन’, महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, ‘जसका कारण राज्यले नियमित पाउने भन्सार शुल्क वृद्धि हुनुको अलावा झनै कम असुल हुन थालेको सरकारी तथ्यांकबाट नै प्रष्ट हुन्छ । र, यसले बैध कारोबारलाई संरक्षण गर्न समेत सकेको छैन । निरन्तर भन्सार वृद्धिले बैध कारोबारमा असर पर्न गई अवैध कारोबारमा प्रोत्साहन हुन जाने तर्फ पनि माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ महासंघका अनुसार कच्चा सुन आयातमा २० प्रतिशत भन्सार लागू गरिएको सन्दर्भमा तयारी गहना आयातमा यो भन्दा बढी भन्सार लागू हुनु पर्नेमा सार्क राष्ट्रबाट आयात गर्दा ९.५ प्रतिशत मात्र कायम भएकोले यसले अत्यधिक सुनका गहना आयात हुनसक्ने भएकोले एकातिर राष्ट्रको लागि न्यून भन्सार शुल्कबाट वार्षिक अरबौं रुपैयाँको क्षति हुने सक्ने देखिन्छ भने अर्काेतिर देश भित्र सुनचाँदी व्यवसाय क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष उपलब्ध गराएको लाखौंको रोजगारी धरापमा पर्ने देखिन्छ । यस्तै कच्चा चाँदीमा १५ प्रतिशत भन्सार लागू हुँदा तयारी चाँदीका गहना आयात गर्दा सो भन्दा कम क्रमशः ६ प्रतिशत र १० प्रतिशत (सार्क राष्ट्र भित्र  वा बाहिरी राष्ट्र बाट) कायम भएकोले यसले पनि राष्ट्रको लागि भन्सार आय र स्वदेशी कालीगढको रोजगारीमा बृहत रूपमा नकारात्मक प्रभाव पार्ने भएकोले सुनका गहना आयातमा न्यूनतम २५ प्रतिशत र चाँदीका गहना आयातमा न्यूनतम २० प्रतिशत भन्सार कायम गर्न आवश्यक देखिन्छ । साथै बहुमुल्य वस्तुहरुमा विलासी कर लगाउने ब्यवस्था गरिएको छ । अहिलेको अवस्थामा त्यो समेत समय सान्दर्भिक नभएको अवस्था छ । व्यवसायीको मागलाई गम्भीर रुपमा नलिई आम व्यवसायीको रोजिरोटी खोस्ने र प्रतिष्पर्धी बजार अनुसार सुनको सुलभ दरमा सुनका गरगहना उपयोग गर्न पाउने उपभोक्ताको अधिकार हनन् नगर्न आग्रह गर्दै त्यसो नभए विरोधका अन्य कार्यक्रम गर्न व्यवसायी बाध्य हुने समेत व्यवसायीहरुले बताए । भेटका क्रममा महासंघका तर्फबाट अध्यक्ष शाक्य, वरिष्ठ उपाध्यक्ष रसाइली, उपाध्यक्ष दियसरत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ र सचिव किरणभार्य बज्राचार्य सहभागी भएका थिए । यस्तै, रत्न तथा आभुषणवाट अध्यक्ष सुनार, प्रथम उपाध्यक्ष द्धारिका विश्वकर्मा, महासचिव निर बशादुर विक, कोषाध्यक्ष गणेश विश्वकर्मा तथा हस्तकला महासंघवाट अध्यक्ष प्रचण्ड श्रेष्ठ लगायतका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

के हो ब्रेन ट्युमर ? यस्ता छन् लक्षण

शरीरको कुनै पनि अंगमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भनिन्छ । मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर भएपछि मानिसको दिमागमा कोशिकाहरु चाहिनेभन्दा धेरै बढ्ने गर्दछन् र फैलने गर्छन् । ब्रेन ट्युमरको अवस्थालाई विश्लेषण गर्दा प्रारम्भिक अवस्था र जटिल अवस्थाका रुपमा हेर्न सकिन्छ । प्रारम्भिक अवस्थाको ब्रेन ट्युमर मस्तिष्कमा सुरु हुन्छ । कहिलेकाहीँ यी ट्युमरहरू फुटेर मस्तिष्क र मेरुदण्डको अन्य भागहरूमा फैलिन सक्छन् । सेकेन्डरी अर्थात् मेटास्टाटिक ब्रेन ट्युमरलाई घातक ट्युमरहरू भनिन्छ, जसले शरीरको अन्य ठाउँमा क्यान्सरका रूपमा उत्पन्न हुन्छ र विस्तारै मस्तिष्कसम्म फैलिन्छ । यस खालको ब्रेन ट्युमर प्राथमिक ब्रेन ट्युमरभन्दा चार गुणा बढी जटिल हुन्छ । ब्रेन ट्युमरका कारण  ब्रेन ट्युमर तथा क्यान्सर किन हुन्छ भन्ने ठोस कारण अझै पत्ता लाग्न सकेको छैन । त्यसैले यस वर्षको अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको सन्देश पनि ब्रेन ट्युमर जोखिमको कारण पत्ता लगाउनु भन्ने छ । ब्रेन ट्युमर हुनुको एउटा कारण यो जेनेटिक असरबाट हुने गर्छ । शरिरका कोषिकाहरु सामान्य रुपमा नभएर असामान्य ढंगबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या आउने गर्दछ । कतिपयलाई पुख्र्यौलीका आधारमा पनि भएको पाइन्छ । मानिसको उमेर बढ्दै जाँदा शरिरका अङ्गहरु क्रमशः कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना पनि बढ्दै जाने गर्दछ । हेपाटाइटिस, एड्सजस्ता रोग लागी कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहेको छ । ब्रेन ट्युमर हुनुको अर्को कारण खराव विकीरणलाई पनि लिन सकिन्छ । एक्सरे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानीकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको एसआरएस अर्थात ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरिरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउँछ । अनुसन्धानबाट यस्तो अवस्था पाँच प्रतिशतमा आएको देखिन्छ । तर यो प्रविधि निकै प्रचलित रहेको छ । चोटपटक लागेर पनि टाउकोमा ट्युमर पलाउन सक्छ । दिमागको इन्फेक्सनका कारण पनि ट्युमर हुनसक्छ । मोटोपन भएका व्यक्तिमा ब्रेन ट्युमर हुने जोखिम अझ बढी रहन्छ । पछिल्लो समय धेरै मोवाइल फोन प्रयोग गर्नेहरुमा पनि यो समस्या देखिएको छ । बच्चा पेटमा रहेदेखि वृद्धावस्थासम्म ट्युमरको सम्भावना रहन्छ । अझ खासगरी बच्चाहरुमा यो झन जटिल रहेको पाइन्छ । किनकी उनीहरुले आफूभित्र भएको समस्या राम्ररी भन्न नसक्ने हुँदा पछि झन जटिल अवस्था सिर्जना भएको छ । उनीहरुको टाउकोको आकार बढ्यो, उमेरअनुसारको गतिविधि देखिएन भने मात्रै अभिभावकले चिकित्सक कहाँ ल्याउँछन्, त्यतिबेला उनीहरुको अवस्था गम्भीर बनिसकेको हुन्छ । बच्चाको शरिर कमजोर हुने भएकाले पनि झन जटिल समस्या आउने गर्दछ । मानिसमा सयभन्दा बढी प्रकारका ब्रेन ट्युमरहरू हुन सक्छन् । मुख्य रुपमा तिनलाई दुई किसिमबाट हेर्न सकिन्छ । एउटा  नबढ्ने (बेनाइन) र अर्को बढ्ने (म्यालिग्नेन्ट) । बेनाइन ट्युमरहरु नफैलिने वा बिस्तारै बढ्ने खालको हुन्छन् । तर कहिलेकाहीँ तिनीहरूले मस्तिष्कको भागहरूलाई क्षति पुर्याई गम्भीर समस्या ल्याउन सक्छ । वेनाइनको पनि पहिलो र दोस्रो स्टेजका विरामीको उपचारबाट रोगको पूर्ण रुपमा निको गर्न सकिन्छ भने म्यालिग्नेन्टलाई क्यान्सर भन्न मिल्छ । ब्रेन ट्यूमरका तेस्रो र चौथो स्टेजका विरामीलाई क्यान्सर भइसकेको हुँदा पूर्ण रुपमा निको पार्न सकिंदैन । म्यालिग्नेन्ट ट्युमरहरु दिमागको अरु भागमा फैलिन सक्छ । यिनलाई तिनीहरू सामान्यतया छिटो बढ्छन्  । अन्य क्यान्सरभन्दा मस्तिष्कको क्यान्सर घातक मानिन्छ । त्यस्ता विरामीको उपचारपछि पनि पुनः पलाउने सम्भावना बढी हुन्छ । शल्यक्रियासँगै किमोथेरापी र रेडियोधर्मी गर्दागर्दै पनि अर्को ठाउँमा क्यान्सर देखिन सक्ने सम्भावना उच्च हुन्छ । के के हुन सक्छन् त लक्षण ? ब्रेन ट्युमर भएमा सुरुसुरुमा टाउको दुख्ने समस्या हुन्छ । टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा प्रमुख र सुरुआती लक्षण हो । ब्रेन ट्युमर भएको मानिसलाई टाउको दुख्ने क्रम दिनहुँ बढ्दै जान्छ, औषधि खाँदा पनि ठीक हुँदैन । अचानक बिहान उठ्ने बित्तिकै आँखामा अध्यारो हुने, चक्कर पनि आउँछ र चक्कर या बान्ता आउने जस्तो लगातार भइरहन्छ भने यो पनि ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । ब्रेन ट्यूमर तीव्र गतीमा फैलिन्छ । यसले शरीरमा छटपटाहट पैदा गर्छ । टाउको दुख्नुका साथै छटपटाहट महसुस हुन्छ भने तुरुन्तै अस्पताल जानुपर्छ । कतिपयलाई छारे रोग वा पटकपटक बेहोस हुने पनि हुन्छ । राम्ररी सुन्न नसक्ने, गन्ध थाहा नपाउने, राम्ररी नदेख्ने, हिँड्दा पनि लर्बराएर हिँड्ने जस्तो हुन्छ । दिमागको स्मरण शक्ति कमजोर बन्दै जान्छ र व्यक्तित्वमा परिवर्तन आउन थाल्छ भने पनि यो ब्रेन ट्युमरको लक्षण हुन सक्छ । ब्रेन ट्युमरको लक्षण थाहा नपाउँदा कतिपयलाई साइकेटिकको औषधि खुवाउने वा मानसिक रोगको उपचार गराउने गरिन्छ । यसले गर्दा पनि त्यस्ता विरामीको समयमा उपचार हुन नसकी पछि जटिल समस्या आउने गरेको छ । कसरी गरिन्छ उपचार ? मानिसको शरीरमा क्यान्सरका लक्षण देखिने गरे पनि बेवास्ता गरेका कारण समयमै रोगको सिकार भइसकेका बारे थाहा पाउदैनन् र समयमै उपचार हुन पनि सक्दैन । विरामीलाई समयमै अस्पताल ल्याउन सकिएमा यसको उपचार पनि हुन सक्छ । सिटीस्क्यान, एमआरआई, पेट स्क्यानजस्ता परीक्षणबाट ब्रेन ट्युमर तुरुन्तै थाहा हुन्छ । यी परीक्षणबाट कुन तहको रहेछ भन्ने झण्डै ९५ प्रतिशत थाहा लाग्दछ । ब्रेन क्यानसर पुष्टि भएपछि हामीले थप उपचार गराउनु पर्ने हुन्छ । थप उपचार भनेको रेडियो थेरापी र किमोथेरापी नै हो । ट्यूमरको अवस्था हेरेर रेडियो थेरापी वा किमोथेरापी कुन दिने वा दुवै दिने भन्ने निर्णय गरिन्छ । ब्रेन ट्युमरको उपचार धेरै किसिमकबाट गर्न सकिन्छ । औषधि नदिई सामान्य परीक्षणबाट पनि निको पार्न सकिन्छ । निराशाजनक छैन नेपालको अवस्था  ब्रेन ट्युमरको उपचार काठमाडौंलगायत देशका दुई/तीनवटा शहरमा मात्रै सीमित छ । ब्रेन ट्युमरका विरामीको शल्यक्रियादेखि थेरापीलगायतका कार्यहरु गर्न वीर अस्पतालमा गत वर्ष राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना भएको छ तर बजेटको अभावमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था अझै हुन सकेको छैन । यद्यपि, ब्रेन ट्युमरको उपचारको स्थितिलाई हेर्दा नेपालको अवस्थालाई नराम्रो भन्न मिल्दैन । दक्षिण एशियामा भारतपछि नेपालको अवस्था निकै राम्रो छ । यद्यपि नेपालको स्वास्थ्यको आधार ३० वर्षअघिकै छ, खासै सुधार हुन सकेको छैन । वीर अस्पतालमा रहेको सुविधा कम्तिमा प्रदेश स्तरमा विस्तार हुन आवश्यक छ । ब्रेन ट्युमरको उपचार निकै महंगो पनि हुने भएकाले विपन्न वर्गका मानिसले उपचार गराउन समस्या हुने हुँदा राज्यले नै सहयोग गर्नुपर्ने हुन्छ । हाल सरकारले क्यान्सरका बिरामीलाई एक लाख सहयोग गरेको छ, यसलाई उल्लेख्यरुपमा बढाउन आवश्यक छ । वीर अस्पतालमा दैनिक तीन/चार जना बिरामीको उपचार गर्ने गरिन्छ । एउटा शल्यक्रिया गर्न कम्तिमा पाँच घण्टा लाग्दछ । अहिले पनि शल्यक्रियाका लागि बिरामीले चार/पाँच हप्ता कुर्नुपर्ने वाध्यता रहेको छ । अहिले वीर अस्पताल र ट्रमा सेन्टरमा रहेका जम्मा छ जना न्यूरो सर्जनले बिरामीको बढ्दो चापलाई धान्न मुस्किल छ । नेपालभर कूल एक सय १५ न्यूरो सर्जनमध्ये यतिबेला एक सय १० जना स्वदेशमा रहेको अवस्था छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भरतपुर क्यान्सर अस्पतालमा मात्रै शल्यक्रिया गर्न सकिने पूर्वाधार रहेको छ  । अहिले जसरी ब्रेन ट्युमरको समस्या बढ्दैछ, त्यसअनुसार राजयले आवश्यक जनशक्ति र पूर्वाधार प्रदेशस्तरसम्म विस्तार गर्न सकिन्छ । जनताले पनि समयमै चिकित्सकसँग परामर्श गरी उपचार गराउनतर्फ ध्यान दिन पनि उत्तिकै आवश्यक छ । रासस (वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरो सर्जरी विभाग प्रमुख प्रा डा झासँग गरिएको कुराकानीमा आधारित)

मधेस प्रदेश सरकारले प्रत्यक्षलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने

काठमाडौं । मधेश प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट चलाउन दिने निर्णय गरेको छ । शुक्रबार गठित नयाँ मन्त्री परिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । मुख्यमन्त्री सिंहसहित मन्त्रीहरुको शपथ ग्रहणसँगै शुक्रबार बसेको पहिलो मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्रीले पदभार ग्रहणका क्रममा गरेका निर्णयहरु पारित गर्दै थप एक निर्णय गरेको हो । मधेस प्रदेशमा आजमात्रै नयाँ सरकार गठन भएको हो ।

कुमारी बैंक र युएसएआइडीबीच सम्झौता, उद्योगलाई वित्तीय साक्षरतामा जोड्ने

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग-व्यवसायमा वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआइडीसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत युएसएआइडी ट्रेड एन्ड कम्पिटिटीभनेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योगहरुमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १० हजार नयाँ एसएमईजलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तिय सहयोग गर्ने छ ।

कोरियाली दूतावासले वार्षिकोसत्वमा गर्यो हाजिरी जवाफ प्रतियोगिता

काठमाडौं । कोरिया-नेपाल कुटनितीक सम्बन्ध स्थापनको ५०औं वार्षिकोसत्वमा शुक्रबार हाजिरी जवाफ र कोरियाली भाषा वक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ । नेपालमा अवस्थित गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपाल दुई देशबीच कुटनितीक सम्बन्ध स्थापना भएको ५०औं स्वर्ण जयन्तीको अवसरमा यस वर्षभरीनै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यसै सिलसिलामा यहि जुन ७ तारिखमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर भव्यताका साथ स्वर्ण जयन्ती मनाएको छ । होटल हिमालयमा आयोजना गरिएको उक्त कार्यक्रममा १५० जना भन्दा बढि व्यक्तिको उपस्थिती रहेको थियो । नेपालमा कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभुती गराउनका लागि आयोजित कार्यक्रमहरु रहेको आयोजकले बताएको छ । हाजिरी जवाफ छनौट प्रतियोगितामा ४५ जनाले सहभागिता जनाएका छन् । हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हाशिल गर्ने धर्मराज लामाले यहि वर्ष कोरियामा आयोजना हुने वक्तित्वकला प्रतियोगितमा भाग लिने अवसर प्राप्त गरेका छन् । हाजिरी जवाफमा भाग लिनका लागि विश्वभाषा क्याम्पसमा कोरियाली भाषा विषय अध्ययनरत विद्यार्थी तथा विभिन्न कोरियाली संस्थामा आवद्ध व्यक्तिहरु सहभागी भएका थिए । कोरियन भाषामा कोरिया-नेपालबीच कुटनितीक सम्बन्ध स्थापनाको ५०औं वार्षिक उत्सवको अवसरमा दुई देशबीच सम्न्धब विस्तारमा युवापुस्ताको भूमिका सम्वन्धी शिर्षकमा वक्तित्वकला कार्यक्रम आयोजना भएको थियो । यस प्रतियोगितामा १० जना व्यक्तिले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । वक्तित्वकला प्रतियोगितामा आरती पौडेलले प्रथम स्थात हाशिल गरेकी छन् । सहभागी सबै प्रतियोगि सबैले दूतावासबाट प्रशंसा प्रमाण पत्र प्राप्त गरेका छन् । गणतन्त्र कोरियाली राजदूत तथा अन्य उपस्थित वयक्तिले कोरियाली खानाको प्रतिनिधित्व गर्ने फिबिमफाब् (मिक्स्ड राईस)मा विभिन्न किसिमका कन्दमुल समावेस भएको खानालाई चलाएर खान योग्य परिकारको परिचयात्मक कार्यक्रम रहेको थियो । उक्त कार्यक्रम मार्फत कोरियाली खानाको नेपालमा परिचय गराउने अवसर मिलेको आयोजकले बताएको छ । शुक्रबार दिनभरी आयोजना गरिएको कार्यक्रममा विभिन्न कोरियाली संस्कृतिलाई नेपाली माझमा परिचय गराउने अवसर उपलव्ध भएको थियो । कोरियाली सांस्कृतिक कार्यक्रमले कोरिया-नेपाल दुई देशका नागरिकबीच जनस्तरमा सम्बन्ध विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।  

नेपाल बैंक लिमिटेडले शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्न दियो ३० लाख

काठमाडौं । नेपाल प्रहरीको सहकार्यमा नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमर/सहिद, अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला एवम् पूर्व प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका सन्ततिहरू मध्ये उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ३० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरू तथा प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले ३० लाख रुपैयाँ रकमको चेक प्रहरी वरिष्ठ उपरिक्षक रेवती ढकाललाई हस्तान्तरण गरे । नेपाल प्रहरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप शैक्षिक छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बैंकप्रति आभार व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले प्रहरी संगठनबाट सञ्चालित विद्यालयहरूमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे ।

मन्त्रालयबाट अध्यक्ष ल्याइएपछि कर्मचारी असन्तुष्ट, ‘अर्थमन्त्रीले हस्तक्षेप गरे’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरूले बाेर्डकाे अध्यक्ष नियुक्तिकाे विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।  धितोपत्र बोर्डले शुक्रबार ३२औं वार्षिकोत्सव आयोजना गरेको ३२औं वार्षिकोत्सबमा बोर्डका कर्मचारीले अध्यक्षको नियुक्तिको विषयमा असन्तुष्टि पोखेका हुन् । अर्थमन्त्रालयले मन्त्रालयका सहसचिव नरेन्द्र रानालाई पहिले सदस्य र त्यसपछि अध्यक्षकै हैसियतमा काम गर्ने गरी पठाएपछि उनीहरूले असन्तुष्टि पोखेका हुन् । धितोपत्र बोर्ड कर्मचारी यूनियनका अध्यक्ष राजु बहादुर जीसीले सेबोनलाई स्वायत्तता प्रदान गर्नुपर्नेमा हस्तक्षेप भएको धारणा राखे । पुँजी बजारका लक्ष्य अनुरूप काम गर्न नेतृत्वमा कडा रूपमा प्रस्तुत हुने र जुझारू व्यक्ति हुनुपर्ने उनको भनाइ छ । तर, ६ महिनासम्म अध्यक्ष पद रिक्त रहँदा समस्या भइरहेको उनले बताए । ‘अध्यक्ष नियुक्ति प्रक्रिया किन रोकिएको हो ? मन्त्रीज्यूलाई पनि मतलब छैन । सरकार, मन्त्रालयलाई मतलब छैन । पुँजी बजारका लागि कति गम्भीर्यता छ भन्ने विषय सोचेको छैन,’ उनले भने, ‘पछिल्लो समय ऐन संशोधन हुँदा धितोपत्र बोर्ड स्वायत्त र अझै शसक्त रूपमा अगाडि बढ्ने अवसर प्राप्त होला भन्ने लागेको थियो । तर, संकुचन गरेको अनुभव पायौं ।’ उनका अनुसार एक मिनेट पनि अध्यक्ष पद रिक्त नराख्नुको पर्ने धितोपत्र बोर्डमा अर्थमन्त्रालयको प्रतिनिधिले अध्यक्षको हैसियतमा काम गर्ने अधिकार प्रत्यायोजन गरेर लूपहोलमा खेलेका छन् । यसले पुँजी बजारमा नकारात्मक प्रभाव पर्ने उनले बताए । विभिन्न निकाय मन्त्रालय, अख्तियार, महालेखापरीक्षक कार्यालय, लेखा समितिबाट विभिन्न निर्देश जारी हुँदा विरोधाभास उत्पन्न भएको उनको धारणा छ । ‘राना सर पनि कर्मचारी हो । उहाँका पनि आफ्ना सीमा छन् । उहाँ ४ दिनका लागि होकी ४ वर्षका लागि अध्यक्ष भएर आउनु भएको हो ? यदि ४ वर्षका लागि हो भने नीति नियम बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘संक्रमणकाल व्यवस्थापन गर्न आउनु भएकाले के गर्ने के नगर्ने भन्ने विषय होलान् । त्यसैले सम्पूर्ण काम अगाडि बढ्छन् भन्ने लाग्दैन,’ उनले भने, ‘एउटा नियममा टेकेर कर्मचारीले काम गरेका हुन्छन् । तर, विभिन्न निकायबाट निर्देशन आउँदा काम गर्न अप्ठेरो भइरहेको छ । यदि गलत छ भने ऐन नियम संशोधन गर्नुपर्छ । होइन भने काम गर्न दिनुपर्छ ।’ उनले बजारकाे विकासका लागि आफ्नै भवन हुनु पर्ने धारणा राखे । वर्षाैंदेखि आफ्नै भवनका लागि आवाज उठाउँदा पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । ‘हामी आफ्नो घरमा छैनौं भने प्रविधिमैत्री र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुन सक्दैन । पुँजी बजारको विकास लागि पनि सेबोनको आफ्नै भवन आवश्यक छ,’ उनले भने । पटक-पटक ठाउँ सारीले संस्थागत मेमोरी कायम नहुने र बोर्डको काम कारवाहीमा समेत असहजता हुने गरेको कर्मचारीहरूको गुनासो छ । राष्ट्रको सर्वाङ्गिण विकासका लागि आवश्यक पुँजी परिचालन गर्ने अंगको रूपमा रहेको बोर्डले ७ सयभन्दा धेरै संस्थाहरूलाई प्रत्यक्ष नियमन गर्दछ । तर, आफ्नै भवन नहुँदा बोर्डको संस्थागत क्षमता अभिवृद्धि हुन नसकेको धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेल बताउँछन् । साथै, विगत पाँच/छ महिनादेखि सबोन नेतृत्व विहिन छ । अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढेको भएपनि टुप्पोमा पुगेर रोकिएको छ । तर, केही नेपाल ऐन संशोधनमा बोर्डको अध्यक्ष रिक्त हुँदा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्यले नै अध्यक्षको हैसियतमा कार्य गर्ने व्यवस्था छ । तत्कालको लागि समस्या समाधान भएपनि दिर्घकालमा नियामकीय कार्यात्मक स्वायत्तता कमजोर हुने पौडेलको भनाइ छ । लामो समयसम्म अध्यक्ष विहिनताको अवस्था सिर्जना हुन सक्ने, पुँजी बजारको विकास एवं विस्तारमा गर्नुपर्ने कार्य समयमा नहुने उनले बताए । ‘लामो समय पूर्णकालिन अध्यक्ष रिक्त हुँदा बोर्डको कार्यसम्पादनमा असर गर्ने,समग्र वित्तीय प्रणालीको महत्त्वपूर्ण अंगको रूपमा रहेको पूँजी बजार मार्फत हुने पुँजी परिचालन, लगानीकर्ताको हित संरक्षण र बजारको विकास एवं विस्तारमा नकरात्मक असर पर्छ,’ उनले भने, ‘यो जोखिमलाई मध्यनजर गर्दै यथाशिघ्र पूर्णकालिन अध्यक्ष नियुक्त गर्नुपर्छ ।’ राजस्व सचिव डा.रामप्रसाद घिमिरेले सेबोनको भवन निर्माण प्रक्रियाका लागि आफूले मन्त्रालयमा पहल गर्ने बताए । जोखिम क्षेत्र पहिचान गरी सुपरिवेक्षणमा सेबोनले जोड दिनुपर्ने उनको भनाइ छ । पुँजी बजारमा गतल प्रवृति बढेकाले नियमन बढाउनु पर्ने उनले बताए । बजारलाई उत्पादन क्षेत्रका रूपमा परिचालन र विकास गर्नु पर्ने उनको धारणा छ । ‘पुँजी बजारमा अस्वभाविक उतारचढाब हुने गरेको छ । बोर्डले प्रभावकारी नियमन गर्न सक्रिय हुनुपर्छ । आम लगानीकर्ताको मनोबल बढाउन पर्ने देखिन्छ । जमेको पुँजी परिचालन गर्नुपर्छ,’ उनले भने, ‘लगानिकर्ता थपिदै छन् । डिम्याट सख्या वृद्धि भइरहेकाले अवसर समेत सिर्जना भएका छन् ।’ अध्यक्ष धितोपत्र बोर्ड नरेन्द्र कुमार रानाले ऐनले व्यवस्था गरेबमोजिम अध्यक्षको हैसियतमा काम गरिरहेको बताए । सरकारले तत्काल अध्यक्ष चयन गरी कामकारबाही अगाडि बढाउनु पर्ने उनको भनाइ छ । पुसदेखि ठप्प बजारलाई चलायमान गर्नेतर्फ आफ्नो पहल हुने उनले प्रतिवद्धता जनाए । अध्यक्ष रानाले जग्गा प्राप्तिका विषयमा उपत्यका विकास प्राधिकरणसँग आफूले कुरा गरिरहेको र यो समस्या छिट्टै समाधान हुने उनले बताए ।

नबिल बैंकले पायो प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको बताए । ‘यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल बैंकको उत्कृष्टता र इनोभेसन प्रतिको समर्पणलाई झल्काउँछ,’ सिइओ ढुंगानाले भने । उनले अवार्ड प्राप्तिमा सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी, लगानीकर्तालाई श्रेय दिएका छन् । यो अवार्ड जित्नुले बैंक आफैँमा नयाँ बेन्चमार्क तय भएको बैंकले जनाएको छ । डिजिटल प्रक्रिया स्वचालनमा थप नवीन कार्यको लागि बैंकले प्रतिबद्धता जाहेर गरेका छन् ।