विकासन्युज

पुसमा महाधिवेशन गर्न जुट्यो एमाले, अध्यक्ष पद छाड्दै ओली

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन पुस अन्तिम साता गर्ने तयारी भएको छ । पार्टी भित्र नेतृत्व पुर्नगठनको माग उठिरहेको बेला एमालेले महाधिवेशनको तयारी सुरु गरेको हो । एमालेका एक पदाधिकारीका अनुसार आगामी महाधिवेशनको सम्पूर्ण कार्यक्रम असोज अन्तिम साता आयोजित केन्द्रीय कमिटी बैठकमा लगेर अनुमोदन गर्ने तयारीमा पार्टी शीर्ष नेतृत्व रहेको छ । नेतृत्व हस्तान्तरणको माग उठिरहे पनि महाधिवेशनसम्म केपी शर्मा ओली नै अध्यक्ष रहने छन् । पार्टी उच्च स्रोतका अनुसार एघारौं  महाधिवेशनसम्म एमालेको नेतृत्व  वर्तमान अध्यक्ष केपी शर्मा ओलिले नै गर्नेछन्  ।  महाधिवेशनमा पनि अध्यक्ष ओलीले चाहाँदा उनलाई नेतृत्वबाट बेदखल गर्न सक्ने अवस्था नरहे पनि एघारौं महाधिवेशनमा ओलीले नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेको पार्टीका एक जना पदाधिकारीले जानकारी दिए ।  ‘नेतृत्वमा को आउनुहुन्छ त्यो त भन्न सकिएन । तर आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ,’ ती पदाधिकारीले भने ।  मङ्सिरमै महाधिवेशन गरियो भने फागुनमा हुने आम निर्वाचनको तयारी  गर्न समय पुग्ने भएकोले अहिले महाधिवेशनको सबैभन्दा उपयुक्त समय मङ्सिर हुने ती पदाधिकारीले बताए । दोस्रो विधान महाधिवेशनले ओलीलाई नेतृत्वमा आउने सबै बाटा खुल्ला गरे पनि  पछिल्लो राजनीतिक परिस्थिति असहज भएकोले ओलीले नेतृत्व हस्तान्तरणको तयारी गरेको बुझ्न सकिने ती पदाधिकारीको धारणा छ । ‘बरु विधान महाधिवेशनले पारित गरेको विधानलाई एघारौं महाधिवेशनले केही संसोधन गर्न सक्छ,’ उनले भने ।  ती पदाधिकारीका अनुसार महाधिवेशनले विधान परिमार्जन गरेर ओली कमरेडको लागि सम्मानित स्थान सिर्जना गर्नेछ । यस सम्बन्धि प्रस्ताव आगामी २४ गते बस्ने सचिवालय बैठकमा लग्ने तयारी भएको ती पदाधिकारीले जानकारी दिए । एमालेका महाधिवेशनहरु पहिलो महाधिवेशन २०१० माघ १० – २० दोश्रो महाधिवेशन  २०१५ जेठ १५ – २५ तेश्रो महाधिवेशन  २०१९ बैशाख ४ – १५ चौथो महाधिवेशन  २०४६  भदौ ९ – १४ पाँचौ महाधिवेशन २०४९ माघ १४ – २० छैठौ महाधिवेशन २०५४ माघ १२ – १८ सातौ महाधिवेशन  २०५९ माघ १८ – २२ आठौं महाधिवेशन २०६५ फागुन ५ – १४ नवौं महाधिवेशन  २०७१ असार १९ –  ३१ दशौ महाधिवेशन २०७८ मङ्सिर १० – १३  

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

चितवन । हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौं पठाइएको हो ।  शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको थियो । काठमाडौंं जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्याधिक बढेको हो ।  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि उनले यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाएका हुन् । एउटा माइक्रोबसले यात्रु लिएर गएको छ, भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उनले बताए । उनले भने, 'यातायात व्यवसायीलाई नियमानुसारको भाडा यात्रुसँग लिएर सेवा दिन भनेका छौँ ।' अत्यावश्यक परेका यात्रु लैजानुपर्ने भएकाले स्थानीय प्रशासनले पत्र बनाएर बस पठाएको उनले बताए ।  बसलाई जान र फर्किनका लागि सजिलो होस् भन्नका लागि पत्रसमेत बनाइएको उनले जानकारी दिए । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा रहेको छ । पृथ्वी राजमामर्गको चितवन खण्ड पनि खुल्ला रहेको छ । धादिङमा खसेको पहिरो पन्छ्यएर सवारी साधन सञ्चालनको तयारी रहेको जनाउँदै उनले साना सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको बताए । प्रशासनले शनिबार यहाँ रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा बस्ने व्यवस्था गरेको थियो । रासस  

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं । पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।   विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन् । बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।  इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।   यसैगरी बाढीपहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौंमा एक जनाको मृत्यु भएको छ । खोटाङ, भोजपुर, रौटहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन् । पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन् ।

काठमाडौंका नदीहरुमा पानीको बहाव घट्दै, जोखिम अझै कायम

काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ । आइतबार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको छ । नदीहरुमा पानीको बहाव केही कम भएपनि बाढीको जोखिम अझै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती, विष्णुमती लगायतका नदीहरुको मुहान क्षेत्रमा वर्षा भइरहेकाले पनि बाढीको जोखिम नघटेको विभागले बताएको छ ।  काठमाडौंको वागमती नदीमा अझै बाढी आइरहेको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो । आइतबारबाट मौसम उघ्रिएको छ । आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् । नदीले बगाएर ल्याएका रुख, हाँगाबिँगाहरु पुलमा अड्किँदा पानी थुनिएको छ ।  नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीले नदीहरुबाट गेग्रान र बगाएर ल्याएका रुखहरु झिक्ने थुनिएको पानी खोल्ने काम गरिरहेको छ ।   

झापामा ४५० घर डुबानमा, सयौं विस्थापित

बनियानी । यहाँ बाढीले ४५० घर डुबानमा परेका छन् । असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 'नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी छ', उनले भने, 'करिब १०० घरका मानिसलाई स्थानान्तरण गरिसकेका छौंँ ।' मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामाथिबाट पानी बढ्दा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको उनले बताए । त्यस्त, शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा आवागमन अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रवक्ता खड्काले जानकारी दिए । झापा गाउँपालिका–२ स्थित सुगाबथानमा ठूलो माइखोला बस्ती पस्दा ५६ घरधुरीका १४० जना विस्थापित भएका छन् । उनीहरुको उद्धार गरी स्थानीय कुवाडी माविमा स्थान्तरण गरिएको छ । त्यस्तै शिवसताक्षी–४, ५, ६ र ७ मा माई खोलाको बाढी पस्दा ३५० घर डुबानमा परेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ । झापा–१, ६ र ७ मा माइखोलाको बाढी पसेको छ । बाढीपीडितको उद्धार कार्य भइरहेको प्रवक्ता खड्काले बताए । यस्तै भद्रपुर नगरपालिका–५ मा करिब २५ घर डुबानमा परेपछि उनीहरु आफन्तकामा शरण लिएर बसिरहेका छन् । मेचीनगर–१५ स्थित सतिघट्टा र ज्यामिरगढीकोबीचमा पर्ने एक बस्ती डुबानमा पर्दा यहाँका करिब २५ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपीडितहरुको उद्धार र स्थानान्तरण गर्ने काम जारी रहेको जनाइएको छ । रासस

काठमाडौंसहितका केही स्थानमा घाम लाग्यो, नदीमा बाढी आउने क्रम जारी

काठमाडौं । काठमाडौं उपत्यकासहित अन्य केही स्थानहरुमा अहिले जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैबाट उपत्यकामा घाम लागेको छ । वर्षा हुन रोकिएसँगै सडकमा सवारी साधनहरुको चाप पनि बढेको छ ।  शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंसहित देशभरको जनजीवन विकराल बनेको थियो । भीषण वर्षालाई मध्यनजर गरी सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारी साधन आवागमनमा रोक लगाएको छ । सवारी आवागमन आइतबार पनि रोक लगाइएको छ ।  उपत्यकामा पानी पर्न छोडेपनि उपत्यकाका नदीहरुमा बाढी उस्तै छ । केही नदीहरुमा बाहेक अन्य नदीहरुमा बाढीको जोखिम त्यत्तिकै छ । मौसमविद्हरुका अनुसार आइतबार पनि काठमाडौं उपत्यकासहितका पूर्वी भूभागमा पानी पर्ने सम्भावना छ ।   

बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी

खजुरा । जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।  स्थानीय प्रशासनले शनिबार साँझ ७ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डुडवा गाउँपालिका वडा नम्बर–६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर–१५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर–२३ को भज्जीपुरुवा, जङ्गलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर–५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।  गत शुक्रबार दुर्गाको मूर्ति बिसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । यसैबीच, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अहिले स्थिति सामान्य रहेको बताएका छन् । शनिबार सबै राजनीतिक दल तथा स्थानीय प्रतिनिधि, नागरिक अगुवासहितको छलफल भएको जानकारी दिँदै छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुनबमोजिम कारवाही गर्ने, धार्मिक सद्भाव कायम गर्ने तथा प्रशासनको स्वीकृति विना  जुलुस, सभा, सम्मेलन, र्याली आयोजना नगर्ने सहमति बताए । 

सुन अहिलेसम्मकै महँगो, तोलामा २ लाख ३० हजार नाघ्यो

काठमाडौं । दसैँको बिदापछि पुनः सुचारु भएको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । असोज १२ गते तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम रहेको सुनको मूल्य आइतबार एकैदिन ७ हजार ४०० रुपैयाँले बढेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । असोज १२ मा तोलामा २ हजार ८१० रुपैयाँ रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।