शुक्लाफाँटामा क्षयरोगीको खोजपडताल गर्न ‘एआई ’को प्रयोग
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा ‘एआई’प्रविधिमा आधारित पोर्टेबल एक्स–रे मेसिनमार्फत निःशुल्क क्षयरोगी खोजपडताल गरिएको छ । आधुनिक प्रविधिको प्रयोगबाट समुदायमा लुकेर बसेका क्षयरोगीको पहिचान गर्दै समयमै उपचारमा ल्याउने उद्देश्यले उच्च जोखिममा रहेका वडा नं १, ५ र ८ मा शिविर सञ्चालन गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार वडा नं ८ को पिताम्बर स्वास्थ्यचौकी, वडा नं ५ को आधारभूत स्वास्थ्य केन्द्र वन समिति र वडा नं १ को सहरी स्वास्थ्य केन्द्र बन्साहमा शिविर सञ्चालन गरिएको छ । चिकित्सकसहितको टोलीले एआई प्रविधियुक्त पोर्टेबल एक्सरे मेसिन प्रयोग गरेर क्षयरोगीको खोजपडताल गरेको उनले बताए । शिविरमार्फत कूल ६८८ जनाको क्षयरोग परीक्षण गरिएको छ । परीक्षणका क्रममा शङ्कास्पद देखिएका ४२ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’ परीक्षण गर्न महाकाली प्रादेशिक अस्पतालमा प्रेषण गरिएको छ । शाखा प्रमुख भट्टका अनुसार एआई प्रविधिमार्फत एक्स–रे विश्लेषण गर्दा सामान्य एक्स–रेमा सहजै नदेखिने सूक्ष्म जीवाणुसमेत तत्काल पहिचान गर्न सकिन्छ । 'डिजिटल कम्प्युटर प्रणालीले एक्स–रे विश्लेषण गरेर सम्भावित क्षयरोगी छुट्याउँछ', उनले भने, 'यसले खकार परीक्षण गर्नुअघि नै जोखिममा रहेका बिरामी पहिचान गर्न सहयोग पुर्याउँछ ।' उनका अनुसार प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ । शिविर सञ्चालनका लागि चिकित्सकसहित एआई पोर्टेबल एक्स–रे मेसिन महाकाली प्रादेशिक अस्पतालबाट उपलब्ध गराइएको हो । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग समस्या अन्त्य गर्ने तथा सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य राखेको छ । सो लक्ष्य हासिल गर्न एआई प्रविधिको प्रयोग प्रभावकारी बन्दै गएको स्वास्थ्य अधिकृत पदम महराले बताए । 'विशेषगरी छातीको एक्स–रे विश्लेषणमार्फत कम समयमै क्षयरोगी पहिचान गर्न एआई प्रविधि उपयोगी देखिएको छ', उनले भने, 'पोर्टेबल एक्स–रे मेसिन र एआई सफ्टवेयर प्रयोग गरेर दुर्गम गाउँमा समेत शिविर सञ्चालन गर्न सकिन्छ, त्यसैले यो सेवालाई नगरपालिकाका १२ वटै वडामा विस्तार गर्ने लक्ष्य राखेका छौँ ।' उनका अनुसार एआईले केही मिनेटमै एक्स–रे विश्लेषण गरेर शङ्कास्पद बिरामी पहिचान गर्न सक्छ । यसले स्वास्थ्यकर्मीको कार्यबोझ कम गर्नुका साथै समयमै परीक्षण र उपचार प्रक्रिया अघि बढाउन मद्दत पुर्याइरहेको छ । उनका अनुसार एआई प्रविधिको प्रयोगले क्षयरोगको शीघ्र पहिचान, उपचार तथा रोगको फैलावट नियन्त्रणमा महत्वपूर्ण सहयोग पुगेको छ । विशेषगरी विशेषज्ञ चिकित्सकको पहुँच कम रहेका दुर्गम क्षेत्रमा यस्तो प्रविधि प्रभावकारी रहेको छ ।
वालेटमै ब्याज पाउने सुविधा, खल्तीको ‘सुपर वालेट’ सबैका लागि खुला
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडसँगको सहकार्यमा ल्याइएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्तालाई वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्छ । यससँगै खल्ती नेपालमा नियो बैंकिङ युग सुरु गर्ने अग्रणी डिजिटल भुक्तानी प्लेटफर्म बनेको कम्पनीले जनाएको छ । यसअघि सीमित प्रयोगकर्तामा मात्र उपलब्ध रहेको यो सुविधा अब सबै केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्तामा विस्तार गरिएको छ । सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको रकममा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः जम्मा हुने व्यवस्था छ । हाल वार्षिक २.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनेछ, जुन साझेदार बैंकको मानक दरअनुसार परिवर्तन हुन सक्ने बताइएको छ । यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले खाता केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ र कम्तीमा १० वटा कारोबार सम्पन्न गरेको वा वालेटमा न्यूनतम १ हजार रुपैयाँ मौज्दात राखेको हुनुपर्नेछ । सेवा पूर्ण रूपमा डिजिटल भएकाले कुनै बैंक भ्रमण वा कागजी प्रक्रिया आवश्यक नपर्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले खल्ती एपको ‘सुपर वालेट’ सेक्सनमार्फत सहजै आवेदन दिन सक्नेछन् र आवेदन दिएको भोलिपल्टदेखि सेवा सक्रिय हुनेछ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सुपर वालेटले औपचारिक बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीलाई समेट्दै वित्तीय समावेशीकरणमा टेवा पुर्याउने बताएका छन् । उनका अनुसार यो सुविधा बचत संस्कार विकास गर्ने र प्रयोगकर्ताको सानो रकमलाई समेत बढाउने प्रभावकारी माध्यम बन्नेछ । खल्ती अब केवल भुक्तानी प्लेटफर्म मात्र नभई वित्तीय अनुशासन र बचत प्रवर्द्धन गर्ने माध्यमका रूपमा स्थापित हुने कम्पनीको विश्वास छ ।
कुरिलो किलोको ४५० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य नर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २८ र आलु रातो लाम्चो प्रतिकिलो रु २८, आलु रातो (गोलो) प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ६५ र भन्टा डल्लो प्रतिकिलो रु ७५ कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ११०, मकै बोडी प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १७०, तीते करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ६०, परवर (लोकल) प्रतिकिलो रु ८०, परवर (तराई) प्रतिकिलो रु ७०, चिचिन्डो प्रतिकिलो रु ५५, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७५, भिन्डी प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु १००, पालुङ्गो प्रतिकेजी रु १००, तोरीसाग प्रतिकिलो रु ३५, चमसुरको साग प्रतिकेजी रु १००, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १४०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३२० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ४५०, ब्रोकाउली प्रतिकिलो रु १४०, चुकुन्दर प्रतिकिलो रु ६५, निगुरो प्रतिकिलो रु ८०, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २६०, सेलरी प्रतिकिलो रु ११०, सौफको साग प्रतिकेजी रु ९०, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली)प्रतिदर्जन २००, केरा मालभोग प्रतिदर्जन २२०, कागती प्रतिकेजी ३६०, अनार प्रतिकिलो रु ५००, अङ्गुर (हरियो) प्रतिकिलो रु ३००, अङ्गुर (कालो) प्रतिकिलो रु ४५०, तरबुजा हरियो प्रतिकिलो रु ४५, भुइँकटहर प्रतिगोटा रु २५०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७५, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ७०, भेडेखुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १२०, छ्यापी (सुकेको) प्रतिकेजी रु १५०, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।
नेप्सेमा डेढ खर्बको सेयर सूचीकृत, बोनस मात्रै ३९.८९ अर्ब रुपैयाँ
काठमाडौं । चालु आवको ९ महिनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डेढ खर्ब रुपैयाँ बराबरको सेयर सूचीकरण भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा नेप्सेमा १ खर्ब ३२ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा ४५ अर्ब ५४ करोड रुपैयाँको साधारण सेयर (आईपीओ), ३९ अर्ब ८९ करोड रुपैयाँको बोनस सेयर, ९ अर्ब ६४ करोड रुपैयाँको हकप्रद सेयर, २७ अर्ब ५० करोड रुपैयाँको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड रुपैयाँको डिबेन्चर, ९७ करोड १७ लाख रुपैयाँको एफपीओ र २ करोड २९ लाख रुपैयाँको अन्य गरी कुल १ खर्ब ३२ अर्ब ३६ करोड बराबरको थप सेयर सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २७ अर्ब २३ करोड रुपैयाँको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड रुपैयाँको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । नेप्सेमा चैत मसान्तमा सूचीकृत ९ अर्ब ४८ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ३३ अर्ब ८९ करोड रहेको छ । चैतसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २९४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५०.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १७.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.४ प्रतिशत, होटलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.५ प्रतिशत रहेको छ ।
सिटिजन लाइफको नाफा साढे ३६ करोड रुपैयाँ, जीवन बीमा कोष २४.५५ अर्ब पुग्यो
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३६ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ०.६६ प्रतिशत बढेको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ९४ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क र ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ खुद र ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । चालु आवको ९ महिनामा कम्पनीले ५ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको ९ महिनामा कम्पनीले ४ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरी ७ अर्ब २० करोड ९० लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको चैतसम्ममा ६ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कुल आम्दानी गरी ५ अर्ब ९६ करोड १७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६३ लाख रुपैयाँ, सञ्चित नाफा ४७ करोड ९ लाख रुपैयाँ, अन्य इक्विटी ३७ करोड १२ लाख रुपैयाँ र जीवन बीमा कोष २४ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.६० रुपैयाँ, प्रतिसेयर आम्दानी १३१.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८.५४ गुणा छ ।
२ दर्जन वन्यजन्तुको मृत्युपछि पथलैया-अमलेखगन्ज खण्डमा ओभर पासको प्रस्ताव
काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथअन्तर्गत पथलैया-अमलेखगञ्ज सडक विस्तारका क्रममा ८ किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि २ वटा ‘ओभर पास’ निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ । सो खण्डमा सवारीसाधन अत्यधिक मात्रामा गुड्ने हुँदा विभिन्न समयमा वन्यजन्तुको प्राकृतिक स्थान तथा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सडक विस्तारका क्रममा कम्तीमा दुई वटा ओभर पास निर्माण गर्नका लागि सुझाव दिएको हो । पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले निकुञ्ज क्षेत्र अतिसंवेदनशील हुने भएकाले पनि सडक विस्तार गर्दा जनावर मैत्री र जनावरको सुरक्षामा विशेष ध्यान दिनका लागि अनुरोध गरे । ‘सवारी साधनको ठक्करले राजमार्गमा २ दर्जनभन्दा बढी वन्यजन्तुको मृत्यु भएको छ,’ उनले भने ‘निकुञ्जको कोर एरिया पर्ने ८ किलोमिटरमा ओभर पास निर्माण गरेको खण्डमा दुर्घटनाबाट हुने क्षतिलाई केही न्यूनीकरण गर्न सकिन्थ्यो ।’ अमलेखगन्ज-पथलैया सडक खण्डमा बेलाबखत हात्तीले सवारीसाधनलाई लखेट्ने तथा मानव र वन्यजन्तुबीच द्वन्द्व पनि हुने गरेको छ । चालु आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर एउटा चितुवाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ । पथलैया-अमलेखगन्ज सडक खण्डमा सवारी दुर्घटनामा परेर २ वटा जरायो, ५ वटा चित्तल र १५ वटा बाँदरको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी भगतले जानकारी दिए । प्राकृतिक कारणले अन्य ३ वटा जनावरको मृत्यु भएको छ । सूचना अधिकारी भगतले सवारी दुर्घटनाबाट वन्यजन्तु जोगाउनका लागि ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । उनले सवारी चालकलाई थप ट्राफिक सचेतना उपलब्ध गराउन सरोकार भएका सबैले समन्वय गर्नुपर्ने आवश्यकता औंल्याए । सडक डिभिजन हेटौंडाका इन्जिनियर भोलाप्रसाद साहले सडक विस्तार गर्दा निकुञ्ज क्षेत्रमा ओभर पास निर्माण गर्नुपर्ने लगायत सुझाव आएकाले सडक विभागमा पठाइएको बताए ।
आज बस्दै प्रतिनिधिसभा बैठक, नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । चालु अधिवेशनमै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
रिलायबल समृद्धि योजनजा-२ बिक्री खुला, १ करोड इकाई खरिद गर्न मिल्ने
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडले आज वैशाख २९ गतेदेखि रिलायबल समृद्धि योजनजा-२ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । कम्पनीले कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिएको जनाएको छ । कम्पनीको म्युचुअल फण्डमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरे जेठ १२ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको फण्डमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।