टिभिएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ । जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बानेश्वर शोरूमबाट शुरु भएर ह्वाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथमा सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको बानेश्वर शोरुमका सञ्चालक श्रीकृष्ण थापाले सबै सहभागीहरूलाई स्वागत गरेका थिए । टिभिएसकी प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु थियो । उक्त राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।
कर्माचार्य ग्रुपद्वारा उत्पादित ‘क्रन्च’ ब्राण्डको वेफर बजारमा
काठमाडौं । कर्माचार्य बेक्स एण्ड फुड्सले नयाँ उत्पादन बजारमा ल्याएको छ । बिस्कुट उत्पादनमा अग्रणी पहिचान बनाउन सफल उद्योगले ‘क्रन्च’ ब्राण्डमा वेफर बजारमा ल्याएको हो । अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधिको प्लान्ट स्थापना गरी ‘वरिजिनल क्रिप्स एण्ड क्रन्ची चकलेट वेफर’ बजारमा ल्याइएको उद्योगले जनाएको छ । उद्योगले चक्लेट, भेनिला, स्टेभरी र मिल्क क्रिमको स्वादमा वेफर उत्पादन गरेको छ । बालबालिकादेखि सबै उमेर समूहलाई लक्षित गरी वेफर बजारमा ल्याइएको र देशभरको बजारमा उपलब्ध भइसकेको जनाइएको छ । गुणस्तरलाई प्राथमिकतामा राख्दै वेफर उत्पादन गरिएको उद्योगले जनाएको छ । स्वाद, सन्तुष्टि र मिठासले पूर्ण हुने गरी वेफर उत्पादन गरिएको र बजारमा पुगेको छोटो समयमा नै उपभोक्ताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको उद्योगले जनाएको छ ।
कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरूका नाममा रहेको ५ लाख ८१ हजार २ सय ५१ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा पुग्ने गरी आवेदन दिन सक्नेछन् । आवेदन पेस गर्ने अन्तिम मिति असार ४ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।
कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप
फाइल फोटो काठमाडौं । कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः ९ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए । ७० करोड रुपैयाँमा ठेक्का पाएको भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो । आयोजना निर्माणका लागि ६ हजार रुख कटानका लागि टाँचा लगाइएको आयोजना प्रमुख चौधरीले बताए । बाँके र बर्दिया जिल्लामा पर्ने राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्नुपर्ने भएकाले रुख कटान हुने प्रमुख चौधरीले बताए । विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रुख कटान निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट निर्णय भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति आउन समय लागेका कारण काम अघि बढ्न नसकेको उनले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयानुसार रुखमा छपान कार्य भने सकिएको छ । सुर्खेतको वीरेन्द्रनगर-११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुनसकेको छैन । विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन । विद्युत लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेर विकल्पसमेत मागेका हुन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभार हुँदै लाइन विस्तार हुने उल्लेख छ । प्रसारण लाइन निर्माण गर्दा स्थानीयवासीलाई उचित मुआब्जा दिएर विवाद समाधान गर्न पहल भइरहेको आयोजनाको दाबी छ । पटकपटक म्याद थप्दा पनि विवाद समाधान तथा निर्माणकार्यले गति नलिँदा कर्णालीमा विद्युत्को समस्या जहाँको तहीँ छ । हालसम्म विद्युत प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । एक सय पाँचवटा फाउण्डेसन निर्माण गरिएको छ भने १० वटा फाउण्डेसन बनिरहेका छन् । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले आगामी आवबाट चार सय केभी प्रसारण लाइन निर्माण सुरु गर्ने बताएको छ । भेरी र कर्णाली करिडोरामा चार सय केभी प्रसारण लाइन निर्माण गर्ने सरकारको लक्ष्य छ । चार सय केभी प्रसारण लाइन एक सय ५० केभी प्रसारण लाइनमा ल्याएर जोडिने छ । नलगाड, ताक्सुगाड र जगदुल्ला जलविद्युत् आयोजना निर्माण भएमा उक्त विद्युत् मैनतडास्थित चार सय केभीको सबस्टेशनमा जोडिने लक्ष्य लिएको छ । नलगाडको पिपीए नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशसँग भइसकेको छ । जगदुल्लाको पिपीए बाफीकोटस्थित सबस्टेशनमा भए पनि पुनः दानीपिपलस्थित चार सय केभीको सबस्टेशनमा हुने भएको छ । त्यस्तै कर्णाली करिडोर हुँदै चार सय केभी प्रशारण लाइन निर्माण हुनेछ । साविकको कर्णालीलगायत अन्य दैलेखलगायतका जिल्लामा विद्युतीकरण गर्न यो काम हुने भएको हो । भेरी करिडोरमा निर्माण हुने चार सय केभी प्रसारण लाइन डबल सर्किटको छ । दुई हजार पाँच सय मेगावाट विद्युत यही प्रसारणमार्फत जोड्ने लक्ष्य छ । एक सय ५० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले बताए । पटकपटक विद्युत् अवरोध हुँदा कर्णालीमा हैरानी भएको छ । ३२ केभी प्रसारण लाइनको विद्युत् पुराना भएकाले पटकपटक समस्या आउने गरेको छ । दिनमा कम्तीमा सातपटकभन्दा बढी अवरोध हुँदा समस्या हुने गरेको हो । हावापानी चल्नेबित्तिकै पूरै लाइन अवरुद्ध हुने गरेको छ । कर्णालीका उद्योगी, व्यवसायी विद्युत्को मारमा परेका छन् । बत्ती आइहाले पनि ‘लो भोल्टेज’का कारण काम गर्न गाह्रो हुने गरेको वीरेन्द्रनगर नगरपालिका–१० का मोहनजंग शाहीले जानकारी दिए ।
बेष्ट फाइनान्सले ३ लाख ५६ हजार कित्ता संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउँदै
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर असार ४ गतेदेखि लिलामीमाफर्त बिक्रीमा ल्याउन लागेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले कमलादीमा रहेको बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय शाखा कार्यालयहरू मिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज, घोराही, दाङ, इटहरी, नारायणगढ, चितवन, वीरगञ्ज र न्यूरोड पोखरामा आवेदन दिन सक्नेछन् । साथै, उपत्यका बाहिर रहेका ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू–विरेन्द्रनगर,सुर्खेत र धनगढीमा समेत आवेदन पेस गर्ने सकिनेछ । आवेदन पेस गर्ने अन्तिम मिति असार ११ गते रहेको छ ।
नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४० हजार ९ सय १४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउने यो सेयर इच्छुक सेयरधनीले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्ने छ । तोकिएको समयमा आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।
हिमालयन रिको लकइन अवधि असार १० गते सकिने
काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन अवधि आगामी असार १० गते समाप्त हुने भएको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लक इन अवधि असार १० मा समाप्त हुन लागेको हो । कम्पनीले गत पुस ११ गते साधारण सेयर बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त बाँडफाँड गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।
माउन्टेन इनर्जीको बोनस सेयर डिम्याट खातामा जम्मा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको चैत्र १३ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको उक्त बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो । धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस सेयर बापतको सेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको हो । फागुन २९ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको बोनस सेयर पाएका छन् । कम्पनीले फागुन २९ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा गरिएकाले कर्जा राफसाफ भैसकेको भए फुकुवा गर्न भनेको छ । बोनस सेयर डिम्याट खातामा नै जम्मा गरिने भएकाले हालसम्म पनि डिम्याट खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खोली आफ्नो बोनस सेयर लिन कम्पनीको आग्रह छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।