विकासन्युज

राष्ट्रियसभाबाट सुरक्षित कारोबार विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रस्तुत गरेका थिए । त्यसअघि प्रस्तुत विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस विषयमा समितिमा पर्याप्त छलफल भएको बताए । उनले भने,’यो विधेयकमा जनताको दैनिक काराबोर खासगरी धितोसम्बन्धी व्यवस्था छ । उत्पादनमूलक व्यवसाय माछापोखरी, फलफूल बगान, पशु फार्म आदिमा धितोको व्यवस्था हुनेछ । यो संशोधनपछि थप व्यावहारिक र समयसापेक्ष हुन्छ ।’ विधेयकमाथिको छलफलमा सांसदद्वय देवेन्द्र दाहाल र कमला पन्तले भाग लिइ आफ्ना धारणा व्यक्त गरेका थिए । यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी असार ४ मगंलबार १ः१५ बजे बस्ने छ ।

अचेल गाउँघरमा ढिँकीजाँतो देखिँदैनन्

लमजुङ । यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ । केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो । ढिँकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँगाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै जीवन बिताए पनि पछिल्लो समय लोपहुने अवस्था आएको बताउँछिन् । ढिँकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोले परिवारलाई खुवाएर जीवन धान्दै आएको कुरा अब स्मरणमा सीमित भएको उनले सुनाइन् । ‘विगतमा ढिँकीजाँतोमा सङ्घर्ष गरिएका ती दिन र समय अहिले कथा जस्तै भएका छन् । पहिले गाउँमा ढिँकीजाँतो नभएको कुनै घर नै हुँदैन थियो तर अचेल ढिँकीजाँतो देखिन छाडे । अहिले सम्झदा पनि कथा जस्तै लाग्छ’, उनले भनिन् । दूधपोखरी गाउँपालिकाकी ८६ वर्षीय यमकुमारी गुरुङले पछिल्लो पुस्ताले चासो नदिँदा परम्परागत ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको बताइन् । ‘हाम्रा पालामा सबैले घरमा ढिँकी राख्थे, मकैको बेग्लै, कोदोको बेग्लै जाँतो राख्थे, गाउँमा विकास आयो, धान कुट्ने र पिन्ने मिसिन आयो, अहिले केलाई चाइयोरु ढिँकीजाँतो’, उनले भनिन्, ‘ढिँकीजाँतोमा कुटानीपिसानी गरिएका उतिबेलाका खानाको स्वाद सम्झदा पनि जिब्रो रसाउँछ । त्यो शौभाग्य अहिलेका चेलीबुहारीले त देख्न पाएनन् ।’ त्यस्तै, दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै बिताए ती परम्परागत सामान देख्न नपाएको धेरै भइसकेको सुनाइन् । ‘हाम्रो धेरै समय त्यसैमा बित्यो तर पछिल्लो समय त्यसबाट कुटेका पिसेका खाने कुरा त कल्पनामा सीमित भएका छन् । समय परिवर्तन भएजस्तै हाम्रा मौलिकता पनि हराउन थाले । निकै दुःख लाग्छ’, उनले गुनासो गरिन् । ढिँकीजाँतो प्रसस्त हुने यस वडास्थित नेवारगाउँ, गैरीगाउँ, लामागाउँ, डाँडागाउँ, दासडाँडा, बाहुनगाउँ लगायतका गाउँमा अहिले देख्नै मुस्किल पर्दै गएको छ । एक हजारभन्दा बढी घरधुरी रहेका ती गाउँमा पाँच/१० वटाभन्दा धेरै ढिँकीजाँतो छैनन् । ढिँकीजाँतो भएका घरमा पनि कमै प्रयोग गर्ने गरेका छन् । त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुका ३५ घरमध्ये अहिले एकाध घरमा मात्र ढिँकी रहेको स्थानीय काम सार्की गुरुङले बताए । करिब १०/१२ वर्ष गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै ढिँकीजाँतो लोप भएको उनको भनाइ छ । यसरी परम्परागत ढिँकीजाँतो लोप भए पनि यसको संरक्षण गर्न नसकिएकोमा उनले दुःखमनाउ गरे । सोही गाउँपालिका–३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङले १० वर्षअघिसम्म गाउँका प्रायः सबै घरमा ढिँकीजाँतो प्रयोग गर्दै आए पनि अहिले एक दुई जनाको घरमा मात्र रहेको बताए । बेँसीसहर नगरपालिका–२ नरुवाल गाउँमा करिब १४ वर्ष अघिसम्म प्रत्येक घरमा ढिँकीजाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै घट्दै गएर छ वर्ष अघिबाट गाउँमा दुई जनाको घरमा मात्रै ढिँकीजाँतो रहेको स्थानीय सावित्री रानामगरले बताउँछन् । ‘गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले । ढिँकीजाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नुपर्ने भएकाले गाउँलेले यस्ता परम्परागत सामग्रीको प्रयोग गर्न छाडे तर हामीलाई त धेरै माया लाग्छ ।’ विद्युतीय मेलमा एकमुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिँकीमा बिहानभरीमा पनि धान कुटी नसकिने भएकाले यहाँका स्थानीयले बाध्य भएर ती परम्परागत सामान प्रयोग गर्न छोडेको धेरैको बुझाइ छ । रासस

बेलायतमा बढ्यो बेरोजगारी दर

काठमाडौं । मंगलबार प्रकाशित आधिकारिक तथ्यांक अनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएको छ । बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ, जुन मार्चको अन्त्यसम्मका तीन महिनामा ४.३ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले जनाएको छ । चालु महिनाको तथ्यांकले श्रम बजार विचलित हुन सक्ने संकेतहरू देखाउँदै छ, रिक्त पदहरूको सङ्ख्या अझै घट्दै र बेरोजगारी बढ्दै छ, यद्यपि आय वृद्धि भने अपेक्षाकृत बलियो रहेको ओएनएसले जनाएको छ । विश्लेषकहरूले ६.० प्रतिशतमा आयोजित बोनस बाहेक औसत नियमित तलब वृद्धि, बैंक अफ इङ्ल्यान्डको लागि वर्णन गरे । अप्रिलमा ज्याला वृद्धिको लागि लामो समयसम्म चिन्ताको विषय हुने अनुसन्धान परामर्श पूँजी अर्थशास्त्रका उप प्रमुख बेलायत अर्थशास्त्री रुथ ग्रेगरीले उल्लेख गरे । तर, रोजगारीमा तीव्र गिरावट र बेरोजगारी दर बढ्दै जाँदा तलब वृद्धि पनि चाँडै नै दृढ गिरावटको बाटोमा फर्कने उनीहरूले जनाएका छन् । गत महिना मुख्य ब्याजदर १६ वर्षको उच्च ५.५२ प्रतिशतमा राखेको थियो तर बेलायतको मुद्रास्फीति निराशा जनक भएपछि गर्मीमा कटौती हुने संकेत गरेको छ । केन्द्रीय बैंकले अर्को हप्ता जुन–२० मा आफ्नो पछिल्लो ब्याज दरको निर्णय घोषणा गर्नेछ, जसको अघिल्लो दिन मेको मुद्रास्फीति तथ्यांक उल्लेख हुनेछ । बेलायतको वार्षिक मुद्रास्फीति अप्रिलमा तीन वर्षको न्यून २.३ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । एजेन्सी

‘नयाँ संविधानबाट बालेन, रवि र हर्कहरूको उदय भयो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । तथ्यलाई अहिले हल्लाले छोपेको बताए । पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभइ नयाँ संविधानले उनीहरुलाई जन्माएको जानकारी दिए । शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरूलाई निर्वाचित गरेको बताए । ‘कसैले के भन्छन् भने नयाँ पार्टी आए । तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरु आए । तर उनीहरुले भोट पाए, चुनाव जिते पुराना पार्टीहरुसँगको निराशाले होइन । बालेन, हर्क र रविहरु नयाँ संविधानले जन्माएका हुन् । यदी यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुवार्नीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरुको यहाँ उपस्थिति देखिँदैन थियो’, उनले भने । उनले गणतन्त्रले जनताको शिर उठाएको बताए ।

वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा

काठमाडौं । नेपाल वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार उनको निलम्बन फुकुवा गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको आरोप लगाउँदै प्राधिकरणले उनलाई जेठ २१ गतेबाट निलम्बनमा राखेको थियो । विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको भन्दै पन्तविरुद्ध प्राधिकरणमा उजुरी परेको थियो । तर, उनले स्वीकृति लिएरै अन्तर्वार्ता दिएको पुष्टि भएपछि निलम्बन फुकुवा गरिएको हो । पन्तले नेवानिको न्यारो बडी जहाज ‘ए३२०-२००’ उडाउथिन् । यस्तै पन्तसँगै निलम्बनमा परेका क्याप्टेन विजय लामाको भने निलम्बन यथावत छ ।

ग्लोबल आईएमई बैंकको ‘डिजिटल युनिभर्स’ : अब अधिकांश सेवा अनलाइनबाटै

काठमाडौंं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, इजी बाई इजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रिन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो सेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरु बैंकको वेवसाइटबाटै अनलाइन प्रदान गर्नेछ । ग्राहकहरुले यस बैंकको वेवसाइटमा रहेकाको ‘डिजिटल युनिभर्स’ मा गई सिधै क्लिक गरी उल्लेखित सेवाहरु आफ्नो अनुकुलमा प्रयोग गर्न सक्नेछन् । बैंकले केहि दिन अगाडिमात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको थियो । जसमा चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेका छन् । पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुलाई अनलाइनमार्फत नविनतम् बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले डिजिटल युनिभर्स सार्वजनिक गरेको बैंकले जनाएको छ ।

३३ अंकले नेप्से बढ्दा सबै सूचक हरियाली, साढे ५ अर्बको कारोबार

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज सेयर बजार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा कायम भएको छ । आज  नेप्से १.५९ प्रतिशतले बढेको हो । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३११ कम्पनीको सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । हिजो ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज २०३ कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने २ को स्थिर रह्याे । आज पनि हाइड्रोपावर समूह सबैभन्दा धेरै २.५८ प्रतिशतले बढेको छ । हिजो पनि यस समूह २ प्रतिशतले बढेको थियो । हाइड्रोपावर समूहको सेयर ६६.७१ अकंले बढेर २६४४.५३ बिन्दुमा पुगेको छ । आज १३ वटै सूचकमा हरियाली छाएको छ । आज वरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएको सामलिङ पावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक ५.८१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वैवाहिक बलात्कारमा दोषी ठहर न्यायाधीश गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवाना

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीको सजाय तोकेको हो। यसअघि जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएका गिरीककाे सजाय निर्धारणका लागि भने आजको पेसी तोकिएको थियो । जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहँदा गिरीकी श्रीमतीले आफूलाई बन्धक बनाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा अदालतमा मुद्दा दर्ता भएपछि न्यायपरिषद्ले गिरीलाई निलम्बन गरेको थियो ।