महभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । स्थानीयबासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए । महभिरमा सडकदेखि करिब ५०० मिटरमाथिको भिरबाट पहिरो खस्ने गरेको छ । सामान्य वर्षा हुँदा बित्तिकै लेदोसहित खस्ने पहिरोले सडक अवरुद्ध गराउनुका साथै अन्य समयमा दुर्घटनाको जोखिम बढाएका छ ।
५३० किमी रेन्ज दिने 'एमजी एस सिक्स' नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ९९ हजार
काठमाडौं । १०० वर्ष पुरानो अटोमोवाइल ब्राण्ड एमजी (मोरिस ग्यारेज) को नयाँ इलेक्ट्रिक एसयूभी 'एमजी एस सिक्स' नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि एमजीकोआधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले सोमबार राजधानीमा एक कार्यक्रमबीच 'एमजी एस सिक्स' गाडी अनावरण गरेको हो । कार्यक्रममा एमजीको मातृ कम्पनी एसएआइसीका प्रतिनिधि मोहम्मद कासिम र प्यारामाउन्ट मोटर्सका जनरल म्यानेजर सुनील क्षेत्रीले संयुक्त रूपमा नयाँ गाडीको अनावरण गरेका थिए । सन् २०१७ मा स्थापना भएको प्यारामाउन्ट मोटर्सले २०१८ देखि नेपालमा एमजीका गाडीहरू बिक्री गर्दैआएको हो । कम्पनीका अनुसार यसअघि एमजी जेडएस ईभीले नेपाली विद्युतीय सवारीको बजारमा निकै ठूलो सफलता पाएको थियो । हालसम्म नेपालमा एमजीका ४ हजार ५०० भन्दा बढी गाडीहरू गुडिरहेका छन् । एमजीले आफ्नो १०० वर्षको इतिहासलाई यो नयाँ प्रिमियम मोडलमार्फत निरन्तरता दिएको छ । यस्ता छन् विशेषता यस गाडीमा १८० किलोवाटको शक्तिशाली मोटर र ३५० एनएम टर्क रहेको छ । यसमा ७७ किलोवाटको ब्याट्री प्याक जडान गरिएको छ, जुन यो सेग्मेन्टमै सबैभन्दा ठूलो भएको कम्पनीको दाबी छ । एक पटकको फुल चार्जमा यसले ५३० किलोमिटरसम्मको रेन्ज दिनेछ । यसको ब्याट्री १० देखि ८० प्रतिशतसम्म चार्ज हुन मात्र ३८ मिनेट लाग्छ । नेपालको सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसमा १९ इन्चको मिसिलिन टायर प्रयोग गरिएको छ । सुरक्षाको दृष्टिकोणले यो गाडी निकै मजबुत मानिएको छ । यसले 'युरो एनक्याप' बाट ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यसको ब्याट्री प्याकले विभिन्न कठिन परीक्षणहरू पार गरेको कम्पनीले जनाएको छ । गाडीभित्र १२.८ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट सिस्टम, एचयूडी डिस्प्ले, एम्बियन्ट लाइटिङ, र प्यानोरामिक सनरुफ जस्ता विशेषता छन् । यसमा टिकटक, युट्युब, र स्पोटिफाइ जस्ता एपहरु चल्ने स्मार्ट फिचर्सका साथै ११ वटा स्पिकरहरू रहेका छन् । यसमा 'भिटुएल' प्रविधि पनि छ, जसबाट गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू चलाउन सकिन्छ । प्यारामाउन्ट मोटर्सले नेपाली बजारका लागि उक्त ईभीको मूल्य ६९ लाख ९९ हजार रूपैयाँ तोकेको छ । प्रिमियम लुक्स, अत्याधुनिक फिचर्स र बलियो सुरक्षामापदण्डका कारण यो गाडी नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको छ ।
एसईईको नतिजा छिटो सार्वजनिक हुनु राज्य संयन्त्रको कार्यक्षमताको उदाहरण: शिक्षा मन्त्री
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सम्पन्न भएको एक महिनामै सार्वजनिक हुनुलाई राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्त्वपूर्ण उदाहरण भएको बताएका छन् । नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै मन्त्री पोखरेलले लाखौं विद्यार्थी र अभिभावकको प्रतीक्षालाई छिटो सम्बोधन गर्न सफल भएकोमा खुसी व्यक्त गरेका हुन् । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने सुधारात्मक व्यवस्थाका कारण समयमै नतिजा ल्याउन सम्भव भएको उनले उल्लेख गरे । मन्त्री पोखरेलले नतिजा प्रकाशनको कार्यमा अहोरात्र खटिने शिक्षक, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय र सम्बन्धित सबैमा आभार प्रकट गर्दै उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिए । उनले अब यही गति र सुधारलाई उच्च शिक्षाका अन्य तहसम्म विस्तार गर्दै समग्र परीक्षा प्रणालीलाई थप व्यवस्थित, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारे । त्यस्तै, अपेक्षाअनुसार नतिजा ल्याउन नसकेका विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै मन्त्री पोखरेलले भने, ‘एउटा परीक्षाले मात्र जीवनको सम्पूर्ण भविष्य निर्धारण गर्दैन । धैर्यता र पुनः प्रयास गर्ने साहस नै सफलताको वास्तविक आधार हो ।’ उनले नयाँ उत्साहका साथ अघि बढ्न सुझाव दिँदै आत्मविश्वासका साथ पुनः प्रयास गरे सफलता अवश्य प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
यसरी हेर्नुहोस् एसईईको नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजाको औपचारिक घोषणा गरेको हो । सार्वजनिक नतिजा अनुसार सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा सबैभन्दा बढी जीपीए ९३.६० देखि ४.००० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी जीपीए ४८ हजार बढीले ल्याएको शिक्षासचिव चुडामणि पौडेलले जानकारी दिए । उनका अनुसार त्यसपछिको जीपीए ९३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ । कार्यालयका अनुसार परीक्षार्थीहरूले एसएमएस, आईभीआर र विभिन्न आधिकारिक वेबसाइटहरू मार्फत आफ्नो नतिजा सहजै हेर्न सक्नेछन् । एसएमएस र आईभीआर सेवाका लागि नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा सन्देश पठाएर वा फोन गरेर नतिजा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी, इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्न चाहनेहरूका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ । परीक्षार्थीहरूले आधिकारिक सरकारी साइटहरू www.see.gov.np र www.neb.gov.np का साथै नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल र खल्ती जस्ता विभिन्न पोर्टलहरू प्रयोग गर्न सक्नेछन् ।
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजाको औपचारिक घोषणा गरेको हो । सार्वजनिक नतिजा अनुसार सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको यस पटकको परीक्षामा उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमै गरिएका कारण विगतको तुलनामा नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ । यस वर्षको परीक्षाका लागि कूल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले आवेदन दिएका थिए। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी सहभागी थिए । कुल परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् । बोर्डले नतिजा सार्वजनिक गरे पनि प्राविधिक प्रक्रियाका कारण वेबसाइटहरूमा नतिजा हेर्न भने केही समय कुर्नुपर्ने जानकारी दिएको छ ।
सीमा सुरक्षामा ड्रोन र डिजिटल ठगी रोक्न विशेष इकाई
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ । सोमबार संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सीमा सुरक्षालाई उच्च प्राथमिकता दिँदै अवैध गतिविधि नियन्त्रणका लागि ड्रोन तथा नाइट भिजन क्यामेराको प्रयोग गर्ने उद्घोष गरिएको छ । सीमा क्षेत्रमा अनुहार पहिचान प्रणाली र स्वचालित निगरानी पूर्वाधार जस्ता आधुनिक प्रविधि जडान गरिनुका साथै सीमा विवादको समाधान कूटनीतिक संवादमार्फत खोजिने रणनीति सरकारले लिएको छ । यसका साथै सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक र सुरक्षा निकायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ । सुरक्षा निकायको सांगठनिक सुदृढीकरणका लागि सशस्त्र प्रहरी बललाई विशिष्टीकृत सुरक्षा बलका रूपमा विकास गरिनेछ । त्यस्तै, नेपाल प्रहरीको अनुसन्धान क्षमता, फरेन्सिक ल्याब र सूचना विश्लेषण प्रणालीमा व्यापक सुधार गरिनेछ । सुरक्षा क्षेत्रमा बाह्य निर्भरता घटाउन नेपाली सेना लगायतका निकायका लागि आवश्यक बन्दोबस्तीका सामग्रीहरू स्वदेशमै उत्पादन गर्ने नीति सरकारले अघि सारेको छ । यसले राष्ट्रिय सुरक्षामा आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ । त्यस्तै, राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउँदै राष्ट्रिय सेवा दललाई समेत थप सुदृढ र प्रभावकारी बनाइने कार्यक्रममा उल्लेख छ । बढ्दो डिजिटल चुनौतीलाई मध्यनजर गर्दै सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि एउटा छुट्टै ‘विशेष अनुसन्धान इकाई’ स्थापना गर्ने भएको छ । लागुऔषध नियन्त्रण तथा अन्तरदेशीय जटिल अपराध न्यूनीकरणमा आधुनिक प्रविधिको विस्तार गरिने जनाइएको छ । सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकास गरी उनीहरूको व्यावसायिकता अभिवृद्धि गर्ने र राष्ट्रिय हितका लागि सुरक्षा सम्बन्धी विद्यमान नीति तथा कानुनहरूमा समसामयिक परिमार्जन गर्ने योजनासमेत सरकारले अघि सारेको छ ।
जनशक्ति, औषधी र उपकरणसहितको ‘एकीकृत मोडेल’ लागू हुने
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्नेदेखि लिएर दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम अघि सारिएका हुन् । नीति तथा कार्यक्रममा देशभरि आधारभूत स्वास्थ्य सेवामा ‘न्यूनतम मापदण्ड’ लागू गर्दै आवश्यक जनशक्ति, औषधी, उपकरण र पूर्वाधारसहितको एकीकृत सेवा मोडेल कार्यान्वयन गरिने, स्वास्थ्य सेवालाई लागत–प्रभावकारी र नागरिकमैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिने उल्लेख छ । विशिष्टीकृत र प्रविधिमैत्री स्वास्थ्य सेवा दुर्गम क्षेत्रका नागरिकका लागि टेलिहेल्थ प्लेटफर्ममार्फत विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइनेछ । देशभरका आधारभूत स्वास्थ्य सेवामा ‘न्यूनतम मापदण्ड’ लागू गर्दै जनशक्ति, औषधी र उपकरणसहितको एकीकृत सेवा मोडेल कार्यान्वयनमा ल्याइनेछ । अत्याधुनिक अपाङ्गता पुनःस्थापना केन्द्रहरूको स्थापना गरी फिजियोथेरापी र प्रोस्थेटिक्स जस्ता सेवाहरू प्रदान गरिनेछ । बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि विशेष सहायक प्रविधि कार्यक्रम सञ्चालन गरिनेछ । नयाँ निकायहरूको स्थापना र सुदृढीकरण स्वास्थ्य क्षेत्रको गुणस्तर र अनुसन्धानलाई व्यवस्थित गर्न सरकारले रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण र जैविक अध्ययन, सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रणका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला बनाउने भएको छ । रोकथाम र मानसिक स्वास्थ्यमा जोड क्यान्सर लगायतका नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, जनचेतना र नियमित परीक्षणमा आधारित रणनीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ । मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्ग बनाउँदै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कडाइका साथ कार्यान्वयन गरिने जनाइएको छ । त्यस्तै, योग, ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरूको प्रवर्द्धन गरिनेछ । जनशक्ति र स्वदेशी उत्पादन सरकारले सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवकको क्षमता र संख्या विस्तार गर्ने योजना अघि सारेको छ । साथै नेपाल औषधी लिमिटेडको स्तरोन्नति गर्दै स्वदेशी औषधी उत्पादनलाई प्रोत्साहन दिने र आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा संस्थागत गर्ने नीति लिइएको छ ।
सांसद खरेलले साइबर ब्यूरोमा दिए उजुरी
काठमाडौं । सांसद जगदीश खरेलले राजधानी दैनिकविरुद्ध प्रेस काउन्सिल नेपाल तथा साइबर ब्युरोमा उजुरी दर्ता गरेको गरेका छन् । सोमबार उनले नेपाल प्रहरीको साइबर ब्यूरोमा आफ्नोबारे भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गरेको भन्दै उजुरी दर्ता गरेका हुन् । विपक्षीहरूले इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालमा आफूविरुद्धमा कानुनले प्रकाशन तथा प्रशारण गर्न रोक लगाएको सामाग्रीहरू, सार्वजानिक नैतिकता, शिष्ठाचार विरुद्धका सामग्री, निवेदकप्रति घृणा वा द्वेष फैलाउन कार्य गरेको निवेदनमा उल्लेख गरेका छन् ।