भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२आंं स्थापना दिवस तथा ३०औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा साेमबार उनले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गरे । मन्त्री अर्यालले यसकार्यमा म्यानपावर व्यवसायीको संलग्नता रहेको विषयमा मन्त्रालय जानकार रहेकाले सचेत रहन ध्यानाकर्षण गराए । ‘हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा संलग्न छन्, त्यसैले एकपटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु, मेरो नेतृत्वले निर्मम भएर यसमा काम कारबाही गर्न नपरोस्,’ उनले भने । भ्रमण भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्वारा नै नेपाली ठगिएको भन्दै मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेक्राई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जिम्मेवार भएर प्रस्तुत हुन आह्वान गरे । उनले वैदेशिक रोजगारीको क्षेत्रमा वार्षिक रूपमा २ खर्ब १ अर्ब ६० करोड गैरबैंकिङ च्यानलबाट संकलन भइरहेको तथ्यांक प्राप्त भइरहेकाले सो रकम औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रूपमा गहिरो अध्ययन गरिरहेको बताए । संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारी शुल्क वैज्ञानिक बनाइनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्नेलगायत माग राखे ।
मुक्तिनाथ क्यापिटल र यात्रीबीच सम्झौता
काठमाडौं । मुक्तिनाथ क्यापिटल र यात्री सुइटस एण्ड स्पाबीच सम्झौता भएको छ । यात्री सुइट्स एण्ड स्पाले वित्तिय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटललाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेको छ । ठमेल अवस्थित यस होटलको पूँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यवसायिक योजना, होटलको बजारीकरण लगायत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने कार्यको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले परमर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ ।
काञ्जीरोवा नेसनल माध्यामिक विद्यालय २७औं वर्षमा प्रवेश
काठमाडौं । काञ्जीरोवा नेसनल माध्यामिक विद्यालय २७औं वर्षमा प्रवेश गरेको छ । विंस. २०५५ सालमा स्थापना भएको काठमाडौं डोन बोस्को उच्च माध्यामिक विद्यालयको नाम परिवर्तन गरी काञ्जीरोवा नेसनल माध्यामिक विद्यालयमा रूपान्तरण गरिएको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । बालबालिका केन्द्रित शैक्षिक अभ्यासद्वारा युगसापेक्ष, अनुसन्धानमूलक र व्यावहारिक बन्न उनीहरूलाई प्रेरित गर्नु विद्यालयको उद्देश्य रहेको विद्यालयले बताएको छ । साथै, विद्यार्थीलाई मानवीय मूल्य, मान्यता, खुलापन एवम् विविधताको बोधसहित सचेत र असल बन्न अग्रसर गराउनु रहेको पनि विद्यालयको भनाइ छ । २७औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विद्यालयले सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा शुभ चिन्तकप्रति आभार व्यक्त्त गरेको छ । त्यस्तै, विद्यालयको सञ्चालक सदस्यहरुमा अम्बिकाप्रसाद पौडेल, केदार कार्की, रत्नबहादुर खड्का, राजेन्द्रविक्रम पौडेल, महेन्द्र खनाल र रन्जित थापा रहेका छन् ।
हवाई टिकट विक्रेता ट्राभलमाथि कानुनी धरपकड अस्वीकार्य : नाट्टा
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल समक्ष वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेता ट्राभल एजेन्सीमाथि कानुनी धरपकड गरेको भन्दै ध्यानाकर्षण गराएको छ । मन्त्रालयमै बसेको छलफलमा नाट्टाका अध्यक्ष कुमारमाणि थपलियाले वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेतामाथि टिकट बिक्री गरेकै भरमा स्पष्ट अध्ययन नै नगरी कसैले भनेको भरमा व्यवसायीहरूलाई आतंकित पार्ने हिसाबले पक्राउ पुर्जी जारी गर्ने तथा व्यावसायिक वातावरण खलबलाउने क्रियाकलाप गरेको बताए । श्रममन्त्री अर्यालले जवाफमा यस्तो प्रकृतिका घटनाहरू निराकरणका लागि प्रतिबद्धता जाहेर गर्दै तत्काल वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयहरूमा परिपत्र जारी गरी यस्ता प्रकृतिका विषयहरूमा सम्बन्धित व्यवसायी, ट्राभल एजेन्सीहरूसगँ सोधपुछ, छानबि तथा अध्ययन गरेर मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताए । उनले कानुनका नाममा अकारण कोही पनि व्यवसायीमाथि अवाञ्छित कार्य गर्न नहुने बताउँदै व्यवसायीहरूले समेत आधारभुत कानुनी जानकारी लिएर मात्र आफ्ना काम गर्नुपर्ने सुझाव दिए । भेटका क्रममा नाट्टा अध्यक्षसहितको कार्यसमिति टोलीले पर्यटन सम्बद्ध श्रम विकास प्रथा प्रवर्द्धनका लागि ७ बुँदे सुझाव पनि पेस गरेको थियो ।
सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै सन्तोष नारायण पुगे अदालत, भन्छन् : सरकारले गलत गर्यो
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारकाे निर्णयविरुद्ध सन्तोष नारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले सेबाेन अध्यक्ष नियुक्तिकाे प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै उनले सर्वोच्चमा रिट दायर गरेका हुन् । अध्यक्षकाे लागि सर्टलिष्टमा परेका श्रेष्ठले नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम अहिलेकै प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै रिट दायर गरेको बताएका छन् । ‘महान्यायाधिवक्ताको कार्यालयले पनि अहिलेकै प्रक्रियालाई अगाडि बढाउन सकिने राय दिएको छ, सरकारले त्यो विकल्प हुँदा हुँदै रद्द गर्यो, जुन गलत हो, म न्यायका लागि अदालत पुगेको हुँ, अन्तिम चरणमा आएर प्रक्रिया रद्द गर्न पाइँदैन, भर्खरै रिट दायर गरेर आएको छु,’ उनले विकासन्युजसँग भने । सरकारले नयाँ प्रक्रिया सुरु गर्यो भने तपाईंको सहभागिता रहन्छ वा हुँदैन भन्ने प्रश्नमा उनले त्यस विषयमा आफूले कुनै कुरा नसोचेको जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको अध्यक्ष सिफारिस समितिले सरकारकाे सल्लाहमा अध्यक्ष चयन प्रक्रिया रद्दको निर्णय गरेको थियो । सर्टलिष्टमा परेका ५ जनामध्ये २ जनामात्र अन्तर्वार्तामा उपस्थित भएपछि अध्यक्ष सिफारित समितिले प्रक्रिया रद्द गरेको हो । त्यसअघि अन्तवार्तामा २ जना मात्रै उपस्थित भएपछि सिफारिस समितिले महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले धेरै अंक हुने एक जना थप गर्ने वा नयाँ प्रक्रियामा जान सकिने सुझाव दिएपछि प्रक्रिया नै रद्द गरिएकाे थियो । अध्यक्षका लागि श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा.नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाईंको नाम सर्टलिष्टमा थियो ।
यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : केपी ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीहरूले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताए । उनले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिए । उनले भने, ‘त्यस्तो त लाग्दैन मलाई, यो वर्ष बनिन्छ जस्तो छैन ।’ देश जनताले तपाईंलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले राम्रो कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए ।
नवीकरणीय ऊर्जासम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा
काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार १८ गते मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।
पर्यटक भित्र्याउन ३०० वर्ष पुरानो हनुमान नाच संरक्षण गर्दै बागलुङ नगरपालिका
बागलुङ । बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवर्द्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङबजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार गर्न थालिएको नगरपालिकाले जनाएको छ । बागलुङबजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रूपमा रहेको देउराली चोक, कम्पुटोल र किनरा टोललाई संरक्षण गर्ने गरी नगरपालिकाको नीति छ । बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई सो नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेटसमेत विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले बताए । ‘करिब तीन सय वर्ष पुरानो नाचका रुपमा रहेको र काठमाडौंमा लोप भइसक्न थालेको तर बागलुङमा जोगाएर राखिएको हनुमान नाचलाई पालिकाको विशेष संस्कृतिका रुपमा विश्वसामु चिनाउने उद्देश्य छ’, नगर उपप्रमुख खड्काले भने, ‘साबिकको धौलागिरि अञ्चलको प्रमुख व्यापारिक थलोका रुपमा रहेको बागलुङ बजारको देउराली चोक, कम्पु टोल र किनारा टोलका ऐतिहासिक घरलाई संरक्षण गर्ने र मुस्ताङ हिँडेका पर्यटकलाई कालिका मन्दिर दर्शन गराएर बागलुङबजार भित्र्याउने हाम्रो योजना हो ।’ तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान् नाच बागलुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा हराउने सक्ने चिन्तासमेत स्थानीयमा छ । पर्यटन प्रवर्द्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो । हनुमान नाँच संरक्षण, मगर बाजा संरक्षण र मगर बाजा प्रशिक्षण, पुराना घर संरक्षणमा नगरपालिकाले बजेट विनियोजन गरेको उनले जानकारी दिए । विश्वलाई उक्त हनुमान नाच चिनाउनका लागि विश्व सम्पदा सूचीमा राख्नका लागि आवश्यक कामको थालनी गरेको खड्काले बताए । मानिसले बाँदरको भेष बनाएर नाचिने भएकाले हनुमान नाच भनिएको हो । एकै पटक १४ जोडीले नाच्ने भएकाले उक्त नाच निकै खर्चिलो छ । पर्यटक आकर्षण गर्न उक्त नाचलाई प्रभावकारी बनाइने छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा हरेक वर्ष १० लाख भन्दा बढी भक्तजन आउने गरेका छन् । ती भक्तजनलाई बागलुङमा टिकाउने खालको योजनाअनुसार नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम, घरबास स्तरोन्नति, पर्यटकीयस्थलमा क्युआरकोड राख्ने लगायतका काम भइरहेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा ‘बागलुङ घुम्न जाऔँ’ कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले बागलुङ कालिका मन्दिर, पञ्चकोट, भैरवस्थान, शालग्राम सङ्ग्रहालयलगायत ११ स्थानमा १२ भाषामा अध्ययन गर्न सक्ने गरी ‘क्युआर कोड’ मार्फत जानकारी दिने व्यवस्था गरिसकेको श्रेष्ठको भनाइ छ । नगरपालिकाले जिल्लाको मुख्य प्रवेशद्वारलाई सौन्दर्यीकरण गर्ने, मालढुङ्गादेखि उपल्लाचौरसम्मको भिरमा लहरा फूल लगाउने र पहरामा कला संस्कृति झल्कने खालको आकृति निर्माण गर्ने योजना बनाएको छ । रासस