कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिए
काठमाडौं । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार पुगेपछि ब्यारेजका ५६ ढोकामध्ये ५० खोलिएको जानकारी दिए । उनका अनुसार आज बिहान ८:१५ बजे सो नदीको जलवहाव मापन गरिएको थियो । आज बिहान ७ बजे सो नदीको जलवहाव मापन गर्दा २ लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएकोे थियो । शनिबार बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा १ लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए । कोशी ब्यारेजमा पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।
बिहानैदेखि त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु
काठमाडौं । अविरल वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । प्रतिकूल मौसमका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फका सबै उडान रद्द गरिएको थियो । तर, आइतबार भने मौसम अनुकूल भएपछि आन्तरिक उडान सुरु भएको गरिएको हो । विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।
अत्यावश्यक हलुका सवारीलाई गन्तव्यतर्फ जान अनुमति, होल्डिङमा रहेकालाई यथास्थानमा रहन आग्रह
काठमाडौं । अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ । शनिबार साँझ ६ बजेदेखि नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको सडकमा सवारी साधन आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ-मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको सडकमा ठाउँठाउँमा पहिरोसँगै ढुङ्गा झरेको छ । ती ढुङ्गा र साना पहिरोहरु पन्छाएर अत्यावश्यक हलुका सवारी साधन गन्तव्यतर्फ पठाइएको हो । शुक्रबार साँझदेखि परेको वर्षाले सडकमा पहिरोको जोखिम रहेकाले लामो दूरीका सवारीसाधन रोकिएका छन् । उनका अनुसार काठमाडौं जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपत्कालीन अवस्थामा सवारी रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिनटार र मुग्लिन, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस ट्रमिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारी साधन रोकिएको छ । धादिङ, तनहुँलगायतका जिल्लाहरूमा समेत पहिरो एवं ढुङ्गा खसेर सडक अवरोध भएको उनले जानकारी दिए । सडकको अवरोध नहट्दासम्म र मौसमको प्रतिकुलताअनुसार जिल्लाका विभिन्न विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’ मा रहेका सवारी साधनलाई यथास्थानमा रहन समेत प्रहरीले आग्रह गरेको छ । अवस्था हेरेर ती साधन पार गराइने उनको भनाइ छ ।
सप्तकोशी नदीमा जलवहाव उच्च, कोशी ब्यारेजका ३९ ढोका खोलिए
काठमाडौं । अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलवहाव बढ्दै गएपछि कोशी ब्यारेजका ३९ गेट (ढोका) खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड २ लाख ७१ हजार ३१० क्यूसेक पुगेपछि ३९ ढोका खोलिएको जानकारी दिए । उनका अनुसार आज बिहान ७ बजे सो नदीको जलवहाव मापन गरिएको थियो ।शनिबार बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा १ लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो । गत भदौ १७ गते नदीमा पानीको वहाव उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो । यसपछि लगातार पानीको वहाव घटेको थियो । शुक्रबार र शनिबार लगातार बर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको वहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए । कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।
वीरगञ्ज महानगरका अधिकांश क्षेत्र डुबानमा, छैन पानीको उचित निकास
काठमाडौं । अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ । शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिए । ‘लगातार ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको छ । तर, डुबानकै कारणले अहिलेसम्म यहाँ धनजनको क्षति हुन भने पाएको छैन,’ उनले भने, ‘महानगरको ३२ वटै वडामा कतिपय ठाउँमा पानीको उचित निकास नहुँदा केही डुबान पनि देखिएको छ ।’ प्रमुख सिंहले सिर्सिया नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका वस्तीमा भने उच्च सतर्कता अपनाइएको जानकारी दिए । ‘सिर्सिया नदीआसपासमा रहेका वस्तीलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सार्ने काम भइरहेको छ । महानगरमा अहिलेसम्म कुनै पनि खालको मानवीय क्षति हुन भने पाएको छैन,’ उनले भने । प्रमुख सिंहका अनुसार वडा नम्बर ११ र १७ का डुबान क्षेत्रमा जनतालाई अन्यतर्फ सार्ने काम भइरहेको छ । वर्षाको पानीले हुनसक्ने डुबानलाई लक्षित गरेर टोल-टोलमा रहेका विद्यालय र धर्मशालालाई खुलाएर प्रभावितलाई राख्नको लागि निर्देशन दिएर अहिले ती ठाउँहरु खुला रुपमा राखिएको उनको भनाइ छ । सबैसँग समन्वय गरेर उद्धारमा लागिरहेको उनले बताए । प्रमुख सिंहले केही समय अघि तयार पारेको भेडाहा खोलाको बाँधले काम गरेकाले पनि अहिलेसम्म ठूलो प्रकृतिको क्षति हुन नपाएको दाबी गरे । ‘विगतमा भेडाहा खोलाको कारणले वडा नम्बर ३१ र अन्य वडामा ठूलो क्षति भएको थियो । अहिलेसम्म भेडाहाखोलाको बाँधले थेगिरहेको छ । अब कति समयसम्म थेग्छ भन्ने हो,’ उनले भने । स्थानीय प्रशासनले थाल्यो सतर्कता पर्सामा अत्यधिक वषा वर्षा भएपछि स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यहाँ अत्यधिक वर्षा हुन थालेपछि आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित पर्सा जिल्लामा पानी परेसँगै आवश्यक सतर्कता र सावधानी अपनाउन थालेको जानकारी दिए । ‘वर्षापछि हुनसक्ने डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै तीन वटै सुरक्षा निकायले उद्धारका लागि तयारी अवस्थामा जुटेका छन्,’ उनले भने, ‘अहिलेसम्म वर्षाको कारणले कुनै पनि मानवीय क्षति भएको छैन ।’ प्रजिअ सुवेदीले वर्षा भइरहेकाले पनि कुनै पनि डुबान र अन्य प्रकृतिको समस्या भएको खण्डमा तुरुन्तै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई खबर गर्नका लागि अनुरोध गरे । ‘अहिले वीरगञ्जसहित पर्सामा वर्षा भइरहेको छ । जुनसुकै समयमा पनि जोखिम हुनसक्ने भएकाले पनि सर्वसाधारणले पनि आवश्यक सावधानी र अत्यावश्यक परेको खण्डमा मात्रै निस्कन अनुरोध गर्दछु,’ उनले भने । भेडाहा खोलाको कारणले विगतमा वडा नम्बर ३१ र ३० मा क्षति पुर्याउने गर्थ्यो । वीरगञ्ज महानगर ३१ नम्बरका वडाध्यक्ष जीतेन्द्रप्रसाद यादवले डुबानको कारणले वडामा त्यति धेरै क्षति हुन नपाएको बताए । ‘भेडाहा खोलामा आएको बाढीले बालुवाको बोरा राखेर लगाइएको बाँधलाई केही क्षति पुर्याएको छ । लगातार पानी परेपछि बस्तीलाई अलर्ट गराउनेदेखि सतर्कता अपनाउनको लागि आह्वान गर्दै आइरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म ३१ नम्बर वडामा मानवीय क्षति र जग्गा कटान हुन पाइरहेको छैन ।’ वेल्वागाउँको उत्तरतर्फ रहेको छठघाट र वेल्वाको पश्चिम पुलतर्फ बाधिँएको बाँध पनि आधाजसो क्षतिग्रस्त भएको छ । वीरगञ्ज महानगर वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुलीले तिलावेपुलको पानी वडा नम्बर १७ तर्फ आउन लागेको बताए । ‘हाम्रो वडामा रहेको अलौँको कोनिया टोल डुबानमा पर्नसक्ने उच्च जोखिममा रहेको छ । सो बस्तीमा करिब १०० घरधुरी रहेका छन्,’ उनले भने, ‘जेसिबी स्क्काभेटर लगाएर पानी कटाउने काम भइरहेको छ । यद्यपि डुबान भइहालेमा कोनिया बस्तीका सर्वसाधारणलाई धर्मशालामा राख्नको लागि आवश्यक प्रबन्ध मिलाइसकेका छौँ ।’ वडाध्यक्ष छत्कुलीले एकीकृत जाँचचौकीको पछाडि भागमा रहेका दुई/चार वटा फुसका घर भने प्रभावित भएका छन् । अहिले डुबानको समस्या देखिएको ठाउँमा खटिएर जनतासँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ । तिलावे पुलको पानी अलौँतर्फ आएको खण्डमा भने थप जोखिम हुने सम्भावना पनि कायमै रहेको छ । त्यस्तै वीरगञ्ज महानगर वडा नम्बर ११ का वडाध्यक्ष अजयकुमार बरैले लगातार वर्षाको कारणले श्रीपुरको नयाँबस्तीमा धेरै समस्या पारेको बताए । ‘अहिले बिहानीपख पानी रोकिएर केही राहत भएको छ । डुबानको कारणले कृषि सामग्री लिमिटेडको पछाडि भागमा बसोबास गर्ने दलित बस्तीका १५० भन्दा धेरै जनालाई श्रीपुरको धर्मशालामा लगेर राखेका छौँ,’ उनले भने । त्यस्तै वीरगञ्ज महानगर वडा नम्बर २४ का वडाध्यक्ष विजयप्रसाद कुर्मीले वडा नम्बर २४ मा अहिले बिहानीपख ४ बजेदेखि नयाँबस्तीमा डुबानको समस्या देखिएको बताए । ‘सबैठादेखि ठाकुरराम क्याम्पससम्मका भुभाग वडामा पर्ने गर्छ । जुन एरिया सिर्सिया नदीको किनारा भएकाले पनि डुबानको उच्च जोखिममा रहेको छ । सिर्सिया नदीको कारणले नदी आसपासको बस्तीमा करिब बह्मटोल, मनमोहन नगर, ज्योत्ति कोलनी, बज्रङटोललगायतमा डुबानको समस्या देखिएको छ,’ उनले भने, ‘वडामा डुबानबाट भएका प्रभावितलाई उद्धार गरेर कुर्मी सेवा सदन र रामजानकी धर्मशालामा राखेका छौँ ।’ वीरगञ्ज महानगर २६ का वडाध्यक्ष शम्भु मिश्रले वर्षाको पानीले उचित निकास नहुँदा पानी जम्ने समस्या रहेको बताए । वीरगञ्ज महानगर वडा नम्बर ११ मा बसोबास गर्ने ठाउँमा भने पानीको डुबानको समस्या पारिरहेको छ । यो विपद्को घडीमा संयम भएर एकापसमा सहयोग गर्नका लागि अनुरोध गर्दछु,’ उनले भने ।
प्रमुख ८ नदीले पार गरे खतराको तह, १२ नदी सतर्कताको तहमाथि
काठमाडौं । अविरल वर्षातका कारण देशका विभिन्न ८ नदीले खतराको तह पार गरेका छन् । जल तथा मौसम विज्ञान विभागका आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढी खोला-सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरूमा बाढीले खतराको तह पार गरेका हुन् । विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरूमा जल सतह सतर्कता तहभन्दा माथि रहेको छ । उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेस प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ । यसैगरी कोशी मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरुमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छभने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ । जुन क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ । ती नदीमा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ ।
पहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखिकै पहिरोले हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी-दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् । स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको मङ्गला गाउँपालिका-२ बाबियाचौरका चक्रलाल पाण्डे (राजुं)ले बताए । ‘साँघुरो सडकमा गुडिरहेका सवारी साधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ । जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम छ,’ उनले भने । म्याग्दी नदीमा निर्माणाधीन ३ वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेशन तथा प्रसारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनामा पनि पहिरोका कारण असर परेको छ । सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो छ । तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । जोखिमयुक्त सडकको विकल्पमा मङ्गला गाउँपालिका-३ पखेर र वडा नम्बर २ सिमलचौर जोड्ने गरी बेलिब्रिज निर्माण गर्ने योजना अघि सारिएको म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । ‘फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, 'संघीय सरकारसँग भएको जगेडा बेलिब्रिज ल्याएर जडान गर्न पहल गरिरहेका छौँ ।’ तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहेका जुग्जालीको प्रस्तावमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई वर्षअघि गरेको सङ्घीय सरकारसँग बेलिब्रिज माग्ने निर्णय राजनीतिक अस्थिरताका कारण दुई वर्षसम्म पनि कार्यान्वयन भएको छैन ।
विज्ञ भन्छन्- विपद्मा मनोबल उच्च बनाउनुहोस्
काठमाडौं । तेता के के हुँदै छ, यता बाढी पसेर फेरि हामी दुखिकै खायो मुटु कलेजा हामी भयौं बेघरबार, हामी भयौं बेघरबार चरी लैजा समाचार, हामी भयौं बेघरबार गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत सुन्दा यस्तो लाग्छ, नेपालको प्रत्येक वर्षको मनसुनी विपद्को कथा यही हो । निरन्तरको भारी वर्षासँगै देशका विभिन्न स्थानमा कतै पानीको बहाव बढेर बाढी बस्ती छिर्छ र बस्ती डुबाउँछ । कतै पहिरोले बस्ती बगाउँछ । अनि यो गीतका शब्द, स्वर र पीडा-फेरि पनि नेपालीहरूको मनमा गुञ्जिन्छ । अहिले जसरी मुलुकका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ, कति नदीमा पानीको बहाव बढेर बाढीको जोखिम देखिएको छ । गीतको भावले भनेझैँ कोही पनि घरबारविहीन नहोउन्, कोही कसैले ज्यान नगुमाओस्, अनि कोही कसैले प्रियजन गुमाउन नपरोस्, भन्ने कामना नेपालीहरूले गरिरहेका छन् । शुक्रबार साँझदेखि नै मुलुकका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । नदीको बहाव बढ्न थालेको छ, पहिरोको खतरा पनि उस्तै छ । मनसुनी विपद्को चपेटामा पर्ने पो हो कि भन्ने डर जनमानसमा देखिन्छ । सरकारले केही दिनयतादेखि नै मुलुकका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । कतिपय स्थानमा राहत टोली परिचालनमा छन् । बाढी-पहिरोजस्ता मनसुनजन्य विपद्बाट हुने सम्भावित क्षति कम गर्न मुख्य राजमार्गमा आवागमन बन्द गरिएको छ । कतिपय स्थानमा विद्यालय अस्थायी बास बनेका छन् । तर सर्वसाधारणको मनभित्रको भय पनि उस्तै देखिन्छ । गत वर्षको असोजमा आएको बाढीले ललितपुर महानगरपालिका-२५ की सविता माझीको घरमै पसेर भागाभाग गराएको थियो । अहिले पनि निरन्तर भइरहेको वर्षाले उहाँलाई अझै झस्काएको छ । कतै बाढीले फेरि उठिबास लगाउने हो कि भन्ने भयले माझीलाई बिचलित बनाएको छ । ‘साना बालबच्चा छन्, गत वर्ष त स्कुलमा गएर बस्यौं, कति दिन भोकै भयौं, अहिले पनि डर छ नि, फेरि बाढी आउँछ कि भन्ने । आयो भने कता भाग्ने भन्ने पनि थाहा छैन, । पानी नरोकिएसम्म तनाब लागिरहेको छ,’ उनले भन्छिन् । भक्तपुरकी मनमाया खड्कालाई पनि हनुमन्ते खोलामा जलसतह बढिरहेको समाचारले त्रसित बनाएको छ । पहिले पनि घरभित्रै बाढी पसेको र यसपटक पनि बाढी पस्ने हो कि भन्ने चिन्ताले सताएको छ उनलाई । उनीहरू त केही उदाहरणका पात्र मात्रै हुनुहुन्छ । यी र यस्तै, अनि यसभन्दा पनि अझ भयानक विपद् भोग्नेहरूलाई अहिलेको निरन्तर वर्षाले तर्साइरहेको छ । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोजराज ओझाले प्राकृतिक विपद्को समयमा हुने धनजनको क्षतिको कारण मानिसको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने र यसले मनोवैज्ञानिक रूपमा त्रास उत्पन्न गराउन सक्ने बताउँछन् । ‘यस्तो अवस्थामा विपद्लाई स्वीकार गर्नुपर्छ र सावधानी अपनाएर सुरक्षित रहनुपर्छ । धनजनको क्षति हुँदा मानिस आत्तिनु स्वाभाविक हो, तर यसलाई स्वीकार गरेर मनोवैज्ञानिक रूपमा आफूलाई बलियो बनाउनुपर्छ । समाज, आफन्त, परिवार र राज्यको साथले त्यस्ता व्यक्ति मानसिक रूपमा बलियो बन्न सक्छन्,’ उनले भने । डा. ओझाका अनुसार, विपद्पछि देखा पर्ने सामान्य लक्षणमा तनाव, डर, निन्द्राको समस्या, रक्सी वा अन्य नशाको सेवनजस्ता समस्या देखिन सक्छन् । डर र त्रास उत्पन्न भइसकेपछि सकेसम्म आफूले नियन्त्रण गर्ने, सहयोग लिन र स्वस्थ जीवनशैली अपनाउनु नै उत्तम हुने उनको भनाइ छ । डा ओझाका अनुसार, मनो-सामाजिक स्वास्थ्य कायम राख्न नकारात्मक समाचार कम हेर्नु, सकारात्मक जानकारीमा ध्यान दिनु, योग र हल्का व्यायाम गर्नु, आवश्यक परे परिवार वा मित्रसँग कुरा गरेर सहयोग लिनु, र अत्यधिक तनाव वा उताउलोपन भए मनोचिकित्सकको परामर्श लिनु उचित हुन्छ । ‘विपद्पछिको मनो-सामाजिक परामर्श सार्वजनिक र व्यापक रूपमा पहुँचयोग्य हुनुपर्छ । मनोवैज्ञानिक त्रास भन्नाले यस्तो अवस्था जनाउँछ, जहाँ मानिसले अकल्पनीय पीडा वा क्षति भोगेपछि आफ्नो मानसिक सन्तुलन र भावनात्मक स्थिरता गुमाउँछ,’ उनले भने । विपद्पछि मानसिक स्वास्थ्यमा प्रभाव बढ्न सक्छः विशेषज्ञ ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्कीका अनुसार, हरेक प्रकारका विपद्को समयमा मानिसमा मनोवैज्ञानिक असर पर्न सक्छ । उनले योजनाअनुसार अघि बढिरहेको जीवनमा अचानक आएको विपद्ले मनमा नकारात्मक प्रभाव पार्छ र त्यसको गम्भीरता व्यक्ति अनुसार फरक पर्न सक्ने बताए । डा कार्की भन्छन्, ‘विगतका अनुभव, सामना गर्ने क्षमता र सहयोगी संयन्त्रको अभावले विपद्को समयमा मानसिक प्रभाव पनि फरक पर्छ । कुनै व्यक्तिमा हल्का तनाव देखिन सक्छ भने कसैमा गम्भीर मानसिक समस्या पनि उत्पन्न हुन सक्छ ।’ उनका अनुसार, विपद्पछि देखा पर्न सक्ने आम मनोवैज्ञानिक समस्यामध्ये चिन्ता (एन्जाइटी) र डिप्रेशन प्रमुख हुन् । विपद्का कारण लामो समय तनाव लिँदा निन्द्रामा समस्या आउने, लागुऔषधको प्रयोग बढ्ने, घरेलु हिंसा वृद्धि हुने र पारिवारिक सन्तुलन बिग्रने जस्ता समस्या देखिन सक्छन् । ‘अत्यधिक निराशाको अवस्थामा आत्महत्यासम्मको खतरा रहन्छ,’ डा कार्कीले भने । उनका अनुसार, यस्ता अवस्थाबाट बच्न मानसिक स्वास्थ्यसम्बन्धी सहयोग र परामर्श अत्यावश्यक हुन्छ । ‘कसैले पनि आफ्नो समस्या लुकाउन हुँदैन, खुल्न सक्नुपर्छ, कठिन समयमा साथ दिनु, सकारात्मक सामाजिक माहोल बनाउनु र सहानुभूतिपूर्ण व्यवहार गर्नु महत्त्वपूर्ण हुन्छ,’ उनले सुझाए । डा कार्कीले मानसिक स्वास्थ्य सहयोगका लागि निःशुल्क हटलाइन सेवा ‘११६६’ मा सम्पर्क गर्न सकिने जानकारी दिनुभयो । साथै, मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई सामाजिक संघ-संस्थासँग समन्वय गरी आवश्यक सहयोग पु¥याउने पहल भइरहेको पनि उनको भनाइ छ । ‘विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अल्पसंख्यक समुदायका व्यक्ति तथा पहिले नै मानसिक समस्या भोगिरहेका व्यक्तिहरू विपद्पछि मनो-सामाजिक समस्यामा बढी संवेदनशील हुने गर्छन्,’ उनले भने । उनले सरकार, समुदाय र परिवार सबैले मिलेर विपद्पछि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । विपद्को समयमा मनोबल उच्च बनाउन आवश्यक अहिलेको जस्तो प्राकृतिक विपद्को समयमा मानिसको मानसिक स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्नका लागि सकेसम्म मनोबल उच्च राख्न आवश्यक रहेको बताउनुहुन्छ मनोविद् डा करुणा कुँवर । अग्रिम सचेतना र आवश्यक तयारी गर्न सके मानसिक रूपमा हुन सक्ने समस्या कम हुने उनको भनाइ छ । डा. कुँवरका अनुसार, विपद् अघि नै मानिसलाई सुरक्षित रहन सचेत गराउने र मानसिक रूपमा तयार पार्न पनि उत्तिकै आवश्यक हुन्छ । ‘सरकारले विपद् पूर्वतयारी र विपद् व्यवस्थापनमा राम्रो तयारी गरेको भए पनि घरबार गुम्ने डर, परिवार वा आफन्त गुमाउने भयलगायतका कारण मानिसमा तनाव बढ्न सक्छ,’ उनले भनिन्, ‘तसर्थ मनोबल उच्च राख्दै जो जहाँ छन् त्यहीँ सुरक्षित रहनुपर्छ । यस्तो अवस्थामा विशेषगरी बालबालिका र वृद्धवृद्धालाई सुरक्षित स्थानमा राख्नुपर्छ ।’ कुँवरले विपद्का क्रममा मनोवैज्ञानिक त्रास बढ्ने र मानसिक समस्याका कारण परामर्श लिन आउने घटना देखिएको स्मरण गरिन् । ‘विगतका घटनाले पनि मानिसलाई अझै तर्साउँछ । यसले थप मानसिक असर पर्न सक्छ । कुनै पनि विपद्पछि मानसिक रूपमा बलियो हुन कतिपयका लागि सहज हुन सक्छ भने कसैलाई लामो समय लाग्न सक्छ,’ उनले भनिन् । डा कुँवरका अनुसार, समयमै परामर्श लिनु, संयमित रहनु र मानसिक तयारी अपनाउनु आवश्यक हुन्छ । समुदायस्तरमा पनि विपद्पछिको मानसिक स्वास्थ्य कायम राख्न सहयोग पुग्छ । उनले सबैलाई मानसिक स्वास्थ्यको ख्याल राख्न र विपद्पछि समुदाय तथा परिवारमा सहयोग र सहकार्यको वातावरण बनाउन आग्रह गरिन् । गर्भवतीमा मानसिक र शारीरिक प्रभाव बाढी-पहिरोजस्ता प्राकृतिक विपद्को समयमा गर्भवतीको शारीरिक स्वास्थ्य र मानसिक अवस्थामा समेत बढी प्रभाव पर्न सक्ने विशेषज्ञको भनाइ छ । स्त्रीरोग विशेषज्ञ तथा प्रसूति चिकित्सक डा इसा श्रेष्ठ भन्छिन्, ‘विपद्को समयमा गर्भवतीमा डर, तनाव, रक्तचाप वृद्धि र मानसिक अस्थिरता देखा पर्न सक्छ । सुरक्षित रहनु, हतारमा स्वास्थ्य केन्द्रमा नजानु र मानसिक स्थिरता कायम राख्नु आवश्यक हुन्छ ।’ डा श्रेष्ठका अनुसार, विपद्को समयमा धनजनको क्षति हुने डर, विपद्को सामना कसरी गर्ने भन्ने चिन्ता, विपद्मा भइपरी स्वास्थ्य समस्या देखिएमा के गर्ने भन्ने चिन्ताका कारण पनि गर्भवतीमा मानसिक तनाव उच्च हुनसक्छ । ‘विपद्को समयमा सकेसम्म घरबाहिर ननिस्किएर सुरक्षित स्थानमा बस्नुपर्छ । चिकित्सकले फलोअपमा बोलाएको समयमा आए पनि केही दिन ढिलो गरी अस्पताल जाँदा फरक पर्दैन । तर यदि योनीबाट रगत बग्ने, दुखाइ बढ्ने वा स्वास्थ्यमा तत्काल समस्या देखिएमा मात्र स्वास्थ्य केन्द्र पुग्नुपर्छ,’ उनले भनिन् । आधिकारिक सूचनामा भर पर्न आग्रह जल तथा मौसम विज्ञान विभागले विपद्को समयमा अनावश्यक रूपमा सामाजिक सञ्जालमा भ्रम छर्ने किसिमका सूचना सम्प्रेषण हुन सक्ने र यसले मानसिक रूपमा त्रास बढाउन सक्ने भन्दै आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ । विभागले आफ्ना आधिकारिक सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत पनि सूचना जारी गर्दै विशेष सजक रहन अनुरोध गरेको हो । विभागले बाढी र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा फोन गरेर आधिकारिक सूचना लिन सकिने जानकारी दिएको छ । होचा स्थान र नदी किनारमा बस्नेले उच्च सतर्कता अपनाउन अनुरोध विभागले होचा स्थान र नदी किनारमा बस्नेले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आज बिहान ८ बजेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै विभागले यी स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई बाढीबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । ‘असोज २० गतेसम्म नै बाढीको जोखिम रहेकाले होचा स्थान तथा नदी आसपासमा रहनेहरूले सुरक्षित स्थानमा बस्नुपर्ने र रातको समयमा अझै बढी चनाखो रहन आवश्यक छ,’ विभागका बाढीविद् विनोद पराजुलीले भने । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भू-भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाड तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस र बागमती प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ । रासस