विकासन्युज

हिमालयन बैंकको ५० लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर बैंकका हाल कायम विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ । तोकिएको समयमा खरिद आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै, सेयरको मूल्य बिक्रेताअनुसार फरक भएकाले त्यसको जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।

प्रभु बैंकको १ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गरी विभिन्न पाँच संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार ५३९ कित्ता सेयर बिक्रीमा ल्याएको जनाएको हो । यो सेयर विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण वा संस्थाहरूले खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने छ ।

काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी इलाकामा मौसम सफा छ । कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक मौसम सफा रहने पूर्वानुमान गरेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वीरगन्ज महानगरले गर्‍यो ५ निजी विद्यालयमा सिलबन्दी

वीरगञ्ज । नगर क्षेत्रमा बिना अनुमति सञ्चालित पाँच वटा विद्यालय वीरगञ्ज महानगरले मंगलबार शिलबन्दी गरेको छ । शिक्षा समितिको अनुगमन समितिले अवैध रूपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए । शिलबन्दी भएका विद्यालयहरूमा सिजी एजुकेसनद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको पूर्वप्राथमिक तह (मन्टेश्वरी), निनोस वीरगञ्जको नामबाट वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्ली बगैँचामा सञ्चालित विद्यालय छन् । वीरगञ्ज महानगरपालिका–२६ सुगौलीमा विसं २०५७ सालदेखि सञ्चालित सिटिजन पब्लिक स्कुल, विसं २०७५ देखि सञ्चालित एएस नलेज एकेडेमी र वडा नं १८ भवानिपुरमा सञ्चालित सुरज एकेडेमी रहेको महानगरले जनाएको छ ।

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारदेखि १२.५ किलोमिटर मंगला गाउँपालिका– २ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुदै रणवाङको सिमानासम्म पुर्‍याएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजार रुपैयाँमा सम्झौता भएको थियो । २४ किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो ।

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । उनले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट संघीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नेछन् । जेनेभा र बर्लिन भ्रमणमा राष्ट्रपति पौडेलकी श्रीमती सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किनेछन् ।

मधेस प्रदेशका सांसदलाई पैसा बाँड्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मधेस प्रदेश सरकारबाट योजनाका नाममा सांसदलाई पैसा वितरण गर्ने गरी भएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रिटमा मधेस सरकारबाट ठाडै सांसदलाई पैसा बाँड्ने गरी भएको निर्णय अवैध रहेको बताउँदै तत्काल रोक लगाउन माग गरिएको छ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले सर्वोच्चमा रिट दिएका हुन् । रिटमा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको छ । मधेस सरकारले गरेको उक्त निर्णयले संविधानको धारा १६२ र धारा २१४ अनुरूप प्रदेश कार्यकारिणी र स्थानीय तहको कार्यकारिणी अधिकारसमेत हस्तक्षेप भएको भन्दै खारेज गर्न माग गरिएको छ । जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा गठित मधेस प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई १ करोड ५० लाख रुपैयाँको योजना दिने निर्णय गरेको थियो ।