लामो समयदेखि प्रभावित प्रसारण लाइन निर्माण सुरु
काठमाडौं । लामो समयदेखि प्रभावित रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत प्याकेज-३ को काम पुनः सुरु भएको छ । आयोजना र निर्माण व्यवसायीबाट संयुक्त रुपमा प्रसारण लाइन निर्माण क्षेत्रको भ्रमण गरी जग्गा अधिग्रहण र वन क्षेत्रको प्रयोगमा रहेको समस्या सम्बोधनको पहल गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख बिरुवा हटाउनका लागि आयोजनाले सम्बन्धित निकायहरूसँग आवश्यक परामर्श, समन्वय र सहजीकरण गरिरहेको भण्डारीको भनाइ छ । वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख बिरुवा हटाउन स्वीकृती नपाउँदा प्रसारण लाइन निर्माण प्रभावित भएको थियो । दमौली भरतपुर २२० केभी प्रसारण लाइनअन्तर्गत चितवनमा प्रसारण लाइन निर्माण गर्दा प्रयोग भएको वन क्षेत्रको जग्गा सट्टाभर्ना उपलब्ध गराउने विषयमा वन नियमावलीमा भएको व्यवस्था बमोजिम हालै चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जग्गा प्राप्ति सहजीकरण समितिको बैठक बसेको थियो । बैठकमा चितवन जिल्लामा प्रसारण लाइन निर्माण गर्दा प्रयोग गरिने जग्गा सट्टाभर्ना उपलब्ध गराउने प्रयोजनार्थ राष्ट्रिय वनसँग जोडिएको, सम्भव भएसम्म समान भौगोलिक र पारिस्थितिकीय क्षेत्र रहेको, वन विकास गर्न सकिने भूबनावट भएको तथा एकै स्थानमा रही एक आपसमा जोडिएको चक्लाबन्दी भएको निजी जग्गा नेपाल सरकारको नाममा रजिस्ट्रेसन पास गर्ने गरी जग्गा बिक्री गर्न गराउन इच्छुक जग्गाधनीलाई पुनः सार्वजनिक सूचनामार्फत आह्वान गर्ने निर्णय भएको छ । समितिको बैठकबाट सट्टा भर्नाका लागि आयोजनालाई आवश्यक पर्याप्त जग्गा प्राप्त हुन नसकेको ब्यहोरो वन तथा भू-संरक्षण विभागलाई र वन नियमावलीमा भएको व्यवस्था बमोजिम जग्गा प्रयोग गरेबापतको रकम जम्मा गर्न आयोजनालाई सिफारिस गर्ने निर्णय भएको जनाइएको छ । प्रसारण लाइन निर्माणतर्फ हालसम्म ७४ प्रतिशत प्रगति भएको छ । प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ७८ वटा टावरको जग हाल्ने र ६९ वटा टावर जडान सम्पन्न भइसकेको छ । २२ वटा टावरहरूको जग संरक्षण सम्पन्न भएको र दुई स्थानमा जारी रहेको भण्डारीले बताए । केइसी इन्टरनेशनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृती वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई हुँदा सम्झौताको म्याद थप गरिएको थियो । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी ५ आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका-१३ र १४, बन्दीपुर गाउँपालिका-६, आँबुखैरेनी गाउँपालिका-६, देवघाट गाउँपालिका-४ र ५ मा पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।
वर्षाका बाबजुद दसैँका टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं । शुक्रबार साँझ देखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडा दसैँ पर्व भव्य रुपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधि पूर्वक दसैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ । नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरू हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ । यस वर्ष भने विजयादशमीको भोलिपल्ट असोज १७ गते शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले टाढाटाढाबाट मान्यजन कहाँ आशीर्वाद लिन जानेहरूको तालिका प्रभावित भएको छ । भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ ।
मनसुनी वायुको प्रभाव कायमै, आज कोशी र मधेसमा भारी वर्षा हुने
काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जल वाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खोलाले बगाउँदा एक बालिकाको मृत्यु
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् । शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ । घट्नाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।
पृथ्वीराजमार्गको आँबुखैरेनीमा सडक भासियो
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरमा सडक भासिएको छ । शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह ४ बजेतिर सडक भासिएको जानकारी दिए । दुवैतर्फ प्रहरी राखेर सुरक्षित रुपमा एकतर्फी रुपमा सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको उनको भनाइ छ । तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उनले आग्रह गरे । विसं २०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मर्स्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो । सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ ।
सर्लाहीमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
काठमाडौं । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा बाढी र डुबान बनाउन सक्ने चिन्तामा स्थानीय छन् । जल मापन स्टेसनको तथ्याङ्कअनुसार जिल्ला सदरमुकाम मलङ्गवा क्षेत्रमा २१५.४ मिलिमिटर वर्षा मापन भएको छ । योसँगै जिल्लामा स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गर्दै होचो स्थानमा रहेका र बागमती, लखन्देही, झिम, बाँकेलगायत खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित रहन सचेत गराएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । यस्तै पानीको सतह बढेसँगै बागमती सिँचाइ ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । आयोजनाका इन्जिनियर अभिमन्यु चौधरीका अनुसार सर्लाही र रौतहट दुवैतर्फको च्यानल नहर बन्द गरेर पानी खोलातर्फ खोलिएको हो । रौतहटको पधेरेदोभानस्थित बागमती खोलामा रहेको जल सतह मापन केन्द्रका अनुसार अहिले बागमती नदीमा पानीको सतह ५.०५७ मिटर पुगेको छ । यस स्टेसनको मापन तहअनुसार ६ मिटर सतह खतराको सूचक हो भने, ६.८ मिटर खतरा तह मान्ने गरिएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकोले खतरा तहसम्मै पुग्ने जोखिम रहेको आयोजनाका इन्जिनियर चौधरीले जानकारी दिए । उनका अनुसार पानीले खतरा तह पार गरेपछि खोलाको ड्यामल गायतको संरचनामा क्षति पुग्न सक्ने जोखिम रहन्छ । त्यसो भएमा बागमती ब्यारेजमा समेत क्षति पुग्ने भएकाले सिँचाइ आयोजनाले केही माथि रहेको सेफ्टी ड्याम फुटाएर बागमती सिँचाइ आयोजनाको ब्यारेज सुरक्षित गर्ने गरी उपकरणहरू तयारी अवस्थामा राखेको छ ।
विद्यालयमा आश्रय लिएका मानिसलाई महानगरले बाँड्यो खाद्यान्न
काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीका कारण समस्यामा परेका विद्यालयमा आश्रय लिइरहेका मानिसहरूका लागि खाद्यान्नको व्यवस्था गरेको छ। हाललाई महानगर प्रहरीमार्फत सुख्खा खानेकुराको व्यवस्था गरिएको छ भने महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई आवश्यक थप व्यवस्था गर्न निर्देशन दिएको छ । अविरल वर्षाका कारण बाढी र डुबानको जोखिममा परेका बस्ती, त्यहाँका बासिन्दा र भौतिक सम्पत्ति जोगाउन जनशक्ति, स्रोत, साधन र उपकरण परिचालन गरिएको छ । जोखिममा रहेका परिवारका लागि महानगरपालिका भित्रका करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रय स्थलका रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको छ । तीमध्ये ४ वटा विद्यालयमा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरी राखिएको छ । महानगरका अनुसार विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय कुलेश्वरमा ५२ परिवार २५१ जना, महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना रहेका छन् । विद्यालयमा आश्रयसहित खाना, शौचालय, पानीलगायत आधारभूत सुविधाहरू महानगरपालिकाले उपलब्ध गराइरहेको छ। महानगरपालिकाका अधिकारीहरू जोखिमयुक्त क्षेत्रमा नियमित रूपमा खटिएका छन् । आम नागरिकले कुनै जोखिममा पर्न नपरोस् र विपदका कारण कष्ट भोग्नु नपरोस् भन्ने उद्देश्यले महानगरले संयन्त्र परिचालन गरेको छ ।
विपद् खतराबाट सजग रहन राष्ट्रपति पौडेलको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गरेका छन् । आज विज्ञप्ति जारी गर्दै उनले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गरे । राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गरे ।