पर्यटनमा पीपीपी मोडल, पर्यटकको खर्च बढाउने
काठमाडौं । सरकारले पर्यटक आगमनलाई सहज बनाउन पर्यटक भिसा सेवासहित विभिन्न सेवा अनलाइनमार्फत उपलब्ध गराइने योजना अघि सारेको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पर्यटन भिसा सेवा अनलाइन बनाउनेदेखि यस क्षेत्रका विभिन्न विषयहरूलाई अगाडि सारिएको हो । नीति तथा कार्यक्रममार्फत सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने उल्लेख गरेको छ । त्यस्तै, धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने उल्लेख छ । आध्यात्मिक तीर्थ कुटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नीति तथा कार्यक्रममा सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न विशेष पहल गर्ने जनाएको छ । यात्रुहरूको प्रतीक्षा समय घटाउने तथा विमानस्थल सेवामा सुधार गर्ने नीति पनि कार्यक्रममा समेटिएको छ । ‘हवाई पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विकास गरिनेछ, नीति तथा कार्यक्रममा उल्लेख छ । नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको सहभागिता विस्तार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिने भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गरी यात्रुको प्रतीक्षा समय घटाइने सरकारले लक्ष्य रहेको छ । गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिने नीति तथा कार्यक्रममा भनिएको छ । एकद्वार डिजिटल पर्यटन प्रणाली लागु गरिने त्यसैगरी, सरकारले अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गर्ने एक द्वार डिजिटल पर्यटन प्रणाली लागु गरिने भनिएको छ । पर्वतीय पर्यटनको सुरक्षा, खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिने भएको छ । ‘भिजिट नेपाल २०८५ को पूर्व तयारीका लागि पर्यटक आगमन, प्रति पर्यटक खर्चवृद्धि र बसाई अवधि बढाउने गरी अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । समुदायद्वारा सञ्चालित होमस्टे, स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारी प्रवर्द्धन गरिने भएको छ । त्यस्तै, जीवित सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङसहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिने भएको छ । नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गर्न पर्वतारोहण, ट्रेकिङ, र्याफ्टिङ, प्याराग्लाइडिङ, बञ्जी जम्प, स्काइडाइभिङ लगायत साहसिक पर्यटन पूर्वाधार, सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई सुदृढ गर्दै प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । त्यसैगरी, कर्णाली, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशलाई थप प्राथमिकतामा राखी नयाँ गन्तव्यहरूको प्रवर्द्धन गरिने भएको छ । हिमाली, मध्यपहाडी गन्तव्यहरूको प्रवर्द्धन गरिने, हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा दश नयाँ पदमार्ग पहिचान र प्रवर्द्धन गरिने योजना सरकारले अघि सारको छ । नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सार्वजनिक-निजी साझेदारीलाई प्राथमिकता दिइने भएको छ । सरकारले पर्यटन बोर्डको संरचना तथा सञ्चालनमा निजी क्षेत्रलाई थप सहभागी गराएर पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजार विस्तार तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलमा पुनर्संरचना गरी नवप्रवर्तनशील बनाइने सरकारको योजना रहेको छ ।
चालु खाता ६.१८ खर्ब र शोधनान्तर ७.३१ खर्ब बचतमा, वैदेशिक लगानी वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २२ अर्ब ६७ करोड रूपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा समेत चालु खाता बचत बढेको छ । गत वर्ष १ अर्ब ६४ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ३२ करोड डलरले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । त्यसैगरी प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १४ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति पनि वृद्धि भई अघिल्लो वर्षको २ अर्ब ५५ करोडको तुलनामा समीक्षा अवधिमा ५ अर्ब १० करोडले बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
मूल्यवृद्धि ४.४७ प्रतिशत, खाद्य र सेवा क्षेत्रको बढ्यो
काठमाडौं । २०८२ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः २.४५ प्रतिशत र ३.९० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको औसत मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १२.८७ प्रतिशत, फलफूलको ११.६७ प्रतिशत र तरकारीको ९.१८ प्रतिशतले बढेको छ । तर दाल तथा गेडागुडी २.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ १.६८ प्रतिशत र मरमसला १.६४ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १९.९४ प्रतिशत, यातायात १२.०३ प्रतिशत, शिक्षा ७.४६ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पल ४.७३ प्रतिशतले बढेको छ । क्षेत्रगत रूपमा चैत महिनामा ग्रामीण क्षेत्रको मुद्रास्फीति ३.७१ प्रतिशत र सहरी क्षेत्रको ४.७४ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५.१५ प्रतिशत मुद्रास्फीति देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा ३.३९ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकामा ४.६९ प्रतिशत, तराईमा ४.८३ प्रतिशत, पहाडमा ४.१८ प्रतिशत र हिमालमा ३.२० प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिमा १९ जना मनोनित
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय कार्यसमितिमा १९ जना सदस्य मनोनयन गरेका छन् । पार्टीको विधान, २०१७ संशोधनसहितको धारा २१ को उपधारा १० बमोजिम महाधिवेशन प्रतिनिधिहरूमध्येबाट उनीहरूलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । मनोनयन हुनेमा धनुषाका महेन्द्र यादव, कास्कीका जीवन परियार, चितवनका उमेश श्रेष्ठ, पर्साका रमेश रिजाल, मोरङकी सुजाता कोइराला, दार्चुलाका दिलेन्द्रप्रसाद बडू, गुल्मीका डा चन्द्रकान्त भण्डारी, पर्साका अजयकुमार चौरसिया, उदयपुरका लक्ष्मी परियार, सोलुखुम्बुका आङ्गेलु शेर्पा, सप्तरीका दिनेशकुमार यादव, सुनसरीका राजीव कोइराला र राजीव ढुंगाना रहेका छन् । यस्तै, प्यूठानका प्राडा गोविन्दराज पोखरेल, कैलालीकी सुशिला मिश्र भट्ट, महोत्तरीका नागिना यादव, चितवनका दिनेश कोइराला, कैलालीका डा. जीवन राना तथा धादिङकी सीता थपलिया उर्मिला पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
शिक्षामा एआई, निजी क्षेत्रलाई जोड
काठमाडौं । सरकारले शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गरिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को ‘नीति तथा कार्यक्रम’मार्फत सरकारले यस्तो घोषणा गरेको हो । सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने घोषणा गरे । पुस्तक, दिवा खाजा र पोसाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रमको समयसापेक्ष पुनरावलोकन गरिने जनाएको छ । यस्तै, सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर–केन्द्रित बनाउन स्वस्थ नियमन गरिने, ई–लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री, कृत्रिम बौद्धिकता (एआई)मा आधारित सिकाइ प्रणाली विस्तार गरिने, उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउँदै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनर्संरचना गरिने कार्यक्रममा उल्लेख छ । दश हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआईमा आधारित सिकाइ प्रणाली विस्तार गरिने, विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय र प्रयोगशाला सुधार एकीकृत योजनामार्फत कार्यान्वयन गरिने, विपन्न, सीमान्तकृत, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका तथा पिछडिएका क्षेत्रका सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गरिने उल्लेख छ । स्वास्थ्य, पोषण, छात्रवृत्ति, आवासीय सुविधा र सुरक्षित सिकाइ वातावरणलाई सुदृढ गरिने, अटिजम तथा न्यूरोडाइभर्सिटी बालबालिकाका लागि थेरापी सेवा, असिस्टिभ टेक्नोलोजी, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिने, सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणालीमार्फत सिधै बैंक खातामा भुक्तानी हुने व्यवस्था मिलाइने व्यवस्था पनि सरकारले गरेको छ । योग्यतामा आधारित र पारदर्शी बनाइने सरकारले शिक्षक नियुक्ति, पदोन्नति र मूल्याङ्कन प्रणालीलाई योग्यतामा आधारित र पारदर्शी बनाउने भनेको छ । शिक्षकको पेसागत विकास, अभिलेख व्यवस्थापन र उचित पारिश्रमिक सुनिश्चित गरिने, उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । विद्यालय शिक्षालाई सिकाइमुखी बनाउन पाठ्यक्रम, मूल्याङ्कन र प्रमाणीकरण प्रणालीको पुनरावलोकन एवं सुधार गरिने जनाइएको छ । प्रतिभा पहिचान कार्यक्रम सञ्चालन खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने बताइएको छ । खेल क्षेत्रको व्यावसायिकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने, राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरी डिजिटल साक्षरता, समुदाय सेवा, नवप्रवर्तन र स्थानीय विकासमा युवा परिचालन गरिने उल्लेख छ ।
३५ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, २१.८ महिनाको आयात धान्ने
काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति करिब ३५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । सो अवधिको तुलनामा विदेशी मुद्रा सञ्चिति ३०.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा समेत सञ्चिति वृद्धि भएको छ । गत असारमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति चैत मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको हिस्सा २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा चैत मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोडबाट ५६.८ प्रतिशतले वृद्धि भई ४ खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले बैंकिङ क्षेत्रको २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ । त्यस्तै २०८२ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५७.२ प्रतिशत, कुल आयातसँग १५३.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग ४१.२ प्रतिशत पुगेको छ । गत असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
ग्राहकसँग प्रत्यक्ष संवादमा फोटोन नेपाल, सेवा सुधारमा जोड
काठमाडौं । एमएडब्लू वृद्धि अन्तर्गतको फोटोन मोटर नेपालले ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन्समा ‘कस्टमर मिट एण्ड ग्रिट’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । वैशाख २५ गते आयोजित उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका विद्यमान ग्राहक, सम्भावित खरिदकर्ता, फ्लीट सञ्चालक, व्यवसायिक अपरेटर तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य ग्राहकहरूको अनुभव, अपेक्षा र सुझावलाई प्रत्यक्ष रूपमा बुझ्नु रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी ग्राहकहरूले आफ्नो स्वामित्व अनुभव, सेवा आवश्यकताहरू तथा सुधारका लागि सुझावहरू खुलेर साझा गरेका थिए । साथै सम्भावित खरिदकर्ताहरूले फोटोनका विभिन्न कमर्सियल सवारीसाधनबारे जानकारी लिनुका साथै कम्पनी प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए । कम्पनीका अनुसार यस्तो प्रत्यक्ष अन्तरक्रियाले बिक्रीपछि पनि ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने विश्वास लिइएको छ । कार्यक्रममा आफ्टर–सेल्स सेवा प्रमुख छलफलको विषय बनेको थियो । ग्राहकहरूले सेवा पहुँच, स्पेयर पार्ट्स उपलब्धता, मर्मत गुणस्तर तथा प्रतिक्रिया समयबारे आफ्ना धारणा राखेका थिए । कम्पनीले यी सुझावहरूलाई सेवा मापदण्ड सुधार र ग्राहक अनुभव थप प्रभावकारी बनाउन प्रयोग गर्ने जनाएको छ । कमर्सियल ईभीको प्रयोग बढ्दो क्रममा रहेको सन्दर्भमा फोटोन नेपालले आफ्नो ईभी इकोसिस्टम र आफ्टर–सेल्स सपोर्ट नेटवर्कबारे ग्राहकहरूलाई आश्वस्त पार्दै सेवा विस्तारप्रति प्रतिबद्धता दोहोर्याएको छ । फोटोन नेपालको देशव्यापी नेटवर्कमार्फत ग्राहकहरूलाई विश्वसनीय सेवा, जेनुइन स्पेयर पार्ट्स तथा दक्ष प्राविधिक सहयोग प्रदान हुँदै आएको कम्पनीले जनाएको छ, जसले शहरी तथा क्षेत्रीय दुवै क्षेत्रमा प्रभावकारी सेवा सुनिश्चित गरिरहेको छ ।
९ महिनामा भित्रियो साढे १६ खर्ब रुपैयाँ रेमिट्यान्स, चैतमा मात्रै २ खर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा साढे १६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स १०.२ प्रतिशतले वृद्धि भएको थियो । चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको चैत महिनामा १ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि ७.५ प्रतिशत रहेको थियो । त्यसैगरी खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १८६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २५९ रहेको छ । गत वर्षको सोही अवधिमा यो सङ्ख्या क्रमशः ३ लाख ५८ हजार २२२ र २ लाख ४९ हजार ६५२ रहेको थियो ।