काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताएका छन् ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । तथ्यलाई अहिले हल्लाले छोपेको बताए । पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभइ नयाँ संविधानले उनीहरुलाई जन्माएको जानकारी दिए । शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरूलाई निर्वाचित गरेको बताए ।
‘कसैले के भन्छन् भने नयाँ पार्टी आए । तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरु आए । तर उनीहरुले भोट पाए, चुनाव जिते पुराना पार्टीहरुसँगको निराशाले होइन । बालेन, हर्क र रविहरु नयाँ संविधानले जन्माएका हुन् । यदी यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुवार्नीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरुको यहाँ उपस्थिति देखिँदैन थियो’, उनले भने ।
उनले गणतन्त्रले जनताको शिर उठाएको बताए ।