अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा
काठमाडौं । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा हो । बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा भएको छ ।
मनसुन सक्रियताका कारण मधेश, कोशी र बागमती प्रदेशमा भीषण वर्षा, नदीहरूमा जलस्तर घट्दै
काठमाडौं । बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा मनसुन सक्रिय हुँदा मधेस, बागमती र कोशी प्रदेशमा तीव्र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २४ घण्टाको अवधिमा असोज १८ गते बिहान ४:३० देखि असोज १९ गते बिहान ४:३० सम्म सबैभन्दा धेरै ३५८ मिमी वर्षा रौतहटको महेशपुरमा मापन गरिएको छ । त्यस्तै २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ केन्द्रमा वर्षा मापन भएको विभागले जनाएको छ । विभागका अनुसार १०५ केन्द्रमा ५० मिमीभन्दा बढी वर्षा भएको छ । यस्तै ६८ केन्द्रमा १०० मिमीभन्दा बढी वर्षा भएको छ भने २१ केन्द्रमा २०० मिमीभन्दा बढी पानी परेको छ । जम्मा ५ केन्द्रमा मात्रै ३०० मिमीभन्दा बढी वर्षा मापन गरिएको छ। इलामको वहमाली, कन्याम, पर्साको मुडली, रौतहटको महेशपुर र गौरमा ३०० मिमीभन्दा बढी वर्षा मापन गरिएको विभागले जनाएको छ । नदीमा उच्च सतर्कता अपनाउन आग्रह लगातारको वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, लालबकैया, कमला लगायतका नदीमा जलस्तरले सतर्कता तह पार गरिसकेको थियो । हाल ती नदीमा जलस्तर क्रमशः घटिरहेको महाशाखाले जनाएको छ । यद्यपि, असोज १९ गते बिहान कोशी नदीले खतराको तह पार गरिसकेको थियो भने यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा पनि खतराको तह पार भएको जनाइएको छ । त्यस्तै, कन्काई, बुढीखोला, लोहना, खेसरैया, विरिङ जस्ता चुरे तथा महाभारत क्षेत्रबाट उत्पत्ति भएका साना नदीमा पनि खतराको तह पार भएको छ। तर अहिले ती नदीमा पनि जलस्तर घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । मनसुन अझै विदा भइसकेको छैन महाशाखाका अनुसार वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएर मौसममा सुधार आउन थालेको भए पनि मनसुनको औपचारिक विदाइ भइसकेको छैन । त्यसैले अझै सतर्कता आवश्यक छ । सरोकारवालाहरूलाई विशेष गरी नदी तटीय क्षेत्र तथा डुबान प्रभावित क्षेत्रमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बिटक्वाइनको मूल्य १ लाख २५ हजार डलर नाघ्यो
काठमाडौं । विश्वकै अग्रणी क्रिप्टोकरेन्सी बिटक्वाइन आइतबार नयाँ रेकर्ड उचाइमा पुगेको छ । यसको मूल्य एक लाख २५ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ । बिटक्वाइनको मूल्य एक लाख २५ हजार ६८९ डलरसम्म उक्लिएको छ । यसले यसअघि गत अगस्टमा कायम गरिएको एक लाख २४ हजार ५०० डलरको रेकर्डलाई तोडेको छ । अमेरिकी सरकारको सटडाउनबारे लगानीकर्ताहरूमा देखिएको अनिश्चितता र सतर्कताले बिटक्वाइनको मूल्यमा बलियो वृद्धि ल्याएको विश्लेषकहरूले बताएका छन् । ब्लुमबर्ग न्युजका अनुसार अमेरिकी सेयर बजारमा हालै देखिएको लाभले पनि बिटक्वाइनको वृद्धिलाई थप ऊर्जा दिएको छ । लगानीकर्ताहरू अहिले सङ्घीय सरकारका कोषसम्बन्धी वार्ता जारी रहँदा सुरक्षित सम्पत्तिको खोजीमा छन् र बिटक्वाइन त्यसको प्रमुख विकल्प बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवार पनि क्रिप्टोकरेन्सीका ठूला समर्थकका रूपमा परिचित छन् । उनीहरू विभिन्न क्रिप्टो परियोजनाहरूमा संलग्न रहँदै आएका छन् जसले उनीहरूको सम्पत्ति वृद्धि गर्न मद्दत गरेको मानिन्छ । ट्रम्प प्रशासनले डिजिटल सम्पत्तिप्रतिको समर्थनका माध्यमबाट आफ्नो डेमोक्रेटिक पूर्ववर्ती जो बाइडेनको सरकारअन्तर्गत क्रिप्टो उद्योगमाथि देखिएको संदेहपूर्ण दृष्टिकोण उल्ट्याएको हो । अमेरिकी कंग्रेसले यसै वर्ष जुलाईमा तीन ऐतिहासिक क्रिप्टोकरेन्सी विधेयक पारित गरेको थियो । यी नियामक सुधारहरूले बिटक्वाइनको मूल्य वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेका विश्लेषकहरूको भनाइ छ । क्रिप्टो प्राइम ब्रोकरेज कम्पनी फाल्कनएक्सका बजार विभागका सह–प्रमुख जोशुआ लिमले ब्लुमबर्ग न्युजसँग कुरा गर्दै भने, 'इक्विटी, सुन र पोकेमोन कार्डजस्ता सम्पत्तिहरू सबै ऐतिहासिक उच्चस्तरमा पुगेका बेला बिटक्वाइनले डलर कमजोर भएको कथाबाट फाइदा उठाउनु कुनै आश्चर्य होइन ।' रासस
पश्चिमतर्फका सडक सुचारू भइसके, बीपी र मेची राजमार्ग छिट्टै सञ्चालनमा ल्याउँछौं : मन्त्री घिसिङ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पश्चिम तर्फका सडक खण्डमा सवारी साधन सञ्चालनमा ल्याइसकेको बताएका छन् । भारी वर्षा, भूस्खलन र बाढीबाट प्रभावित सडकहरूको द्रुत मर्मत गरी पश्चिमतर्फ यातायात सुचारू गरिएको उनले बताए । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालय तथा सडक विभागले यातायात यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक सबै जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको छ । प्रमुख राजमार्गका अवरुद्ध खण्डहरूमा दिनरात मर्मत कार्य तीव्र रूपमा जारी राखेको र बाँकी सडकहरू पनि शीघ्र सञ्चालनमा ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे । ‘हिजोदेखि नै मेसिन र जनशक्ति परिचालन गरी काठमाडौंबाट पश्चिम र मुग्लिङ हुँदै पोखरा र नारायणघाटतर्फ जाने पृथ्वी राजमार्ग, नारायणघाट-मुग्लिन राजमार्गका अवरोध हटाई सवारी साधन संचालन हुन सक्ने बनाई सकिएको छ भने अवरुद्ध बीपी राजमार्ग (भकुन्डेबेसी–नेपालथोक खण्ड) र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउने गरी अवरोध हटाउने र डाइभर्सन बनाउने काम शुरु भइसकेको छ,’ मन्त्री कुलमानले भने । मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायहरूसँग समन्वय गरी सडक विभाग मार्फत सडक खोल्ने तथा मर्मत कार्यलाई गति दिएको उनको भनाइ छ । असोज १७, १८ र १९ गतेको भारी वर्षा र जलवायु जन्य घटनाका कारण देशका विभिन्न स्थानहरूमा उत्पन्न भूस्खलन र बाढीका घटनाबाट सडकमा कटान हुने, पहिरो जाने एवं पुल बग्ने जस्ता घटना हुन गई सडक सञ्जाल र यातायात प्रभावित भएका छन् ।
दुई दिनको वर्षाले हिलाम्मे काठमाडौंका सडक
काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा हुन रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको हो । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो । आइतबारबाट मौसम उघ्रिएको छ । आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् । अविरल वर्षाले उपत्यकाका विभिन्न सडकहरुमा हिलो र धुलो प्रशस्त देख्न सकिन्छ । हिलाम्मे सडकमा सवारी गुडिरहेका छन् ।
शनिबारको बाढीले १० करोडको क्षति, यस्तो छ क्षतिको विवरण
काठमाडौं । शनिबार परेको भारी वर्षाले विभिन्न ठाउँमा करोडौंको क्षति भएको छ । सरकारले उपलब्ध गराएको तथ्यांक अनुसार अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा १० करोड क्षति पुर्याएको अनुमान गरिएकाे हाे । यस्तो छ क्षतिको विवरण - कन्काई नदीले गौरीगञ्ज २ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होकलबारी गाउँको करिब ११४ घर बारी डुबान भएको र ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टरमा क्षति भएको । अनुमानित क्षतिको लागत ७५ लाख रुपैयाँ। - मेची नदीले ठाउँ ठाउँमा रहेको स्परहरूमा क्षति पुर्याएको । अनुमानित क्षतिको लागत ५० लाख रुपैयाँ । - केशलिया नदीमा (बुढी खोला) आएको बाढीले विराटनगर महानगरपालिका ६ र १२ को बस्ती डुबान भई ७५ घर धुरी स्थानान्तरण भएको । - कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरूवाको तटबन्धमा क्षति पुर्याएको । अनुमानित क्षतिको लागत २५ लाख रुपैयाँ । - लाल बकैया नदीको दायाँ किनार मौलापुर नगरपालिका १ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान खेतमा क्षति भएको र अनुमानित २०० वटा घर गोठ डुबान भएको । अनुमानित क्षतिको लागत ६० लाख रुपैयाँ । - महोत्तरीको रातो नदीले बलवा नगरपालिका २, १० र ११ को बन्चौरी, लेउरी, भल्नी तथा भगवतीपुर गरी ३९० मिटर तटबन्ध बगाएको, साथै लोहरपट्टी नगरपालिका ६ लोहारपट्टीका ४०० मिटर, महोत्तरी गाउँपालिका ६ रतबारामा २० मिटर, जलेश्वर नगरपालिका १, ४ र ७ को बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बगाई क्षति भएको । रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान भएको र साथै सदरमुकाम जलेश्वर समेत बाढीको जोखिममा रहेको । अनुमानित क्षतिको लागत ८ करोड रुपैयाँ । सिँचाई तर्फ - सिँचाई प्रणालीहरूको बाँध क्षेत्रमा नदीहरूमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, अन्डरस्लुइस, मूल नहर र शाखा नहरहरूका गेटहरूलाई समयमा नै गेट अप्रेसन गरेको हुँदा सिँचाई प्रणालीहरूमा उल्लेख्य क्षति नभएको । - झाँज सिँचाई प्रणालीको ब्यारेज भन्दा २०० मिटर माथिल्लो तटिय क्षेत्रको दायाँ गाइड बण्डबाट ओभरफ्लो भई मोहमदपुर गाउँ डुबान भएको । - सुनसरी मोरङ, बागमती र नारायणी सिँचाई आयोजनाहरूको सिञ्चित क्षेत्र भित्र रहेका खोला खोल्साहरूले खेतीयोग्य जमिनमा कटान गरेको प्रारम्भिक आँकलन रहेको । - सुनकोशी नदीमा आएको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गतको निर्माणाधीन बाँध स्थल डुबान भएको । कफर ड्याम लगायत निर्माणाधीन संरचनाहरूको अवस्था एकिन हुन नसकेको । पहिरो तर्फ - इलाम, पाँचथर, ताप्लेजुङ लगायत कोशी र बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोका घटनाहरू भएको र सो को विवरण प्राप्त हुन बाँकी ।
ट्रम्पको बजेट ‘गम्भीर संकट’ मा : सटडाउनबीच ठूलो कटौतीको तयारी
काठमाडौं । अमेरिकी राजनीतिमा सम्भवतः राष्ट्रपति डोनाल्ड ट्रम्पपछि सबैभन्दा प्रभावशाली व्यक्ति हुन् । अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (ओएमबी) का प्रमुख तथा दक्षिणपन्थी विचारक रसेल भोटले अमेरिकी सरकारको सटडाउनलाई आफ्नो कठोर आर्थिक नीति कार्यान्वयनको उपकरणका रूपमा प्रयोग गरिरहेका छन् । सरकार बन्द हुँदा सामान्यतया लाखौँ सङ्घीय कर्मचारीहरू अस्थायी रूपमा बेतलबी बिदामा पठाइन्छन् । तर यस पटक ह्वाइट हाउसले स्थिति ‘सामूहिक राजनीतिक विस्फोटको नजिक’ रहेको बताएको छ । ट्रम्पले भोटलाई निर्देशन दिएका छन् । 'कुन–कुन डेमोक्रेटिक एजेन्सीहरूमा कटौती गर्न सिफारिस गर्ने भनेर सोच्नुहोस् ।' राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एआईले तयार गरेको एउटा भिडियो पनि पोस्ट गरे, जसमा बजेट प्रमुख भोटलाई वासिङ्टनका गल्लीमा हिँडिरहेको ‘डरलाग्दो काँटा’ अर्थात् काट्ने व्यक्तिको रूपमा चित्रण गरिएको छ । भोट अहिले प्रोजेक्ट २०२५ नामक योजनाको पालना गर्दैछन् । जसका लेखकहरू मध्ये उनी स्वयं पनि एक हुन् । ट्रम्पले आफ्नो पुनः निर्वाचन अभियानका बेला तीव्र रूपमा घटाइएको सङ्घीय सरकारमाथि व्यापक रूपमा विस्तारित कार्यकारी नियन्त्रणको परिकल्पना गर्ने अति–रूढीवादी योजनाबाट दूरी बनाइराख्न खोजेका थिए । तर अहिले उनले ४९ वर्षीय भोटलाई ‘प्रोजेक्ट २०२५ फेम’ भनेर गौरवपूर्वक उल्लेख गरेका छन् । सङ्घीय बजेटका लागि जिम्मेवार समितिकी वरिष्ठ डेमोक्रेट सांसद रोजा डेलोरोले भोटमाथि ‘सटडाउन इन्जिनियर’ को आरोप लगाउँदै भने, 'उहाँले लामो समयदेखि मजदुर वर्ग, मध्यम वर्ग र उनीहरूमाथि निर्भर कमजोर अमेरिकीहरूलाई बेवास्ता गर्दै आवश्यक सरकारी सेवाहरू ध्वस्त पार्ने नियतले यो षड्यन्त्रको योजना बनाइरहनुभएको छ ।' अमेरिकी सरकारको वार्षिक बजेट विधेयक पारित गर्न असफल हुँदा यस्ता बन्द हुने गरेका छन् । नोकरशाहीलाई ध्वस्त पार्ने लक्ष्य कनेक्टिकटमा जन्मेका भोटले एउटा सानो इभान्जेलिकल क्रिश्चियन कलेजबाट स्नातक गरी कानूनमा डिग्री हासिल गरे । त्यसपछि उनी रिपब्लिकन सांसदहरूको कर्मचारी र हेरिटेज फाउन्डेसन का लागि लोबिस्ट बने । ट्रम्पको पहिलो कार्यकालमा भोट ओएमबीका निर्देशक बने र अहिले दोस्रो कार्यकालमा पुनः नियुक्त भएका छन् । बाइडेनको कार्यकालमा उनले आफ्नै थिङ्क ट्याङ्क सेन्टर फर रिन्युइङ अमेरिका मार्फत ‘नयाँ रूढीवादी अधिग्रहण’ को तयारी गर्नुभएको थियो, जसको उद्देश्य उनका शब्दमा ‘फुटेको सरकारलाई पुनः दक्ष बनाउने’ थियो । ट्रम्प पुनः निर्वाचित भएपछि भोटले टकर कार्लसनसँगको अन्तर्वार्तामा भनेका थिए, 'हामीले त्यो विशाल नोकरशाहीलाई ध्वस्त पार्न कट्टरपन्थी संवैधानिक दृष्टिकोणका साथ छिटो र आक्रामक रूपमा अघि बढ्नुपर्छ ।' गत सेप्टेम्बरमा उनले अमेरिकी सरकारलाई ‘जागृत र हतियारबद्ध प्रशासनिक राज्य’ भन्दै आलोचना गरेका थिए, जसले निर्वाचित राष्ट्रपतिका आदेशहरूको अवज्ञा गर्छ भन्ने आरोप लगाए । राजनीतिक ट्रमा र शक्ति प्रदर्शन भोटलाई सन् २०२५ फेब्रुअरीमा पुनः ओएमबी निर्देशकका रूपमा सिनेटले तत्काल पुष्टि गर्यो । तर सरकारभित्रको लागत कटौतीमा पहिलो पहल भने टेक टाइकुन एलन मस्कले गरेका थिए । मस्कले प्रशासनको प्रारम्भिक महिनाहरूमा ‘काट्ने चेनसो नीति’ अघि सारेका थिए । यो कदमले भोटलाई असन्तुष्ट तुल्याएको बताइन्छ, यद्यपि उनी पनि सरकारी निकायहरूको ‘आकस्मिक पुनर्संरचना’ को पक्षमा छन् । 'हो, मैले नोकरशाहीभित्र आघात ल्याउने आह्वान गरेको हुँ', उनले नोभेम्बरमा भने, 'यी ब्युरोक्रेसीहरूले अमेरिकी जनतालाई बेवास्ता गर्छन् ।' भोटका अनुसार सबै कार्यकारी शक्ति कार्यकारी शाखामै निहित हुनुपर्छ । उनले विदेशी सहायता घटाउने, सार्वजनिक प्रसारणका लागि सङ्घीय कोष अन्त्य गर्ने र दर्जनौँ नियमहरू फिर्ता लिने योजना अगाडि सारेका छन् । भोटले हालै भनेका छन्, 'यस काममा संलग्न हुनु रोमाञ्चक छ ।' रासस
वर्षाका कारण २ दर्जन सडकमा क्षति, खुलाउन ३ दिन लाग्ने, कुन-कुन सडक हुन् ?
काठमाडौं । अविरल वर्षाका कारण दुई दर्जन सडकमा क्षति पुर्याएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमकका अनुसार वर्षाका कारण पूर्वका दुई दर्जन बढी सडकमा क्षति पुर्याएको जनाएको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सामान्य पहिरो गएका ठाउँमा तत्काल पच्छ्याएर सवारी साधन सुचारु गरिएको छ । साथै, केही स्थानमा पहिरो पच्छ्याउन ३ दिनसम्म समय लाग्न सक्ने कार्यालयले जनाएको छ । कुन-कुन सडक भए अवरुद्ध ? सडक डिभिजन कार्यालय हर्कपुर अन्तर्गत रहेकाे हर्कपुर-ओखलढुंगा-सोलु, हलेसी-दिक्तेल-चखेवा सडक खण्डमा सामान्य पहिरो गएको छ । पहिरो पच्छ्याएपछि उक्त सडक खण्डमा सवारी आवागमन सुरू भएकाे जनाएकाे छ । आयोजना कार्यालय कटारी अन्तर्गत मिर्चिया-कटारी-घुर्मी सडक खण्डकाे ६४ किलोमिटर नजिकै पहिरो जाँदा अवरुद्ध भएको छ । पहिरो पच्छ्याउने काम जारी रहेको र एक दिन समय लाग्ने जनाएको छ । आयोजना कार्यालय गाईघाट अन्तर्गत रहेकाे गाईघाट-दिक्तेल सडक खण्डको ३७ किलोमिटरदेखि ४५ किलोमिटरसम्मको क्षेत्रमा पहिरो जाँदा अवरुद्ध भएको छ । सडक खुलाउन १ दिन लाग्ने जनाएको छ । सडक डिभिजन लहान अन्तर्गत बसाहा-चतारा सडक खण्ड जलमग्न भएको छ । जलमग्न सडकमा पानी व्यवस्थापनको काम भइरहेको छ । यस्तै, कदमाहा-गाईघाट सडक खण्डमा सामान्य पहिरो झरेको छ । पहिरो पच्छ्याएपछि सवारी आवतजावत सुचारु भइरहेको छ । सडक डिभिजन विराटनगर अन्तर्गत कान्छी बजार-चतारा सडक खण्डमा रुखहरू ढलेका छन् । रुख हटाएपछि उक्त सडक सुचारु भएको छ । यस्तै, चतारा बराहा क्षेत्र सडक खण्डको बराह नजिक र धरान-भेडेटार सडक खण्डको निशाने खोला नजिक पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पहिरो पच्छ्याउने काम जारी छ । चतारा बराहा क्षेत्र सडक खुल्न ३ घण्टा र धरान-भेडेटार सडक खण्ड खुल्न २ घण्टाको समय लाग्नेछ । सडक डिभिजन धनकुटा अन्तर्गत भेडेटार-मूलघाट सडक खण्डमा ४ ठाउँमा पहिरो गएको छ । पहिरो पच्छ्याएपछि सवारी आवागमन सुचारु भएको छ । यस्तै, पाख्रिबास-लेगुवा सडक खण्डमा ६ ठाउँमा पहिरो गएको छ । पहिरो पच्छ्याएर एकतर्फी सवारी आवतजावत भइरहेको छ । सडक डिभिजन तुम्लिङटार अन्तर्गत लेगुवा-खाँदबारी सडक खण्डमा खेवा खोला र लेगुवा-भोजपुर सडक खण्डमा चखेवा खोलामा पहिरो गएको छ । पहिरो पच्छ्याएपछि उक्त सडक खुलेको छ । सडक डिभिजन इलाम अन्तर्गत जोर कलश फिक्कल सडक खण्डमा पहिलो झरेको छ । पहिरो पच्छ्याएर एकतर्फी सडक सञ्चालन गरिएको छ । यस्तै, फिक्कल-गोदाक सडक खण्डमा ठूलो पहिरो जाँदा अवरुद्ध भएको छ । उक्त सडक खुलाउन १ दिन समय लाग्नेछ । यस्तै, माइखोला पुल र माइखोला-राजद्वाली सडक खण्ड बन्द भएको छ । सडक खुलाउन ३ दिन समय लाग्नेछ । यस्तै, इलाम-धोवीधारा सडक खण्ड भासिएको छ । उक्त सडक खुलाउन १ दिन समय लाग्ने जनाएको छ । यस्तै, धोवीधारा-नेपालटार सडक खण्डमा पुवा खोला नजिकै सडक भासिएको छ । सडक खुलाउन २ दिन समय लाग्नेछ । यस्तै, नेपालटार-राके सडक खण्ड, राके-फिदिम सडक खण्डमा पहिरो झरेको छ । सडक सुचारु गर्न २ दिन समय लाग्नेछ । यस्तै, मेची करिडोरमा विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । उक्त सडक सुचारु गर्नका लागि कति समय लाग्ने भन्ने एकिन हुन सकेको छैन । तमोर कोरिडोर मूलघाट अन्तर्गत मूलघाट-सुभङ खोला सडक खण्डमा मेवा र चोरुवा खोलामा बाढी आएका कारण अवरुद्ध भएको छ । सडक खुलाउन २ दिन समय लाग्नेछ ।