सफा देखियो काठमाडौं, आन्तरिक उडान पनि सुरु
काठमाडौं । शनिबार काठमाडौंसँगै देशभर व्यापक वर्षा भएपछि प्रभावित बनेको जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैदेखि काठमाडौंको आकाश खुलेसँगै जनजीवन सामान्य बन्दै गएको हो । भारी वर्षापछि काठमाडौं उपत्यका सफा देखिएको छ । शनिबार बन्द भएको हवाई उडान पनि आइतबारबाट सुरु भएको छ । आन्तरिक उडान सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ । आइतबार बिहान ७ः३१ बजे पहिलो उडान यती एयरलाइन्सले भद्रपुरका लागि गरेको थियो। उक्त उडानपछि काठमाडौं बाहिरका अधिकांश सुगम विमानस्थलहरूमा पनि उडान सञ्चालन सुरु भएको हो ।
दुई दिन सेयर बजार बन्द, दशैंपछि बजार बढ्ने अपेक्षा
काठमाडौं । आइतबार र सोमबार सेयर बजार नखुल्ने भएको छ । सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै दुई दिनका लागि नेप्से बन्द हुने भएको हो । दशैं बिदापछि आइतबारदेखि सेयर बजार सञ्चालनमा आउने अपेक्षा गरिएको थियो । तर, देशभर अविरल वर्षासँगै सिर्जित प्रतिकूल अवस्थाका कारण सरकारले थप दुई दिन सार्वजनिक बिदा दिएको छ । यससँगै आज र भोलि सेयर कारोबार नखुल्ने भएको हो । दशैंपछि बजार बढ्न सक्ने अनुमान लगानीकर्ताको छ । दशैंमा ठूलो परिमाणको रकम चलायमान भएकोले त्यो रकम सेयर बजारमा आएर बजार बढ्न सक्ने अपेक्षा लगानीकर्ताको छ । भारी वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाएको छ । यसले दशैं मनाउन गाउँ गएका सर्वसाधारणलाई काठमाडौं फर्कन कठिन हुने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
भारतको विदेशी मुद्रा सञ्चिति २.३३ अर्ब अमेरिकी डलरले घट्यो
काठमाडौं । भारतको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंकले जारी गरेको साप्ताहिक तथ्याङ्कअनुसार सेप्टेम्बर २६ मा समाप्त भएको हप्तामा भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति २.३३ अर्ब अमेरिकी डलरले घटेर ७००.२४ अर्ब डलरमा पुगेको छ । यो लगातार दोस्रो हप्ता थियो जब विदेशी मुद्रा सञ्चिति घटेको थियो । तथ्याङ्कअनुसार विदेशी मुद्रा सम्पती ४.३९ अर्ब डलरले घटेर ५८१.७६ अर्ब डलरमा पुगेको छ । जबकि सुनको सञ्चिति २.२४ अर्ब डलरले बढेर ९५.०२ अर्ब डलरमा पुगेको छ । विशेष आह्वान अधिकार ९० मिलियन डलरले घटेर १८.७९ अर्ब डलरमा पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषमा रहेको रिजर्भस्थिति ८९ मिलियन डलरले घटेर ४.६७ अर्ब डलरमा पुगेको छ ।
ललितपुर महानगरद्वारा सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
ललितपुर । ललितपुर महानगरले बाढीपहिरोजन्य विपद्का बेला प्रयोग हुने विभिन्न प्रकारका सामग्रीहरु सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ । महानगरले शनिबार कार्यक्रम आयोजना गरी नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई ती सामग्री हस्तान्तरण गरेको हो । विभिन्न खालका डोरी, डुङ्गा लगायतका सामग्री महानगरले हस्तान्तरण गरेको हो । देशभर शुक्रबारदेखि निरन्तर पानी परिरहेको छ । निरन्तरको वर्षाको कारण देशको विभिन्न ठाउँमा बाढी पहिरो गइरहेको छ भने धेरैजसो ठाउँ बाढी पहिरोको जोखिममा छ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले अघिल्लो असोजको अविरल वर्षापछिको बाढी पहिरोबाट ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि थप सिकेको बताए । उनले भने, ‘हामीले डुङ्गा लगायत थप सामग्री किन्यौं, तालिम दिएर जनशक्ति तयार बनायौँ ।’ उनले नगरबासीलाई संयमित हुन आग्रह गरे । केहीदिनदेखि अविरल परेको पानीका कारण गएको बाढीपहिरो नियन्त्रण, उद्धार र व्यवस्थापनका लागि यी सामग्रीले सहयोग गर्ने बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्रोतसाधन नभई विपद्का बेला खोज र उद्धार गर्न गाह्रो हुने बताउँदै तीनवटा सुरक्षा निकायलाई खोज उद्धार सामग्री उपलब्ध गराइदिएकोमा महानगरलाई धन्यवाद दिए । उनले भने, ‘उद्धार र प्रकोप व्यवस्थापनलाई चुस्त बनाउन यी सामग्री उपयोगी छन्, त्यसका लागि महानगरलाई धन्यवाद । ’ नागरिकको जीवन जोगाउन सुरक्षा निकायको अनुरोध अनुसार आवश्यक सामग्रीको व्यवस्था गर्नु सह्रानीय काम भएको उनले बताए । प्राप्त सामग्रीको उचित प्रयोग र प्रयोगपछि सुरक्षित राख्न आग्रह गरे । कार्यक्रममा कार्यक्रममा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
पृथ्वीराजमार्गका विभिन्न स्थानमा पहिरो, सफा नगरी आवत-जावत गर्न मुस्किल
धादिङ । गत शनिबार र शुक्रबारको अविरल वर्षाका कारण पृथ्वीराजमार्गका विभिन्न स्थानका पहिराले सवारी आवागमन प्रभावित भएका छन् । सडकमा रोकिएका सवारीहरु गन्तव्यतर्फ जान अनुमति दिएर शुक्रबार साँझदेखि अत्यावश्यकबाहेक अन्य सवारी आवागमनमा रोक लगाइएको थियो । अहिले पृथ्वीराजमार्गमा सवारी आवागमन प्राय: शून्यजस्तै बनेको छ । वेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटमा आज बिहान करिब ८ः३० बजे पहिरोले सडक अवरुद्ध भएको छ । यसैगरी थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी–६ जहरेखेत र बेनिघाट रोराङ –१० जवाङखोला क्षेत्रमा पनि पहिरो खसेको जनाइएको छ । आज बिहानै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी पहिरो जोखिमका कारण राजमार्गको यात्रामा ननिस्कन र सूचनाको पूर्ण पालना गर्न यातायात व्यवसायी र यात्रुहरुलाई आग्रह गरेको छ । त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे, पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकको केही स्थान क्षतविक्षत बनेको छ । भलपानीले सडकमा थुपारेको गेग्रानले पनि सवारी सञ्चालन गर्न मुस्किल छ । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले भने, 'सानाठूला पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध छ । विस्तारका क्रममा रहेको राजमार्गको ठाउँठाउँमा पहिरोको उच्च जोखिम छ । पूर्ण रुपमा सडक सफा नगरी सवारी आवागमन गर्न सकिने अवस्था छैन।' प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार राजमार्गमा कतिखेर पहिरो खस्छ र सडक अवरुद्ध हुन्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन । सडक अवरुद्ध हुने गरी पहिरो नझरेको स्थानमा पनि ढुङ्गा खस्ने र सडकमा बजारिने उच्च जोखिम छ । यसरी खसेको ढुङ्गा गुडिरहेको सवारीमा नबजारियोस् र मानवीय क्षति नहोस् भन्नाको लागि पनि पूर्ण रुपले सवारी आवागमनमा रोक लगाइएको हो । पृथ्वी राजमार्गमा अहिले स्थानीय बासिन्दा अत्यावश्यक काममा मात्र आवतजावत गर्दैछन् भने एक जिल्लाबाट अर्को जिल्ला पुग्ने लामो दूरीका सवारीसाधन राजमार्गमा गुडेका छैनन् । वर्षा रोकिए पनि सडक सफा गर्न र सडक पुनःसञ्चालन गर्न अझै केही समय कुर्नुपर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
वर्षायाम र सडक अवरोधले पर्वतका होमस्टे सुनसान
पर्वत । वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास) सुनसान बनेका छन् । जिल्लामा पाँच दर्जन बढी होमस्टे सेवा सञ्चालित छन् । वर्षायामका कारण सुनसानजस्तै बनेका होमस्टेहरु जेनजी प्रदर्शनका क्रममा थप प्रभावित बनेका हुन् । मनसुन सकिन थालेसँगै पर्यटकका पर्खाइमा रहेको भए पनि तत्काल पर्यटक आउने सम्भावना नरहेको भन्दै चिन्तित बनेका छन् । वर्षायाम सुरु भएसँगै गत असारदेखिनै पर्यटकहरुको आगमनमा कमी भएपछि त्यहाँ सञ्चालित होमस्टे सुनसान बनेका हुन् । त्यहाँका सातवटै पालिकामा गरी ६२ घरबास सञ्चालनमा छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार कुश्मा नगरपालिकामा ११, फलेवास नगरपालिकामा पाँच, मोदी गाउँपालिकामा १९, जलजला गाउँपालिकामा छ, महाशिला गाउँपालिकामा नौ, पैंयुँमा तीन र विहादीमा सातवटा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । यी सामुदायिक होमस्टे हुन् भने दुईवटा निजी होमस्टे समेत सञ्चालनमा छन् । जिल्लाको कुश्मा नगरपालि–३ दुर्लुङ्ग, वडा नं १४ आर्थर, फलेवास –२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुङ्खु, बिहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे तथा पैंयु गाउँपालिकाको नेकर्गा र चिन्नेखर्कलगायतका स्थानमा सञ्चालित घरबास वर्षायामका कारण ठप्पजस्तै रहेको सञ्चालकले बताएका छन् । गण्डकी प्रदेशकै अग्रणी घरबास सेवा दिँदै आएको मोदी –८ चित्रेस्थित पञ्चकोशी सामुदायिक होमस्टेमा मात्र गत वर्षमा चार हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए । धेरैको रोजाइमा पर्दै आएको ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’ मा विभिन्न जिल्लाबाट पाहुनाहरु आउने क्रम अब सुरु हुने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलादेवी गुरुङले बताए । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ । अहिले वर्षायाम भएकाले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या सुन्यजस्तै रहेको छ । अब विस्तारै हिउँदयाम सुरु भएपछि पर्यटकहरु आउने क्रम सुरु हुने बताए। चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको सङ्ख्या धेरै छ । होमस्टे पुग्ना साथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसोपानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ । चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताए। अहिले सडक समेत अवरुद्ध भएकाले पर्यटकहरु आउन सकेका छैनन् । यस्तै, मोदी–१ भुकताङ्लेमा रहेको लप्सीबोट सामुदायिक र भुक देउराली नमूना सामुदायिक होमस्टे पनि सुनसान छन् । गाउँ जोड्ने पातीचौर–देउपुर–लप्सीवोट सडक एक महिनादेखि अवरुद्ध हुँदा पर्यटकहरु आउन नसकेको वडाध्यक्ष टेकबहादुर गुरुङले बताए । वर्षायाममा न्यून पर्यटक आउने भए पनि सडक समेत अवरुद्ध हुँदा झनै ठप्प बनेको उनले जानकारी दिए । नियमित वर्षा भइरहँदा जिल्लाका अन्य होमस्टेहरुमा पनि पर्यटकको चहलपहल बढ्न नसकिरहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ । कार्यालयका अनुसार वर्षा रोकिएपछि चाडबाड सुरु हुने र पर्यटनको मौसमसमेत सुरु हुने भएकाले चहलपहल बढ्ने कार्यालय प्रमुख अशोक नेपालीले बताए । रासस
चीनद्वारा पानीमुनि ‘ऊर्जा-सक्षम’ डाटा सेन्टर परीक्षण
काठमाडौं । अत्यधिक ऊर्जा खपत गर्ने डाटा सेन्टरहरू तातो भइरहने भएकाले एक चिनियाँ कम्पनीले समुद्रमुनि सर्भर राख्ने प्रयोगमार्फत कम्प्युटिङ क्षेत्रको ऊर्जा सङ्कटलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यस योजनाअन्तर्गत साङ्घाईको नजिक समुद्रभित्र विशेष क्याप्सुल डुबाइनेछ, जसले प्रविधिगत दृष्टिले नवीन भए पनि यसको पारिस्थितिक प्रभाव र व्यावसायिक उपयोगिताबारे प्रश्न उठाइरहेको छ । सहर नजिकैको घाटमा ठूलो पहेँलो रङको क्याप्सुल तयारीको अन्तिम चरणमा पुगेको देखिन्छ । यसलाई पानीमुनि राखेर वैकल्पिक प्रविधि परीक्षण गर्ने तयारी भइरहेको हो । विश्वभरका वेबसाइट र एपहरू सञ्चालनका लागि डाटा सेन्टरहरू अपरिहार्य भइसकेका छन् र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारले तिनीहरूको माग झनै बढाइरहेको छ । ‘पानीमुनि सञ्चालनका आफ्नै फाइदा हुन्छन्,’ समुद्री उपकरण निर्माण गर्ने कम्पनी हाइल्यान्डरका उपाध्यक्ष याङ येले भने । उनको कम्पनीले राज्य–स्वामित्वमा रहेका अन्य संस्थाहरूसँग मिलेर साङ्घाई परियोजनालाई अघि बढाइरहेको छ । भूमिगत सर्भरहरूलाई समुद्रको प्राकृतिक चिसो प्रवाहले स्वाभाविक रूपमा चिस्याउन सक्छ, जसका लागि सामान्य डाटा सेन्टरहरूले ऊर्जा–गहन वायु शीतलन वा पानी वाष्पीकरण प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ । यसअघि सन् २०१८ मा माइक्रोसफ्टले स्कटल्यान्डको तटमा यस्तै प्रविधि परीक्षण गरेको थियो । तर चीनमा अक्टोबरको मध्यतिर डुबाइने यो परियोजना विश्वकै पहिलो व्यावसायिक स्तरको सेवा मानिनेछ । यसमार्फत चीन टेलिकम र राज्य–स्वामित्वमा रहेको एआई कम्प्युटिङ कम्पनीजस्ता संस्थाहरूलाई सेवा पु¥याइनेछ । यसैसँगै, डाटा सेन्टरहरूको कार्बन उत्सर्जन घटाउन सरकारको बढ्दो दबाबलाई सम्बोधन गर्ने प्रयास पनि गरिएको छ । हाइल्यान्डरका उपाध्यक्ष याङका अनुसार पानीमुनि सञ्चालन हुने सुविधाले चिसो गर्न चाहिने ऊर्जाको झन्डै ९० प्रतिशत बचत गर्न सक्छ । तर विज्ञहरूले भने अहिले यस्ता योजनाहरू मुख्यतः प्राविधिक सम्भाव्यता देखाउन केन्द्रित रहेको बताउँछन् । क्यालिफोर्निया विश्वविद्यालय, रिभरसाइडका अनुसन्धानकर्ता साओलेई रेनका अनुसार यस्ता परियोजनाहरूले ठूलो स्तरमा व्यावसायिक प्रयोगमा आउनुअघि अझै धेरै चुनौती पार गर्नुपर्नेछ । माइक्रोसफ्टले आफ्नो पोड सन् २०२० मा पुनः प्राप्त गरेपछि परीक्षणलाई सफल भने पनि, त्यसलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गरेको थिएन । समुद्रको पिँधमा डाटा सेन्टर सञ्चालन गर्नुअघि निर्माण–सम्बन्धी गम्भीर चुनौती र वातावरणीय प्रभावका प्रश्न समाधान गर्नुपर्ने आवश्यकता अझै छ । चीनमा भने सरकारी सहयोगले यसलाई प्रोत्साहन दिइरहेको छ । उदाहरणका लागि, हाइल्यान्डरले सन् २०२२ मा हाइनान प्रान्तमा गरिएको समान परियोजनाका लागि ४ करोड युआन (करिब ५६ लाख २० हजार अमेरिकी डलर) अनुदान प्राप्त गरेको थियो, जुन अझै सञ्चालनमा रहेको छ । साङ्घाई परियोजनामा संलग्न इन्जिनियर झो जुनका अनुसार पानीमुनिको डाटा सेन्टर निर्माण सुरुमा अपेक्षाभन्दा निकै जटिल रहेछ । समुद्रमा राख्नुअघि यसको कम्पोनेन्टहरू तटमा नै अलग–अलग बनाएर संयोजन गरिन्छ । यस संरचनाले नजिकैका अपतटीय पवन फार्मबाट लगभग सम्पूर्ण ऊर्जा प्राप्त गर्ने योजना छ, जसमा ९५ प्रतिशतभन्दा बढी ऊर्जा नवीकरणीय स्रोतबाट आउनेछ । तर समुद्री संरचनाको सबैभन्दा ठूलो चुनौती भनेको यसको सामग्रीलाई नुनिलो पानीले क्षय हुनबाट जोगाउनु हो । यसलाई समाधान गर्न हाइल्यान्डरले स्टिलको क्याप्सुललाई गिलास फाइबर भएको विशेष सुरक्षात्मक तहले ढाकेको छ । साथै, मर्मतका लागि पोडलाई पानीमाथि उठाउन सकिने लिफ्ट प्रणाली पनि जोडिनेछ । विज्ञ रेनका अनुसार समुद्रमुनिको डाटा सेन्टरलाई मुख्य भूमि इन्टरनेटसँग जडान गर्नु परम्परागत सर्भरहरूभन्दा बढी जटिल हुन्छ । थप रूपमा, अमेरिकाको फ्लोरिडा विश्वविद्यालय र जापानको युनिभर्सिटी अफ इलेक्ट्रो–कम्युनिकेसनका अनुसन्धानकर्ताहरूले पानीमुनि सञ्चालित यस्ता केन्द्रहरू ध्वनि तरङ्गद्वारा आक्रमणको जोखिममा पर्न सक्ने निष्कर्ष निकालेका छन् । प्राविधिक अवरोध मात्र नभई पारिस्थितिक प्रभाव पनि महत्त्वपूर्ण प्रश्न बनेको छ । समुद्रमुनि स्थायी रूपमा डाटा सेन्टर राख्दा वरपरको पानीको तापक्रम परिवर्तन हुनसक्ने र त्यसले समुद्री जीवहरूको व्यवहारमा असर पार्नसक्ने अनुमान गरिएको छ । हल विश्वविद्यालयका समुद्री पारिस्थितिकीविद् एन्ड्र्यु वान्टका अनुसार उत्सर्जित गर्मीले कतिपय प्रजातिलाई आकर्षित गर्न सक्छ भने कतिपयलाई टाढा भगाउन सक्छ । हाइल्यान्डरले भने सन् २०२० मा झुहाई नजिक गरिएको परीक्षण परियोजनाको स्वतन्त्र मूल्याङ्कनले पानीको तापक्रम स्वीकार्य सीमाभन्दा तल नै रहेको देखाएको बताएको छ । तर रेनले भने ठूलो स्तरमा यसलाई विस्तार गर्दा उत्सर्जित गर्मी झनै बढ्नसक्ने चेतावनी दिए । उनका शब्दमा, ‘मेगावाट–स्तरका पानीमुनि डाटा सेन्टरहरूको हकमा थर्मल प्रदूषणबारे अझ गहिरो अध्ययन अनिवार्य छ ।’ विज्ञहरूको धारणा अनुसार यस्तो किसिमको अपतटीय सुविधा पारम्परिक डाटा सेन्टरलाई पूर्णतः प्रतिस्थापन गर्न नसके पनि पूरक स्वरूपमा उपयोगी हुन सक्छ । विशेष क्षेत्रमा अतिरिक्त सेवा आवश्यक परेमा पानीमुनिका डाटा सेन्टरहरूले महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ ।
अनधिकृत भण्डारण नगरौं, बजारमा सामानको अभाव हुन नदिऔँ: महासंघ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन आग्रह गरेको छ । महासंघले अपिल जारी गर्दै सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य आपूर्ति गरी बजारमा अभाव हुन नदिन महासंघले आग्रह गरेको हो । २ दिनदेखि निरन्तरको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै २ दिन निरन्तर वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तो समयमा अनधिकृत भण्डारण पनि नगर्न महासंघले आग्रह गरेको छ । अविरल वर्षाका कारण राजमार्गहरु अवरुद्ध भएका छन भने आपूर्ति श्रृङ्खला प्रभावित भएको छ । यस्तो समयमा उच्च सतर्कताका साथ पेशा व्यवसाय गर्न हुन र आवश्यक सतर्कता अपनाउन महासंघले आग्रह गरेको हो । ‘यस घडीमा सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य निरन्तर आपूर्ति गर्न, बजारमा अभाव हुन नदिन र अनधिकृत भण्डारण नगर्न र नगराउन महासंघ सम्पूर्ण सदस्यहरूमा हार्दिक अपील पनि गर्दछ । यसैगरी जोखिम न्यूनीकरण, उद्धार एवं राहतमा पनि सक्दो योगदान पु¥याउन हुन पनि आग्रह गर्दछ,’ महासंघले जारी गरेको अपिलमा भनिएको छ ।