विकासन्युज

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गरे । प्रधानमन्त्री दाहालको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका थिए । उनी नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको शपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक भएका थिए । शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालका साथमा सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए ।

यस्तो छ देशको अर्थतन्त्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको सन्देश प्रवाह गरेको छ । राष्ट्र बैंकले सोमबार देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक सार्वजनिक गर्दै आर्थिक सूचकहरू सकारात्मक बन्दै गएको सन्देश प्रवाह गरेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार महँगी घट्दै गइरहेको छ भने कुल विदेशी विनिमय सञ्चिति पनि बढ्दै गएको छ । तर, विज्ञहहरू भने व्यापार घटेर बढेको सञ्चितिलाई सन्तोष मान्न नहुने बताइरहेका छन् । आयात निर्यातलाई कडाइ गरेर विदेशी मुद्राको सञ्चिति बढ्नुलाई खुसी मान्न नसकिने धारणा विज्ञहरूले राखिरहेका छन् । चालु आर्थिक वर्षको बैशाखसम्म मूल्यवृद्धि ४.४० प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत थियो । बैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप/समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप/समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५५ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति करिब ४ खर्ब बचतमा राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु खाता र शोधनान्तर स्थिति बलियो बन्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म चालु खाता २ खर्बले बचतमा छ । बैशाखसम्म चालु खाता १ खर्ब ९३ अर्ब २५ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको बैशाखसम्म चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको थियो । विदेशी मुद्रा साढे १९ खर्ब पुग्यो सरकारको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब पुगेको छ । बैशाखसम्म विदेशी मुद्रा सञ्चिती १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार वि.सं २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थियो । १० महिनाको अवधिमा २६.२ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ । अमेरिकी डलरमा २४.२ प्रतिशत वृद्धि भई १४ अर्ब ५४ करोड पुगेको छ । गत असारसम्ममा ११ अर्ब ७१ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १७ खर्ब २२ अर्ब २ करोड रुपैयाँ रहेको छ । वि.सं २०८० असारसम्ममा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । १० महिनामा २८ प्रतिशत बढेको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ को १० महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । १२ खर्ब रेमिट्यान्स भित्रियो चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । बैशाखसम्म ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ०१ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो । व्यापार घाटामा कमी आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल वस्तु व्यापार घाटा २.३ प्रतिशतले कमी आएर ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २२ अर्ब २ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.११९ अर्ब ६० करोड बराबरको भएको थियो । सरकारको खर्च साढे १० खर्ब दश महिनामा नेपाल सरकारको कुल खर्च १० खर्ब ५६ अर्ब ८९ करोड रुपैयाँ भएको छ । सरकारी खर्च गत आर्थिक वर्षको पहिलो दश महिनामा १५.३ प्रतिशतले वृद्घि भएकोमा समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र वृद्धि भएको छ । समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ५२ अर्ब ५६ करोड, पँुजीगत खर्च १ खर्ब ११ अर्ब ८८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ९२ अर्ब ४५ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८ खर्ब ३१ अर्ब ९३ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो दश महिनामा १२.६ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ७ खर्ब ४६ अर्ब ८३ करोड रुपैयाँ र गैर कर राजस्व ८५ अर्ब १० करोड रुपैयाँ परिचालन भएको छ ।

नवराजपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृतसमेत १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मधेस प्रदेश सरकारको सांसद् अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो काम पूरा गर्नका लागि दिएको रकमबाट कुनै पनि काम नगरी हिनामिना गरेको पाइएकाले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगले तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कूसियत, लेखापाल सोमप्रसाद आचार्य, इञ्जिनियर कृष्णा साह र सव–इञ्जिनियर सन्तोषकुमार यादवविरुद्ध १४ लाख ५१ हजार पाँच सय ५१ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । आयोगले गाउँपालिकाका तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नं ४ का वडा तत्कालीन अध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन अध्यक्ष मनोजकुमार यादव र वडा नं २ का तत्कालीन अध्यक्ष खुसीलाल साहविरुद्ध पनि समान बिगो, कैद र जरिवाना समेत माग गरी मुद्दा दायर गरेको छ ।

छोटो समयमा चर्चा बटुलेको श्री केश तेलको गुणस्तरमाथि प्रश्न

काठमाडौं । सुरुमा राम्रै चर्चा बटुलेको श्री केश तेलले पछिल्लाे समय भने विभिन्न आलाेचना खेप्दै आइरहेकाे छ । कपाल झर्नबाट रोक्ने, झरेको ठाउँमा नयाँ कपाल पलाउने लगायत प्रचार गर्दै बजारमा आएको तेलले केही समय चर्चा कमाए पनि अहिले आलोचना सहनु परेको हाे । यो तेलको प्रयोगले कपाल बढी झर्ने गरेको भन्दै प्रयाेगकर्ताहरूले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा विरोध भएपछि सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीले पत्रकार सम्मेलेन गरेर आफ्नाे बचाउ गरेकाे छ । सोमबार काठमाडौंमा आयाेजित पत्रकार सम्मेलन गर्दै कम्पनीले सामाजिक सञ्जालमा तेलप्रति नकरात्मक टिप्पणी आएकाले तेलको गुणस्तरमा जानकारी गराएको हो । नेपालको सरकारी नीतिमा रही नेपालमै पाइने कच्चा पदार्थ र जडीबुटीहरू प्रयोग गरेर बनाइएको तेलले कुनै हानी नगर्ने कम्पनीकाे दाबी छ । कम्पनीका प्रबन्ध निर्देशक टीकाराम बुढाथोकीले विभिन्न अध्ययन अनुसन्धान गरे नेपालका हिमाली क्षेत्रमा पाइने जडीबुटीहरूबाट बनाइएको यो तेलले कपाललाई पोषण बनाई सुरक्षित राख्ने बताए । आफ्नो देशमै केही गर्छु भन्ने उद्देश्य काम गरिरहेको बताउँदै उनले नागरिकको हितमा गर्न नमिलने काम आफू र आफ्नो कम्पनी नगर्ने अठोट पनि गरेका छन् । कार्यक्रममा बोल्दै सप्तऋषि आयुर्वेद क्लिनिकका चिकित्सक डा सविन दावाडीले तालुपना जेनिटिक हुने भएकाले यो सधैभरि रहने बताए । यसको सुरक्षाका लागि व्यक्ति आफैंले नै केयर गर्नुपर्ने भएकाले यो तेलले केही मद्दत गर्ने भन्दै उनले याे तेल सबैका लागि उपयुक्त नहुने पनि दाबी गरे । ‘व्यक्ति पिच्छेको स्वास्थ्य फरक हुन्छ’, उनले भन्छन्, ‘कसैको कपाललाई त्यही जडीबुटीले राम्रो गर्छ भने कसैलाई त्यसैले नै नराम्रो गर्न सक्छ, तर यो तेलको प्रयोगले कपाललाई नोक्सान भने गर्दैन ।’  यो तेल नेपालका जंगलमा पाइने विभिन्ने ३५ प्रकारका जडिबुटीबाट बनाइएको  उनकाे भनाइ छ । कपाल झर्ने समस्या सामान्य र जेनेटिकमात्र नभइ भित्रको आन्तरिक रोगको कारण हुने भएकाले यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्ने  डा. दावाडीकाे सुझाव छ । सप्तऋषि ओयल एण्ड कस्मेकि इण्डष्ट्रीले सयौँ नगरिकलाई रोजगार उपलब्ध गराएको बताउँदै प्रबन्ध निर्देशक बुढाथोकीले आगामी वर्ष ५० हजार नागरिकलाई रोजगारी दिने गरेर योजना बनाए काम गरिरहेको दाबी गरे ।

लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस 

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट छप्’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकाे सहकार्यमा करिब ६,००० रूखहरू राेपेकाे छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो । बैंकले सोही दिवसमा आफ्नो एभाेडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा ९ विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ। यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५,१३४.१८ कार्बन उत्सर्जन हुनबाट जोगाएको जनाएकाे छ। यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टकै निरन्तरता पनि हो । बैंक २०२१ देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न रहेको छ।

नेशनल लाइफको ३५ जना अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ जना अभिकर्ताहरुलाई सम्मान गरेको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ काठमाडौंको होटल लेमन ट्रि प्रिमियरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रकिो सभापतिन्वमा सम्मान कार्यक्रमको सम्पन्न भएको हो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेकोे सो समारोहमा सहभागि अभिकर्ताहरुलाई कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले उत्प्रेरण तालिम प्रदान गर्दै कम्पनीले अभिकर्ताहरुको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाहरुको छुट्टा छुट्टै महत्व हुने भएकोले यस्ता योजनाहरुमा छनौट हुनका लागि व्यवसायिक कार्यनिति बनाउनु पर्ने बताए । समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको र कम्पनीमा बीमा गर्ने बीमितहरुलाई उच्च प्रतिफल दिन सफल हुनुमा अभिकर्ता संजालको महत्वपूर्ण भूमिका रहने भएकोले अभिकर्ता सञ्जाललाई प्रविधि मैत्री एवं व्यवसायिक बनाउन थप लगानी गर्दै गईरहेको बताए । उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार काठमाडौंमा बागमति प्रदेशका अभिकर्ताहरुबाट सम्मान गरिएको बताए साथै उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुर्ला सम्मान गरिसेकेको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी गराए ।  

गृहमन्त्री लामिछानेको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइपछि मिसिल झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उपप्रधानमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट निवेदनमाथि सुनुवाइका लागि आवश्यक मिसिलहरू झिकाउने आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त मुद्दामा जितेन्द्र बाबु राई (जिबी राई) समेत भएको सहकारी ठगीको मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिइएको छ । सो मुद्दालाई अग्राधिकार दिँदै अर्को सुनुवाइ आगामी असार ४ गतेका लागि तोकिएको उनले जानकारी दिए । यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले यही जेठ २० गते रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा आजका लागि छलफलमा बोलाएको थियो । सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराइले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै रिट दर्ता गर्न आदेश गरेको थियो ।

मूल्यवृद्धि ४.४० प्रतिशतमा झर्याे, उपत्यका र तराईमा कति ?

काठमाडौं । पछिल्लो समय मूल्यवृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म मूल्यवृद्धि घटेर ४.४० प्रतिशतमा झरेको छ । गत वर्षको सोही अवधिसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत थियो । बैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत रहेको छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलाको ८.९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरुको ७.२५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ७.१३ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.२६ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराईको ४.३२ प्रतिशत, पहाडको ४.७० प्रतिशत र हिमालको ४.२२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा काठमाडौं उपत्यकाको मुद्रास्फीति ७.६८ प्रतिशत, तराईको ७.१५ प्रतिशत, पहाडको ७.५७ प्रतिशत र हिमालको ७.१२ प्रतिशत थियो । वैशाखमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १०.४० प्रतिशत, ३.७१ प्रतिशत र १.७६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५५ प्रतिशतले घटेको छ । तलब तथा ज्यालादर सूचकाङ्क ठ। २०८१ वैशाख महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.२२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ७.६४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.४८ प्रतिशतले बढेको छ ।