सचिवलाय बैठकमा रवीले भने : राजीनामा दिँदैनौं, अन्तिम अवस्थासम्म प्रचण्डलाई साथ दिन्छौं
फाइल फोटो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाएको छ । सत्ताको प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएका हुन् । रास्वपा सभापति रवी लामिछानेले प्रचण्ड सरकारलाई साथ दिनका लागि अन्तिमसम्म सरकार नछाड्ने जानकारी सचिवालय बैठकमा गरेका हुन् । अहिले रास्वपाको सचिवालय बैठक जारी छ । बैठकमा बदलिंदो राजनीतिक परिस्थितिबारे छलफल भइरहेकाे रास्वपाले जनाएको छ । कांग्रेस र एमाले बीच सत्ता समीकरणमा समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो । कांग्रेस र एमालेले सोमबार मध्यरात आलोपालो सरकारको नेतृत्व गर्ने लगायत विषयमा समझदारी गरेका छन् ।
भरतपुर महानगरले गरिदियो ७ सय ७६ छोरीको बीमा
चितवन । भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने ७ सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’ अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो । महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलका अनुसार गत आवमा तीन सय ८८ जना र यस आवमा तीन सय ८९ जना बालिकाको बीमा गरिएको छ । भरतपुर महानगरपालिकामा स्थायी बसोबास भएर सरकारी स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरूका लागि यो कार्यक्रम लागू गरिएको हो । बालिकाको जन्म भएपछि महानगरले बीमा बराबरको रकम ५० हजार बाल उमंग बीमाका लागि प्रदान गर्ने छ । उनले भनिन्, ‘१५ वर्षे बीमा कार्यक्रम भएकाले हरेक वर्ष नवीकरण महानगरले गर्नेछ ।’ १५ वर्षपछि ती बालिकाले १ लाख पाउने उनले बताइन् । महानगरपालिकाले यस वर्ष बीमा नवीकरण र नयाँ बीमा गरी २५ लाख ७७ हजार ८ सय ६२ रुपैयाँ बीमा कम्पनीलाई बुझाएको छ । महानगरपालिका प्रमुख दाहालले सरकारी अस्पतालमा प्रसूति गर्न आउनेको सङ्ख्या बढाउन र छोरा र छोरीमा हुने विभेद अन्त्यका लागि महानगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताइन् । आफू पहिलोपटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाहरूको बहिरङ्ग टिकट निःशुल्क गरेको जनाउँदै उनले दोस्रो कार्यकाल प्रमुख भएर आएसँगै छोरी बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिइन् । उनले भनिन्, ‘छोरीहरू उच्च शिक्षा पढ्ने समयमा यो बीमाको रकम पाउने भएकाले कोही पनि छोरी शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर नै यो कार्यक्रम ल्याएका हौँ ।’
४३ लाख खर्चेर म्याग्दीको पाखापानीमा खेलमैदान निर्माण
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । ४३ लाख ७७ हजार १ सय ५७ रुपैयाँको लगानीमा निर्माण भएको खेलमैदानका लागि ३५ लाख रुपैयाँभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताए। ‘खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘खेलाडीहरूलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।’ स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो । ४० मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ । स्थानीय रामकुमारी पाइजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । हाल हङकङमा कार्यरत पाखापानीका भीम पुनको नेतृत्वमा १८ लाख ६ हजार १ सय ५३, बेलायतमा रहेका क्लबका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा ६ लाख ९१ हजार, अष्टे«लियामा रहेका पूर्वसहकोषाध्यक्ष डेक पाइजाको अगुवाइमा २ लाख १५ हजार र सिङ्गापुरबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ । रघुगंगा गाउँपालिकाले चालु आव २०८०र८१ मा ७ लाख ४७ हजार अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीवासीहरूले ८ लाख १८ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् । पाखापानीका १ सय ५२ घरधुरीले न्यूनतम दुई दिनका दरले श्रमदान गरेका छन् । थिरवाङ टोलवासीले गिट्टी र रु १२ हजार नगद सहयोग गरेका थिए । कमनाथबाट ११ हजार र पाखापानी गाउँबाट ९ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । स्वर्गीय टेकबहादुर र तीर्थकुमारी पुनको स्मृतिमा उनका छोराहरू खिम पुन र भीम पुनले ३ लाख ६ हजार रुपैयाँ खर्च गरेर पाखापानीको मूल सडकबाट खेलमैदान जोड्ने सडक निर्माण गरेका छन् । खेलमैदानमा घेराबार, नाली र स्टेजसहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाइजाले बताए ।
नेताहरुबीच दौडधूप : ठूला तीन दलले बोलाए आकस्मिक बैठक, एमालेका मन्त्रीले राजीनामा दिँदै
काठमाडौं । एमाले र काँग्रेसबीच सत्ता गठबन्धन गर्ने सहमति भएसँगै काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् । बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । यस्तै, माओवादीले समेत आकष्मिक पदाधिकारी बैठक डाकेको छ । सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको हो । माओवादीले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको छ । यसतै, नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने छ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । नयाँ समीकरण बनेसँगै एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् । राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने एमालेको भनाई छ ।
काँग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए । उनले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल हुने बताए ।
नयाँ सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने
काठमाडौं । नयाँ सरकार गठन गर्नेबारे नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता समीकरणबारेको सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुई दलबीच भएको प्रारम्भिक मस्यौदामा पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दुई वर्ष ओली प्रधानमन्त्री बन्ने र बाँकी चुनाव अवधिसम्मका लागि देउवाको नेतृत्वमा सरकार गठन हुनेछ । सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । दुई दलबीच भएको सहमतिअनुसार एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ । दुवै दलबीच प्रदेश सरकारमा समेत भागबन्डा गर्ने सहमति भएको छ । नयाँ सहमतिअनुसार अब एमालेले कोशी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ । मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ । दुवै दलबीच संविधान संशोधन सुझाव समिति बनाउने, निर्वाचन प्रणाली परिवर्तन गर्नेलगायतको सम्झौता भएको छ । यस्तै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने पनि समझदारी भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने, पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने, संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने सहमति भएको छ । यसैगरी प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विषय समेटिएको छ ।
काँग्रेसले गृहसहित १० र एमालेले अर्थसहित ९ मन्त्रालय पाउने, यस्तो छ सहमतिको खाका
काठमाडौं । कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको छ । लामो गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सोमबार १२ बजे सहमतिपत्रमा हस्ताक्षर भएको बुझिएको छ । दुई पार्टीबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको हो । संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । एमालेका सचेतक महेश बर्तौलाले स्थीरताका लागि एमाले र काँग्रेसबीच सहमति गर्नु परेको बताए । ‘पछिल्लो समय देशको राजनीतिक अवस्था देखेर सबैमा चिन्ता छ, वर्षैपिच्छे सरकार परिवर्तन हुने अवस्था सिर्जना हुन थाल्यो, त्यसैले यो अवस्थामा ठूला दुई दल नमिल्नुको विकल्प भएन,’ उनले भने । उनले सहमतिमा संविधान संशोधन गर्ने विषय उल्लेख भएको भएपनि कुनकुन धारा संशोधन गर्ने भन्ने बारे उल्लेख नगरेको बताए । ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार भएको थियो । सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३/३ वटा सरकार बाँडेका छन् । मधेश प्रदेशमा मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ । यस्तै, समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने र उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी भएकाे छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ । पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सहमति भएकाे छ । संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने उनीहरुले तयारी गरेका छन् । नयाँ सहमति अनुसार एमालेले अर्थसहित ९ मन्त्रालय र काँग्रेसले गृहसहित १० मन्त्रालय पाउने प्रारम्भिक खाका बनेको छ । यो संख्या घटबढ हुन सक्ने विषयमा दुवै दलको सहमति छ ।
नेशनल फण्ड म्यानेजमेन्टको हकप्रद सेयर बिक्री खुला
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले बुधबारदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै चुक्ता पुँजी ५४ करोड रुपैयाँको ५० प्रतिशत अर्थात् २७ करोड रुपैयाँको २ः१ अनुपातमा प्रतिकित्ता ५० रुपैयाँ हकप्रद बिक्री खुला गर्न लागेको जनाएको हो । कम्पनीको जेठ २५ गते बसेको विशेष साधारण सभाले हालको चुँक्ता पुजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । यस सेयरमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।