विकासन्युज

सत्ता समीकरण फेरबदल चर्चाबारे गृहमन्त्री भन्छन्- हल्ला मात्रै हो, मलाई थाहा छैन

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुने कुरा हल्ला मात्रै भएको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । उनले बाहिर सञ्चारमाध्यममा आएका कुरा हल्ला मात्रै भएको बताए । उनले आफूले दुई जना नेताहरूसँग कुराकानी गरेको भन्दै आफूले त्यस्तो छनक नपाएको बताए । उनले भने- ‘हल्ला मात्रै हो, त्यस्तो थाहा छैन, म पनि सरकारमै छु, सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ,  मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो, कहिलेकाहीँ विभिन्न प्रक्रियाहरूमा केही असमझदारी हुँदा भेटघाट गर्ने कुरा भइरहन्छ, सामान्य भेटघाट हो, यसलाई गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन ।’

वैदेशिक राजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न व्यवसायीको माग

काठमाडौं । व्यवसायीहरुले वैदेशिक राजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका छन् । सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२औं स्थापना दिवसका अवसरमा आयोजित ३० औं वार्षिक साधरणसभामा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संघका अध्यक्ष भण्डारीले सरकारसँग यस्तो माग राखेका हुन् । व्यवसायीहरुले निःशुल्क रुपमा कुनै पनि व्यवसाय नगर्ने भएको भन्दै सरकारले व्यवसायमा सेवा शुल्क निर्धारण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले वैदेशिक रोजगार व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको औंल्याएका थिए । वैदेशिक रोजगार व्यवसाय मर्यादित,व्यवस्थित र पारदर्शी बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले पछिल्लो समय १२ खर्ब बढी मुलुकमा रेमिट्यान्स भित्रिनुको श्रेय वैदेशिक रोजगार व्यवसायलाई दिनुपर्ने बताएका थिए । अध्यक्ष ढकालले वैदेशिक रोगजार व्यवसायी कम्पनीहरुले सेवा शुल्क लागू नभए व्यवसाय पारदर्शी हुन नसक्ने पनि बताएका थिए । यस्तै वैदेशिक रोजगार क्षेत्रका सबै कुराहरुलाई व्यवस्थित गर्नको लागि सरकारले सेवा शुल्क तोक्न आवश्यक रहेको उनको अडान थियो । सरकारले धेरै नयाँ ठाउँहरुमा रोजगारीका गन्तव्यहरु खुला गरेको भनिए पनि ती गन्तव्यहरु निजी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी संघले गरेको अध्यक्ष ढकालको दाबी थियो । ‘वैदेशिक रोगजार व्यवसायी कम्पनीहरुले सेवा शुल्क लिन पाएनन् भने पारदर्शी हुँदैन । वैदेशिक रोजगार क्षेत्रका सबै कुराहरुलाई रेगुलेट गर्नको लागि सरकारले सेवा शुल्क तोकेन भने नारामा मात्रै सीमित हुनेछ । पछिल्लो समय बजारमा वैदेशिक व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । नयाँ–नयाँ देशहरुमा श्रम गन्तव्यको सुरुवात सरकारले भन्दा पनि निजी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी संघले गरेको छ’, अध्यक्ष ढकालले भने । यस्तै वैदेशिक रोजगार सम्बन्धी व्यवसायलाई सरकार र अन्य क्षेत्रले मर्यादित बनाउने भन्दा पनि व्यवसायी आफैँ सीमाभित्र बसेर काम गरेको खण्डमा यो क्षेत्र आफैं पारदर्शी र व्यवस्थित हुने उनको ढकालको तर्क थियो । यस्तै पछिल्लो समय १२ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिनुमा वैदेशिक रोजगार व्यवसायलाई त्यसको श्रेय जाने उनको धारणा थियो । यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सरकारको स्पष्ट नीति नभएकाले नीति अनरुप पाउन नसकिएको बताए । उनले सरकारले फ्रि भिसा,फ्रि टिकटको नारा र नीति लिए पनि त्यो अनुरुप वैदेशिक रोजगारीमा पठाउन नसकिएको स्विकार गरेका छन् । साथै सरकारले फ्रि भिसा, फ्रि टिकटको नीति हचुवाको भरमा बनाएको उनको आरोप थियो । यस्ता प्रावधानलाई श्रमिकको हितमा राखेर नीति बनाउन आवश्यक रहेको भण्डारीको भनाइ थियो । उनले वैदेशिक रोजगार व्यवसायीको लागि सरकारले सेवा शुल्क निर्धारण गर्न आवश्यक रहेको पनि बताए । उनले सरकारले वैदेशिक रोजगार व्यवसायीको लागि सरकारले सेवा शुल्क निर्धारण गर्दा व्यवसाय पारदर्शी र मर्यादित हुने बताए । मागपत्र प्रमाणिकरण नगर्दा बेथिति मौलाएको जानकारी दिए ।

‘देशको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ, ऋणको पासोमा पर्दैनौँ’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा नेपालको सार्वजनिक ऋणको अवस्था सुविधाजनक अवस्थामा रहेको र नेपाल ऋणको पासोमा नपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले नेपालले लिएको ऋणको लागतसमेत कम रहेको दाबी गरे । ‘ऋणको लागत र जोखिमको दृष्टिकोणबाट अन्य मुलुकको तुलनामा हाम्रो सार्वजनिक ऋण सुविधाजनक अवस्थामा छ । हालसम्मको सार्वजनिक ऋणको परिमाण र लागतलाई दृष्टिगत गर्दा मुलुक ऋणको पासोमा पर्ने सम्भावना छैन’, उनले भने, ‘सार्वजनिक ऋण परिचालन गर्दा ऋणको दिगोपना कायम गर्नेतर्फ सरकार संवेदनशील छ । सार्वजनिक ऋणलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै जानेतर्फ सरकार सचेत छ ।’ अर्थमन्त्री पुनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण ९८ अर्ब आठ करोड थपिएर २३ खर्ब ९७ अर्ब रूपैयाँ पुगेको छ । विसं २०८० असारमसान्तमा सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रूपैयाँ थियो । हाल नेपालको कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सरकारको तिर्न बाँकी ऋण ४२ दशमलव ०२ प्रतिशत छ । तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रूपैयाँ (४९ दशमलव ४ प्रतिशत) र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रूपैयाँ (५० दशमलव ६ प्रतिशत) रहेको छ । चालु आर्थिक वर्षको बैशाखसम्ममा सरकारले आन्तरिक ऋणतर्फ एक खर्ब ९१ अर्ब र बाह्य ऋणतर्फ ७३ अर्ब ६३ करोड ३६ लाख गरी जम्मा दुई खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख रूपैयाँ सार्वजनिक ऋण परिचालन गरेको अर्थमन्त्री पुनले बताए । सो अवधिमा सरकारले आन्तरिक ऋणतर्फ एक खर्ब ३५ अर्ब ६२ करोड ३३ लाख र बाह्य ऋणतर्फ ३० अर्ब ९३ करोड ११ लाख रूपैयाँ गरी जम्मा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख रूपैयाँ साँवा भुक्तानी गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले गत बैशाख १६ र १७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनको उपलब्धिबारे अर्थमन्त्री पुनले जानकारी गराएका थिए । लगानी सहजीकरणका लागि कानुन संशोधन भएको, १९ परियोजनाको आशयपत्र माग (एक्स्प्रेसन अफ इन्ट्रेस्ट-इओआई) आह्वान गरिएको, परियोजना बैंकलाई अद्यावधिक गरिएको, अन्तर्राष्ट्रिय जगतमा नेपाललाई उत्कृष्ट लगानी गन्तव्यको रुपमा प्रस्तुत गरिएकोलगायत उपलब्धि हासिल भएको अर्थमन्त्री पुनको दाबी छ । लगानी सम्मेलनबाट निजी क्षेत्रको मनोबल वृद्धि भएको उनले बताए । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट विनियोजनमा कुशलता नदेखिएको भनी संसद्‌मा आलोचना भएको विषयमा अर्थमन्त्री पुनले सरकारको बचाउ गरे । ‘मन्त्रालयगत बजेट विनियोजनमा ठूलो अन्तर तथा असमानता देखिएको र समन्यायिक बजेट वितरण हुन नसकेका विषय उठेका छन्’, अर्थमन्त्री पुनले भने, ‘सरकारले बजेट विनियोजन गर्दा सम्बन्धित निकायको काम, कर्तव्य, कार्यक्षेत्र र अधिकारका आधारमा कुशल विनियोजन, कार्यान्वयन दक्षता र वित्तीय अनुसासन कायम हुने गरी समन्यायिक प्रणाली अनुसार नै बजेट विनियोजन गर्ने गरेको छ ।’

सानिमा जिआईसीले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

होन्डा कारको मनसुन सर्भिस क्याम्प सुरु, यस्ता छन् सुविधा

काठमाडौं । होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले मनसुन सर्भिस क्याम्प सुरु गरेको छ । सोमबारबाट सुरु भएको उक्त क्याम्प २१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । क्याम्प ललितपुरको धोविघाटस्थित होन्डा शोरुममा सञ्चालन भएको हो । ५ दिनसम्म चल्ने उक्त क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एबं स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण निशुल्क रुपमा गराउन पाउनेछन् । यसैगरी, गाडीको मर्मत सम्भार गराउँदा फेर्नुपर्ने पेयर पार्ट्समा ७ प्रतिशत छुट, लेवर चार्जमा १५ प्रतिशत र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाइनेछ । साथै, डेन्टपेन्टमा १५ प्रतिशत र एसि रिफिलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

होटल हिमालयमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई कुपण्डोल, ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको शहर हो । कृष्ण मन्दिर,पाटन दरवार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकिय क्षेत्रको अवलोकन गर्न यस शहरमा देश तथा विदेशबाट पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ । यसै गरी आन्तरिक तथा वाह्य पर्यटकका लागी लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्ष देखि ग्राहकहरुको सेवामा समर्पित छ । विदेशी तथा नेपालीहरु बीच निकै रुचाईएको यस होटलमा साउना, स्टिम, स्वीमिङ पुल, फिटनेस सेन्टरलगायतको सुविधा रहेको छ । ग्राहकहरुको सेवाको लागी सोही परिसरमा दुईवटा रेष्टुरेन्ट रहेको छ ।

वैदेशिक रोजगारबाट फर्केका थापा बाख्रापालन गर्दै, वार्षिक ४ लाख बचत

गलकोट  । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक चार लाख रुपैयाँ बचत गरिरहेका छन् । मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक बाख्रापालन गर्दै आएका हुन् । आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घरखर्च गर्दै आएको देखेकाले विदेशबाट फर्किएर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गरेको थापाले बताए । चार वर्षदेखि उक्त व्यवसायमा लागेको भन्दै उनले सबै खर्च कटाएर वार्षिक चार लाख रुपैयाँ बचत भइरहेको जानकारी दिए । चन्द्रबहादुरको जिमिरे बाख्राफार्म अहिले यस क्षेत्रको नमूना बाख्राफार्मका रुपमा चिनिन थालेको छ । व्यावसायिक बाख्रापालनमा आमाको प्रेरणा रहेको बताउँदै उनले बाख्रापालनमा बजारीकरणको समस्या नरहेको उल्लेख गरे । थापाका अनुसार अहिले फार्ममा तीन वटा परम्परागत खोरमा ७५ बाख्रा र पाठा छन् । ‘आमाले अधियाँमा बाख्रापालन गरेको देख्दा बाख्राफार्म सञ्चालन गर्ने रहर थियो । लगानी अभावमा भएकाले पाँच वर्ष मलेसियामा कमाएर आएपछि सोही रकम बाख्रापालनमा लगानी गरेको हुँ’, उनले भने । अहिले दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माणमा जुटेको जनाउँदै थापाले आमाले अधियाँमा पालन गरिरहेका बाख्रालाई आफूले व्यावसायिक बनाएको बताए । ‘लगानी नहुँदा १६ वर्ष पहिला मलेसिया पुगेँ । त्यहाँ कमाएको रकमले बाख्रापालन थालेको हुँ । आमाको दुःख देखेकाले आफू बाख्रा उद्यमी सपना देखेको थिएँ, अहिले पूरा गर्ने चरणमा छु’, उनले भने । एक वर्षभित्रै दुई सय बाख्रा पुर्याउने उद्देश्यले अहिले आधुनिक खोर निर्माण थालेको थापाले जानकारी दिए । ‘आधुनिक खोर निर्माणमा १० लाख रुपैयाँ लगानी भइसक्यो’, उनले भने, ‘बाख्रापालनबाट खर्च कटाएर वार्षिक चार लाख रुपैयाँ बचत हुन्छ । स्थानीय जातका खसी, बोका यहाँ हुने भएकाले स्थानीय व्यापारीले लागि खोजी–खोजी लैजान्छन् ।’ एक वर्षमा तीस वटा बोका बिक्री गर्दै आएको जनाउँदै थापाले सरकारी निकायबाटसमेत बाख्रापालनलाई प्रोत्साहन प्राप्त भइरहेको बताए । पहिला गाउँलेका बाख्राका पाठा लिएर अधियाँमा हुर्काउने र पाठा बाढेपछि बिक्री गरी जीविकोपार्जन गर्दै आएकामा अहिले छोराले व्यावसायिक रुपमा फार्म दर्ता गरी बाख्रापालन गरेको देख्दा निकै उत्साहित भएको आमा मनरुपाले बाताइन् । छोराले बाख्रापालनलाई बढाउँदै बचत भएको रकमबाट लगानी वृद्धि गरिरहेको उनको भनाइ छ । ‘बाख्रापालनमा मेहनत गर्न सके प्रशस्त आम्दानी हुनसक्ने रहेछ । आम्दानीका लागि विदेश जानु भन्दा स्वदेशमा परिवारसँगै बसेर मेहनत गर्न सकिन्छ भन्ने उदाहरण छोराले दिएको छ’, मनरुपाले भनिन्, ‘परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई अहिले छोराले व्यवसायिकता दिएको छ ।’ उनका अनुसार तीन वटा परम्परागत शैलीका खोरमा बाख्रापालन गर्दै आएकामा अहिले आधुनिक खोर निर्माणको अन्तिम चरणमा पुगेको छ । बाख्रापालनको खोर सुधारका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले एक लाख १९ हजार र जैमिनी नगरपालिकाले २३ हजार रुपैयाँ अनुदान दिएको चन्द्रबहादुरले जानकारी दिए । घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घट्ने र आम्दानी बढ्ने भएकाले स्थानीय जातका बाख्रा पालनलाई जोड दिइएको उनको भनाइ छ । रासस

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको दोस्रो काराेबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । साेमबार नेप्से १६.२९ अंकले बढेर २०५३.३८ बिन्दुमा कायम भएको छ । मौद्रिक नीतिको नजिकमा विकास बैंक तथा वाणिज्य बैंक दुबैको सेयर बढेको छ । वाणिज्य बैंकको सेयर सबैभन्दा धेरै २.०४ प्रतिशतले बढेर १०८८.६८ बिन्दुमा कायम भएको छ । यस दिन विकास बैंकको सेयर पनि १.३१ प्रतिशतले बढेको छ । सेयर बढेसँगै सो समूह ४०५०.०१ बिन्दुमा कायम भएको छ । सोमबार सबैभन्दा धेरै फाइनान्स समूह ०.८३ प्रतिशतले घटेको छ । सूचीकृत १३ समूहमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समूह ०.२१ प्रतिशत घटेको छ । बाँकी सबै समूहमा हरियाली छाएको छ । कारोबार रकमको आधारमा साेमबार पनि नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ । कम्पनीको १९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ३२३ स्टकको २ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ३ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।