हिमालयन रिको लकइन अवधि असार १० गते सकिने
काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लक इन अवधि असार १० मा समाप्त हुन लागेको हो । कम्पनीले गत पुस ११ गते साधारण सेयर बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।
माउन्टेन इनर्जीको बोनस सेयर डिम्याट खातामा जम्मा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको चैत्र १३ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको उक्त बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो । धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस सेयर बापतको सेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको हो । फागुन २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको बोनस सेयर पाएका छन् । कम्पनीले फागुन २९ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा गरिएकाले कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न भनेको छ । बोनस सेयर डिम्याट खातामा नै जम्मा गरिने भएकाले हालसम्म पनि डिम्याट खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खोली आफ्नो बोनस सेयर लिन कम्पनीको आग्रह छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
गर्मी छल्ने गन्तव्य बन्दै इन्द्रावती नदी
सिन्धुपाल्चोक । गर्मी बढेसँगै सिन्धुपाल्चोक मेलम्ची बजारनजिकै रहेको इन्द्रावती नदी पौडी खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटक रोजाइ बन्न थालेको छ । केटाकेटी, युवादेखि वृद्धहरु अहिले इन्द्रावती नदीमा पुग्ने गरेका छन् । काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य इन्द्रावती नदीमा पौडी खेल्दै मेलम्चीको लोकल माछाको स्वादमा रमाउने पर्यटक थुप्रै भेटिन्छन् । विशेषत शुक्रबार र शनिबार मेलम्चीमा बाक्लै भिड लाग्ने गरेको छ । काठमाडौं, भक्तपुर, ललितपुर उपत्यका र सिन्धुपाल्चोक आसपासका युवाका लागि त इन्द्रावती नदी आकर्षणको केन्द्रविन्दु नै बनेको छ । उपत्यकाबाट नजिकै र थोरै समयमा पनि निक्कै मनोरञ्जन लिन सकिने भएकाले इन्द्रावती नदी धेरैको रोजाइमा परेको काठमाडौंदेखि पौडी खेल्न आएका प्रवेश पौडेलले बताए । इन्द्रावती नदीको थप आकर्षण बढाउन स्थानीय तहले पूर्वाधारको क्षेत्रमा केही लगानी गरे अझै पर्यटनको सङ्ख्या बढ्ने र आन्तरिक आयस्रोत वृद्धिमा टेवा पुग्ने अर्का पर्यटक रञ्जन खड्काले बताए । मेलम्ची हुँदै हेलम्बु, पाँचपोखरी, इन्द्रावतीलगायत ठाउँ जाने अधिकांश यात्रुलाई इन्द्रावती नदीले लोभ्याउने गरेको छ । स्थानीय रामचन्द्र सापकोटा पनि नदीमा केही काम गर्न सकेमा पर्यटन प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गर्छन् । ‘बगिरहेको खोलामा त यति धेरै मान्छे आउँछन्, अझै खोलामा डुङ्गा हाल्न सकेमा, खाजा तथा खानाका लागि अस्थायी भए पनि होटल राख्न सकेमा आन्तरिक स्रोतको विकास हुने र स्थानीयले आम्दानी गर्न सकिन्थ्यो । यसतर्फ सबैको ध्यान जान जरुरी छ,’ उनले भने । विसं २०७८ सालको बाढीले बिथोलिएको यस खोलामा तीन वर्षपछि पौडी खेल्ने अवस्था बनको हो । यसबाट धेरेले आनन्द लिइरहेको छन् । यसलाई पर्यटन र आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।
एसइईको नतिजा असार दोस्रो साताभित्र
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । सोमबार परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताए । ‘हामीले उत्तरपुस्तीका परीक्षण र अंक अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौं,’ उनले भने । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिए । गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यसवर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर सार्वजनिक गरिने बताए । यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने उनले बताए। गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।
राष्ट्रपति पौडेल आज जेनेभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्ने भएका छन् । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । नेपालका राष्ट्र प्रमुख र स्वीस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ । भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन् ।
महानगरलाई बालश्रममुक्त बनाउन चुनौती
काठमाडौं । घटना १, जहिले उनी विद्यालयमा सबैभन्दा ढिला पुग्थिन् । दिनहुँजसो विद्यालय ढिला आउने भन्दै एकदिन उनले बेस्सरी रिसाइन् । तिमीलाई पढ्न मन छैन ? यदि त्यसो हो भने तिमी आउनु पर्दैन । फेरि पनि उनी ढिलो आइन्, उनको यो कार्य दिनहुँ चलिरह्यो । उनले एक दिन पिट्न जब हात थाप्न आग्रह गरिन् । उनले ति बालिकाको हात पुरै फुटेको, हातभरी छाला निस्केको देखिन् । त्यसपछि उनले हातको लठ्ठी भुईमा राखेर बालिकालाई सोधिन् । के भयाे ? जवाफमा बालिकाले भनिन्,‘म्याम एकचोटी फुर्सद हुँदैन, अहिले पनि काम नसकेरै आएकी हुँ, छिटो आउँछु भन्दा साहुनीले गाली गर्नुहुन्छ ।’ उनको कुरा सुनेपछि उनलाई माया लाग्यो । ‘काम गर्दै पढ्न आउने केटी हो भन्ने त थाहा थियो । तर, बालिकामाथि यतिसम्मको श्रम शोषण हुन्छ भन्ने सोचेकी सम्म थिइनन् ।’ दुर्गम पहाडबाट सहरमा पसेकी एक विद्यार्थीको बारेमा सुनाउँदै टिका विद्याश्रमकी पूर्व शिक्षिका तथा ललितपुर महानरपालिका कार्यपालिका सदस्य लक्ष्मी शर्माले भनिन् । यस्ता थुप्रै घरेलु बालमजदुर विद्यार्थी त्यो विद्यालयमा अध्ययन गर्छन् । कुनै परिवारले आफ्नै केटाकेटी जस्तै माया गरेर पनि बालबालिका पढाइरहेको भएपनि कतिपय बालबालिका भने घरेलु काम गर्दा चरम शोषणमा परेको लक्ष्मी शर्माले बताइन् । घटना २, एउटा १४/१५ वर्षको बालक कतिदिनसम्म सडकमै हिँडेको देखिन्थे । फाटो लुगा, मलिन अनुहार, हेर्दै पेटभरी खाना नपाएको जस्तो । जहिले ललितपुरमहानगरमै देखिँदा उनलाई मनमा प्श्न उठिरह्यो । आमाबुवासँगै रहनुपर्ने, विद्यालय जानुपर्ने उमेरमा ति बालकलाई सडकमा देख्दा उनलाई नरमाइलो लाग्यो । दिनहुँ यो दृश्य देखिरहेका उनलाई ति बालकसँग नभेटी घरफर्कन मन लागेन । उनले ति बालकसँग कुरा गरे । उनी काठमाडौं बाहिरको बालक रहेको थाहा पाए । न बस्न, न खान ठेगान भएको बालकलाई उनले आफ्नो घर लगे । उनी यातायात व्यवसायी संघमा आवगद्ध भएकाले गाडीमा काममा लगाइदिए । तीन/चार वर्ष भयो अहिले पनि ति बालक सह-चालकको रुपमा काम गरिरहेका छन् । बालक आफै काम गर्न थालेपछि उनलाई अहिले खान बस्न समस्या छैन । यस्ता समस्यामा परेका बालकहरू आफै कामको खाेजीमा आउँछन् यस्तो बेला के गर्ने ललितपुर महानरपालिकामा रहेको यातायात व्यवसायी संघका एकजना सदस्यले भने । घटना ३, उनी उमेरले १५ वर्षकी भइन् । काम दोहोरी साँझमा गीत गाउने र नाच्ने गर्छिन् । उनलाई उमेर सोध्दा उनी २२/२३ पुगिसकेको बताउँछिन् । त्यही पैसाले उनी काठामडौंमा खान बस्न पु¥याइरहेकी छिन् । उनी काम गर्ने ठाउँमा न त उनले नियम अनुसार तलब पाउँछिन् , नत समयमै । तरपनि उनी काम गरिरहेकी छिन् । कहिले ग्राहकबाट त कहिले साहुबाटै शोषणको जोखिम पनि उत्तिकै हुन्छ । यस्ता बालबालिकाहरू अहिले मनोरञ्जन क्षेत्र डान्सबार, दोहोरी साँझ लगायतका क्षेत्रमा धेरै छन्, विश्वास नेपालमा कार्यरत एक कर्मचारीले भनिन् । काठमाडौं उपत्यकामा यस्ता समस्या धेरै छन् जसमा कारण बालश्रममुक्त बनाउन चुनौती थपिएको छ । पूर्वमेचीदेखि पश्चिम महाकाली सम्मका व्यक्तिको बसोबास रहेको ललीतपुर महानगरपालिकालाई बालश्रममुक्त घोषणा गर्न चुनौति रहेको सरोकारवालाहरूले बताएका छन् । ललितपुर महानगरपालिकालाई बालश्रम मुक्त घोषणा कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको एक सहभागीहरूले यस्तो बताएका हुन् । २०८२ सालसम्म देशका सबै तह बालश्रम मुक्त घोषणा गरिसक्ने लक्ष्य राखेको छ । तर, अहिले सम्म पाँचवटा स्थानीय तहमात्र बालश्रममुक्त घोषणा भएका छन् । कार्यक्रममा सहभागी नागरिक समाज,बाल क्लब, जनप्रतिनिधि लगायतल महानगरलाई बालश्रम मुक्त गर्ने कानून र नीतिगत काम गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि हरेक वडामा बालअधिकार हुनुपर्ने, बाल कोषको स्थापना हुनुपर्ने र बाल कल्याण अधिकारी हुनुपर्ने सुझाव दिएका छन् । ललितपुर महानगरकी बाल कल्याण अधिकारी सरीता महर्जनले महानगरलले कार्यविधि बनाउने विषयमा छलफल सुरु गरिसकेको बताएकी छन् । कानून र कार्यविधिमा हामीले धेरै काम गरिसकेको छौं उनी भन्छिन्, ‘अहिले महानगरमा बालबालिकाको अवस्था कस्तो छ भन्ने विषयमा बुझिरहेका छौँ, यसका लागि औपचारिक र अनौपचारिक रुपमा तथ््यांक संकलनको काम पनि गरिरहेका छौँ ।’ यसका लागि उद्योगी व्यवसायी, रोजगारदाता, उपभोक्ता, अभिभावक,बिचौलियासँग घनिभुत छलफल आवश्यक गर्न पनि कार्यक्रममा सहभागीले सल्लाह दिएका छन् ।
निर्णायकको हातमा हतकडी, बैंकरलाई राहत
काठमाडौं । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन सेञ्चुरी बैंकका सञ्चालकहरूलाई पक्राउ गरेको छ । सीआईबीले तत्कालीन से ञ्चुरी बैंकका पूर्व अध्यक्ष राजेश श्रेष्ठसहित तत्कालीन सञ्चालक समितिका सदस्यहरू सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ, हाल प्रभु बैंकका सञ्चालक समेत रहेका अभिषेक बज्राचार्य र सेञ्चुरीका सीएडी सेक्सन चिफ शिवगोपाल रिसाललाई पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबीले) कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको बताएको छ । उनीहरूमाथि सो विषयमा अनुसन्धान हुने सीआईबीको भनाइ छ । यसअघि बैंकले धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको भन्दै सीआईबीले तत्कालीन सेञ्चुरीका सीईओ तथा हाल प्रभु बैंकका वरिष्ठ डीसीईओ मनोज न्यौपानलेसहित १० जना बैंकरलाई पक्राउ गरेको थियो । सीआईबीले न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसी गौतम लगायत १० जना बैंकरलाई नियन्त्रणमा लिएका थियो । तत्कालीन सेञ्चुरी बैंकमा कार्यरत कर्मचारीहरू राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर उनीहरूमाथि अनुसन्धान गरेको थियो । पछि प्रहरीले हाजिरी जमानीमा उनीहरूलाई छोडेको थियो । अहिले सो विषयमा थप अनुसन्धान गर्न प्रहरीले तत्कालीन सञ्चालकहरूलाई पक्राउ गरेको जानकारी दिएको छ । सीआईबीले उनीहरूविरूद्द बैंकिङ् कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको बताएको छ । यसअघि वित्तीय क्षेत्रका छाता संस्थाहरूले निर्णय गर्नेहरूलाई उन्मुत्ति दिएर काम गर्ने कर्मचारीलाई पक्राउ गरेको विषयप्रति विरोध गरेका थिए । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंक एसोशिएसन र वित्तीय संस्था संघ लगायतले संयुक्त रुपमै विज्ञप्ति जारी गरेर यो घटनाले बैंकिङ क्षेत्र र बैंकरलाई नै त्रसित बनाएको धारणा राखेको थियो । यो घटनाले बैंकरलाई आतंकित बनाएको धारणा ती संघहरूको थियो । ‘बैंकरले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु हुँदैन, कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण पक्राउ गर्नु हुँदैन’ यसले बैंकिङ क्षेत्र आतंकित बनेको छ,’ बैंक तथा वित्तीय क्षेत्रका छाता संस्थाहरूले विज्ञप्ति जारी गर्दै भनेका थिए । निर्णायकको हातमा हतकडी सीआईबीले कम मूल्यको धितोमा बढी कर्जा प्रवाह गरेको भन्दै बैंकरलाई पक्राउ गरेको थियो । कर्जा प्रवाह गर्दा सुरक्षण बापत राखिने धितोको मूल्यांकन १ अर्ब १४ करोड २३ लाख ८४ हजार रुपैयाँबराबरको भए पनि बैंकका कर्मचारीले ऋणीलाई २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सीआईबीको दाबी थियो । धितोको मूल्यभन्दा ९७ करोड ४१ लाख ७० हजार रुपैयाँ बढी ऋण लगानी भएको ठहर सीआईबीको छ । तर, यो ऋण दिने निर्णय गर्ने सञ्चालक समितिलाई वेवास्ता गर्दै कर्मचारीलाई पक्राउ गरेको भन्दै बैंकरले विरोध जनाएका थिए । सञ्चार माध्यमले पनि सोही विषयलाई प्राथमिकताका साथ समाचार सामग्री प्रसारण तथा प्रकाशन गरेका थिए । कुनै पनि बैंक तथा वित्तीय संस्थामा कर्जा विभागको नेतृत्व गर्ने कर्मचारी, डीसीईओ तथा सीईओलाई निश्चित रकमको ऋण प्रवाह गर्ने पाउने गरी सीमा तोकिएको हुन्छ । वाणिज्य बैंकको सञ्चालक समितिले बैंकका सीईओलाई न्यूनतम २५ करोडदेखि १ अर्ब रुपैयाँसम्म ऋण दिन सक्ने अख्तियारी प्रदान गर्ने अभ्यास छ । तत्कालीन सेञ्चुरी बैंक स्रोतकाअनुसार सो बैंकमा सीईओलाई अधिकतम् ७५ करोड रुपैयाँसम्म कर्जा लगानी गर्न सक्ने अख्तियारी सञ्चालक समितिले दिएको थियो । सञ्चालक समितिले सीईओलाई ४५ करोड रुपैयाँ फण्डेड र ३० करोड रुपैयाँ ननफण्डेड अन्तर्गत गरी कुल ७५ करोड रुपैयाँ ऋण लगानी गर्न सक्ने अख्तियारी प्रदान गरेको थियो । सो सीमाभन्दा बढी ऋण प्रवाह गर्नु परेमा सीईओले सञ्चालक समितिमा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । ‘२ अर्ब ऋण एउटै सीईओ वा डीसीईओले प्रवाह गर्दैनन्, यसमा सञ्चालक समितिको निर्णय नै आवश्यक हुन्छ, यो ऋण सञ्चालक समितिको बैठकको निर्णयबाटै गएको हो,’ तत्कालीन सेञ्चुरी बैंक सम्बद्ध स्रोतले भन्यो । सेञ्चुरी बैंकका एक पूर्व सञ्चालकले यसअघि विकासन्युजसँगको कुराकानीमा यो ऋण सञ्चालक समितिको निर्णयबाटै भएको स्वीकार गरेका थिए । ती सञ्चालकका अनुसार आफू यो निर्णयमा सहभागी नभए पनि आफू सञ्चालक बन्नुअघिको समितिले यो ऋण प्रवाह गर्ने निर्णय गरेको थियो । यो ऋण श्रेष्ठको नेतृत्वमा प्रवाह भएको बुझिएको छ । त्यतिबेलैको सञ्चालक समितिलाई आज सीआईबीले पक्राउ गरेको हो । सञ्चालक समितिबाट नै निर्णय भएर ऋण प्रवाह भएको विषयको जानकारी पाएपछि सीआईबीले सो निर्णय गर्ने कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो । बैंकरलाई राह्रात यसअघि बैंकको ऋण अपचलन तथा दुरुपयोग विषयमा बैंकर नै फ्रन्टलाइनमा देखिन्थे । बैंकको कर्जा असुल हुन सकेन भने सबै भार कर्मचारीको टाउकोमा आउँथ्यो । तर, यो विषयले थोरै भए पनि कर्मचारीलाई राह्रात मिलेको एक बैंकरले बताए । ती बैंकरकाअनुसार बैंकको ऋण प्रवाह प्रक्रियामा सञ्चालक पनि सहभागी हुने भएकोले यो विषयले सञ्चालक पनि कारवाहीको भागेदार हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको ती बैंकरको भनाइ छ । बैैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंले नेतृत्व गरेको चार कम्पनीलाई सो ऋण दिएको थियो । चौलागाईंलाई २ अर्ब ऋण लगानीका लागि निर्णय गरेर हस्ताक्षर गर्ने सञ्चालकहरूलाई छायामा पार्दै सीआईबीले बैंकका कर्मचारीलाई पक्राउ गरेको भनेर पनि आलोचना भएको थियो । सीआईबी भन्छ : सबैले बदनियत राखे सीआईबीले बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापन मिलेर बदनियतका साथ कर्जा अपचन भएको बताएको छ । सीआईबीले सोमबार विज्ञप्ति जारी गर्दै ऋणी रविन्द्र चौलागाईं, बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापन मिलेर नियोजित ढंगले रकम हिनामिना गरेको बताएको हो । चौलागाईंको तथा उनको परिवारको नाममा रहेका विभिन्न कम्पनीको नाममा कर्जा प्रवाह गरी बैंकको कर्जा हिनामिना गर्ने उद्देश्य राखिएको छ, राष्ट्र बैंकले जारी गर्ने निर्देशन तथा निर्देशिकाको अधिनभन्दा बाहिर गएर सञ्चालक तथा उच्च व्यवस्थापनले आफू अनुकुलको वातावरण सिर्जना गरी कम्पनीको वास्तविक कारोबार रकमभन्दा बाहिर गई नक्कली कागजातहरू बनाई कर्जा प्रवाह भएको छ, प्रतिवादीविरुद्द बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ,’ सीआईबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गरे । प्रधानमन्त्री दाहालको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका थिए । उनी नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको शपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक भएका थिए । शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालका साथमा सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।